श्रीलंकाको नजरमा ह्वाइटवास

एएफपी

कोलम्बो — घरेलु टोली श्रीलंका दोस्रो टेस्टको तेस्रो दिन दक्षिण अफ्रिकाको पाँच विकेट लिँदै सिरिज ह्वाइटवासको नजिक पुगेको छ । स्पिनरको उच्च प्रदर्शन रहँदै आएको सिरिजमा तेस्रो दिन पनि श्रीलंकाली स्पिनरले अफ्रिकी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । कोलम्बोमा जारी दोस्रो टेस्टमा जितका लागि ४ सय ९० रनको विशाल लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिका १३९–५ को कमजोर स्थितिमा छ ।

श्रीलंकाको नजरमा ह्वाइटवास

तुलनात्मक रूपमा आक्रामक ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाको ब्याटिङ क्रम ध्वस्त पार्ने क्रममा अफस्पिनर अकिला धनञ्जय र देब्रेहाते स्पिनर रंगना हेराथले २–२ तथा अफस्पिनर दिलरुवान परेराले १ विकेट लिए । श्रीलंकाले मैदानमा लगातार गल्ती गरिरहे पनि दक्षिण अफ्रिकाका ब्याट्सम्यान सम्हालिन सकेनन् । दुई सहज क्याच छुटाएको श्रीलंकाले लगातार दुई बलमा आफ्नो रिभ्यु खेर फालेको थियो । परेराले डिन एल्गरलाई आउट गरे पनि उनले नो–बल फ्याँक्दा एल्गर बचेका थिए । परेराले नै एल्गरलाई ३७ रनमा आउट पारे ।

एक समय ८०–१ को स्थितिमा रहेको अफ्रिकी टोली लगातार विकेट गुमाएपछि ११३–५ को कमजोर अवस्थामा पुगेको थियो । एल्गरपछि हसिम अमला ६ रन, फाफ डु फ्लेसिस ७ रन र केशव महाराज पहिलो बलमै पेभेलियन फर्किए । दिनको खेल सकिँदा तेस्रो नम्बरका थेउनिस डे ब्रुएन ४५ रनमा नटआउट छन् । चौथो दिन सोमबार ५ रन जोडेमा उनी सिरिजमा अर्धशतक बनाउने दक्षिण अफ्रिकाका पहिलो खेलाडी बन्नेछन् । धनञ्जयको ह्याट्रिक बल खेल्न क्रिजमा आएका टेम्बा बभुमा १४ रनमा नटआउट छन् ।

पछिल्लोपटक सन् २००६ मा श्रीलंकासँग पराजित दक्षिण अफ्रिकाले त्यसबेला सिरिज ह्वाइटवासको सामना गर्नुपरेको थियो । टेस्टको विश्व वरीयतामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकासँग अब दुई दिनको खेल बाँकी रहँदा जम्मा तीन विशेषज्ञ ब्याट्सम्यान छन् ।त्यसअघि श्रीलंकाले तेस्रो दिनमा १ सय २५ रन थप्दै दक्षिण अफ्रिकासामु विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो सेसनको मध्यतिर कार्यवाहक कप्तान सुरंगा लकमलले इनिङ्स समाप्तिको घोषणा गरेपछि दक्षिण अफ्रिका ब्याटिङमा उत्रिएको थियो । श्रीलंकाका लागि पछिल्ला चारमध्ये तीन इनिङ्समा सर्वाधिक रन बटुलेका दिमुथ करुणारत्नेले ८५ रन जोडे । एन्जेलो म्याथुजले ७१ रन जोड्दै करियरको २९ औं अर्धशतक पूरा गरे ।

पहिलो इनिङ्समा ९ विकेट लिएका महाराजले ३ विकेट थप्दै खेलमा कुल १२ विकेट लिए भने तीव्र गतिका बलर लुंगी एनगिडीले करुणारत्नेलाई आउट गरे । डेल स्टेनले खेलमा कुनै विकेट नलिँदा सर्वाधिक विकेट लिने सन पोलकको कीर्तिमान तोड्न सकेनन् । उनी पछिल्लो खेलमा विकेट लिएपछि ४ सय २१ विकेट लिँदै संयुक्त शीर्षस्थानमा छन् । आइतबर ४७ ओभर बलिङ गरेका दक्षिण अफ्रिकी बलरले अघिल्लो दिनका ब्याट्सम्यान करुणारत्ने र म्याथ्युजलाई मात्र आउट पार्न सके ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?