कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मानिसको नक्कल गर्ने रोबोट 

दिनेश यादव

काठमाडौँ — रोबोटहरुमा पछिल्लो समय टोयोटाको फाइभजी (५ जी) नेटवर्कबाट चल्ने रोबोट थपिएको छ । झण्डै १० किलोमिटर टाढा रहेर रिमोटबाट यो रोबोटलाई नियन्त्रण गर्न सकिन्छ । 

मानिसको नक्कल गर्ने रोबोट 

‘टेकक्रन्च’ अनलाइनका अनुसार कम्पनीले आफ्नो तेस्रो पीढीको हयुम्यानोइड (मानव जस्तै) रोबोट ल्याएको हो । मानव अपरेटरले यो रोबोटको सबै गतिविधिहरु ‘थ्रीडी’ बाट नियाल्न सक्ने गरी बनाइएको छ ।

मानिसको हूबहू नक्कल गर्न सक्ने क्षमता यसको छ । मानिस हिड्ँदा, रोबोट पनि हिड्ँछ ।मानिसले एउटा हात या खुट्टा उचाल्दा उसले पनि त्यस्तै गर्छ ।

सेन्सरहरुले सुसज्जित कुर्सीमा बसेका मानिसले यसलाई आफू अनुकूल सञ्चालन गर्न सक्छन् । उसले चाहेको गतिविधि सेन्सर मार्फत रोबोटसम्म पुग्छ र त्यही अनुरुप काम गर्छ । एउटा खुट्टामा समेत उभिएर सन्तुलन कायम गर्न सक्ने यो रोबोटले विज्ञान क्षेत्रमा नौलो आयाम थप्ने विश्वास कम्पनीको छ ।


चिकित्सा क्षेत्र, घरको सेटिंस र अन्तरिक्षमा पनि यसको प्रयोग गर्न सकिने टोयोटाले जनाएको छ । यो वास्तविक जीवन ‘अवतार’ रोबोट हो । टोयोटाले बनाएको यो नवीनतम् संस्करणको नाम ‘टी–एचआर ३१ हयुम्यानोइड’ रोबोट दिइएको छ । यसको तुलना ‘अवतार’ चलचित्रमा प्रयोग गरिएको प्रविधिसँग गरिएको छ ।


कम्पनीले स्वास्थ्य संस्थामा मानिसको हेरचार गर्न सक्ने रोबोट प्रणालीका आधारमा यसको विकास गर्ने सोच बनाएको छ । केही दिनपछि जापानको टोकियोमा हुने नविन प्रविधि प्रर्दशनी ‘डोकोमो ओपन हाउस २०१८’ मा यसलाई प्रदर्शन गरिने छ ।


यो रोबोटको क्षमता भनेको मानव अपरेटरको कामहरु सजिलै पुरा गर्न सक्नु हो । रिमोट नियन्त्रित प्रणाली ‘मास्टर म्यानुभरिङ सिस्टम’ बाट सञ्चालन हुने यो रोबोटमा सेन्सरबाट प्राप्त सञ्चार संकेतले शारिरीक गतिविधि गर्न सहयोग गर्छ । निर्माताहरु भन्छन्, ‘यसको प्रयोग घरहरु, अस्पतालहरु र एक दिन अन्तरिक्षमा मानिसको सहयोगीको उपयोगमा ल्याउने सकिनेछ ।’


‘टी–एचआर ३१ हयुम्यानोइड’मा दर्जनौ सेन्सर जडान गरिएका छन् । मानिसले जुन गतिविधि गर्छ त्यसको कपी उक्त रोबोटले टाढा रहेरै गर्न सक्छ । ‘मास्टर म्यान्युभरिंग सिस्टम’ लाई नियन्त्रण गर्ने मानव अपरेटरले कम्युनिकेसन उपकरणहरु मार्फत ‘५जी’ आधार केन्द्रमा सूचना सञ्चार गर्छ ।

त्यसपछि ‘५ जी टर्मिनल’ द्वारा ‘टी–एचआरथ्री’ सम्म सन्देश सञ्चार हुन्छ । यसरी मानव अपरेटरले सीधा रेखामा १० किलोमिटर दूरीमा रहेको रोबोटलाई आफ्नो नियन्त्रणमा राखेर चलाउन सक्छन् ।

यसमा जडान गरिएको ‘ट्वान्टी नाइन टर्क सर्भो म्युडल्स’ ले शरीरका अंगहरुलाई गज्जब तरिकाले चलाउन मिल्छ । मोटर्स, रिक्सन गियर्स र टर्क सेन्सर मार्फत रोबोटको प्रत्येक जोर्नीहरुलाई कुर्सीसँग जोडिएको हुन्छ । कुर्सीमा पनि १६ वटा मास्टर कन्ट्रोल रहेका हुन्छन् ।

यसमा अपरेटरले आफ्ना पाखुहरु चलाएको अवस्थामा राबोटले पनि त्यसरी नै चलाउने गर्छ । एउटा खुट्टामा उभिरै पनि विभिन्न पोजिसनमा उभिन सक्ने क्षमता पनि यसमा छ ।


कम्पनीको ‘पार्टनर रोबोट डिभिजन’का महाप्रबन्धक आकिफुमी टामाओकीले भने, ‘मानिसको सहायक र तिनीहरुको दैनिकीलाई सहयोग पुग्ने मैत्रीपूर्ण रोबोट हामीले बनाएका छाँै ।’ उनले सबैका लागि उपयोगी हुनेगरी यसमा अझ बढी मोबिलिटी भएको प्रविधियुक्त रोबोट बनाउने सोच कम्पनीको रहेको बताए ।


(एजेन्सीहरु)

प्रकाशित : मंसिर १८, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?