कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बंगलादेशमा संघर्ष गर्दै नेपालीको पाँचौं पुस्ता

बंगलादेशमा १ लाख नेपाली मूलका नागरिक रहेको अनुमान छ
पर्वत पोर्तेल

ढाका (बंगलादेश) — बंगलादेशको राजधानी ढाकास्थित वारिधारामा छ नेपालको राजदूतावास । यहाँ कार्यरत दुई जना कर्मचारी नेपाली मूलका बंगलादेशी छन् । रिया क्षेत्री (२७), राजदूत चोपलाल भुसालकी निजी सचिव हुन् । उनलाई राम्रोसँग नेपाली बोल्न पनि आउँदैन् । ‘नेपाली दूतावासमा आएपछि नै मैले नेपाली बोल्न सिकेकी हुँ,’ ५ वर्षदेखि दूतावासमा कार्यरत रियाले बंगाली लवजमा नेपाली बोलिन्, ‘नेपाली भाषा बोल्न पाउँदा गर्व लाग्छ ।’

बंगलादेशमा संघर्ष गर्दै नेपालीको पाँचौं पुस्ता

दूतावासमै कार्यरत अर्का नेपाली मूलका बंगलादेशी हुन्– शमशेर थापा । उनी लामो समयदेखि दूतावासमा चालकका रूपमा काम गर्दै आएका छन् । रियाको चौथो पुस्ता र शमशेरको पाँचौं पुस्ता बंगालदेशी हुन् । बंगलादेशमा करिब १ लाख हाराहारीमा नेपाली मूलका नागरिक रहेको अनुमान छ । खासगरी राजधानी ढाकाको नखलापाढा धेरै जनसंख्या भएको सहरी बस्ती हो । यहाँ पनि नेपालीको निक्कै बाक्लो बसोबास छ । सिलेट, पाब्ना र समुद्री सहर कक्स बजारनजिकको राँगामाटी क्षेत्रमा नेपाली मूलका बंगलादेशीको बसोबास छ ।

रियाका अनुसार दोस्रो विश्वयुद्ध ताका उनका हजुरबुवा काभ्रेको धुलिखेलबाट भारत छिरेका थिए । पछि सन् १९४७ मा भारत र पाकिस्तान बेलायती उपनिवेशबाट मुक्त भए । हालको बंगलादेश तत्कालीन पूर्वी पाकिस्तान थियो । सन् १९७१ मा पाकिस्तानबाट अलग भएपछि रियाको पुस्ता निरन्तर बंगलादेशमा छन् । उनका पिता कृष्णबहादुर भुसाल क्षेत्रीले बंगलादेश क्रान्तिको २ वर्षपछि दुर्गा अधिकारीसँग बिहे गरेका थिए ।

उनका हजुरबुवाले धान चामलको मिल चलाएर बसेका थिए । तर, उनका बुवा कृष्णवहादुर क्षेत्रीले बुवाको कामलाई निरन्तरता दिन नसक्दा अर्कै पेसा अपनाउनुपर्‍यो । रियाको पुस्ताले पनि बुवाको पेसालाई अपनाएको छैन । ‘बुवाको पुस्ताका नेपाली सबै चौकीदारीमा थिए,’ रिया भन्छिन्, ‘हाम्रा पुस्ता पढेलेखेकाले सबै जागिरे भए ।’

रियाका बुवा धुलिखेलमै जन्मिएका थिए । ७ महिनाको हुँदा हजुरबुवाले बोकेर भारत पुर्‍याएका रियाले नेपालका बारेमा धेरै सुने पनि जाने मौक नमिलेको बताइन् । ‘पुख्र्यौली थलो हेर्ने धोको छ,’ उनले भनिन्, ‘आगामी वर्ष जाने योजना छ ।’

उत्तरी बंगलादेशको पार्वतीपुरमा जन्मिएकी रिया जागिरको सिलसिलाले ढाका पुगेकी हुन् । बंगलादेशका नेपालीभाषीबीचमा नै ज्यादा बिहेवारी चल्छ । कसैकसैले बंगलादेशी हिन्दुसँग पनि बिहे गरेका छन् । उनकी दिदीले बंगलादेशी हिन्दु युवासँग बिहे गरिन् । भाइले नेपालीमूलकै बुहारी भित्र्याएका छन् । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा लगभग १० प्रतिशत हिन्दु छन् । त्यसमा केही हिस्सा नेपालीमूलका बंगलादेशीले ओगटेका छन् ।

प्रकाशित : पुस २६, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?