हामीले बिदेशमा सिकेको कुरा घरका मान्छेलाई सिकायौं त ?

नेपाली राज्यले डिग्रीको फ्याक्ट्री खोल्यो, चेतनाको ढोका खोलेन
मेघराज सापकोटा

काठमाडौं — गाडीमा बसेर पानी पिउँदै बानेश्वर पुग्दा पानी सिकियो । पानीको खाली बोतल बोकेर म मेरो साथीको कोठामा गएँ किनकी मैले बाटोमा मेरो वरिपरि बोतल फ्याँक्ने डस्टवीन भेटिन । साथमा सुन्तलाका बोक्राहरु पनि थिए । मेरो हातमा भएको पोलिथिनको झोलामा पानीको खाली बोतल र सुन्तलाको बोक्रा देखे पछि मित्रले भने, बिदेश बसेको रौनक एक दुई दिन यस्तै हो ।

‘हामीले भत्काउन त भत्कायौं तर बनाउन सकेनौं, भत्काउन जति सजिलो बनाउन रहेनछ’  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युबराज खतिवडाले गैर आबासीय नेपाली संघको आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने क्रममा भनेका थिए । सम्बोधनको क्रममा उनले सन् २०३० सम्म नेपालमा हुने बिकास र प्रगतिको फेहरिस्त प्रस्तुत गर्दै गैर आबासीय नेपालीहरुलाई निरास नहुन आश्वस्त समेत पारेका थिए । उनका फेहरिस्तमा पूर्वधार बिकासदेखि मानव विकास सुचांकका अनुमानित तथ्यांकहरु प्रस्तुत गरिएको थियो । 

हाल काठमाडौंका अधिकांश सडकहरु भत्किएका छन् । २७ किलोमिटर लम्बाइ रहेको चक्रपथ रिङ्गरोडको केहि थोरै भुभाग छोडेर अधिकांश सडकका भुभागहरु भत्काइएका छन् । यो बाटोमा यात्रा गर्न अत्यन्तै कठिन छ । बिदेशमा २७ किलोमिटर पार गर्न सिटी एरिया भित्र बढीमा २० मिनेट लाग्छ भने सिटी एरिया बाहिर १५ मिनेटसम्म लाग्न सक्छ । काठमाडौंमा भने तपाईं भरिसक्के यो सडकको यात्रा गर्दै नगर्नुस् । कति समय लाग्छ अनुमान गर्न कठिन छ । काठमाडौं छिर्ने मुख्य नाका थानकोट देखि कलंकीसम्मको सडकको स्थिति पनि लाजमर्दो छ ।

नेपालको एकमात्र अन्तर्रास्ट्रिय बिमानस्थल त्रिभुवन बिमानस्थलबाट एनआरएनएको सम्मेलन सम्पन्न भएको पाँच तारे होटल ह्यात रिजेन्सीको दुरी जम्मा ४ किलोमिटर छ । राजधानी भित्र रहेको यो दुरी पार गर्न कति समय लाग्ला ? बिदेशमा हो भने यो दुरी पार गर्न बढीमा ४ मिनेट लाग्छ । ५ मिनेटमा कोठा भित्रै पुगिएला । नेपालमा कम्तीमा ४५ मिनेट लाग्छ । ट्राफिक बढी भयो भने त घण्टौ लाग्न सक्छ । गौशलादेखि चाबहिल र चाबहिल देखि २ किलोमिटरको दुरीमा रहेको ह्यात रिजेन्सी होटलसम्मको सडकको स्थिति यति दर्दनाक छ, यहाँ भनिरहन पर्दैन । ट्राफिकको पीर त छँदैछ, भत्किएको बाटो र बाटोमा परेका खाल्डाखुल्डीले यात्रा सकसपूर्ण छ । बाटो फराकिलो बन्दैछ भनेपनि एक हप्ताको काठमाडौं बसाइमा कहिकतै पनि काम हुँदै गरेको भेटिएन । कहि कतै खाल्डाखुल्डी पुर्दै गरेको पनि देखिएन । आरोप जति मेलन्ची खानेपानी आयोजनालाई लगाए पनि मेलन्ची खानेपानी आयोजनाको काम हुँदैछ वा सकियो त्यो पनि थाहा पाईएन । बिकासको यही गतिमा सन् २०३० सम्म नेपालमा हुने पूर्वधार बिकासको स्थितिको अनुमान सजिलै गर्न सकिन्छ ।          

गौशलानिरको पिङलास्थानमा उभिएर ट्याक्सीलाई ह्यात रिजेन्सी होटल जान भनें । ड्राईभर भाइले सुरुमै कति पैसा दिने भनेर सोधे । मिटरमा जान अनुरोध गर्दा खाना नखाएको बाहना गर्दै उनी साइड लागे । तीन चार वटा टाक्सीलाई भने पछि बल्लबल्ल एउटा ट्याक्सी होटल जान तयार भयो । तर, मिटरमा उठेको पैसामा केही थपिदिने शर्तमा । अर्को दिन हामी कोटेश्वरबाट बानेश्वरतिर जाँदैथियौं । ठाउँ ठाउँमा गाडीको मुनीको भागले जमिनलाई धक्का दिएको सुनिन्थ्यो । कोटेश्वरदेखि सातदोबाटो हुँदै बल्खुसम्मको यात्रामा त कयौं पटक सवारी साधन र सडकको घम्साघम्सी पर्यो । जतिपटक ट्याक्सीको मुनीको भागले सडकलाई र सडकले ट्याक्सीलाई धक्का दिन्थ्यो ड्राईभर भाइ आफुले मिटरमा हिंड्न किन नमानेको भनेर हामीलाई सुनाइरहन्थे ।

काठमाडौंका हरेक चौरास्ता होस् या एकरस्ता होस् बाटोभरी मान्छेहरु पैदल हिड्दै गरेका भेटिन्छन् । जथाभावी बाटो काट्नेको भीडामा र सडक पेटीमा पैदल हिंड्नेको सँख्या अनगिन्ती हुन्छन् । केहि महिना अघि मेरा एकजना मित्र नेपालबाट दुबई घुम्न आएका थिए । दुबई घुमाईको क्रममा उनले सोध्ने एउटै प्रश्न हुन्थ्यो, दुबईमा मान्छे बस्दैनन् कि क्याहो, बाटोमा त मान्छे हिंडेको पनि देख्दिन । उनको मन शान्त पार्न पनि एउटा शुक्रबार मैले उनलाई बरदुबई एरिया लिएर गएँ जहाँ नेपालीहरु भेला भएर नाचगान गर्छन्, जथाभावी हिंड्ने र बाटो काट्ने गर्दछन्, रुख र बुट्टाको मुनी बसेर मदिरा सेवन गर्छन्, केटाकेटी खुलारुपमा अलिङ्गान हाल्छन् । बरदुबई गएपछि ति मित्रले थोरै सन्तोष त पोखे तर काठमाडौंमा देखेका मोटरबाइक दुबईमा नदेखेपछि उनी भन्दै थिए, ‘मोटरबाइक बनाउने फ्याक्ट्री खुलेका छैनन् जस्तो छ दुबईमा ।'

दुबईमा मोटरबाइक त कन्स्ट्रक्सन साइटमा फोरम्यान, सुपरभाइजर र स्टोर किपरले साइट भित्र कामको प्रायोजनको लागि कुदाउँछन् कि त फास्टफुडमा काम गर्ने डेलिभरी ब्वाईले कुदाउँछन् । त्यो देखि बाहेक केही धनाड्यका छोराहरुले र गोराहरुले जाडो मौसमको बेला शौखको लागि अत्यन्त महङ्गा मोटरबाइकहरु कुदाएको देखिन्छन् । ति मित्रले भने फास्टफुड डेलिभरी ब्वाईले फाट्टफुट्ट मोटरबाइक कुदाएको मात्र देख्न पाए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष खतिवडाले भनेजस्तो अगामी १२ बर्षमा नेपालीको मानव बिकासको सुचांक कस्तो होला त ? मानव सुचांकमा सुधार र प्रगति हुनको लागि चाहिने आधारभूत बिकास र प्रगतिहरुको सम्भावनाहरु कस्ता छन त ? 

पछिल्लो तथ्यांक अनुसार मानव बिकासको इन्डेक्समा विश्वका १८८ राष्ट्रहरु मध्ये नेपाल १४४ औं स्थानमा रहेको छ । स्वास्थ्य, शिक्षा, वार्षिक आयश्रोत आदिका बिभिन्न तथ्यांकहरुको आधारमा तयार पारिएको उक्त सुचीमा युएई भने ४२ औं स्थानमा रहेको छ । मानव बिकास सुचांकको पहिलो पाँच राष्ट्रहरुमा क्रमश: नर्बे, अस्ट्रेलिया, स्वीजरल्याण्ड, जर्मनी र डेनमार्क छन् भने अन्तिममा रहेका पाँच राष्ट्रहरुमा क्रमश: बुरुण्डी, बुर्किना फासो, चाड, नाईजर र मध्य अफ्रिका रहेका छन् । एसियामा भने नेपाल अफ्गानिस्तान, यमन, सिरिया, पाकिस्तान र म्यान्मार पछि छैटौ स्थानमा रहेको छ । बाङ्लादेश नेपाल भन्दा २ स्थान माथी आठौं स्थानमा रहेको छ ।
मानव बिकासको सुचांकमा माथिल्लो खुट्किलो टेक्नको लागि राज्यले के कस्तो नीति अख्तियार गरेको छ त्यसमा पनि भर पर्दछ । राज्यले बनाउने नीति मात्र यसको आधार हो त? जनताले गर्ने क्रियाकलापले फरक पार्छ कि पार्दैन? अवश्य पार्दछ ।

मैले भक्तपुरमा १ बोतल पिउने पानी किनें ।

मास्टर डिग्रीसम्म अध्ययन गरेका ति मित्रको भनाइमा के बुझिन्थ्यो भने नेपालमा खाली बोतल बोकेर हिंड्ने चलन छैन । सुन्तलाको बोक्रा बोकेर कोठामा ल्याउने हैन । त्यो त जहाँ खायो त्यही बाटोमा कतै मिल्काउनु पर्दछ । मैले अलि बढी स्वाङ पारें । बिदेशी भईटोपलें । त्यसो भए मास्टर डिग्री हासिल गर्नु शिक्षा हासिल गर्नु हैन? कक्षा एक देखी मास्टर डिग्रीसम्म राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल यही हो ? 

शिक्षा डिग्री हैन, शिक्षा चेतना हो । राज्यले डिग्रीको फ्याक्ट्री त खोल्यो तर चेतनाको डिग्री कतै खोलिएको पाईएन । फलस्वरुप मास्टर डिग्री पढेको नेपालको एउटा जनताले पनि बाटोमा फोहोर गर्न हुन्न भने चेतना पाउन सकेन । यस्ता मास्टर डिग्रीवालाहरु धेरै छन् नेपालमा ।

राजधानी शहर काठमाडौंको सडकका किनारामा थुप्रिएका फोहोरका डङ्गुर काठमाडौंबासीका चेतनाका मापदण्ड हुन् । घरमाथी झ्यालबाट फुत्त फ्याकिने फोहोरका पोलिथिन झोलाले पनि मानव बिकासको सुचांक बोकेको हुन्छ । सडकमा जोडिएका घरमा रहेका दोकान, रेस्टुराँ, होटल, गाडीका वर्कशप आदिबाट सड्कमा फ्याँकिने फोहोरले यहाँका बासिन्दाका चेतनाको मापन गरेको हुन्छ । 

रोचक र अचम्मको कुरा त के छ भने यि घरवालाहरुका अधिकांश छोराछोरी बिदेशमा छन् । काठमाडौंमा घर हुनेहरुको छोराछोरी प्राय युरोप अमेरिकामा छन् । काठमाडौंमा घर नहुनेहरुका पनि छन्, युरोप र अमेरिका नै नभए पनि खाडी र मलेसियामा पक्का छन् । बिदेशमा सिकेको सभ्यता उनीहरुले कहिल्यै पनि आफ्नो घरमा भित्र्याएनन् । कहिल्यै पनि आफ्नो आफन्त नातागोता र छरछिमेकलाई सिकाएनन् । सिकाएको भए त काठमाडौं यति धेरै फोहोर हुने नै थिएन ।

काठमाडौंका मुख्य सडक त फोहोर भए, खाल्डाखुल्डी भए, लौ सरकारले केही गरेन रे । भित्रका गल्लीहरु जहाँ शिक्षित जनता बस्दछन, एनआरएनहरुका घर छन्, धनीमानीका महल छन् त्यहाँको हालत झनै दिग्दार लाग्दो छ । त्यस ठाउँका घरबेटीहरु आफु फोहोर गर्छन् । तर सफा गर्दैनन् । घर अगाडिको खाल्डो पुर्न बर्षौ नगरपालिकाको मुख ताकेर बस्छन् तर खाल्डोमा एक मुठी बालुवा खन्याउँदैनन् ।

लाखौं खर्च गरेर एनआरएनए सम्मेलनमा भाग लिन नेपाल जाने एनआरएनहरुले आफ्नो घर अगाडिको खाल्डाखुल्डी पुर्न पहल गरे कि गरेनन् ? बिदेशमा आफुले सिकेको सभ्यता घरका मान्छेलाई सिकाए कि सिकाएनन् ?  छिमेकी र आफ्नो टोलमा भने कि भनेनन् ? शायदै सिकाएनन्, भनेनन् र गरेनन् ।

त्यसोभए हामी एनआरएनहरु बस्ने काठमाडौंको मानव बिकासको सुचांकको स्थिति अबको १२ बर्ष पछि अर्थात सन् २०३० मा कस्तो होला ? नमरी बाँचे सन् २०३० मा पनि हामीले अहिले जस्तो छ त्यस्तै नेपाल देख्नेछौं । यस्तै चेतना बोकेका हामी र बिकासको यही गतिले योजना आयोगका उपाध्यक्ष खतिवडाले भनेजस्तो सन् २०३० सम्म नेपाल कहिंकतै पुग्नेवाला छैन । न त गत १२ बर्षको दौरानमा हामी कतै पुगेका नै छौं । एउटा निरास कथा बोकेको राजधानी शहर काठमाडौं ।