कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

१३ सन्तानलाई बन्धक बनाउने दम्पती पक्राउ 

बीबीसी

क्यालिफोर्निया — क्यार्लिफोनियाका प्रहरीले आफ्ना १३ सन्तानलाई घरैमा बन्धक बनाएर राखिएको पत्ता लगाएपछि एक दम्पतीलाई मंगलबार पक्राउ गरेको छ । 

१३ सन्तानलाई बन्धक बनाउने दम्पती पक्राउ 

पक्राउ पर्नेमा ५७ वर्षीय डेभिड अलेन टर्पिन र उनकी श्रीमती ४९ वर्षीया लुइस अन्ना टर्पिन रहेका छन् । उनीहरूलाई यातना र बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ । टर्पिन दम्पतीका २ देखि २९ वर्षसम्मका सन्तानलाई लस एन्जलसको पेरिसस्थित घरबाट प्रहरीले फेला पारेको हो । प्रहरीले उनीहरूलाई घरको ओछयानमा सिक्रीले बाँधेर ताला लगाएर राखिएको अवस्थामा भेटेको हो ।

प्रहरीले पीडितमध्ये एकमार्फत सूचना पाएपछि उक्त घटनाबारे जानकारी पाएका हुन् । आइतबार भाग्न सफल एक किशोरीले आपत्कालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएकी थिइन् ।

प्रहरीका अनुसार पीडितमध्ये केहीलाई ओछयानमै हत्कडी लगाएर राखिएको र अन्यलाई खुट्टामा ताल्चा लगाएर अध्याँरो र दुर्गन्धित स्थानमा थुनेर राखिएको जनाएको छ । एक प्रहरी अधिकारी पीडितमध्ये ७ जना १८ देखि २९ वर्षका वयस्क रहेकोमा आफू आश्चर्यमा परेको जनाए ।

उक्त त्रासदीपूर्ण अवस्थाबारे त्यहाँबाट भागेकी एक १७ वर्षीया किशोरीले प्रहरीलाई फोनमार्फत बताएकी हुन् । उनले आफ्ना १२ जना दाजुभाइ तथा दिदीबहिनीलाई अभिभावकले बन्धक बनाएको दाबी गरेकी थिइन् । लगत्तै उक्त घरमा पुगेका प्रहरीले १२ जना बालबालिका फेला पारेको जनाए । उनीहरू कुपोषणग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अस्पतालका प्रमुखले रोयटर्स समाचार संस्थासँग भने, ‘यो कर्मचारीका लागि वास्तवमै हृदयविदारक घटना हो । तपाई जे देख्दै हुनुहुन्छ त्यो निकै अपत्यारिलो घटना हो ।’

अनुसन्धानकर्ताहरूले टर्पिन दम्पतीले किन आफ्ना छोराछोरीलाई त्यसरी बन्धक बनाएका थिए भन्नेबारे कारण पत्ता लागिनसकेको बताएका छन् । अधिकारीहरूले मुइर वुड्स रोडको उक्त घरमा त्यसो घटनाबारे आफूहरूलाई कुनै शंका नभएको बताए । तर उनीहरू कहिलेदेखि बन्धक अवस्थामा थिए भन्नेबारे केही थाहा हुन सकेको छैन । सार्वजनिक अभिलेखका अनुसार टर्पिन परिवार सन् २०१० मा टेक्सासबाट क्यालिफोर्निया सरेको हो । टर्पिन दुई पटकसम्म टाट पल्टेको घोषित भएका थिए । दोस्रो पटक टाट पल्टेको समयमा उनले आफू हवाई तथा प्रतिरक्षा प्रविधि सम्बद्ध इन्जिनियरका रूपमा राम्रो तलबको जागिरे भएको बताएका थिए ।

यद्यपि ठूलो परिवार तथा बेरोजगार पत्नीका कारण उनको घरायसी खर्च अत्यधिक थियो । टर्पिनका बुबाआमाले उनीहरूको परिवारसँग ४/५ वर्षदेखि भेट नभएको बताए । तर फेसबुक पेजमा पोस्ट गरिएको तस्बिरमा भने उनको परिवार खुसी देखिन्छ । उक्त तस्बिरमा कतिपय पारिवारिक व्यक्ति तथा साथीहरूले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : माघ ३, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?