१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोदीलाई कोहलीको चुनौती

इन्धनको मूल्य घटाउन राहुलको चेतावनी
एजेन्सी

नयाँदिल्ली — भारतमा गत सातादेखि उच्चपदस्थ व्यक्ति, सेलेब्रिटी, तथा तथा खेलाडीबीच ट्वीटरमा आफूले शारीरिक व्यायाम गरेको भिडियो सम्प्रेषण गर्ने लहर चलेको छ ।

मोदीलाई कोहलीको चुनौती

सामाजिक सञ्जालमा हम फिट तो इन्डिया फिट’ (हामी स्वस्थ भए भारत स्वस्थ्य) ट्रेन्डिङमा चर्चित भएको यो लहर पछिल्लो पटक भारतीय खेलमन्त्री राज्यवर्धन राठोरका कारण चर्चित भयो । राठोरले आफूले व्यायाम गरेको भिडियो राख्दै अन्य मानिसलाई पनि त्यसो गर्न चुनौती दिए ।

त्यसमध्ये उनले भारतीय क्रिकेट खेलाडी विराट कोहलीलाई पनि उल्लेख गरे । कोहलीले पनि तत्कालै चुनौती स्वीकार गर्दै शारीरिक अभ्यासको भिडियो सार्वजनिक गरे र टयाग गर्दै प्रधानमन्त्री मोदीलाई चुनौती दिए ।

मोदीले पनि तत्कालै चुनौती स्वीकार गरेको जनाइसकेका छन् । राठोरको ट्वीट करिब ११ हजारपटक रिट्वीट गरिएको हो । उक्त ट्वीटको प्रतिक्रिया स्वरूप केही भारतीय मन्त्रीले पनि व्यायाम गरेको भिडियो राखेका छन् । भारतीय चलचित्र क्षेत्रका अभिनेता ऋतिक रोशन, अनुष्का शर्मा, टाइगर श्राफ, क्रिकेटर सुरेश रैना, गौतम गाम्भीर, केएल राहुल, रणदीप हुड्डा, महिला क्रिकेटर मिथाली राज लगायतले पनि व्यायाम गरिरहेको भिडियो राखेका छन् ।

अभिनेता अमिताभ बच्चनले उक्त चुनौती स्वीकार गरेको जनाए पनि भिडियो भने सार्वजनिक गरेका छैनन् । गत मार्च महिनामा प्रधानमन्त्री मोदीले ‘स्वस्थ भारत’ अभियानको सुरुवात गर्दै योगाको महत्त्व तथा फाइदाबारे चर्चा गरेका थिए । त्यसयता मोदीले योगासँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा प्रेषित गर्दै आएका छन् । खेलमन्त्री राठोरले प्रधानमन्त्रीको स्वस्थ भारत अभियानलाई सहयोग गर्न पनि आफूले पछिल्लोपटक शारीरिक व्यायामको भिडियोको अवधारणा सुरु गरेको बताए ।

यसैबीच, प्रधानमन्त्री मोदीले व्यायामसम्बन्धी कोहलीको चुनौती स्वीकार गरेलगत्तै भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले अर्को चुनौती दिएका छन् । तर उनले दिएको चुनौती व्यायाम नभई इन्धनसम्बन्धी हो । राहुलले इन्धन चुनौती स्वीकार गर्ने आँट गर्दै हालैका दिनमा भारतीय बजारमा इन्धनको मूल्यमा भएको मूल्यवृद्धि घटाउन चुनौती दिएका हुन् । उनले मोदीले इन्धनको मूल्य नघटाए आफ्नो पार्टीले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भारतीय बजारमा बिहीबार इन्धनको मूल्य बढेको थियो । यो गत मे १४ यताको ११ औं वृद्धि हो । हाल मुम्बईमा पेट्रोलको मूल्य भारतीय रुपैयाँ ८५ नाघेको छ भने राजधानी नयाँदिल्लीमा ८० पुगेको छ ।

त्यसैगरी, कंग्रेस सञ्चार प्रमुख रन्दिप सुर्जेवालाले मोदीलाई व्यायामको चुनौतीभन्दा चुनावी प्रतिबद्धता अनुसार २ करोड रोजगारी सिर्जना गर्न आग्रह गरे ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?