कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उसुको दुर्दशा

आसन्न एसियाली खेलकुदका लागि राष्ट्रिय उसु टोली तयारीमा व्यस्त छ । तर इन्डोर खेल भए पनि उसुले दशरथ रंगशालाको अस्तव्यस्त सेमी कभर्डहललाई मुख्य प्रशिक्षण थलो बनाउनुपरेको छ । जीर्ण अवस्थाको म्याट, कमसल खेल सामग्री र वर्षाका कारण लगातार अवरोधले गर्दा प्रशिक्षणमा समस्या सिर्जना भएको छ ।
सुबास हुमागाईं

काठमाडौँ — खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले गत पुस १४ मा आफ्नै अध्यक्षतामा नेपाल उसु संघको पुनर्गठन गरेका थिए । उसुमा समानन्तर दुई संघ भएको र दुवैले कुनै किसिमको कार्यक्रम अगाडि नल्याएको भन्दै विष्टले दुवै संघ समेट्ने गरी नयाँ कार्यसमिति बनाए । उनले त्यतिबेला ३ महिनाभित्र नयाँ निर्वाचनलाई वातावरण सिर्जना गर्ने बताएका थिए ।

उसुको दुर्दशा

उक्त निर्णयको ६ महिना बितिसक्दा पनि उसु संघले नयाँ नेतृत्व पाउन सकेको छैन । आफैंलाई पत्र काटै स्वयं अध्यक्ष बनेका विष्टको पालामा पनि कार्यक्रमहरू बिरलै अगाडि आए । केही साताअघि अन्तर क्वान उसु र राखेप च्याम्पियनसिपअन्तर्गत एक प्रतियोगिता गर्नुबाहेक संघ सक्रिय देखिएन । जसोतसो प्रतियोगिता समापन गरेर खेलाडी छनोट गर्ने जिम्मा प्रशिक्षकलाई सुम्पिएको संघ अस्तित्वमा भए नभएको नै ठम्याउन कठिन छ ।


राखेपको सेमी कभर्डहलमा एसियाडलाई तयारी गर्दै उसु टोलीका खेलाडी र प्रशिक्षक ।

साउन अन्तमा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि उसुको राष्ट्रिय टोली तयारीमा व्यस्त छ । तर इन्डोर खेल भए पनि उसुले दशरथ रंगशालाको अस्तव्यस्त सेमी कभर्डहललाई मुख्य प्रशिक्षण थलो बनाउनुपरेको छ । जीर्ण अवस्थाको म्याट, कमसल खेल सामग्री र वर्षाका कारण लगातार अवरोधले गर्दा प्रशिक्षणमा समस्या सिर्जना भएको छ । अध्यक्ष आफैं उच्च ओहदामा हुँदा पनि खेलाडीले वैदेशिक प्रशिक्षणको आश्वासनमै चित्त बुझाउनुपरेको छ । अन्य खेलका खेलाडी वैदेशिक प्रतियोगिता र विशेष प्रशिक्षणमा सामेल हुँदा पदक अपेक्षा गरिएको उसु भने न्युन सुविधा अनि कमजोर तयारीमै अडेको छ ।

मार्सल आर्ट्स नेपाली खेलकुदका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित पदक ल्याउने विधा हो । तेक्वान्दो र कराँतेले शताब्दीको सुरुआतमा जमाएको वर्चस्व पछिल्ला समय उसुले निरन्तरता दिइरहेको छ । सन् २०१६ मा भारतले दक्षिण एसियाली खेलकुद आयोजना गर्दा नेपालका लागि पहिलो स्वर्ण उसुले नै जितेको थियो । त्यसअघि सागका दुई संस्करणमा पनि उसुले २–२ स्वर्ण पदक ल्याएको हो । तर एसियाडका लागि भने उसुको तयारी निकै कमजोर छ ।

राखेपले एसियाड तयारीको शीर्षकमा खेलाडीलाई प्रतिदिन १४ सय रुपैयाँका दरले दैनिकभत्ता प्रदान गर्दै आएको छ । खेलाडीले आफूलाई आवश्यक खाने–बस्ने, प्रशिक्षण डाइट, तयारी पोसाक, पकेटमनी लगायत सम्पूर्ण खर्च त्यही रकमले पुर्‍याउनुपर्दछ । काठमाडौंको बसाइ र त्यसमाथि दिनको दुई पटक प्रशिक्षण । खेलाडीहरू दैनिक १४ सय रुपैयाँकै भरमा एसियाडको तयारी गर्न बाध्य छन् ।


सामान्यतया राखेपले उपलब्ध गराएको दैनिकभत्ता खेलाडीलाई दिएर संघले आवश्यक तयारी व्यवस्था गर्नुपर्ने हो । आफू कमजोर भएको अवस्थामा भत्तामा केही समायोजन गरेर संघले न्युनतम सुविधा प्रदान गर्नुपर्ने हो । तर संघ सक्रिय नहुँदा खेलाडी जसोतसो प्रशिक्षण धानेका छन् । अहिले आफ्नै पैसा खर्च गरेर डाइट खान बाध्य भइरहेको खेलाडीहरू गुनासो गर्छन् ।

विगत दुई महिनादेखि प्रशिक्षकद्वय फत्तबहादुर लामा र शैलेन्द्र श्रेष्ठको प्रशिक्षणमा खेलाडीहरू दिनरात जुटेका छन् । ‘उपलब्ध सुविधा कम भए पनि हामी नियमित प्रशिक्षणमा जुटेका छौं । बेलाबेलामा वर्षाका कारण म्याटमा प्रशिक्षण गर्न नमिल्ने अवस्था छ । इन्डोर खेल भए पनि खुला ठाउँ र खेल सामग्री राम्रो स्तरको नभएकाले केही कठिनाइ पक्कै छ । अब अन्तिम तयारी विदेशमा गर्न पाउने आस राखेको छु,’ प्रशिक्षक लामाले भने । सदस्य–सचिव आफैं अध्यक्ष भएका कारण अपेक्षा अझ बढी राखे पनि त्यसमा निराश हुनुपरेको उनले बताए ।

खेलाडी बस्दै आएको सुन्धारास्थित राजस्थान होटलले दैनिक ११ सय रुपैयाँमा दुई छाक खाने र बस्ने सुविधा उपलब्ध गराएको छ । सामान्यत: उक्त सुविधाको जनही ३ हजार पर्ने भए पनि खेल र खेलाडीसँग लामो समयदेखि आवद्ध भएका कारण छुट दिएको होटल प्रतिनिधि बताउँछन् । आवश्यक डाइट खाने पैसा नहुँदा बिहानी प्रशिक्षणपछि मात्र डाइट खाने र बेलुकी प्रशिक्षणपछिको खाना नै उनीहरूको डाइट बन्ने गरेको छ ।

सबै समस्याका बाबजुद पनि प्रशिक्षक लामा उसुबाट पदकको राम्रो सम्भावना रहेको मान्छन् । ‘यदि राम्रो तयारी भएको भए हामीले ठोकुवा गरेर यति पदक ल्याउन सक्छौं भन्ने वातावरण हुन्थ्यो । तर अब हाम्रो तयारी अपेक्षाकृत नभएका कारण प्रतियोगिताको टाइसिटले धेरै फरक पार्न सक्छ । बाँकी रहेको तीन साता विदेशमा राम्रो सुविधासहित प्रशिक्षण पाउने हो भने हाम्रा खेलाडीले प्रतियोगितामा त्यसैअनुसार प्रदर्शन गर्न सक्थे,’ लामाले थपे ।


एसियाडमा उसुको यो छैटौं सहभागिता हो । सन् १९९४ को हिरोसिमा एसियाडमा पहिलोपल्ट भाग लिएको थियो । उसुले अहिलेसम्म एसियाडमा पदक जित्न सकेको छैन । यसपालि महिला–पुरुष गरी १० खेलाडीले इन्डोनेसियामा प्रतिस्पर्धा गर्नेछन् । १२ औं साग खेलकुदमा जितेको १ स्वर्ण र १० रजत पदकको साख जोगाउन पनि छिटो वैदेशिक प्रशिक्षणको व्यवस्था भए एसियाडबाट पदक ल्याउने झिनो आशामा छन् खेलाडी तथा प्रशिक्षक । नभए उसु संघको दुर्गतिजस्तै एसियाडबाट रित्तो हात फर्कनुपर्नेमा उनीहरू पनि दुईमत छैनन् ।

उसुको एसियाड तयारीबारे बुझ्न खोज्दा अध्यक्ष तथा सदस्य–सचिव विष्ट कार्यव्यस्तता देखाउँदै सम्पर्कमा आउन चाहेनन् ।

एसियाडमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन सन् १९९८ बैंककमा तेक्वान्दोकी सविता राजभण्डारीले ल्याएको रजत पदक हो । पछिल्लो दुवै संस्करणमा नेपाल १–१ कांस्य पदकमै सीमित हुनुपरेको थियो ।

एसियाड छनोट खेलाडी
विजय सिंजाली (छान् छ्वान)
युवराज थापा (नान् छ्वान)
पदम ठकुल्ला (५६ केजी)
मंगलप्रसाद थारु (६० केजी)
वीरमान लामा (६५ केजी)
चित्रसिंह ठकुरी (६८ केजी)
सुस्मिता तामाङ (छान् छ्वान)
निमा घर्तिमगर (नान् छ्वान)
जुनी राई (५२ केजी)
लुमन्ती श्रेष्ठ (६० केजी)

प्रकाशित : श्रावण ५, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?