कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ह्यारी–मेगान विवाह खर्च ४ अर्ब

नवीन पोखरेल

लन्डन — बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आज विवाह हुँदै छ । विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा तामझामका साथ हुने विवाह समारोहलाई टीभीमार्फत विश्वका करोडौं दर्शकले हेर्ने अनुमान गरिएको छ ।

ह्यारी–मेगान विवाह खर्च ४ अर्ब

विवाह समारोहलाई बीबीसी वान, बीबीसी न्युज च्यानल, स्काई न्युज, स्काई वान, आईटीभी आदिले विशेष कभरेज गर्दै छन् ।

ह्यारीले गोर्खा सैनिकलाई मन पराउने भएकाले नेपाली समुदायमा पनि समारोहलाई चासोका साथ हेरिएको छ । ‘विवाहको दिन बिदा नै लिएको छु,’ बस चालक एक गोर्खा अभियन्ता ज्ञानराज राई भन्छन्, ‘ह्यारीले गोर्खा र नेपाललाई गर्ने मायाका कारण टीभी लाइभबाटै भए पनि इभेन्ट नछुटाउने पक्षमा छु ।’ सन् २०११ मा राजकुमार विलियम र केटको विवाह समारोहलाई अमेरिकामा मात्र २ करोड ३० लाख दर्शक र विश्वभर ३ अर्बले अवलोकन गरेका थिए ।

ह्यारी–मेगान विवाहलाई पनि सोही संख्याका दर्शकले हेर्ने पूर्वानुमान गरिएको छ । तर, यसै दिन महत्त्वपूर्ण एफए कप फाइनल परेकाले दर्शक घट्ने अनुमान पनि कतिपयको छ । बेलायतका करिब ५२ हजार ७ सय ५० पब (रक्सी बेच्ने भट्टी) अबेरसम्म खुल्नेछन् । स्थानीय समयअनुसार मध्याह्न १२ बजे समारोह सुरु हुनेछ । विन्डसोर डिनले सेन्ट जोर्ज च्यापलमा एक घण्टा लामो वैवाहिक कार्यक्रम गर्नेछन् भने आर्चबिसप अफ क्यान्टरबरी जस्टिन वेल्वीले प्रतिज्ञा गराउनेछन् । त्यसपछि ह्यारी–मेगान जोडी दिउँसो एक बजे बग्गी चढेर क्यासल हिल, हाइ स्ट्रिट, सिट स्ट्रिट, किङस रोड, अल्बर्ट रोड हुँदै विन्सोर क्यासल फर्कने कार्यक्रम छ ।

समारोहका लागि विश्वभरबाट सेलिब्रेटीसहित ६ सय अतिथि निम्त्याइएको छ । बेलायतको नागरिक समाजबाट २ हजार ६ सय ४० जना विन्सोर क्यासल मैदानमा उभिनेछन् । थेम्स भ्याली प्रहरीले बिहान ९ बजेसम्म स्थानीय सहर भरिइसक्ने अनुमान गरेको छ । आफ्नी छोरीको विवाहमा मेगानका बाबु थोमस मर्केल भने सहभागी नहुने भएका छन् । गतसाता हार्ट सर्जरीपछि आराम गरिरहेका ७३ वर्षीय थोमस प्रतिकूल स्वास्थका कारण अनुपस्थित रहने केन्सिङ्टन प्यालेसले जनाएको छ । मेगानकी आमा डोरिया रगल्यान्ड लस एन्जलसबाट लन्डन आइसकेकी छन् । समारोहका लागि साढे ४ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान विवाह कार्यक्रमको योजना बनाउने ब्राइड बुकले गरेको छ, जसमा अधिकांश सुरक्षामा खर्च छ । सुरक्षामा झन्डै ४ अर्ब २० करोड खर्च हुने अनुमान छ । त्यस दिन ५ हजार अतिरिक्त प्रहरी ड्युटीमा खटाइनेछ । विवाहका दिन विन्सोर वरपर हवाई जहाज उड्न प्रतिबन्ध लगाइएको छ ।

बेलायतको राजतन्त्रले अर्थतन्त्रलाई कति समृद्ध पार्छ भन्ने चर्चा पनि भएको छ । गतवर्ष बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न करिब ५० लाख आगन्तुक दरबार पुगेका थिए । शाही पर्यटनले बेलायतको अर्थतन्त्रमा वार्षिक ७४७ मिलियन डलरको योगदान गर्ने बताइएको छ । ह्यारी–मेगान विवाहले यसपटक बेलायती अर्थतन्त्रमा १२० मिलियन पाउन्ड योगदान दिने अनुमान सेन्टर फर रिटेल रिसर्चको छ । बेलायती राजपरिवारले पछिल्लो दशकमा धेरै उतारचढाव बेहोर्‍यो । सन् १९९७ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो । पापाराज्जीले पिछा गरिरहँदा उनी दुर्घटनामा परेकी थिइन् । त्यतिबेला बुहारी र राजतन्त्रको भविष्यबारे पत्रपत्रिका एवं टेलिभिजनमा अनेक बहस र भविष्यवाणी नै भएपछि रानीे सार्वजनिक रूपमै विज्ञप्ति जारी गर्न बाध्य भएकी थिइन् ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?