कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

छिन–छिनमा रंग परिवर्तन गर्ने ‘स्मार्ट कपडा’  

दिनेश यादव

काठमाडौँ — छेपारोले छिन–छिनमा रंग फेर्ने गरेको त सबैलाई थाहै छ, अब तपाईँले लगाउने कपडाले पनि रंग परिवर्तन गर्ने प्रविधिको विकास भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाका वैज्ञानिकहरुले उक्त प्रविधिको विकास गरेका हुन् ।

छिन–छिनमा रंग परिवर्तन गर्ने ‘स्मार्ट कपडा’  

उनीहरुले रंग परिवर्तन हुने ‘स्मार्ट फ्याब्रिक’ कपडा बनाएका हुन् । यो प्रविधि अन्तर्गत एउटा एपको सहयोगमा कपडाको रंग परिवर्तन गर्न सकिन्छ । मेटल माइक्रो–वायरको सहयोगले तयार पारिएको कपडामा इलेक्ट्रिक करेन्ट प्रवाह गरेपछि त्यसमा रंग परिवर्तन हुने गर्छ ।


यस प्रकारको कपडाको खास विशेषता भनेको यसलाई वासिङ मेसिनमा राखेर धुन सकिने र आइरन पनि गर्न मिल्ने हो ।


यो स्मार्ट कपडामा धागोको रुपमा मसिनो तार तथा रंग परिवर्तन गर्ने पिग्मेन्टको प्रयोग गरिएको छ । यो पिग्मेन्टमा कपडाको रंग सजिलै परिवर्तन गर्न सक्ने क्षमता छ । ‘ई–थ्रेड फ्याब्रिक’ नाम दिइएको यो प्रविधिलाई युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाको कलेज अफ अप्टिक्स एन्ड फोटोनिक्सका प्रोफेसर तथा विद्यार्थीहरुको संयुक्त टोलीले अविष्कार गरेका हुन् । एपको सहयोगमा मात्र एक पटक क्लिक गरेपछि कपडाको रंग परिवर्तन हुने गर्छ ।


हाल यस प्रकारको प्रविधि प्रयोग गरी बनाइएको कपडाको उत्पादन प्रारम्भिक चरणमै छ । कलेजका प्रोफेसर आईमान एबौराडीको नेतृत्वमा रहेको टोलीले हालका लागि ‘ई–थ्रेड’लाई न्युनतम दुई रंग र अधिकतम चार रंगमा मात्रै परिवर्तन गर्न सकिने बनाएको छ । शोधका लागि यस प्रकारको कपडा प्रयोग गरि ह्याण्ड क्यारी र पर्सको निर्माण गरिसकिएको छ ।


यसको परिक्षणले सकारात्मक परिणाम पनि आएको छ । आफूले चाहे अनुसारको रंग परिवर्तन गर्न यो प्रविधिबाट सफलता मिलेको एबौराडीको दाबी छ । उनका अनुसार योसंगै विभिन्न फेसन डिजाइनर्स कम्पनीहरुसंग मिलेर व्यापारिक उत्पादन थाल्ने तयारी पनि सुरु भएको छ ।


टोलीले यस प्रकारको कपडाको एउटा शृंखलाबद्ध प्रोटोटाईप प्रदर्शन पनि गरेको छ । यस प्रविधि प्रत्येक धागो र एउटा रिचार्जबल ब्याट्री प्याकमा धातुजन्य माइक्रो तारसँग जोडिएका हुन्छन् । यसलाई सक्रिय बनाएको अवस्थामा तारहरुको माध्यमबाट विद्युत प्रवाह हुन पुग्छ र केही समय पछि यसको तापक्रम बढ्छ ।


यो तापक्रमले कपडामा प्रयोग गरिएको विशेषखालको पिग्मेन्टले धागाहरुको रंग परिवर्तन गरिदिने गर्छ । शोधकर्ताहरुले पातलो कपडा विकास गर्ने क्रममा यसको अविष्कार गरेका हुन् । यसको मुख्य उद्देश्य टी–शर्ट र अन्य कपडाहरु नरम बनाउनु रहेको छ । हाल उनीहरु यसका लागि आफ्नो ब्याट्री प्याकको आकार र शक्तिको सही सन्तुलनलाई निर्धारण गर्ने प्रयास गरिरहेका छन् ।


भविष्यमा, यो फ्याब्रिकले फेसन क्षेत्रमा ठूलै फड्को मार्ने विश्वास शोधकर्ताहरुको छ । उनीहरु सम्भावित सुरक्षा, चिकित्सा र सैन्य उपयोगमा समेत यसको प्रयोग गर्न सकिन्छ कि भनेर पनि अनुशन्धान गरिरहेका छन् ।


उत्तेजनाका आधारमा विशेष रुपमा बनाइएको यो फ्याब्रिकले आफ्नो रंग, तापक्रम वा कठोरतालाई बदल्न सकोस् भनेर पनि शोध भइरहेको छ । टोलीले आफ्नो यो पहिलो उत्पादन एक वर्षभित्रै बजारमा हिट हुने आशा व्यक्त गरेको छ । लगाएर सजिलै हिड्न सकिने र रंग पनि परिवर्तन गर्ने यो फ्याब्रिक प्रविधिलाई शोधकर्ताहरुले ‘क्रोमरफर्स’ भनेका छन् ।


अमेरिकास्थित ओहियो स्टेट युनिभर्सिटीले पनि यस्तै खालको धागोको निर्माण गरिहेको छ । त्यहाँ शोधकर्ताहरुले कपडालाई हलुका, धुनयोग्य एन्टेनालाई कपडामा राख्ने तयारी गरिरहेको छ । यसमा प्रयोग गरिने ई–थ्रेडले विभिन्न डाटा सञ्चार गर्न सक्छ ।


ताररहित संकेतहरुलाई पनि विस्तार गर्न सहयोग गर्छ । निकट भविष्यमा यसले स्मार्ट होम डिभाइस र भच्र्युअल रियलिटी खेलहरुलाई नियन्त्रण गर्नमा पनि उपयोग गर्न सकिने दाबी शोधकर्ताहरुको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?