सूर्य उपासनाको महान् पर्व

जनकपुर — सूर्य उपासनाको महान् पर्व छठका अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । यस अवसरमा पूर्वी तराईका विभिन्न स्थानमा हर्षोल्लाससाथ हजारौं भक्तजनको सहभागिता छ ।

यो पर्वमा सबै जाति र समुदायको उत्तिकै सहभागिता देखिएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई विशेष पूजासाथ व्रत सम्पन्न हुन्छ । केही पहाडी जिल्लामा समेत छठ मनाइन्छ । यसै अवसरमा देखिएको उत्साहबारे जनकपुरबाट श्यामसुन्दर शशि, मोरङका अवधेशकुमार झा, सप्तरीका जितेन्द्र खड्गा र महोत्तरीबाट रवीन्द्र उप्रेती लेख्छन्:
 
मिथिलाञ्चलको पवित्रतम छठ महापर्वको मुख्य आयोजन 'सझुका अघ्र्य' बुधबार साँझ दिइएको छ । चार दिवसीय महापर्वको तेस्रो दिन व्रतीहरू अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न हुन्छ ।
छठमा जनकुपरको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथतलाव, विहारकुण्ड, अग्निकुण्ड, रुकमिनीसर, गोरधोई पोखरीलगायतमा हजारौं श्रद्धालु भेला भएका छन् । पोखरीका डिलहरू सिंगारिएको छ । वर्षभरि फोहरको डुंगुर देखिने पोखरी छठमा सफा देखिएका छन् ।
सरोवरहरूलाई शृंगार गर्न गंगासागर छठ पूजा समिति, मिथिला सेवा समाजलगायतले
मेहेनत गरेका थिए । गत वर्षदेखि गंगासागर सफाइ अभियान र चार महिनादेखि गंगा महाआरतीको आयोजन गर्दै आएको सेभ द हिस्टोरिकल जनकपुरको प्रयासले अझ बढी सफा बनेको छ । यस अवसरमा विशेष गंगामहाआरतीको आयोजन गरिएको थियो । सझुका अघ्र्य बुधबार साँझ प्रदान गरिए पनि श्रद्धालु मंगलबार रातिदेखि नै पवित्र सरोवरहरूमा पूजा सामग्रीसहित जम्मा भएका थिए । छठ मान्नेको संख्यामा निरन्तर वृद्धि हुनु तथा पोखरीहरू अतिक्रमित हँुदै जानुले पूजा स्थलको आभाव भएको स्थानीयवासी बताउँछन् । यस वर्ष यहाँका तेलहा मरहा, देवान पोखरीलगायत आधा दर्जनलाई अतिक्रमण मुक्त गरिएका छन् तर यी पोखरीको जीर्णोद्धार हुन सकेको छैन । स्थानीयवासी रामचन्द्र पण्डितका अनुसार यी पोखरीको जीर्णोद्धारपछि पूजा स्थलको आभाव रहने छैन ।
पर्वको पहिलो दिन सोमबार व्रती महिला पुरुष पवित्र जलाशयमा स्नान गरी अरवा अरवाइन गरेका थिए । अरवा अरवाइनका दिन व्रती चोखो मात्र खान्छन् । व्रतीहरू मंगलबार दिनभर उपवास बसी साँझ गुलियो पुरी, खीरलगायत प्रसाद चन्द्रमालाई अर्पण गरी सपरिवार ग्रहण गरेका थिए । यसलाई स्थानीय भाषामा षडना भनिन्छ । षडनापछि निराहार व्रती तेस्रो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।
महोत्तरीमा रमझम
यहाँ पनि उल्लास एवं भक्तिपूर्ण वातावरणमा छट मनाइँदै छ । सूर्योपासनाको चार दिवसीय पर्वमा बुधबार अस्ताउँदो र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत सम्पन्न हुन्छ ।
छठ मनाउन जिल्लाभरका नदी, तलाउ तथा जलासय घाटमा भीड लागेको छ । घाटहरू बेहुलीझैं सिंगारिएका छन् । स्वागतमा तोरणद्वार बनाइएको छ । व्रतालुले घाटस्थित जलाशयमा स्नान गरी सूर्यलाई जल अर्पण गरे । घाटहरूमा सूर्याेपासना तथा छठी मैयाको भजन गुन्जिएका छन् । 'उगहु न सुरुज देव भइयो अरग के वेर...' तथा 'काँच ही बाँस के बहंगिया, बहंगी लचकत जाय, बाट जे पुछेला बटोहीया बहंग केकरा के जाय...' लोकधुनले इलाका भक्तिमय बनेका छन् ।
मध्य तराईमा अति महत्त्वसाथ मनाइने यो पर्वमा सबैको सहभागिता हुने हुँदा अपराह्नदेखि सार्वजनिक यातायातहरू ठप्प भए । बजार एवं व्यापारिक केन्द्रसमेत बन्द रहे । छठमा सबै जुटेकाले सडक सुनसान छन् । अपराह्न ३ बजेपछि गाउँको भीड घाटमा एकत्रित भएको छ । सझिया घाटको रात जलाशयका किनारमा जाग्राम रहने परम्पराअनुसार राति विविध भक्तिमय कार्यक्रम व्यवस्था मिलाएको छठ आयोजक समितिले जनाएको छ । आइतबार छठका व्रतालुले खरना अनुष्ठान पूरा गरेका थिए । दिनभर निराहार व्रतालुले नियम निष्ठापूर्वक तयार पारिएका सख्खरको खिरको नियोज काढी प्रसाद ग्रहण गरेका थिए ।
हजारौं सहभागी
छठको तेस्रो दिन बुधबार सप्तरीमा पनि अस्ताउँदो सूर्यलाई व्रतालुले अर्घ दिए । भारदह १ स्थित कोसी ब्यारजेमा हजारौं नेपाली तथा भारतीय व्रतालु सहभागी भए । सुनसरी, मोरङ र भारतको बिहारका आगन्तुक सहभागी भए । यस वर्ष पनि कोसी ब्यारेजमा नेपाल र भारतका २० हजारभन्दा बढी व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएको स्थानीय पूजा समितिका सत्यनारायण मण्डलले जनाए । भारदहस्थित कंकालिनी भगवती मन्दिरको पोखरी, सदरमुकाम राजविराजस्थित भगवती मन्दिरको पोखरी, कल्टु दास पोखरीलगायत जलाशयमा छठ मनाउनेको घुइँचो लागेको थियो । चार दिनसम्म मनाउने यो पर्वको विशेषताचाहिँ सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु हो ।
दण्डप्रणाम गर्दै घाटसम्म
विराटनगर ७ की रुवी साह वैवाहिक बन्धनमा बाँधिएको केही समयमै पति राजेश रोजगारीका लागि मलेसिया गए । मलेसिया गएपछि पतिसँग उनको सम्पर्क भएन । २ वर्षभन्दा लामो समयसम्म सम्पर्क नहुँदा उनी विक्षिप्त भइन् । यही बेला उनले सम्पर्क भए घरबाट छठ घाटसम्म दण्डप्रणाम गर्दै पुग्ने र पुर्जा गर्ने भाकल गर्दा पतिसित गत वर्ष उनको सम्पर्क भयो ।
सम्पर्क मात्र भएन, फर्केर घर आए । अहिले उनको जीवन सुखमय भएको छ । भाकलअनुसारको काम पूरा भए पनि बुधबार साँझ उनी २ किलोमिटरसम्म दण्डप्रणाम गर्दै छठपूजाका लागि विराटनगरको केसलियास्थित नहरमा बनाएको घाटसम्म पुगेका थिए ।
आफ्नो भाइ अल्झेको मुद्दा चाँडो किनारा लागोस् र लामो समयसम्म सन्तान पाउन नसकेकी बहिनीले सन्तानको मुख देखून् भन्दै छठ पूजाको भाकल गरेकी विराटनगर १५ की मुनु श्रेष्ठ पनि बुधबार साँझ एक किलोमिटर दण्डप्रणाम गर्दै घाट पुगिन् । पूजा गर्ने र दण्डप्रणाम गर्ने भाकलपछि उनका भाइको मुद्दा पनि किनारा लाग्यो र बहिनीले सन्तान जन्माइन् । उनले भनिन्, 'चिताएको कुरा पूरा भएपछि विगत दुई वर्षदेखि दण्डप्रणाम गर्दै घाटसम्म पुग्ने र छठ पूजा गर्नेलाई निरन्तरता दिएको छु ।'
बिहार अररियाका भोला पासवानको विराटनगर ७ मा विवाह भएको लामो समयसम्म उनले सन्तान नजन्मिएपछि पूजाको भाकल गरे । दुई सन्तान भए । बुधबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिन अररियाबाट विराटनगरस्थित ससुराली पुगेर उनले घाटसम्म १ किलोमिटर दूरी दण्डप्रणाम गरे । भाकल पूरा भएपछि घाटसम्म दण्डप्रणाम गर्दै पुग्नेमा विराटनगर ७ की आशादेवी शर्मा र उनकी नन्द निर्मला शर्मा पनि थिइन् । सासू निकै बिरामी भएपछि निको भए दण्डप्रणामसाथ छठघाट पुग्ने भाकल उनले विगत ७ वर्षजस्तै यस वर्ष पनि निरन्तरता दिइन् । सयौंको संख्यामा व्रतालु र श्रद्धालुहरू दण्डप्रणाम गर्दै घाटसम्म पुगे । उनीहरू सबैको एउटै भनाइ थियो- चिताएको पूरा भयो सकुन्जेल निरन्तरता दिन्छु । तर भाकल पूरा गर्न छठ घाटसम्म दण्डप्रणाम गर्नेलाई बाटामा सास्ती बेहोर्नुपर्‍यो । बाटो फोहोरले आफूहरूलाई असजिलो भएको उनीहरूले बताए । विराटनगर १५ का गणेश साहले भने, 'यस्तो बेला कमसेकम उपमहानगरपालिकाले घाटसम्म पुग्न सफाइमा ध्यान दिनुपथ्र्यो ।
सूर्यलाई अघ्र्य
पूजाका लागि सजाइएको पोखरी, तलाउ, नहर र नदीकिनारमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । छठ पूजाका लागि विराटनगरको सिंगिया खोला किनार, चतरा नहर, केसलिया खोलामा बनाइएका घाटहरू बेहुलीझैं सिँगारिएको छ ।