१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मोदी र नेतान्याहुले भने–भारत–इजरायल सम्बन्ध नयाँ युगमा

बीबीसी

नयाँदिल्ली — भारत र इजरायलले दुई देशको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको जनाएका छन् । रक्षा, कृषि र नागरिक उड्ययन क्षेत्रबारे नयाँ सम्झौतामा हस्ताक्षर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका इजरायली समकक्षी बेन्जामिन नेतान्याहुले यस्तो बताएका हुन् । 

मोदी र नेतान्याहुले भने–भारत–इजरायल सम्बन्ध नयाँ युगमा

मोदीसँग सोमबार भएको वार्तामा उक्त सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भेटमा मोदीले इजरायली हातहतियार सम्बद्ध कम्पनीहरूले भारतमा लगानी गर्न प्रस्तावसमेत गरेका थिए । दुई देशबीच, साइबर प्रतिरक्षा, सुरक्षा र विज्ञानसम्बन्धी क्षेत्रमा समेत आवश्यकताअनुसार सक्दो सहयोग र समन्वय गर्ने सहमति भएको छ ।

नेतान्याहु मोदी प्रधानमन्त्री बनेको एक वर्षपछि मात्र भारतको भ्रमण गरेका हुन् । उनी ६ दिने भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्लीमा छन् । उनी १ सय ३० जनाको व्यापारिक टोलीसहित आइतबार नयाँदिल्ली उत्रेका हुन् । उनी १५ वर्षयता भारतको भ्रमण गर्ने पहिलो इजरायली प्रधानमन्त्री हुन् । मोदीले नेतान्याहुको भ्रमणले दुई देशको साझेदारी ‘व्यापक’ भएको प्रतिक्रिया दिए । नेतान्याहुले ‘दुई देशको सहकार्यले आफ्ना नागरिकको जीवनस्तर उकास्न सकिने’ धारणा व्यक्त गरे । उनले सन् २००८ मा भएको मुम्बई आक्रमणको समेत कुरा उठाएका थिए । नेतान्याहुले भने, ‘इजरायली र भारतीयले उक्त त्रासदीपूर्ण आतंककारी हमला स्मरण गर्छन् । हामी त्यस प्रकारका आक्रमणविरुद्ध लड्न सक्षम छौं ।’ भ्रमणका क्रममा मोदी र नेतान्याहु दुई देशबीच उत्पन्न भएका असमझदारीबारे प्रतिक्रिया दिने कुरामा निकै होसियार भएका थिए । नेतान्याहुले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यताको विपक्षमा भारतले राष्ट्रसंघमा गरेको मतदानबारे निकै सन्तुलित प्रतिक्रिया दिएका थिए ।

‘मलाई लाग्दैन कि एक मतले सामान्य प्रवृत्तिलाई असर गर्दैन्,’ उनले भने, ‘म निकै निराश भएको थिएँ तर मलाई लाग्छ यो भ्रमण दुई देशका विभिन्न मोर्चाको अग्रगमनबारेको अनुभव हो ।’ उनले एक भोटले दुई देशको सम्बन्ध परिवर्तन गर्न नसक्नेमा जोड दिएका थिए । तर कुनै पनि नेताले भारतले ५० करोड डलरको क्षेप्यास्त्र सम्झौता रद्द गरेको बारे भने केही बोलेनन् । उनले ‘क्रान्तिकारी नेता’ को संज्ञा दिँदै भारतीय प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका थिए ।

शीतयुद्धपछि नजिकिएका भारत र इजरायबीचको कूटनीतिक सम्बन्ध २५ वर्ष पुरानो हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतान्याहु र मोदीका भनाइहरू दुई देशबीचको बढदो साझेदारी प्रकट गर्ने प्रकारका छन् । यसको केन्द्रमा रक्षा समन्वय देखा परेको छ । भारत इजरायलको हातहतियारको एक प्रमुख बजार हो । एएफपी समाचार संस्थाका अनुसार भारतले बर्सेनि १ खर्ब डलर बराबरको हातहतियार इजरायलबाट खरिद गर्नेगर्छ ।

प्रकाशित : माघ २, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?