१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

इन्टरनेट महँगिने

सरकारले लगायो थप १३ प्रतिशत कर

काठमाडौँ — सरकारले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ । आर्थिक वर्ष ०७५/७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरूले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको हो ।

इन्टरनेट महँगिने

यसअघि इन्टरनेट सेवा प्रदायकहरूले दूरसञ्चार सेवा दस्तुर तिर्नु नपर्ने प्रावधान थियो । अघिल्लो वर्ष ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुरलाई पनि बढाएर सरकारले १३ प्रतिशत पुर्‍याएको छ ।

सरकारको निर्णयले इन्टरनेट महँगिने इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानका अध्यक्ष दिलीप अग्रवालले सरकारले तोकेको दूरसञ्चार सेवा दस्तुर सेवा प्रदायकहरूले आफ्ना ग्राहकबाट उठाउने भएकाले इन्टरनेट शुल्क महँगिने बताए । ‘इन्टरनेट अत्यावश्यक सेवा भइसकेको छ । निजी क्षेत्रले देशभर फैलाउन पूर्वाधार बनाइरहेका छन्,’ उनले भने, ‘तर सरकारले भने सेवा दस्तुर थपेर महँगो बनायो ।’ इन्टरनेट सेवा प्रदायकहरूले शुल्क महँगिएपछि सर्वसाधारणले सेवा लिन नसक्ने भन्दै दस्तुर लिने व्यवस्था खारेज गर्न माग गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुन मसान्तसम्मको विवरणअनुसार इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट सेवा लिनेको संख्या ४ लाखको हाराहारीमा छ । यद्यपि दुई ठूला टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका डाटा सेवाका ग्राहक क्रमश: ५६ लाख र ५८ लाख छन् ।

इन्टरनेट सेवा प्रदायकले यसअघि नै ग्रामीण दूरसञ्चार कोष शुल्कबापत आम्दानीको २ प्रतिशत, रोयल्टीबापत आम्दानीको ४ प्रतिशत बुझाउँदै आएका छन् । योबाहेक इन्टरनेट पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने फाइबरमा १५ प्रतिशत, ब्यान्डविथमा १० प्रतिशत र भ्याट १३ प्रतिशत तिर्दै आएको इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् ।

‘इन्टरनेट सेवा प्रदायकले रोयल्टी र अन्य करसहित ४४ प्रतिशत कर सरकारलाई बुझाउँदै आएका छन्,’ अग्रवालले भने, ‘अब यो ५७ प्रतिशत पुगेको छ ।’

यस्ता करका शुल्क अन्त्यमा ग्राहकले नै तिर्ने भएकाले इन्टरनेट महँगिने र सर्वसाधारण यसको पहुँचबाट वञ्चित हुने उनले बताए । इन्टरनेट अत्यावश्यक सेवा भए पनि सरकारले विलासिताको वस्तुमा जस्तो कर लगाएको उनको धारणा छ ।

सरकारले ब्रोडब्यान्ड नीतिमा अन्तर्राष्ट्रिय सञ्जालमा पहुँच वृद्धि गर्ने र प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर नेपालको प्रतिव्यक्ति आयको ५ प्रतिशतमा ल्याउने उल्लेख छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?