कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इराकमा गठबन्धन सरकार बन्ने

बीबीसी

बग्दाद — इराकी प्रधानमन्त्री हैदर अल–अवादीले नयाँ सरकार गठनका लागि मोक्तदा अल–सद्रसँग भेटवार्ता गरेका छन् ।

इराकमा गठबन्धन सरकार बन्ने

इराकमा गतसाता भएको संसदीय चुनावको शनिबार सार्वजनिक परिणाम अनुसार पूर्व शिया लडाकु प्रमुख अल–सद्र नेतृत्वको गठबन्धनले प्रथम स्थान हासिल गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अवादीलाई उद्धृत गर्दै दुई नेताहरू गठबन्धन सरकार गठन गर्न सहमत भएको बताएका छन् । ‘भेटवार्ताका क्रममा हामीबीच नयाँ सरकार गठनका लागि सहकार्य गर्ने सहमति भएको छ ।’ बग्दादमा आयोजित पत्रकार सम्मेलनमा अवादीले भने, ‘नागरिक सेवा, सुरक्षा र आर्थिक समृद्धिका लागि यो निकै बलियो सरकार हुनेछ ।’

अल–सद्रले आफूहरू ‘देश निर्माणका लागि क्रियाशील रहने कुनै पनि शक्तिसँग सहकार्य गर्न तयार रहेको’ बताए । निर्वाचन अघि इरानले अल–सद्रको दललाई इराकमा शासन गर्न नदिने बताएको थियो । सीमा जोडिएको इरानले यसअघि पनि इराकमा प्रधानमन्त्री चयनका लागि दबाद दिँदै आएको छ ।

निर्वाचनमा अल–सद्रको गठबन्धन ५४, इरान समर्थक फतह गठबन्धन ४७ तथा वर्तमान प्रधानमन्त्री अबादीको दलले ४२ सिट जितेको हो । अल–सद्र नेतृत्वका लडाकुहरूले सन् २००३ मा अमेरिकाले गरेको अतिक्रमणको विरोधमा २ मुख्य आन्दोलनको नेतृत्व गरेका थिए । कट्टर राष्ट्रवादी नेता अल–सद्र अमेरिका तथा इरानको खरो आलोचकका रूपमा चिनिन्छन् । कतिपयले निर्वाचन परिणामलाई अमेरिका तथा इरानको पराजयको रूपमा पनि अथ्र्याएका छन् ।

अल–सद्र भने निर्वाचनमा नउठेका कारण प्रधानमन्त्री बन्न भने पाउने छैनन् । तर इराकमा अब सरकार गठनका लागि उनको मुख्य भूमिका हुन सक्ने बताइएको छ । प्रधानमन्त्री हैदर अल अवादीको दल इरान समर्थित गठबन्धनभन्दा पनि पछि परेको हो । इराकमा गन डिसेम्बरमा इस्लामिक स्टेटविरुद्धको लडाइँ अन्त्य भएपछि गरिएको यो पहिलो निर्वाचन हो । इराकमा इस्लामिक स्टेटविरुद्धको लडाइँमा सामेल स्थानीय फौजलाई अमेरिकाले सहयोग पुर्‍याएको थियो । हाल इराकमा करिब ५ हजार अमेरिकी सेना छन् । भ्रष्टाचारविरुद्ध लड्ने र सार्वजनिक सेवामा लगानी गर्ने प्रतिबद्धतासहित अल सद्रको गठबन्धन चुनावी अभियानमा होमिएको थियो । प्रधानमन्त्री जो भए पनि गठबन्धनको प्रतिबद्धताअनुसार आईएसविरुद्धको लडाइपछिको पुर्निमाणमा जोड दिनुपर्ने बताइएको छ ।

सन् २०१४ मा आइएसले इराको ७० प्रतिशतभन्दा बढी भूभागमा कब्जा जमाएको थियो । गत फेब्रअरीमा भएको दातृ सम्मलेनमा दाताहरूले इराकको पुननिर्माणका लागि ३० अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

इराकी अधिकारीले भने पुनर्निर्माणका लागि कम्तिमा सय अर्ब डलर आवश्यक पर्ने बताउने गरेका छन् । लडाइँका क्रममा मोसुल सहरमा मात्र कम्तीमा २० हजार घर तथा व्यवसायहरू ध्वस्त भएका थिए । इराकमा यही गत शनिबार भएको निर्वाचनमा हालसम्मकै कम अर्थात ४२ दशमलव ५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?