२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कीर्तिमानी साझेदारी

रोयटर्स

बुलाबायो — ओपनर फखर जमन दोहोरो शतक बनाउने पहिलो पाकिस्तानी खेलाडी बन्दै कीर्तिमान प्रदर्शन गरेपछि जिम्बावेमा जारी वान–डे शृंखलामा पाकिस्तान ४–० ले अगाडि बढेको छ । चौथो खेलमा पाकिस्तान २ सय ४४ रनको विशाल अन्तरले विजयी रह्यो ।

कीर्तिमानी साझेदारी

टस जितेर ब्याटिङ गरेको पाकिस्तानबाट ओपनर जमन र इमाम उल–हकले कीर्तिमानी साझेदारी पनि गरे । पहिलो विकेटका लागि हालसम्मकै सर्वाधिक ३ सय ४ रनको साझेदारी गर्ने क्रममा इमामले १ सय १३ रनको योगदान दिए । अर्कोतर्फ जमनले १ सय ५६ बलमा नटआउट २ सय १० रनको उत्कृष्ट इनिङ्स खेले । जमनले यसक्रममा सन् १९९७ मा पाकिस्तानका सइद अनवरले भारतविरुद्ध बनाएको १ सय ९४ रनको कीर्तिमान तोड्दै पाकिस्तानका लागि व्यक्तिगत सर्वाधिक स्कोर आफ्नो नाम लेखाए । म्यान अफ द म्याच २८ वर्षे जमन २४ चौका र ५ छक्का प्रहार गर्दै वान–डे क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने छैटौं ब्याट्सम्यान पनि बने ।

कमजोर जिम्बावेविरुद्ध खेलको सुरुदेखि आक्रामक देखिएका प्रारम्भिक जोडीले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट सुरुआती विकेटमा ३ सय रनको साझेदारी पूरा गरे । यसअघि सन् २००६ मा श्रीलंकाका सनथ जयसूर्या र उपुल थारङगाले लिड्समा इंग्ल्यान्डविरुद्ध २ सय ८६ रनको साझेदारी कीर्तिमान थियो । इमाम १ सय २२ बलमा ४ चौका प्रहार गर्दै स्पिनर वेलिङटन मासाकाट्जाको बलमा आउट भए । तेस्रो नम्बरमा आएका आशिफ अलीले जमनसँग मिलेर नटआउट ९५ रनको साझेदारी गर्दै ३९९–१ को बलियो स्थितिमा पुर्‍याए । अलीले २२ बलमा नटआउट ५० रनको आक्रामक ब्याटिङ गरेका थिए ।

जवाफमा जिम्बावेले शृंखलामा जारी खराब प्रदर्शनलाई निरन्तरता दिँदै सबै विकेट गुमाउनुअघि १ सय ५५ रनमात्र जोड्न सक्यो । ४३ औं ओभरमा सकिएको जिम्बावेको इनिङ्सलाई छैटौं विकेटमा एल्टन चिगम्बुरा र डोनाल्ड त्रिपियानोको जोडीले केहीबेर सम्हालेको थियो । चिगम्बुरा (३७) र त्रिपियानो (४४) ले ६९ रनको साझेदारी गर्दै टोलीलाई ६७–५ को खराब स्थितिबाट उकासेका थिए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा जिम्बावेले खराब हार बेहोर्‍यो । पाकिस्तानका लागि शाद्दव खानले ४ तथा उस्मान खान र फाहिम असरफले २–२ विकेट हात पारे । पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित : श्रावण ५, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?