भेनेजुएलाद्वारा अमेरिकी कूटनीतिज्ञ निष्कासित

बीबीसी

कराकस — हालै सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामको विरोधमा अन्तर्राष्ट्रिय मोर्चाबन्दी गरेपछि भेनेजुएलाले अमेरिकी उच्च कूटनीतिज्ञलाई देशनिकाला गर्ने घोषणा गरेको छ ।

भेनेजुएलाद्वारा अमेरिकी कूटनीतिज्ञ निष्कासित

गत आइतबार दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति निकोलस मडुरोले वरिष्ठ कूटनीतिज्ञ टोड रबिन्सन तथा उनका सहयोगी ब्राइन नरान्जोलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएका छन् । मडुरोले ‘भेनेजुएलाको समाजवादी सरकारको विरुद्ध लागेकाले रबिन्सनलाई देश निकाला गर्नुपरेको’ बताए ।

निर्वाचन समितिको कार्यक्रममा बोल्दै मडुरोले ‘अमेरिकी दूतावास सैनिक, आर्थिक र राजनीतिक
षड्यन्त्रमा संलग्न भएको प्रमाण आफूसँग रहेको’ दाबी गरे । उनले कुनै पनि षड्यन्त्र तथा प्रतिबन्धले भेनेजुएलाले घुँडा नटेक्ने बताए ।

आइतबार मडुरो आगामी ६ वर्षका लागि राष्ट्रपतिमा चयन भएका थिए । तर विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाउँदै परिणाम अस्वीकार गरेपछि अमेरिका, ब्राजिल, अर्जेन्टिना, क्यानडा, मेक्सिको, कोलम्बिया, चिली, पनामा पेरूलगायत १४ देशले आफ्ना राजदूत फिर्ता बोलाइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुलया सरकारको थप आर्थिक प्रतिबन्धका लागि कार्यकारी आदेशमा हस्ताक्षर समेत गरेका छन् । ८ वर्षयता अमेरिकी राजदूत नभएको भेनेजुएलामा रबिन्सन उच्च अमेरिकी कूटनीतिज्ञका रूपमा कार्यरत थिए ।

हालैका दिनमा आर्थिक तथा खाद्य संकटको सामना गर्दै आएको भेनेजुलयामा आइतबार भएको निर्वाचनमा निकै कम मतदान भएको थियो । मडुरो ६८ प्रतिशत मतसहित राष्ट्रपतिमा चयन भएका थिए भने उनका प्रतिस्पर्धी हेनरी फाल्कनले करिब २२ प्रतिशत मत प्राप्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका जनतामाथि दमन भएको दाबी गर्दै त्यसको अन्त्यका लागि पुन: निर्वाचन हुनुपर्ने बताएका थिए । अमेरिकाले यसअघि नै मडुरो तथा उच्च अधिकारीलाई भ्रमणका लागि प्रतिबन्ध लगाएको थियो ।

रुस, एल साल्भाडोर, क्युबा र चीनले भने राष्ट्रपति मडुरोलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?