एमाले–माओवादी तालमेल घोषणा आज ५ बजे

बालकृष्ण बस्नेत, -शेखर अधिकारी

काठमाडौं — प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज ५ बजे हुने भएको छ ।साँझ ५ बजे राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा तय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज ५ बजे हुने भएको छ ।

साँझ ५ बजे राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा तय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । ललितपुरको मानभवनस्थित एक निजी निवासमा दुवै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । 

महासचिव पोखरेलले दुवै पार्टी एकीकरण उन्मुख भएको दाबी गरे । तालमेललगायतका विस्तृत बुँदा उनले खुलाउन चाहेनन् ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाले र माओवादीबीच प्रतिनिधिसभा र प्रदेशसभामा ६०/४० अनुपातमा चुनावमा जाने सहमति भएको छ । दुवै दलको घोषणापत्र एउटै बनाउने तर चुनाव चिन्ह भने प्राविधिक समस्याका कारण एउटै बनाउन कठीन देखिएको स्रोतको दाबी छ ।

घोषणा कार्यक्रममा मिल्न सक्ने अरुलाई पनि सहभागी हुन अपिल गरिनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सहभागी थिए भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र गृहमन्त्री जनार्दन शर्मा सहभागी थिए ।