२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

वाजपेयीको अन्त्येष्टि, हजारौं सहभागी

नयाँदिल्ली — निष्ठावान् र लोकप्रिय नेताको छवि बनाएका भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको शुक्रबार अपराह्न चार बजे नयाँदिल्लीस्थित राष्ट्रिय स्मृति स्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

वाजपेयीको अन्त्येष्टि, हजारौं सहभागी

उनको पार्थिव शरीरमा उनकी धर्मपुत्री नमिता भट्टाचार्यले दागबत्ती दिइन् ।


यसअघि मध्याह्न करिब तीन बजे भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयबाट सुरु भएको वाजपेयीको अन्तिम यात्रामा हजारौंको उपस्थिति थियो । वाजपेयीको पार्थिव शरीरलाई आज बिहान करिब दस बजेदेखि दिउँसो तीन बजेसम्म अन्तिम दर्शन र श्रद्धाञ्जलिका लागि दिनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा राखिएको थियो । र, उनको अन्तिम दर्शन गर्न र श्रद्धाञ्जलि प्रकट गर्न भाजपा मुख्यालय र सामुन्नेको दिनदयाल उपाध्याय मार्गमा बिहानैदेखि नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको भीड लागेको थियो ।


आज सम्पन्न अन्त्येष्टि समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, विपक्षी दलका नेता राहुल गान्धी र अन्य मन्त्री तथा नेताहरु उपस्थित थिए । त्यसैगरी वाजपेयीप्रति श्रद्धासुमन व्यक्त गर्न भुटानका राजा जिग्मे केशर नामग्याल वान्चुक, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कर्जाई, पाकिस्तानका कार्यवाहक कानुन मन्त्री सयद अलि जफरलगायतका विदेशी पाहुनाहरु राष्ट्रिय स्मृति स्थल पुगेका थिए ।


तीन पटकसम्म भारतका प्रधानमन्त्री बनेका वाजपेयीको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ९३ वर्षको उमेरमा दिल्लीको अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) निधन भएको हो । गत ११ जुनमा मृगौला, छाती र पिसाबसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । वाजपेयीको पार्थिव शरीरलाई हिजो साँझ नै कृष्ण मेनन मार्गस्थित उनको निवास पुर्‍याइएको थियो ।


करिब ७ दशक लामो राजनीतिक यात्रामा वाजपेयीले भद्र र शालीन राजनीतिज्ञका रूपमा परिचय स्थापित गरेका थिए । तार्किक भाषणशैलीका लागि आफ्नो पार्टीभित्र मात्र नभएर विपक्षी खेमामा पनि उनका थुप्रै प्रशंक थिए । तीन पटकसम्म भारतको प्रधानमन्त्री बन्न सफल वाजपेयीको राजनीतिक यात्रा सन् १९३९ मा हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सदस्यतासँगै औपचारिक रूपमा सुरु भएको थियो ।


वाजपेयी सन् १९५७ मा पहिलो पटक भारतको तल्लो सदन लोकसभाका लागि निर्वाचित भएका थिए । त्यसपछि नौ पटकसम्म लोकसभा र दुई राज्यसभाका लागि चुनिन सफल भए । भारतको सर्वोच्च सम्मान भारत रत्नबाट विभूषित वाजपेयी आजीवन अविवाहित रहे र नमिता भट्टाचार्यलाई धर्मपुत्रीका रूपमा ग्रहण गरेका थिए । तिनै भट्टार्यले शुक्रबार उनको दिवंगत शरीरलाई दागबत्ती दिइएकी थिइन् ।


ज्ञवालीले दिए श्रद्धाञ्जलि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीप्रति अन्त्येष्टि स्थलमै पुगेर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । वाजपेयीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न जानुअघि मन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुषमा स्वराजबीच विदेश मन्त्रालयमा संप्क्षित शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा मन्त्री ज्ञवालीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता वाजपेयीको निधनप्रति हार्दिक समवेदना प्रकट गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।


त्यसैगरी, उक्त भेटमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले पठाएको समवेदना सन्देश पनि मन्त्री स्वराजलाई हस्तान्तरण गरेको जानकारी दिइएको छ । वाजपेयीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शुक्रबारै बिहान दिल्ली आएका मन्त्री ज्ञवाली शनिबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : भाद्र १, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?