सजिलो रुटको अप्ठ्यारो कथा

पर्यटन
कञ्चन अधिकारी

काठमाडौं — दक्षिण कोरियाका २१ वर्षीय ओहाह्युन क्वान घुम्न निकै पराउँछन् । मलेसिया, भारत हुँदै कात्तिक अन्तिम साता नेपाल आइपुगेका उनले अन्नपूर्ण बेसक्याम्पसम्म हिँड्ने ट्रेकिङ रुट रोजे । कोरियामा जन्मेर अस्ट्रेलियाको समथर भूभागमा काम गरिरहेका क्वानले यो रुट छान्नुको एउटै कारण थियो— पहाडी बाटोमा उकालीओराली गर्ने, नजिकैबाट हिमाल नियाल्ने र सूर्योदय र सूर्यास्तको अद्भुत आनन्द लिने ।

अनलाइन सर्च गरेर एक्लै नेपाल भ्रमणमा निस्केका उनले अनलाइनमा भेटिएका सबै सूचना अँगालेर काठमाडौंबाट अन्नपूर्ण हानिए । अन्नपूर्ण जानको लागि उनले न भरिया आवश्यक देखे न त पथपदर्शक नै । उनको सहारा बन्यो मोबाइलमा रहेको गुगल म्याम अनि अनलाइन सूचना ।

उनले अन्नपूर्ण बेसक्याम्प जाने हरेक सूचना आफ्नो आइफोन सेभेनमा सेभ गरेका थिए । उनलाई केही अप्ठेरो पर्‍यो भने त्यही मोबाइल सहारा लिने उनको योजना थियो । उनको गाइड भने पनि पोर्टर भने पनि त्यही मोबाइल !

पोखराबाट आफ्नो खल्तीमा ६ हजार रुपैयाँ, व्याकप्याक अनि २ वटा लठ्ठी बोकेर उनी अन्नपूर्ण बेसक्याम्प हानिए । उनी १ सय ८० रुपैयाँ भाडा तिरेर कास्कीको शिवैसम्म पुगे । त्यहीबाट उनी पैदलयात्रा सुरु गरे । करिब ६ दिनपछि त्यही ठाउँबाट सुमोबाट पोखरा हान्निए ।
...
कात्तिक अन्तिम साता केही पत्रकार साथी अन्नपूर्ण बेस क्याम्पका लागि निस्केका थियौं । 

जब हामी पोखराबाट अन्नपूर्णका लागि नयाँ पुल, वीरेठाँटी, न्यू ब्रिज र झिनु, बेम्बो, हिमालय, देउराली र माछापुच्छ्रे बेसक्याम्प हुँदै अन्नपूर्ण बेसक्याम्प पुग्यौं । अनि देखियो विश्वको चर्चित र लोकप्रिय ट्रेकिङ रुटमा अस्तव्यस्तता ।

हाम्रो पहिलो दिनको बसाइ हाम्रो थियो छोमरोङ । कास्कीको रमाइलो गाउँमध्ये छोमरोङ पनि एउटा गाउँ हो । जहाँबाट आँखैको डिलमा देख्न सकिन्छ हिमाल । स्थानीयका अनुसार यहाँ बर्खाको बेला त सयथरीभन्दा धेरै फूल फुल्छन् । कतिपय पर्यटक यहीँ हप्तौं बसेर फर्किन्छन् । 

रातको समयमा ठमेलजस्तै गुल्जार देखिने छोमरोङमा ठमेलमा पाइने सबैखालका सुविधा पाइने रहेछ । छोमरोङ अन्नपूर्ण बेसक्याम्पको गेटवे हो । 

धेरै पर्यटकको पोखराबाट हिँडेपछिको पहिलो बसाइ यही छोमरोङ हुने भएकाले प्राय: सधैंभरि होटल तथा लजहरू भरिभराउ हुने रहेछन् ।

बिहान माछापुच्छ्रेमा झुल्केको सुनौलो घामले माछापुच्छ्रे सुनले लत्पतिएको जस्तो देखिएको थियो । जसले हरेक पर्यटकलाई रोमाञ्चित बनाउँछ । हामी पनि यही दृश्यमा मन बहलाउँदै ५ दिनको यात्रामा लाम्कियौं । हाम्रो गाइड दीपेश गौतम भन्दै थिए, ‘हामी हरेक दिन ५ देखि ७ घण्टा हिँड्नुपर्छ ।’ कारण थियो— ७ देखि ९ दिनको यात्रा ६ दिनमा सकाउँदै छौं । 

हिमाली बाटो उकाली ओराली । यही उकाली र ओराली र नदीको सुसाइमा रमाउन बर्सेनि नेपालमा ट्रेकिङ गर्न विदेशी आउँछन् । 

उचाइ उकालो लागेसँगै तापक्रम भने घट्दो क्रममा छ । हामी हिमालयमा पुगेपछि डाइनिङमा बस्दै थियौं । यत्तिकैमा चस्मा लगाएको, हँसिलो कोरियन हामीसँग बात मार्न खोज्दै थिए । हामी साथीहरूसँग जत्ति गफ गरेर हाँस्थ्यौं उनी नेपाली नबुझे पनि मुखमा हेरेर सँगै हास्दिन्थे । केही छिनमै उनी ‘सरी’ भन्दै बोल्न थाले, ‘तपाईंहरूले सूचना दिएबापत पैसा लिनुहुन्छ ?’
हामीमध्येका एक जना साथी विश्वास रेग्मीले मुन्टो हल्लाउँदै भन्दिए, ‘लिँदैनौं ।’

त्यसपछि ती ओहाह्युन क्वान हामीसँग अझ नजिक हुन खोज्दै थिए । कारण रहेछ, हिमायलयसम्म सकुशल आएका उनलाई त्योभन्दामाथि लेक लाग्ने डरले सताएछ । उनलाई बेसक्याम्पसम्म पुग्न सक्छु कि सक्दिनँ भन्ने लागेको रहेछ । त्यसैले उनी हामीलाई हिमालयभन्दा माथिको हरेक सूचना सोध्थे । यही कारण हिमायलयदेखि हामी पोखरा नफर्कुन्जेल हामीलाई क्वानले छाड्दै छाडेनन् ।
...
नेपाली होस् या विदेशी, अन्नपूर्ण बेसक्याम्प ट्रेकिङ रुचाउनेहरूका लागि प्रख्यात गन्तव्य हो । तर यत्रो चर्चित गन्तव्य भएर पनि यहाँ न सुविधासम्मपन्न होटल बनेका छन् न त यहाँखाना र बस्नका लागि आरामदायी होटल तथा लज नै ।

अक्टोबरमा हेर्ने हो भने अन्नपूर्ण जाने स्वदेशी र विदेशी लस्कर पोखरादेखि बेसक्याम्पसम्मै थियो । यति धेरै पर्यटकको घुइँचो लाग्ने यो रुटमा होटल त्यति धेरै छैन । 

यहाँ खुलेका एउटा लजले पर्यटकका लागि बढीमा ६ वटा कोठा र एउटा कोठा गाइडको बनाउन पाउने व्यवस्था अन्नपूर्ण संरणक्षण क्षेत्र (एक्यापले) तोकेको छ । पर्यावरणीय संरक्षणलाई ध्यान दिँदै धेरै कोठा भएका होटल र ठूला भवनहरू बनाउन नदिइएको एक्यापको भनाइ छ । 

तर हामी जाँदा ती होटलहरूमा न सुविधा पाइयो न सेवा नै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुविधा तोक्नुपर्ने भए पनि त्यहाँ कसैको चासो पुगेको देखिएन । पर्यटक भित्र्याउनुको अर्थ विदेशी मुद्रा भित्र्याउनु मात्रै होइन । 

रोजगारी सिर्जना गरी त्यहाँको समुदायमा आर्थिक विकास गराउनु पनि हो । विश्व पर्यटन परिषद्ले एक पर्यटकले नौ जनालाई रोजगारी दिन्छ भन्ने मान्यता राख्छ । तर यो रुट जति लोकप्रिय भए पनि एकजना पर्यटकले बढीमा ३ जनालाई पनि रोजगारीको अवसर दिएको देखिँदैन । अत्यन्त सस्तो गन्तव्यको रूपमा चिनिन थालेपछि यहाँ आउने पर्यटक न भरिया लिएर जान्छन् न त गाइड नै । एक्लैएक्लै वा आफ्नै देशका समूहसँग हिँड्ने गर्छन् । 

भारतको कोलकाताबाट घुम्न आएकी ५७ वर्षीया एक महिलालाई मैले देउराली पुगेपछि सोधेँ– तपाइँ एक्लै आउनुभएको ? उनले मुन्टो हल्लाइन् र भनिन्, ‘सजिलो रुट भएकाले गाइडको आवश्यकता देखिएन ।’ 

‘यसको कारण एक्यापको बन्देज र व्यवसायीहरूले आफूलाई अद्यावधिक गर्न नसक्नु नै हो,’ नेपाल पर्यटन बोर्ड पोखरास्थित कार्यालयका प्रबन्धक सूर्य थपलिया भन्छन्, ‘त्यहाँका लजलाई प्रशिक्षण र स्थानीयलाई बढीभन्दा बढी लाभ कसरी दिन सकिन्छ भन्नेबारेमा जनचेतना जगाउनु जरुरी छ ।’ 

यो रुटमा हालको वृद्धिदरलाई हेर्ने हो भने अब आउने २०१८ मा लगभग ५० हजार पर्यटक बेसक्याम्प पुग्ने देखिन्छ । तर यसको आर्थिक लाभ देश र त्यहाँका समुदायलाई के हुन्छ ? सोचनीय छ । एक्यापले दिएको तथ्यांकअनुसार २०१७ को नोभेम्बरसम्म करिब २६ हजार पर्यटक बेसक्याम्प पुगेर फर्केका छन् ।

एउटा लजलाई ६ वटा कोठा चलाउन पाउने अधिकार एक्यापले दिएको छ । दिनमै ७ सय जना जाने उक्त गन्तव्यमा लगभग २५० वटा कोठाले कसरी धान्न सक्ला ?

धेरैले ६ वटा कोठामा ४२ वटा ओच्छ्यान लगाएर पर्यटक सुताउँदै आएका छन् । लखतरान भएको बेला त्यो ओच्छ्यान सुविधासम्पन्न भए पनि त्यसले अत्यन्त न्यूनस्तरको अतिथि सत्कार झल्काउँछ ।

ओच्छ्यान यति साँघुरो छ कि दायाँ फकिँदा चिसो भित्तामा नाक ठोकिने डर, बायाँ फर्किँदा ओच्छ्यानबाट खस्ने डर । यस्तो सुविधामा तपाईं कस्तो पैसा तिर्न सक्नुहुन्छ ? 

अर्को विचारणीय यो छ कि यस क्षेत्रमा लगभग सबै वस्तु पोखराबाट आयात गरिन्छ । समुदायको उत्पादन केही देखिँदैन । चाहे साग होस् या अन्य खानेकुरा । यति चल्तीको रुटमा यहीका स्थानीयलाई तरकारीलगायत हिमाली र मध्यपहाडी भेगमा फल्ने फलफूल लगाउन सके पोखराबाट आयात गर्नैपर्ने थिएन । 

यस्तो सुविधा दिइरहेका लजहरूले आफूलाई एभरेस्ट बेसक्याम्प ट्रेकिङ रुटसँग तुलना गर्ने गर्छन् । जबकि एभरेस्ट क्षेत्रमा होटलहरू निकै सुविधासम्पन्न छन् । र, व्यापार गर्न सक्षम पनि देखिन्छन्, जसले गर्दा सगरमाथा क्षेत्रमा एउटा पर्यटकले एक रातको कम्तीमा १ सय डलर (करिब १० हजार रुपैयाँ) खर्च गर्न हिच्किचाउँदैनन् । 

‘जबकि अन्नपूर्णमा खर्च गर्न चाहने कतिपय पर्यटकले रुँदै फर्कने उदाहरण छ,’ एक्यापका छोमरोङस्थित जाँच चौकीका प्रमुख नेत्र शर्माले भन्छन्, ‘अक्टोबर पहिलो साता सुत्ने ठाउँ नभएपछि धेरै पर्यटकबीच बाटोबाटै फर्किए ।’

नोभेम्बर १० सम्म २६ हजारभन्दा विदेशी पर्यटकलाई ट्रेकिङ अनुमति दिइएको शर्माले बताए । यो तथ्यांक अर्को वर्ष दोब्बर हुने आँकलन गरिएको छ । तीन महिना भदौदेखि कात्तिकसम्म १६ सय नेपाली पदयात्रामा आएका थिए । एक्यापले भदौदेखि नेपालीको पनि तथ्यांक राख्न थालेको हो । 

यहाँ अर्को समस्या भनेको सिन्डिकेट हो । चाहे पोखरबाट सावरीसाधनमा होस् या लजका लागि हो । हायस र टाटा सुमो वर्चस्व भएको यो रुटमा अरू गाडी लिएर शिवैसम्म पुगे धेरै सास्ती, हप्की खानुपर्छ । एउटा सुमोले शिवैबाट पोखरा ल्याएको कम्ती ५ हजार लिन्छ । यदि कसैले गाडी मगाएमा उक्त गाडीलाई व्यवसायीले दु:ख दिने गरेका छन् ।

त्यसपछि लजहरूमा केही व्यक्तिहरूको पकड छ । उनीहरूकै मेनुमा नयाँ पुलदेखि बेसक्याम्पसम्म खानाको मूल्य तोकिएको छ । उनीहरूले भनेकै आधारमा माथितिर कोठा पाउने वा नपाउने पक्का हुन्छ । 

एक्यापले आफ्नो दिग्दर्शन संशोधन गरे‍र केही लज खोल्ने अधिकार दिए पनि नयाँ व्यवसायीहरू उत्साही देखिँदैनन् । कारण यही सिन्डिकेट हो । 

एक्यापले वातारणको कुरा उठाएर विश्व बजारमा चर्चित यो रुटमा होटल खोल्न नदिएको आरोप व्यवसायी लागाउँछन् । तर मोदीको किनारैकिनारको रुटमा वातावरणलाई संरक्षण गरेर उक्त क्षेत्रलाई विकास गर्न सकिन्छ । यसको विकल्प मोदी करिडर हुन सक्छ । जसले आर्थिक उन्नतिको बाटो बनाउन सकिन्छ । 

यो किनारमा सुविधा सम्पन्न होटल खोल्ने हो भने यसको प्रत्यक्ष लाभ देशले पनि लिन सक्नेछ । जस्तै सगरमाथामा अर्बौ रुपैयाँको कारोबार हुन्छ त्यसैले त्यस क्षेत्रको प्रतिव्यक्ति आय देशको सबै सहरमध्ये उच्च छ ।

एउटा नेपालीले लगभग १५ हजार रुपैयाँ खर्च गर्ने ठाउँमा एउटा विदेशीले ६ हजार रुपैयाँमा ट्रेकिङ पूरा गर्ने कुरा सुन्दा हामी चकित पर्‍यौं । क्वानले फर्कँदा बेम्बोमा आफूले पोखराबाट ६ हजार लिएर आएको अब १५ सय रुपैयाँ मात्रै बाँकी रहेको भन्दै टेबलमा पैसा राखेपछि हामी अचम्ममा परेका थियौं ।

हामीले सोध्यौ यो कसरी सम्भव छ ? उनले सुनाए, ‘चाउचाउको सुप खाने डाइनिङमा सुत्ने र झोलाभरि चोकपाई बोकेपछि सकिन्छ ।’ 

उनी मात्रै होइनन् यस्ता धेरै विदेशी पर्यटक आफ्नो लागि आफैं खानेकुरा बोकेर आउने गर्छन् । ‘यिनीहरूभन्दा नेपालीहरूले नै बढी खर्च गर्छन्,’ लज व्यवसायी भन्छन् । तर पनि सिजनमा कुनै नेपाली ट्रेकिङमा गए भने उनीहरूले कोठा पाउने सम्भावना भने निकै कम हुँदो रहेछ । लजवालाहरू विदेशी भए जसरी पनि रुम मिलाउने तर नेपालीलाई नदिने । 

हनिमुन मनाउन पुगेका एक नेपालीले बेसक्याम्प पुगेर होटल माग्दा नपाएको गुनासो गरे । उनले भने, ‘लजवालालाई रुम दिनुहोस् भनेर मागेँ तर दिएनन् । अनि मैले नेपाली भनेर नदिएको भनेर कराएपछि बल्ल एउटा रुम पायौं ।’

यहाँका धेरै लजवालाले सिजनमा नेपालीभन्दा विदेशी पर्यटकलाई कोठा दिने गरेका छन् । तर एउटा लजले एक रातमा ४ हजारभन्दा बढी आम्दानी लिन सक्दैनन् । कारण उचित सुविधा नहुनु नै हो । 

अर्को रमाइलो के छ भने धेरै लजहरूमा छिर्नासाथ एउटा सूचना देखिहालिन्छ— तातोपानीले नुहाएको २ सय, मोबाइल चार्ज गरेको १ सय र हिटर तापेको घण्टाको सय रुपैयाँ । यो क्षेत्रमा यसरी रकम लिने भए पनि पर्यटकलाई निश्चित रकम लिएर रुमसहितको प्याकेज बेच्न सके पर्यटकमा नकरात्मक प्रभाव पर्दैन । पर्यटनमा यसलाई सुविधा मानिँदैन । यसलाई जबरजस्ती असुली भन्ने गरिन्छ । 

लजहरूले प्याकेजमा आफ्नो सुविधा बिक्री गर्ने कहिले होला ? 

कम सुविधा भएकै कारण बढी खर्चालु पर्यटक हेलिकोप्टरबाट एकै दिनमा जाने र अवलोकनपछि फर्किहाल्ने गर्छन् । त्यसैले त यो रुटमा हेलिकोप्टरको व्यवसाय पनि फस्टाएको छ । 

हुन त सबै पर्यटक क्वानजस्ता मात्रै पनि हुँदैनन् । केहीले यो पदयात्रा १४ दिनसम्म पनि लगाएर सकाउँछन् । उनीहरू वास्तवमा घुम्न र त्यहाँको रहनसहन अवलोकन गर्न आएका हुन् । हामीले बीच बाटोमा करिब ७० देखि ८५ वर्षसम्मका वृद्धवृद्धा र ८ देखि १२ वर्षसम्मका बालकालिकासमेत भेट्यौं । महिलाको संख्या पनि उत्तिकै । यसले के झल्काउँछ भने यो रुट सबै उमेर समूह र वर्गको पहुँचमा छ । यो रुट सजिलो, सस्तो र आकर्षक छ