१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘जुन १२ मै वार्ता हुन सक्छ’

उत्तर कोरिया वार्ता गर्न सधैं तयार
बीबीसी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग पूर्वनिर्धारित समयमै वार्ता हुन सक्ने बताएका छन् ।

‘जुन १२ मै वार्ता हुन सक्छ’

यसअघि उनले आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता बिहीबार अकस्मात् रद्द भएको घोषणा गरेका थिए ।

‘हेरौं, के हुन्छ ? १२ मै पनि बैठक हुन सक्छ । हामी उनहरूसँग कुराकानी गर्छौं,’ शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘उनीहरू वार्ता होस् भन्ने अत्यधिक चाहन्छन् र हामी पनि चाहन्छौं ।’ वार्ता रद्द गर्ने घोषणाका बाबजुद उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘जुनसुकै समय’ वार्ताका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली उपविदेशमन्त्री किम क्वाई ग्वानले एक विज्ञप्तिमार्फत ट्रम्पले निर्णय ‘निकै नै पश्चातापपूर्ण’ भएको बताए ।

ट्रम्पले ‘अथाह आतंक र खुला शत्रुता’ का कारण वार्ता रद्द गर्नुपरेको जनाएका थिए । तर उनले उत्तर कोरियाले जारी गरेका विज्ञप्ति निकै सकारात्मक भएको जनाएका छन् । उत्तर कोरियाले शिखर बैठक रद्द गर्ने ट्रम्पको निर्णयप्रति दु:खसमेत व्यक्त गरेको छ । उत्तर कोरियाली सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहनाविपरीत भएको दाबी गरेको छ । उत्तर कोरियाले शिखर बैठकका लागि किमले ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङ्टनसँगका मतभेद समाधान गर्न प्योङयाङ इच्छुक रहेको जनाएको छ ।

विपक्षीद्वारा ट्रम्पको आलोचना
शिखर बैठक स्थगन गर्ने निर्णय गरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षीहरूले संसद्मा चर्को आलोचना गरेका छन् । डिमोक्रयाटिक दलका नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रूपमा व्यवहार गर्न नसकेको आरोप लगाइन् ।

तर अमेरिकी राष्ट्रपति कार्यालय हाइटहाउसका अधिकारीले उत्तर कोरियाका प्रतिनिधि सिंगापुरमा गत साता शिखर बैठकको तयारीका लागि बोलाइएको बैठकमा नआएको र प्योङयाङले परमाणु परीक्षण स्थल नष्ट गर्ने क्रममा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई उपस्थित हुन नदिएको टिप्पणी गरेका छन् ।

उत्तर कोरियाले पुङ्गे रीस्थित भूमिगत परमाणु हतियार परीक्षण स्थलको सुरुङ नष्ट गर्ने क्रममा अनुगमनकर्ताहरूलाई उपस्थित गराएको थिएन् । उक्त कार्यक्रममा दक्षिण कोरियाका ८ सहित २० विदेशी पत्रकारहरूको उपस्थिति थियो । समाचार संस्था रोयटर्सले उत्तर कोरियाले यसअघि भनेजस्तो स्वतन्त्र पर्यवेक्षकहरूलाई परीक्षण स्थलमा जान नदिएको हो ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
शिखर बैठक रद्द गर्ने ट्रम्पको निर्णयपछि अन्तर्राष्ट्रिय समुदायले पनि निराशा व्यक्त गरेको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेजले ‘अमेरिका र उत्तर कोरियाबीच तय भएको शिखर वार्ता अन्तिम समयमा रद्द हुनु दु:खद भएको’ जनाएका छन् । त्यसैगरी, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले ट्रम्पले निर्णयप्रति गहिरो खेद व्यक्त गर्दै उच्च सुरक्षा अधिकारीसँग आपत्कालीन बैठक गरेका छन् ।

दक्षिण कोरियाले दुई देशबीच वार्ताका लागि अर्काे मिति तोक्ने प्रयासमा लागेका जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका अनुसार छिट्टै नै अर्काे वार्ताका लागि उत्तर कोरियालाई मनाउने प्रयास जारी रहेको जनाएको छ ।

तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले दक्षिण कोरिया तथा अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास अन्त्य नभएसम्म वार्तामा नबस्ने बताउँदै आएको छ ।

अमेरिका–दक्षिण कोरिया फोनवार्ता
यसैबीच, शुक्रबार दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको रोयटर्सले जनाइएको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच शुक्रबार फोनवार्ता भएको हो । दुई नेताबीच अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने भनिएको शिखर वार्ता स्थगित भएपछि विकसित परिस्थितिबारे कुराकानी भएको जनाइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?