२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रोहिंग्या शरणार्थी: फिर्ती प्रक्रियाप्रति असन्तुष्ट 

बीबीसी

ढाका — बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्या अल्पसंख्यकहरूले आफ्नो देश म्यान्मार फिर्तीका प्रक्रिया रोक्न माग गर्दै आन्दोलित भएका छन् । 

रोहिंग्या शरणार्थी: फिर्ती प्रक्रियाप्रति असन्तुष्ट 

शरणार्थीहरूले आफ्नो सुरक्षाप्रति शंका गर्दै म्यान्मार फर्कन अस्वीकार गरेका हुन् । बिहीबार हजारौंको संख्यामा जम्मा भएका रोहिंग्याहरूले ‘हामी फर्कंदैनौं’ भन्दै नाराबाजी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।


म्यान्मारको राखिने राज्यमा गतवर्षको अगस्टमा फैलिएको हिंसाका कारण रोहिंग्या विस्थापित भएका थिए । उनीहरूले बंगलादेशका विभिन्न अस्थायी शिविरमा शरण लिइरहेका छन् ।


बंगलादेश र म्यान्मारबीच भएको शरणार्थी फिर्ती सम्झौताअनुसार बिहीबार लैजाने भनिएका शरणार्थीमध्ये अधिकांश लुकेको जनाइएको छ । राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायले उनीहरूको फिर्तीका लागि म्यान्मारलाई दबाब दिँदै आएका छन् ।


बिहीबार बंगलादेशका अधिकारीहरूले सीमाक्षेत्रमा रोहिंग्यालाई म्यान्मार लैजान कुरिरहेका थिए । तर कुनै पनि शरणार्थी देश फिर्तीका लागि तयार भएनन् । उनीहरूलाई लैजान ५ वटा बस तयार गरिएको थियो । तर एक हजारभन्दा बढी महिला तथा बालबालिकासहितका शरणार्थीहरू उक्त स्थानमा पुगे ।


उनीहरूले ‘हामीहरू न्याय चाहन्छौं’ भन्दै नाराबाजी गरेका थिए । फिर्तीको सूचीमा रहेका ८५ वर्षीय ताजुल मुल्लुकले भने, ‘तिनीहरूले मेरा २ छोरालाई मारे । म अन्य दुई छोरासहित मुस्किलले बाँचेर बंगलादेश आइपुगे । कृपया, मलाई नपठाउनुस् । तिनीहरूले हामीलाई पनि मार्छन् ।’


अन्य शरणार्थीहरूले पनि आफूहरू म्यान्मारमा असुरक्षित रहेको भन्दै फर्कन अस्वीकार गरेका छन् । ‘हामी जान सक्दैनौं,’ प्रदर्शनमा उत्रेका ४५ वर्षीय मोहम्मद अमिनले भने, ‘उनीहरूले हामीलाई यातना दिए, हाम्रा मानिस मारे । यदि हामी कुनै न्यायबिना फक्र्यौं भने फेरि त्यसै गर्नेछन् ।’ त्यसकारण आफूहरू आन्दोलनमा उत्रेको उनको भनाइ छ ।


म्यान्मारको राखिने राज्यमा सन् २०१७ को अगस्टमा सुरु भएको हिंसाका कारण ७ लाख २० हजार रोहिंग्या विस्थापित भएका थिए । यसअघि संयुक्त राष्ट्रसंघले गरेको अनुसन्धानमा म्यान्मारका अल्पसंख्य रोहिंग्यामाथि बलात्कार तथा सैनिक दमन भएको भएको पुष्टि भएको उल्लेख गरेको थियो । यसअघि एम्नेस्टी इन्टरनेसनलले सैनिक दमन रोक्न प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले आफ्नो अधिकार प्रयोग नगरेको भन्दै उनलाई दिइएको अर्वाड फिर्ता लिएको थियो । सुकीले सेनाले ‘मानवताविरोधी अपराध नगरेको’ बताएपछि उनको आलोचना हुँदै आएको छ ।


एम्नेस्टी इन्टरनेसनल लगायतका मावनअधिकारवादी संघसंस्थाले उनलाई रोहिंग्याविरुद्ध भएको क्रूरताको भत्र्सना गर्न आग्रह गरेका थिए ।


तर उनले अस्वीकार गर्दै आएकी छन् । सुकीले यसअघि रोहिंग्या हत्याबारे अनुसन्धानात्मक समाचार रिपोर्टिङमा संलग्न रोयटर्सका दुई पत्रकारलाई दिइएको जेल सजायको समेत प्रतिरक्षा गरेकी थिइन् । उनले रोहिंग्या समुदायमाथि ‘जातीय सफाया नभएको’ बताउने गरेकी छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?