२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रतीक्षा वान–डे अन्तर्राष्ट्रियको

‘हामी सबैले विश्वकप र वान–डे अन्तर्राष्ट्रिय खेल्ने भनेर त भन्यौं तर हामीलाई त्यहाँ कसरी पुग्ने थाहा नै थिएन । पुबुदुसर आएर त्यो बाटो देखाइदिनुभयो ।’
विनोद पाण्डे

काठमाडौँ — सन् १९९६ को विश्वकप क्रिकेटले भारतीय उपमहाद्वीपमा एउटा क्रान्तिजस्तै ल्याएको थियो । यस उपमहाद्वीपमा विश्वकप रंगीचंगी भएर पहिलो पटक आयोजना भएको थियो । टेलिभिजन प्रत्यक्ष प्रसारणले विश्वकपलाई अझ लोकप्रिय बनाइदियो । यसको बाछिटा नेपालको कुनाकाप्चासम्म पर्‍यो ।

प्रतीक्षा वान–डे अन्तर्राष्ट्रियको

टेलिभिजनमा क्रिकेट हेरेको त्यही प्रभावले ज्ञानेन्द्र मल्ललाई गल्लीमा खेल्न प्रेरित गरायो । एउटा संयोग के थियो भने नेपालले आधिकारिक अन्तर्राष्ट्रिय त्यही वर्ष अर्थात् १९९६ मै खेल्न सुरु गरेको थियो । त्यतिखेर अहिलेजस्तो अन्तर्राष्ट्रिय क्रिकेट विशेष गरी एसोसिएट राष्ट्र यसरी खुलिसकेका थिएनन् र अहिलेजस्तो चर्को प्रतिस्पर्धा थिएन । बंगलादेश र नेपाल एउटै स्तरमा थियो र १९९६ र १९९८ को एसीसी ट्रफी यी दुई राष्ट्रले सँगै खेलेका थिए ।

‘बंगलादेशपछि हाम्रै पालो’ भन्ने भनाइ राजधानीको टुँडिखेल र नेपाली क्रिकेटमा धेरै सुनिन्थ्यो । यथार्थमा नेपालसँग बंगलादेशसम्म पुग्न केही गृहकार्य थिएन । यो त्यो समय थियो जतिखेर नेपालको लक्ष्य टेस्ट क्रिकेटलाई हुन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट खेलेको १२ वर्षपछि बल्ल नेपाल विश्व क्रिकेट लिगको मुख्य संरचनामा पुग्यो । अहिले आएर पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लाग्दै छ । बंगलादेशले टेस्टमा वेस्ट इन्डिजलाई पछाडि पारिसकेको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गर्दा अफगानिस्तान क्रिकेटको उत्पत्तिसम्म भएको थिएन । युद्धग्रस्त अफगानिस्तान नै कान्छो टेस्ट राष्ट्र बनिसक्यो । नेपालले अव वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

‘गल्लीमा क्रिकेट खेल्दाखेरि नेपाली टोलीमा आउँछु जस्तो लागेको थिएन । नेपाली टिमबाट खेल्दा हामी एकदिन यो स्तरमा पुग्छौं जस्तो लागेको थिएन । खेल्दै जाने, मिहिनेत गर्दै जाने हो भने पुगिने रहेछ भन्ने सन्देश पनि हो,’ राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले नेदरल्यान्ड्ससँग ऐतिहासिक शृंखलाका लागि युरोप भ्रमण जानेक्रममा भनेका थिए, ‘पहिलो पटक वान–डे अन्तर्राष्ट्रिय खेल्न लाग्नु ऐतिहासिक क्षण हो । त्यो क्षणमा खेलाडीका रूपमा हिस्सा हुनु भनेको जीवनको ठूलो सफलता हो ।’

ज्ञानेन्द्रले भनेजस्तै नेपालको प्रदर्शन पनि कता–कता हराइरहेको थियो । विश्व क्रिकेट लिग संरचनाको डिभिजन ४ र ५ मा नेपाल अल्मलिरहेको थियो । २०१२ को डिभिजन ४ पछि नेपाली क्रिकेट उकालो लाग्न थाल्यो भने २०१४ को विश्व ट्वान्टी–२० ले नेपाललाई उचाइमा पुर्‍याइदियो । यो सबै पुबुदु दासानायके प्रशिक्षक भएर आएपछिको सफलता थियो । कप्तान पारस खड्काले यही सेरोफेरोमा भनेका थिए, ‘हामी सबैले विश्वकप र वान–डे अन्तर्राष्ट्रिय खेल्ने भनेर त भन्यौं तर हामीलाई त्यहाँ कसरी पुग्ने थाहा नै थिएन । पुबुदुसर आएर त्यो बाटो देखाइदिनुभयो ।’

नेपालले नेदरल्यान्ड्ससँग अगस्ट १ र ३ मा दुई वान–डे अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटमा आठौं भएपछि नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । अहिले टोली ऐतिहासिक शृंखला नजिक पुगेको हो । नेदरल्यान्ड्स आफैं ५ वर्षपछि घरेलु मैदानमा पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्दै छ । यस हिसाबमा नेपालजस्तै नेदरल्यान्ड्सलाई पनि यो शृंखला उत्तिकै महत्त्वपूर्ण छ ।

नेदरल्यान्ड्सअघि नेपालले लन्डनमा तयारी गर्नेछ । नेपाली टोली शुक्रबार लन्डन पुगिसकेको छ । त्यहाँ स्थानीय टोलीसँग चार अभ्यास खेल खेलिसकेपछि नेपालले ऐतिहासिक मैदान लर्डसमा दुई वर्षपछि पुन: प्रतिस्पर्धा गर्नेछ । दुई वर्षअघि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ५० ओभरको खेल खेलेको नेपालले यसपालि जुलाई २९ मा एकदिने त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच अर्को आइतबार लर्डसमा त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ । नेपालको नेदरल्यान्ड्ससँगको खेललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता छ । नेपालले २०१५ को विश्व ट्वान्टी–२० पछि ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितसिंह भण्डारी र ललितनारायण राजवंशी पहिलोपल्ट लर्डसमा पाइला टेक्दैछन् । लर्डससँगै नेपालको ध्यान नेदरल्यान्ड्सको वान–डे अन्तर्राष्ट्रियमा छ । खेलाडीको तत्काल लक्ष्य केही छैन ।

वान–डे अन्तर्राष्ट्रियमा नेपाललाई प्रवेश गराउन पाउनु नै ठूलो ठान्छन् उनीहरू । त्यसमा विजय हात पारे सुनमा सुगन्धजस्तै । ‘नेपालले जित्नुपर्‍यो । नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय र शृंखला हो । सुरुआत नै राम्रो हुँदा सबै मिलेजस्तो हुन्छ, त्यसैले जित्यो भने सबैभन्दा उत्तम हुन्छ,’ ज्ञानेन्द्र नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रियमा टिम र आफ्नो लय समात्न खोज्छन्, ‘त्यसमा मैले राम्रो योगदान दिन पाएँ भने त्यो भन्दा खुसीको क्षण अरु हुन सक्दैन ।’ विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोटमा कमजोर प्रदर्शनले आलोचित उनी यसपालि फिनिसिङ राम्रो गर्नेमा केन्द्रित रहेको जनाउँछन् ।

प्रशिक्षक जगत टमाटाको यसमा खासै फरक मत छैन । उनी पहिलो वान–डे अन्तर्राष्ट्रियमा जित निकाल्न सके स्मरणीय रहने बताउँछन् । ‘इतिहासमा पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न जाँदाको उत्साह देशलाई यस्तो छ भने खेलाडी र टिममा रहेका अरुलाई कस्तो होला,’ टमाटा प्रश्न गर्छन्, ‘पहिलो वान–डे अन्तर्राष्ट्रिय भए पनि सबै नतिजाले देखाउँछ । जिते सबै राम्रो देखिन्छ, हारे सबै बिग्रिएजस्तो हुन्छ र गाली पनि खाइन्छ । त्यसैले ऐतिहासिक यस खेलमा राम्रो नतिजाको पनि उत्तिकै महत्त्व छ ।’ पूर्व राष्ट्रिय खेलाडी उनकै प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप, डिभिजन २ विश्वकप छनोटको चुनौती पार गर्दै वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो ।

सोमपाल कामी नेपाली क्रिकेट संरचनामा आएको ५ वर्षमात्र हुँदै छ । यही समयमा नेपाली क्रिकेटको प्रमुख सफलताको सेरोफेरो घुमेको छ । सोमपालले आफूलाई यही समयचक्रमा स्थापित अलराउन्डरमा उभ्याएका छन् । उनी वान–डे अन्तर्राष्ट्रियले नेपाली क्रिकेटको दायरा अझ फराकिलो हुने र खेलाडीले थप अवसर पाउने हुँदा आफू निकै उत्साहित रहेको जनाउँछन् ।

‘क्रिकेट धेरै खेल्न पाएपछि एउटा खेलाडीको जीवन नै परिवर्तन हुन्छ । जति खेल्न पायो उति आफूलाई प्रमाणित गर्ने अवसर पाइन्छ र एक्सपोजर भइन्छ । वान–डे अन्तर्राष्ट्रियले त्यो अवसर लिएर आएको छ,’ सोमपाल भन्छन्, ‘त्यसैले म लगायत धेरै खेलाडी यो अवसरलाई लिएर उत्साही छन् । मुख्य भनेको वान–डे अन्तर्राष्ट्रिय क्याप नै हो, त्यसको प्रतीक्षामा छौं । ५ वर्षअघि भारतबाट नेपाल आउँदा विश्वकप र वान–डे अन्तर्राष्ट्रिय नै खेल्ने लक्ष्य लिएर आएको थिएँ । वान–डे विश्वकप अहिलेलाई सकिएन । अब ४ वर्षलाई पाइएको वान–डे अन्तर्राष्ट्रिय मान्यता कसरी ८ वर्ष, १२ वर्ष जोगाइराख्ने भन्ने लक्ष्य हो ।’

शक्ति गौचनले आफ्नो १७ वर्षे अन्तर्राष्ट्रिय खेलाडीजीवन नेदरल्यान्ड्ससँगको वान–डे अन्तर्राष्ट्रियसँगै टुंग्याउँदै छन् । यसले नेपालको नेदरल्यान्ड्ससँगको वान–डे अन्तर्राष्ट्रिय शृंखलाको महत्त्व पनि दर्शाउँछ । नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय त्यसै पनि प्रतीक्षित छ ।

प्रकाशित : श्रावण ५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?