३ सयभन्दा बढी मारिए

सिरियामा विद्रोहीविरुद्ध आक्रमण
मारिनेमा ६० भन्दा बढी बालबालिका
बीबीसी

दमास्कस — सिरियाको विद्रोही नियन्त्रित घुटामा सरकारले तीन दिनदेखि जारी राखेको भीषण बम हमलामा ३ सयभन्दा बढी मारिएका छन् । मारिनेमा ६० भन्दा बढी बालबालिका छन् । घाइते हुनेको संख्या १ हजार ४ सयभन्दा बढी रहेको जनाइएको छ ।

३ सयभन्दा बढी मारिए

सहायता संस्थाहरूका अनुसार सरकारले गरेको यो आक्रमण सन् २०१३ यताकै सबैभन्दा हिंसात्मक हो । संयुक्त राष्ट्रसंघले स्थिति नियन्त्रणभन्दा बाहिर गएको जनाउँदै तत्काल युद्धविराम गर्न सिरियाली सरकारलाई आग्रह गरेको छ । विद्रोही नियन्त्रित क्षेत्रमा कार्यरत एक चिकित्सकका अनुसार घुटामा पानी बर्सेजस्तै हरेक मिनेटमा १० देखि २० हवाई आक्रमण हुने गरेको छ ।


सोमबार र मंगलबारका आक्रमणमा ६ वटा अस्पताललाई निसाना बनाइएका थिए । ‘सर्वसाधारण, अस्पताल र विद्यालयमाथि गरिएका आक्रमणको हामी भत्र्सना गर्छौं, यो मानवीय कानुनको चरम उल्लंघन हो, सिरियामा हिंसा कम गर्न सबै पक्षसँग अपिल गर्छौं,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् ।


सिरियाली सेनाले घुटामा भएको क्षतिबारे सार्वजनिक भएका समाचारको खण्डन नगरे पनि आफूविरुद्ध भएका आक्रमणको जवाफी हमला गरेको जनाएको छ । सेनाले आफ्नो निसाना सर्वसाधारण नभई विद्रोही भएको पनि दाबी गरेको छ । बस्साम नामका चिकित्सकका अनुसार सरकारले नागरिक रहने बजार, अस्पताल, विद्यालय, मस्जिदसहित हरेक स्थानमा आक्रमण गरिरहेको छ । ‘कहाँ छ अन्तर्राष्ट्रिय समुदाय, कहाँ छ राष्ट्रसंघको सुरक्षा परिषद्, तिनीहरूले हामीलाई त्यत्तिकै मर्न छाडिदिए,’ उनले भनेका छन् ।


आक्रमणबाट बच्न लुक्ने ठाउँ कतै नभएको पनि उनले बताएका छन् । बुधबारको आक्रमणमा २४ सर्वसाधारण मारिएका मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर हयुमन राइटस्ले जनाएको छ ।


विद्रोहीले दमास्कसमा गरेको जवाफी आक्रमणमा ३ बालबालिकाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । पूर्वी घुटाबाट दमास्कसको आवासीय क्षेत्रमा १ सयभन्दा बढी मोर्टार आक्रमण भएको सेनाको दाबी छ ।


राजधानी दमास्कसनजिकको विद्रोही नियन्त्रित पूर्वी घुटामा रूससमर्थित सरकारी बलले आइतबार रातिदेखि आक्रमण गरेको हो । राष्ट्रसंघले सिरियाली द्वन्द्वमा संलग्न विश्वशक्ति मुलुकहरूलाई लडाइँ स्थगन गर्न र मानवीय सहायता पुग्न दिन आग्रह गरेको छ । पूर्वी घुटाको अवस्था एलेप्पोभन्दा नराम्रो रहेको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् । त्यहाँ करिब ४ लाख नागरिकलाई खाद्यान्न आवश्यक रहेको र चिकित्सा सुविधा पूर्णरूपमा क्षतिग्रस्त भएकाले सयौंलाई तत्काल सार्न आवश्यक रहेको जनाइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?