१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

केरलामा शताब्दीकै भीषण बाढी

कम्तीमा १८६ को मृत्यु
रोयटर्स

कोची — भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगै बाढीपहिरोका कारण कम्तीमा १ सय ८६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरबारविहीन भएको जनाएका छन् ।

केरलामा शताब्दीकै भीषण बाढी

अधिकांशको पहिरोले भत्केका भग्नावशेषमा पुरिएर तथा डबेर ज्यान गएको हो । बाढीग्रस्त क्षेत्रका कतिपय घरको छतमा पर्खाइमा बसेका मानिसको उद्धार गर्न नसकिएको जनाएका छन् । अधिकारीहरूले उद्धारका लागि ३८ वटा हेलिकोप्टरसहित हजारौं सुरक्षाकर्मी खटाइएको जनाएका छन् ।

एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन ३ सयभन्दा बढी डुंगा प्रयोग गरिएका छन् । बाढीपहिरोका कारण केरला राज्यमा अहिलेसम्म २ लाख १७ हजार मानिस अस्थायी शिविरमा बसिरहेको जनाएको छ ।

मौसमविद्हरूले अझै केही दिन निरन्तर पानी परिरहने बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूले कोचिन अन्तर्राष्ट्रिय विमानस्थल एक साताका लागि बन्द गरिएको जनाएका छन् ।

बाढीको प्रकोपसँगै केरलाका १४ जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएको स्थानीय टेलिभिजनले जनाएका छन् । कतिपय जिल्लाले सुरक्षाको कारण देखाउँदै पर्यटकको भ्रमण बन्देज लगाएका छन् । भारतको जलवायु विभागले केरलामा ‘रेड अलर्ट’ जारी गरेको छ । उद्धारकर्मीहरूले बाढीमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजान प्रयास गरिरहेका छन् । बाढीपहिरोका कारण केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

केरलाका मुख्यमन्त्री पिनरायी भिजयानले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । उनले भने, ‘हामीले केरलाको इतिहासमै पहिलो पटक यस्तो विपत्को सामना गरिरहेका छौं ।’ उनले पानी प्रशोधन जलाशयका सबै गेटहरू खोलिएको बताए । भारतबाट अरबी समुद्र पुग्ने ४१ नदी केरलाबाट बग्छन् । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि मोदीले निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।मोदीले केरला राज्यका लागि केन्द्र सरकारका तर्फबाट ५ सय करोड सहायता रकम दिने बताएका थिए ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?