राजवंशी बने मिस्टर मोरङ

कान्तिपुर संवाददाता

मोरङ — विराटनगर ३ शंकरपुरका २९ वर्षीय बडिबिल्डर प्रवित राजवंशीले आइतबार राति ‘मिस्टर मोरङ’ को उपाधि जितेका छन्  । मोरङ बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनले विराटनगरमा आयोजना गरेको मिस्टर मोरङ प्रतियोगिताको फाइनल राउण्ड जित्दै राजवंशीले उपाधि जितेका हुन्  ।

राजवंशी बने मिस्टर मोरङ

राजवंशीले फाइनलमा विभिन्न तौल समूहका २८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । ६० किलो तौल समूहबाट फाइनल राउण्डमा प्रवेश गरेका उनले ५५, ६५, ७० र ७५ किलो तौल समूहका विजेतालाई पछि पार्दै मिस्टर मोरङको उपाधि जित्न सफल भए । उपाधिसँगै राजवंशीले ५१ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विराटनगरको मधुमाराका रविनकुमार तामाङ दोस्रो र मोरङ पथरीका सञ्जीव मगर तेस्रो भएका छन् ।


रविनले ५५ केजी र सञ्जीवले ७० केजी तौल समूहबाट प्रतिस्पर्धामा सहभागी भएका थिए । दोस्रो भएका तामाङले नगद ३१ हजार र तेस्रो भएका मगरले २१ हजार नगदका साथै गिफ्ट ह्याम्पर प्राप्त गरे । चौथो स्थान ६५ केजी तौल समूहबाट प्रतिनिधित्व गरेका विराटनगर जनपथका हरेराम रजक र ७५ केजी तौल समूहमा विराटनगर बरगाछीका अक्षोत्रय हलुवाईले हासिल गरे ।


उनीहरूले क्रमश: नगद १५ हजार र १० हजार पाए । विजेताहरूलाई विराटनगर महानगर प्रमुख भीम पराजुली र मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनका अध्यक्ष कर्णले उपाधि र पुरस्कार राशि हस्तान्तरण गरे । युवाहरूलाई लागूऔषधको कुलतबाट जोगाउन र बडिबिल्डिङप्रति आकर्षित गर्न मिस्टर मोरङ प्रतियोगिता सुरु गरिएको अध्यक्ष कर्णले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?