१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  

दिनेश यादव

काठमाडौँ — अमेरिकाको न्युयोर्कस्थित एक कम्पनीले एउटा ‘ट्रान्सफर्मर’ विमान बनाएको छ । जुन ठूलो विमान झै उड्छ, हेलिकप्टर झै ल्याण्ड(अवतरण) गर्न सक्छ ।

उडान गर्दा विमान र अवतरण गर्दा हेलिकप्टर  

अत्यन्तै हलुका र तीव्र गतिमा उड्ने यो विमानले सयौँ किलोमिटरको यात्रा कम समयमै पुरा गर्न सक्छ ।


‘ट्रान्ससेन्ड एयर कर्पोरेसन’ ले बनाएको उक्त विमानले ५५ मिनेटमै लसएन्जेलसबाट ५६० किलोमिटरको दुरीमा रहेको सनफ्रान्सिस्कोको यात्रा गर्न सक्छ । कारबाट उक्त यात्रा गर्दा ५ घन्टा ४८ मिनेट र रेलबाट ७ घन्टा ३६ मिनेट तथा सामान्य विमानबाटै पनि १ घन्टा २५ मिनेट लाग्ने गर्छ । हालै कम्पनीले व्यवसायिक रुपमा उक्त विमान बनाउने घोषणा गरेको छ ।


कार्बन फाइबरबाट बनाइने यो पूर्ण रुपमा एउटा ‘प्यारासुट’ हो । ‘भीवाई–४००’ नाम दिएको यो विमानलाई कम्पनीले सन् २०२४ को जनवरीसम्म व्यावसायिक प्रयोजनका लागि बजारमा ल्याईसक्ने जनाएको छ ।


संसारकै सबैभन्दा तीव्र गतिमा उडान भर्ने यो विमानको प्रयोग व्यापार क्षेत्रमा उपयोगी हुने कम्पनीको दाबी छ । यसको प्रयोगबाट व्यापार क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने कम्पनीले जनाएको छ ।


विमानका लागि रुट र टिकटको मूल्य समेत निर्धारण गरिसकिएको छ । निर्माता कम्पनीले अमेरिकाको ४६ भन्दा बढी सहरलाई केन्द्रसँग जोडने यो विमानको सेवा सस्तो दरमा उपलब्ध गराउन सकिने जनाएको छ ।


उपभोक्ताहरुले २८३ अमेरिकी डलरमा न्युयोर्कबाट बोस्टनको यात्रा ३६ मिनेटमा, ३२५ डलर भाडामा एक घन्टामै मोन्ट्रियलबाट टोरोन्टो र ३१५ डलरमा लस एन्जेलसबाट सनफ्रान्सिस्को यात्रा ५५ मिनेटमै पुरा गर्न सक्नेछन् ।


कम्पनीका अनुसार यसका लागि हेलिप्याड्स मात्रै चाहिने भएकाले भौतिक संरचनाहरु छुट्टै बनाउनु पर्ने छैन । ट्रान्सेन्डले आफ्नो भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ(भीटीओएल) विमान विक्रीका लागि सन् २०२० बाट खुला गर्ने जनाएको छ ।


यसको मूल्य ३ दशमलव ५ मिलियन अमेरिकी डलर मात्रै राखिनेछ । यो विमानले ७२४ किमीको यात्रा मात्रै एक घन्टा भन्दा कम समयमा पुरा गर्न सक्षम हुनेछ । यसको पुष्टि विमानको परीक्षणहरुबाट भइसकेको छ । ६५१ किमी प्रतिघण्टाको गतिमा यो विमानले उडान भर्नेछ ।


भीटिओएलको क्षमता अन्य राम्रा हेलिकप्टरको गति भन्दा निकै बढी हुनेछ । सामान्यता हेलिकप्टरको रेन्ज प्रतिघन्टा ४५० माइल रहने गर्छ । भिडभाड भएको सडकबाट कारहरुलाई समेत उठाउन सक्ने क्षमता यसको हुनेछ । यसले विमानस्थल वरपर हुने प्रदुषणलाई समेत कम गर्ने दाबी गरिएको छ । ‘फ्लाई–बाय–वायर’ नामले समेत चिनिने यो विमानमा नेभिगेसन प्रणालीको प्रयोग गरिनेछ ।


यसलाई म्यानुअली नियन्त्रित गरिने छैन, यो इलेक्ट्रोनिक रुपमा नियन्त्रित हुनेछ । यसको अर्थ यो विमान स्वचालित हुनेछ । विमानमा ६ जना बस्ने सिट रहने छ । ट्रान्सेन्टका सह–संस्थापक र प्रमुख कार्यकारी अधिकृत ग्रेग ब्रुएलले भनेका छन्, ‘ यो विमानले एउटा सहरबाट अर्को सहरमा कम समयमै यात्रा गर्ने विकल्प दिनेछ । यसले एकै पटकमा धेरै समस्याहरुको समाधान गर्ने छ । सडकहरुमा हुने ट्राफिक जामबाट उन्मुक्ति, विमानस्थल वरपरको प्रदुषण कम गर्ने, हवाई यातायात सेवालाई सस्तो मूल्यमा उपलब्ध गराउने र यात्राको समयलाई ऐतिहासिक रुपमा कम गर्नेछ । ’


कम्पनीको वेबसाइटका अनुसार भीटीओएल विमान अन्य हेलिकप्टरभन्दा बढी कार्यक्षमतायुक्त हुनेछ । ‘यो विमानको सञ्चालन खर्च न्यून हुनुका साथै कम आवाज निकाल्छ, यो एउटा जेटको जस्तो उडान भर्नेछ ’ कम्पनीको वेबसाइटमा छ, ‘ नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ, जसले सामान्य मानिसका लागि यो तयार गरिदैछ ।’


५० वर्ष पुरानो प्रमाणित अवधारणामा आधारित यो विमान कार्बन फाइबरको प्रयोग गरी बनाइने भएकाले लागत सस्तो छ । अनुभवी एरोस्पेस अधिकारीहरु, इन्जिनियरहरु तथा उद्यमीहरुको समूह ‘ट्रान्सेन्ड एयर कर्पोरेसन’ ले हलुका र सस्तो सेवा दिने उक्त विमान बनाए हवाई सेवामा कोशेढुंगा सावित हुनेछ ।


हेलिकप्टरको तुलनामा तीन गुणा कम लागतमा संचालन गर्न सकिने, सुरक्षाको दृष्टिपनि राम्रो भएकाले भिआईपी यातायात सेग्मेन्टका लागि अगामी दशकसम्म यो हावी हुनेछ । कम्पनीले सन् २००९ मा १५ प्रोटोटाइप भीटिओएल विमानको निर्माण र उडान गरी परिक्षण गरेको थियो ।

-एजेन्सीको सहयाेगमा

प्रकाशित : असार २०, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?