कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लन्डनबाट डिपोर्ट गर्न लागिएका नेपालीलाई पाइलटले जोगाए

कान्तिपुर संवाददाता

लन्डन — बेलायती अध्यागमन अधिकारीहरुले एक जना नेपालीलाई डिपोर्ट (देश निकाला) गर्न हवाईजहाजमा चढाए पनि त्यो योजना सफल हुन सकेन ।

लन्डनबाट डिपोर्ट गर्न लागिएका नेपालीलाई पाइलटले जोगाए

अध्यागमन कर्मचारीले मुम्बइ उड्न लागेको जेट एयरवेजको जहाजभित्र ती नेपालीलाई बलजफ्ती हालेपनि पाइलटले लैजान अस्वीकार गरेपछि डिपोर्ट प्रक्रिया रोकिएको हो ।


घट्ना गत ५ अगष्ट अपरान्ह ५.०५ बजेको हो । अध्यागमन कर्मचारीले शरणार्थीको आवेदन दिएका (असाइलम सिकर) एक जना समलिंगी नेपाली (परिचय गोप्य राखिएको) लाई डिटेन्सन सेन्टरबाट बिना कानुनी प्रक्रिया भ्यानमा राखेर बलजफ्ती लन्डन हिथ्रो विमानस्थल पुर्‍याए ।


टर्मिनल ४ मा रहेको जेट एयरवेजभित्र चार जना अध्यागमन कर्मचारीले ती नेपालीलाई अभद्र व्यवहार गर्दै जहाजको अन्तिम सिटतिर घिसार्दै लगे तर चिच्याहटपछि पाइलटले उनलाई उडाउन मानेनन् ।


बेलायतको कानुन अनुसार एयरलाइन्सले आप्रवासीलाई डिपोर्ट गर्ने क्रममा सघाउनु पर्ने भएपनि पाइलटसँग भने कसैलाई लाँदिन भन्न पाउने एकल अधिकार सुरक्षित छ । ती पाइलटले अन्य यात्रुको सुरक्षाबारे सोचेर उडाउन अस्वीकार गरे वा ती नेपालीप्रति सहानुभूति प्रकट गरेर, यकिन भएन ।


‘मलाई प्लेनमा बलजफ्ती गरेपछि म रुदै चिच्याएँ । मलाई घिसार्दै लैजाँदा मेरो हात, कान र खुट्टामा चोट लाग्यो । जुत्ता फुस्कियो, पाइन्ट झरिसकेको थियो । जहाजका अन्य यात्रु र चालक दलले मेरो गतिविधि हेरिरहेका थिए ।


अन्तिम समयमा पाइलटले मलाई नलाने भनेपछि जोगिएँ’, हार्मन्डसवर्थ इमिग्रेसन रिमुभल सेन्टर फिर्ता लगिएपछि भूपू गोर्खा परिवारका ती सदस्यले सेन्टरबाट इमेलमा लेखेका छन्, ‘मैले आफ्नो शरणार्थी आवेदन पुन: हाल्न पाउने अधिकार हुँदा हुँदै बिना सूचना देश निकाला गर्न लागियो । म त्यो कहाली लाग्दो घट्ना सम्झन पनि सक्दिनँ ।’


होम अफिसले उनी समलिंगी भएको विश्वास गर्न नसकिएको र आफ्नो लैंगिक वास्तविकता नभने काठमाडौंमा पनि जीवन सुरु गर्न सकिने भनेर भिसा रिफ्युज गरिदिएको थियो । आफ्नी आमाले पनि नेपाल फर्किए ट्क्रा टुक्रा पारेर काटिदिने धम्की दिएको उनले इमेलमार्फत जिकिर गरेका छन् ।


अध्यागमन अधिकारीहरुको अभद्र व्यवहारप्रति यूके नेपाल फ्रेण्डसीप सोसाइटीले आपत्ति जनाउदै दु:खद भनेको छ । सोसाइटीले बेलायती विदेशमन्त्री जेरेमी हन्टलाई एक पत्र लेखी उक्त घट्नाले आफूहरुको ध्यान आकृष्ट भएको जनाउदै यस्ता घट्नाले मानवअधिकारको वकालत गर्ने ब्रिटेनको छवि धुमिल हुनेतर्फ सचेत गराएको छ ।


सोसाइटीका प्रमुख कार्यकारी अधिकृत अलान मार्सेल सान्काले अध्यागमन अधिकारीहरुको विभेदपूर्ण क्रियाकलापप्रति सचेत गराउँदै ब्रेक्जिट अघि बेलायत नेपाल र दक्षिण एसियासँगको सम्बन्ध, मित्रता अनि छवि थप सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।


बेलायतलाई बढ्दो आप्रवासी मुद्दा टाउको दुखाइको विषय बनेको छ । आप्रवासी संख्या लाखौँबाट हजारौँमा झार्ने सरकारको नीतिले अध्यागमनका हरेक क्षेत्रमा कडाइ गरिएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?