१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उड्ने बाइक बन्यो, बुकिङ खुला  

दिनेश यादव

काठमाडौँ — अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ। रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको छ। 

उड्ने बाइक बन्यो, बुकिङ खुला  

कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ । दुबई प्रहरी बलले यो क्राप्टको प्रयोग गर्ने योजना बनाई सकेको छ । उसले यसका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ ।


कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको मूल्य डेढ लाख अमेरिकी डलर तय गरिएको छ । आधा घन्टा भन्दा कम समय मात्र यसको उडने क्षमता छ । थोरै समयका लागि उडान भर्ने क्षमता रहेको यो बाइक मानिसका लागि ‘खतरनाक’ भएको विज्ञहरुले बताइरहेका छन् ।


‘स्कर्पियन होभरबाइक’ नामले समेत परिचित यो बाइक दुबई प्रहरी बलले खरिद गरी परीक्षण समेत गरिसकेको छ । उसले परिक्षण उडानका क्रममा देखिएको कमजोरीहरु हटाउन सुझाव पनि कम्पनीलाई दिइसकेको छ।


खासगरी ब्याट्री प्रणाली र कार्बन फाइबर फ्रेमका लागि सुझाव दिएको थियो । यो सुझाव अनुरुप होभरबाइकमा एउटा ‘हाइब्रिड लिथियम–म्याग्निज–निकेल’ ब्याट्री जडान गरिएको छ । यो ब्याट्री प्रयोग गरिएको होभरबाइकको उडान क्षमता मौसम र चालकको तौल अनुसार १० देखि २५ मिनेटसम्म रहेको जनाएको छ ।


रिमोट–कन्ट्रोल ड्रोन मोडमा यो बाइकको उडान समय ४० मिनेटसम्म बढाउन सकिने कम्पनीका इन्जिनियरहरुले जनाएका छन् । सामान्य पार्किङ स्थलहरुमा समेत उडान भर्ने र अवतरण गर्न सक्ने क्षमता यसको रहेको छ । ट्राफिक जाम हुने सहरहरुमा ट्राफिक प्रहरीले सजिलै प्रयोग गर्न सक्छन् ।


यसले यातायात सेवालाई सडकमा सुचारु गराउनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गर्नेछ । कम्पनीका अनुसार क्रेताले एउटा होभरबाइक एसथ्री २०१९ का लागि प्रि–अर्डर स्वरुप तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ । एक लाख ५० हजार अमेरिकी डरल मूल्य राखिएको यो होभरबाइकको बुकिङ गरेको दुई देखि ६ महिनाभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ ।


‘कानुन अनुसार होबभरबाईको तौल १ सय १४ किलो निर्धारण गरिएको छ । तर ब्याट्रीको क्षमता बढाएसँगै तौल पनि बढाउन सकिन्छ ’ कम्पनीले भनेको छ ,‘हाम्रो होभरबाइकको सुरक्षित उडान जमिनको सतहबाट ५ मिटर माथि भएपनि चालकले यसलाई आफ्नो अनुकूल बढाउन वा घटाउन सक्ने छन् ।’


अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रनले हालै एउटा कानुनी अल्ट्रालाईट भेहिकलको रुपमा वर्गीकरण गर्दै यसलाई मान्यता प्रदान गरेको छ । उसले यो बाइक चलाउनेलाई पाइलटको लाइसेन्स नचाहिने पनि भनेको छ । यसको उडान बेग ९६ किमीप्रति घन्टा भन्दा बढी गराउन नपाउने नियम छ । यो हरेक मुलुकका लागि उडानको कानुनी रुपमा वेग सीमा हो । यसमा चार वटा क्वाडकोपर ब्लेड जडान गरिएको छ ।


(एजेन्सीहरु)

प्रकाशित : कार्तिक २५, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?