कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

औसतमा एसियाड तयारी

सुबास हुमागाईं

काठमाडौँ — नेपालले एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा १–१ कांस्य पदकमा चित्त बुझाएको थियो । सन् २०१० ग्वान्झाउमा बक्सिङका दीपक महर्जन र २०१४ इन्चोन एसियाडमा कराँतेकी विमला तामाङले मात्र पदक जितेका थिए । दीपक खेलाडीबाट प्रशिक्षक भइसके भने युवा खेलाडी विमला अमेरिका पलायन भइसकिन् ।

औसतमा एसियाड तयारी

नेपालले ठूलो खेल मेलाका रूपमा सन् २०१६ मा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्‍यो । तर त्यहाँ पनि अपेक्षाअनुसार नतिजा हासिल गर्न सकेन । नेपालले तीन स्वर्णमात्र जित्यो । उसुकी निमा घर्तीमगर र जुडोकी फुपुल्हामु खत्रीले व्यक्तिगततर्फ स्वर्ण जित्दा पुरुष फुटबल टोलीले टिम स्वर्ण जितेको थियो ।

भदौ पहिलो साताबाट इन्डोनेसियामा सुरु हुने एसियाडका लागि फुपुल्हामु केही महिनादेखि जापानमा प्रशिक्षणरत छन् । निमा दशरथ रंगशालाको सेमी–कभर्डहलमा आफूलाई तयार गरिरहँदा फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पसिना बगाइरहेको अवस्था छ ।कमजोर खेल पूर्वाधारका बाबजुद वैदेशिक प्रशिक्षणमा जान नपाउँदा अधिकांश खेलको तयारी नै प्रभावित भएको छ । खेल हुने मिति नजिकिँदै जाँदा नियमित वर्षाको कारण खेलाडीको प्रशिक्षण नै अन्योल स्थितिमा समेत पुगेको छ । यसै त कम सुविधा त्यसमाथि न्युनतम प्रशिक्षण स्तर पनि प्राप्त नहुँदा एसियाडबाट पदक आस गर्ने ढुक्कको अवस्था बन्न सकेको छैन ।

कराँतेका खेलाडीहरू पछिल्लो सातासम्म पोखरामा प्रशिक्षणरत थिए । राखेपले दिएको दैनिक १४ सय रुपैयाँ भत्ताको भरमा पोखरा पुगेका उनीहरूलाई पोखराका स्थानीय खेलप्रेमीले निकै सहज वातावरण बनाइदिए । तर पोखरा जानुअघि नै वैदेशिक प्रशिक्षणका लागि कतै पठाउने आश्वासन पाएका खेलाडी दिन बित्दै जाँदा कुनै प्रक्रिया अगाडि नबढेपछि राजधानी फर्कन बाध्य भए । अस्तित्वमा रहेका दुवै कराँते महासंघले आफूले प्रक्रिया थालनी गरिसकेको बताउँदै आए पनि ठोस कार्य कतैबाट नआएकाले कराँतेको वैदेशिक प्रशिक्षण अन्योलमा परेको हो ।

नेपालका लागि कराँतेले ११ औं दक्षिण एसियाली खेलकुदमा ३ स्वर्ण जितेको थियो । पछिल्लो सागमा यो खेल समावेश नहुँदा नेपालको पदकसंख्यामा प्रत्यक्ष असर पर्‍यो । एसियाली खेलकुदका खेलाडीहरू यावत् पीडा बिर्सेर पदक ल्याउने प्रयासमा जुटेका छन् । कराँते प्रशिक्षक दीपक श्रेष्ठ अबको अन्तिम तयारी विदेशमा गर्ने र कराँतेमाथि राष्ट्रको आशामा खरो उत्रने बताउँछन् ।



‘हामीलाई दुवै महासंघबाट वैदेशिक प्रशिक्षणका लागि आश्वासन प्राप्त भए पनि कार्यान्वयनमा कुनै अगाडि आएन । पोखरामा बसेर प्रशिक्षण गर्दा वैदेशिक प्रशिक्षण नै अन्योल हुने भएपछि हामी काठमाडौं आउन बाध्य भयौं । हामीले राखेपसँग बैठक बसेर जापान जाने प्रक्रिया अगाडि बढाएका छौं,’ प्रशिक्षक श्रेष्ठले भने ।

विगतमा कराँतेले अन्तर्राष्ट्रिय स्तरमा लगातार पदक जितेका कारण टोलीमाथि पदक जित्नुपर्ने दबाब रहेको श्रेष्ठले स्वीकारे । ‘पछिल्लो संस्करणमा एकमात्र पदक कराँतेले नै जितेको थियो । यसपालि त्योभन्दा बढी पदक ल्याउनुपर्छ भन्ने लक्ष्य लिएर तयारी थालेका छौं । हामीले संघ र राखेपलाई खेलाडीहरू प्राविधिक र शारीरिक रूपमा अन्तिम तयारीमा पुगेकाले मानसिक रूपमा तयार बनाउनुपर्छ भन्दै आएका छौं । यसका लागि विदेशमा एक्सपोजर प्राप्त भयो भने प्रतियोगितामा राम्रो नतिजा ल्याउन सकिन्छ,’ उनले भने ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठले एसियाडको तयारीका लागि खेलाडीलाई दिइएको १४ सय रुपैयाँ दैनिकभत्ता निकै कम भएको सुनाए । ‘हामीलाई राखेपबाट खानपिन र डाइटसम्बन्धी विशेष कार्यशालामा भनिएअनुसार डाइट खान नै यो पैसा अपुग छ । दैनिक १४ सयमा खानेबस्नेसँगै डाइटको व्यवस्था गर्न सम्भव नै छैन । राखेपले यसबारे चाँडै परिमार्जन गर्ने अपेक्षा राखेको छु,’ श्रेष्ठले थपे ।



राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन बिक तयारी पछिल्ला संस्करणको तुलनामा सुधारिएको भए पनि अझै राम्रो गर्नुपर्ने स्विकार्छन् । ‘विगतमा एक महिनाजतिको प्रशिक्षणमा भर परेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने अवस्था थियो । अहिले हामीले माघदेखि नै एसियाड तयारीका लागि खेलाडी परिचालन गरेका हौं । वैशाखदेखि विशेष तयारी नै सुरु भइसकेको छ,’ उनले तयारीबारे भने । भौतिक पूर्वाधारका कमीले गर्दा तयारीमा भने केही असर परेको उनले बताए । ‘अहिले त्रिपुरेश्वर र सातदोबाटो दुवैतर्फ साग खेलकुदको तयारीलाई पुनर्निर्माण कार्य भइरहेकाले एसियाडमा असर परेको छ । विभागीय टोलीहरूको सहकार्यमा यो समस्या केही हदसम्म सुल्झिएको छ । निजी क्षेत्रबाट पनि कतिपय खेलका लागि स्थान उपलब्ध भएकाले केही सहज भएको छ,’ उनले भने ।

खेलाडी भत्ताबारे बोल्दै बिकले देशको स्थिति र उपलब्ध बजेटअनुसार सक्दो धेरै प्रदान गरिएको बताए । ‘हामीले सक्दो धेरै दिने प्रयास गरिरहेका छौं । हामीले दिएको रकम विदेशमा खेलाडीको डाइट खान पनि अपुग हुन्छ । तर सरकारले उपलब्ध गराएको बजेटलाई बाँडफाँट गर्दा सक्दो रकम प्रदान गरेका छौं । अब आउने बजेटमा केही वृद्धि हुने सम्भावना छ, त्यसपछि पक्कै यसलाई परिमार्जन गर्नेछौं,’ उनले टुंग्याए ।

खेल सुरु हुनुभन्दा एक महिना अगाडिसम्म खेलाडीले उचित प्रशिक्षणस्थल नपाउँदा प्रदर्शनमा प्रत्यक्ष असर पर्दछ । नेपालमै रहेर प्रशिक्षण गरिरहेका धेरैजसो खेलको पूर्वाधारलाई लिएर धेरै गुनासो सुनिने गरेको छ । यस्तो अवस्थामा राखेपले छिमेकी मुलुकसँग प्रशिक्षण सहयोग माग गरेर संघलाई समन्वय गर्न लगाउनु उचित हुने सम्बन्धित खेलकर्मीहरू बताउँछन् । कम्तीमा पदक आशा गरिएका खेललाई अन्तिम चरणमा उचित प्रशिक्षण दिने हो भने इन्डोनेसियाबाट पदक जित्न सकिने सम्भावना त्यत्तिकै देख्छन् उनीहरू ।

नेपालले १८ औं एसियाली खेलकुदमा यसपल्ट २८ खेलमा सहभागिता जनाउँदैछ । पहिलोपल्ट नेपालले यति धेरै खेलमा भाग लिन लागेको हो । २८ खेलमा पुरुषतर्फ १ सय २५ र महिलामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तयारीका लागि ६ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् भने केही खेललाई विदेशी प्रशिक्षक झिकाएर प्रशिक्षण दिइएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?