ग्रुपमै प्राइभेट च्याट

कान्तिपुर संवाददाता

काठमाडौं — ह्वाट्सएपले ग्रुप च्याटमा पनि व्यक्तिगत रूपमा च्याट मिल्ने फिचरसहितको नयाँ अपडेट ल्याउने भएको छ । यसले प्रयोगकर्तालाई ग्रुप च्याटमा कुराकानी गरिरहेका बखत कुनै व्यक्तिसँग छुट्टै च्याट गर्ने सुविधासमेत दिनेछ ।


साथै, ह्वाट्सएपले भिडियो कल गरिरहँदासमेत म्यासेजमा कुरा गर्न मिल्ने सुविधा पनि थप्दैछ । एन्ड्रोइडका लागि नयाँ आउने अपडेटमा च्याटमा कुनै आपत्तिजनक शब्द प्रयोग गरे तत्काल रिपोर्ट गर्न मिल्ने सुविधा पनि हुने विबेटाइन्फोले जनाएको छ । विबेटाइन्फो ट्वीटर ह्यान्डल हो जसले ह्वाट्सएपमा आउने अपडेटको पूर्वजानकारी दिने गर्छ ।

प्रकाशित : मंसिर २९, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

अबको आशा

कान्तिपुर संवाददाता

काठमाडौं — प्रनिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघीय शासन प्रणाली स्थापित गर्ने आधार हो । निर्वाचनमा प्रत्यक्षतर्फ मतगणना बुधबार सकिँदा केही चर्चित नेताहरु पराजित भए भने केहीले बाजी मारे । निर्वाचन परिणामले कांग्रेसलाई ठूलै धक्का लाग्यो ।

वाम गठबन्धन हाबी भयो । प्रत्यक्षतर्फ निर्वाचित तीन नेता, जो युवा प्रतिनिधि हुन् :

 
बिना मगर, ३४
कञ्चनपुर १, माओवादी केन्द्र
 
उनी ११ वर्षको छँदै बाल कलाकार हुँदै माओवादीमा प्रवेश गरेकी थिइन् । उनी अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष हुँदै ०६४ मा सरस्वती क्याम्पसको स्ववियु सभापति पनि भएकी थिइन् । द्वन्द्वका बेला पक्राउ परेकी उनले ०५८ सालमा २७ महिना भैरवनाथ गणमा बिताएकी थिइन् ।
विजयी घोषणामा सोमबार नेता/कार्यकर्ताहरू सबै अबिर लगाएर रंगीचंगी भएका थिए । तर कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित बिनाको मुहारमा कुनै उत्साह देखिएन । पति वियोगको पीडाले जितको खुसियालीसमेत मनाउन सक्ने अवस्थामा थिइनन् उनी ।
निर्वाचित भएको प्रमाणपत्र बुझेपछि उनी केही बोल्न खोज्दै थिइन् । तर दुई/चार शब्द नबोल्दै उनको आँखाबाट आँसु झर्न थाल्यो । ‘आज जितेर पनि खुसी हुन सक्ने अवस्था छैन,’ उनले रुँदै भनिन्, ‘यस्तो खुसीको क्षणमा पनि मेरो जीवन साथी मसँग नहुँदा दु:खी छु ।’ चुनावी प्रचारप्रसारकै क्रममा 
आफ्नो निर्वाचन क्षेत्रमा रहेका बेला मंसिर पहिलो साता उनका पति प्रकाश दाहालको मृत्यु भएको थियो । ‘खुसी हुँदाहुँदै पनि हाँस्न सकिरहेकी छैन,’ उनले भनिन् ।
बिनाले युवा बेरोजगारी समस्या समाधानका लागि औद्योगिक र पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताइन् । ‘मेरो पहिलो लक्ष्य नै रोजगारी सिर्जना गर्ने हो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी यी बुहारीले भनिन्, ‘प्रदेश ७ सँगै कञ्चनपुरको बेरोजगारी समस्या समाधानका लागि प्राविधिक शिक्षा र कृषिमा जोड दिनेछु ।’ उनी कञ्चनपुरबाट प्रतिनिधिसभामा निर्वाचित र पहिलो महिला पनि हुन् ।
प्रदेश ७ का अधिकांश युवा रोजगारीका लागि भारत र खाडी मुलुक जाने गर्छन् । उनीहरूलाई स्वदेशमै रोक्ने लक्ष्य भएको बिनाले बताइन् । ‘थारू र स्थानीय संस्कृति संरक्षण गरी गाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । यसले घर–घरमै रोजगारीको अवसर मिल्छ,’ उनले भनिन् । ०७० सालको संविधानसभाको निर्वाचनमा उनी कांग्रेसका दिवानसिंह विष्टसँग पराजित भएकी थिइन् । यसपालि भने उनले विष्टलाई झन्डै दोब्बर मतले पछाडि पारिन् ।
 
अभिषेकप्रताप साह, ३५
कपिलवस्तु ३, नेपाली कांग्रेस
 
उनी जोसिला छन्, जाँगरिला पनि । बुढापाकालाई पनि आफ्नो बनाउन सिपालु छन् अभिषेकप्रताप साह । कपिलवस्तु ३ बाट संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्तालाई ४,१७५ मतले पराजित गर्न सफल भए ।
यसअघि पनि उनी कपिलवस्तु ५ बाट दुईपल्ट निर्वाचित भइसकेका थिए । यो उनको ‘ह्याट्रिक’ जित हो । उनी कान्छो उमेरमै पनि राजनीतिक रूपमा खारिएका व्यक्ति हुन् । उनी मीठो बोल्छन् । उनी बौद्धिक छन् र तार्किक कुरा गर्छन् । उनी राजनीतिक ‘घराना’ मै हुर्किएका पात्र हुन् । उनका हजुरबुबा स्व. शिवपतिप्रताप साह २०१५ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए र उपमन्त्री पनि बने । त्यसको प्रभाव नाति अभिषेकमा पनि पर्‍यो । उनका परिवारका अरू सदस्य पनि मन्त्रीसम्म भएका थिए । अभिषेकले ०६४ र ०७० सालका संविधानसभाको निर्वाचन मधेसी जनअधिकार फोरमबाट जितेका थिए । पहिलोपल्ट सभासद छँदा उनी २५ वर्ष ७ महिनाका थिए ।
यसपालि निर्वाचनअघि मात्र कांग्रेसमा फर्केका उनले भने, ‘पारिवारिक लगानी भएको पार्टीमा फर्कन पाउँदा खुसी छु ।’ निर्वाचित भएपछि उनले भने, ‘फरक परिवेशमा जनताले मलाई फेरि जिम्मेवारी दिएकामा निकै खुसी छु । क्षमताले भ्याएसम्म जिल्लाको विकासमा लाग्नेछु ।’ उनले आर्थिक विकासलाई महत्त्व दिँदै हुलाकी मार्ग पूरा गर्नेमा जोड दिने बताउँछन् ।
‘कपिलवस्तु पर्यटकीय दृष्टिले खानी नै हो तर यहाँ पूर्वाधारको अभाव छ,’ उनले भने, ‘ऐतिहासिक क्षेत्रको उत्खनन गरी त्यसलाई योजनासहित व्यवस्थित बनाएर देशकै विकासका लागि उपयोग गर्न सकिन्छ । संसारभरका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र तिलौराकोटमा पर्यटक तान्न सकियो भने यहाँका युवा रोजगारीका लागि विदेशिनु पर्दैन ।’ 
 
 
 
 
वसन्त बानियाँ, ३९
झापा ३ (क), एमाले
 
एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको प्रतिस्पर्धाले झापाको चुनावी माहोल रोमाञ्चक बनेको थियो । लिङ्देनको जितमा वाम गठबन्धनको ठूलो हात रह्यो । त्यसैले पूरा जिल्ला नै वामको कब्जामा रह्यो ।
वसन्त बानियाँले पनि प्रदेशसभामा बाजी मारे । कांग्रेसका भूमि राजवंशीलाई ५ हजार बढी मतले पराजित गरेका वसन्त ०७० सालको संविधानसभाको निर्वाचनमा भने कांग्रेसका नेता सिटौलासँगको प्रतिस्पर्धामा तेस्रो स्थानमा पुगेका थिए । ‘त्यो बेला उम्मेदवारको अनुभव बटुलियो,’ वसन्तले भने, ‘त्यस हारले यसपालि जित्न प्रेरित गर्‍यो ।’
उनी निष्ठाको राजनीतिमा विश्वास गर्छन् । ०५० सालमा दक्षिण झापाको बनियानीस्थित लक्ष्मी माविमा अध्ययनरत छँदै उनी राजनीतितिर लागेका थिए । कक्षा ८ मा पढ्दै अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भएका उनी मेची क्याम्पसको स्ववियु सभापति पनि बने । अनेरास्ववियु जिल्ला कमिटीको अध्यक्ष हुँदै उनी केन्द्रीय सदस्यसम्म पुगे ।
‘अनुभवहरूबाटै खारिँदै, सिक्दै जाने रहेछ,’ उनले भने, ‘जिन्दगी भनेकै यस्तै रहेछ, सिक्दै जाने, अनुभव बटुल्दै जाने ।’ उनले राजनीतिमा अहिलेको हैसियत बनाउन करिब २५ वर्ष गुजारे । ‘निरन्तरता नै सफलताको मुख्य कडी हो,’ उनी ठान्छन् । पार्टीभित्र हुने आन्तरिक खिचातानी, गुट–उपगुटको उनी विरोधी हुन् । उनी पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुधारमा समेत लाग्ने बताउँछन् ।
झापामा पूर्वाधार विकास मात्रै होइन, स्वास्थ्य, खानेपानी, चर्पीजस्ता आधारभूत आवश्यकताहरूसमेत सर्वसाधारणमा पुर्‍याउने प्रयास गर्ने उनले बताए । जंगली हात्तीको आतंक भएको क्षेत्रबाट आएका उनी दीर्घकालीन योजनासहित काम गर्ने बताउँछन् ।

प्रकाशित : मंसिर २९, २०७४ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्