कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एसियन कप छनोट: आशा साफलाई

सुबास हुमागाईं

काठमाडौँ — एएफसीबाट उपहारस्वरुप एसियन कप फुटबलको छनोट खेल्ने मौका पाएको नेपालले चैत १४ मा यमनको सामना गर्दै छ ।

एसियन कप छनोट: आशा साफलाई

सन् २०१६ को नोभेम्बरमा विश्वकप छनोटको पहिलो चरणबाटै बाहिरिएका राष्ट्रबीच भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपालले यो अवसर पाएको हो । प्रतियोगिताको फाइनलमा नेपालसँग १–० ले पराजित मकाउले पनि सोही अवसर प्राप्त गर्‍यो ।

समूह चरणको अन्तिम खेलसम्म आइपुग्दा नेपाल ५ खेलमा २ अंक जोडै पुछारमा छ । नेपालको छनोट हुने सम्भावना समाप्त भइसकेको छ । उता मकाउ खेलेका सबै खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमै छ । एसियन कप छनोटमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि नेपालले आफ्नो स्तर मापन गर्ने राम्रो अवसर पायो । घरेलु मैदानमा यमन र फिलिपिन्सलाई बराबरीमा रोकेको नेपालले ताजिकिस्तानसँग २–१ ले पराजित हुँदै सन्तोषजनक नतिजा हात पार्‍यो । अवे मैदानमा भने नेपालको प्रदर्शन सुखद हुन सकेन ।

यमनविरुद्ध कतारको दोहामा हुने अन्तिम खेलमा नेपाल सकारात्मक नतिजासहित प्रतियोगिताबाट बिदा हुने दाउमा छ । तर विगतका खेलको तुलनामा नेपाल सम्भवत: सबैभन्दा कमजोर स्थितिमा छ । यसअघिका खेलमा नेपालले तयारीलाई लामो समय पाएको थियो । केही खेलअघि मैत्रीपूर्ण खेल र कुनै खेलमा वैदेसिक प्रशिक्षण पनि पाएको थियो । तर यसपालि खेलअघि नेपाली टोलीले एक साता पनि पूर्ण प्रशिक्षण गर्न पाएको छैन । मोफसलका प्रतियोगितामा ए डिभिजन क्लबहरू व्यस्त हुँदा प्रशिक्षक ग्योतोकु कोजीले समयमै खेलाडी पाएनन् ।

उपलब्ध खेलाडीको फिटनेसमा समस्या त छँदै छ नेपाली टोलीले यसपल्ट महत्त्वपूर्ण केही सदस्यको पनि साथ पाउने छैन । नियमित उपकप्तान भरत खवास दोहोरो पहेँलो कार्डका कारण यमनविरुद्ध उपलब्ध हुँदैनन् । उनले ताजिकिस्तानमा ३–० को हार र फिलिपिन्ससँग गोलरहित बराबरी खेल्दा पहेँलो कार्ड पाएका थिए । यस्तै भरपर्दा मिडफिल्डर विक्रम लामा पनि चोटका कारण टोलीमा छैनन् । फागुनमा बुढासुब्बा गोल्डकपको फाइनलमा खुट्टा भाँचिएपछि शल्यक्रिया गराएका विक्रम अझै केही महिना मैदानबाहिर रहन्छन् ।

भर्खरै चोटबाट पुनरागमन गरेका डिफेन्डर रविन श्रेष्ठ प्रशिक्षणमा सामेल भए पनि कोजीले उनलाई टोलीमा समेटेका छैनन् । नेपाल पुलिस क्लबका लागि तिलोत्तमा गोल्डकपको तीन खेल खेलेका रविनमाथि प्रशिक्षक कोजीले जोखिम उठाउन चाहेनन् । मनाङ मस्र्याङदी क्लबका कमल श्रेष्ठ पनि पूर्ण फिट नहुनाले टोलीमा अटाउन सकेनन् ।

प्रशिक्षक कोजीले यमनविरुद्धको खेललाई सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप तयारीको रूपमा हेरेका छन् । ‘हामीले केही महिनामै साफ च्याम्पियनसिप खेल्दै छौं । अहिले उपलब्ध खेलाडीलाई अध्ययन गर्न यो राम्रो अवसर हो । वर्तमान टोलीमा रहेको कमजोरी पत्ता लगाएर हामीले पछिका लागि त्यसको समाधान निकाल्न सक्छौं,’ उनले भने ।

कोजीले यसपालि चार खेलाडीलाई टोलीमा फिर्ता बोलाएका छन् । थ्रीस्टारका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका गोलरक्षक एलन न्यौपानेसँगै डिफेन्डरद्वय आदित्य चौधरी र देवेन्द्र तामाङ टोलीमा फर्किएका छन् । पुलिसको आक्रमणमा निर्णायक भूमिका निभाइरहेका फरवार्ड सुमन लामा पनि यसपालि टोलीमा फर्किए । समग्रमा टोलीमा युवा खेलाडीको प्रभाव रहनेछ ।

नेपालले यसअघि यमनसँग प्रतियोगिताको दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो । हल्चोकस्थित एपीएफ रंगशालामा सम्पन्न उक्त खेलमा यमनका खेलाडीले रमादानको समयमा खेलेका थिए । तुलनात्मक नेपाली टोली शारीरिक रूपमा कमजोर भए पनि खेल भने प्रतिस्पर्धात्मक थियो ।

यमन अहिले समूहको दोस्रो स्थानमा छ । नेपाललाई पराजित गरेको खण्डमा यमनले एसियन कपमा स्थान पक्का गर्नेछ । त्यसैले पनि नेपालका लागि यो खेल थप कठिन बन्नेछ ।

विगत तुलनामा कमजोर तयारी, महत्त्वपूर्ण खेलाडीको अनुपस्थिति र विपक्षीको बलियो दावेदारीले यस खेलमा नेपालले सुखद नतिजा ल्याउने सम्भावना निकै कम रहेको आँकलन गर्न सकिन्छ ।

नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने
डिफेन्डर : विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रञ्जित धिमाल र देवेन्द्र तामाङ
मिडफिल्डर : रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील बल, सुमन लामा र सुजल श्रेष्ठ
फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र अञ्जन विष्ट ।

प्रकाशित : चैत्र ७, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?