यात्रा : लेनिन, इवेला र भोड्का

म पूर्व सोभियत भूमि जाँदै थिएँ । जहाँ शताब्दीअगाडि लेनिनको आह्वानमा डेढ दर्जन देश सोभियत संघमा आबद्ध भए । लाग्छ, त्यो कुनै उपन्यासको रोचक घटना हो । जसलाई स्कुलमा हाम्रा गुरुहरूले बान्की मिलाएर सुनाएका हुन् ।
केशव दाहाल

काठमाडौं — पूर्वी नेपालमा चिनिएका भाषाविद् छन् प्रा.टंक नेउपाने । उनी भन्छन् ‘मान्छेको जातै यायावर ।’ बूढाले ठीकै भनेजस्तो लाग्छ कहिलेकाहीँ । घुम्न मन नगर्ने मान्छे कमै भेटिन्छन् । मलाई पनि घुम्न असाध्यै मन पर्छ । त्यही रहरले कहिले कता पुर्‍याउँछ कहिले कता । यसपालि मौका मिल्यो किर्गिस्थान जाने ।

कस्तो होला किर्गिस्थान ? मनमा अनेकौं ‘स्केचहरू’ बन्न थाले । सिमसिम पानी परिरहेको बेला घुम ओडेर खर्कमा भेडा चराउँदै गरेको च्याङ्बाको सपनाजस्तो ‘निश्छल’ छ कि । महिनौं लामो युद्धबाट फर्किएको लडाकु घोडाको जगरजस्तो ‘जब्बर’ पो छ कि । फुसफुस पर्दै गरेको तुसारो छलेर धुपीको फेदमा प्रेमालाप कुनै युवाजोडीको उद्वेलित मनजस्तो ‘चञ्चल’ पो छ कि । युरोपको चिसोमा कफीको चुस्की लिँदै किताब पढ्ने महत्त्वाकांक्षी पाठकको कल्पनाजस्तो ‘बेलगाम’ पो छ कि । हरेक दिन मधुशालामा प्रेम गीत गाउँदै नाच्ने कामुक नर्तकीको कम्मरजस्तो ‘लचिलो’ पो छ कि । अथवा ज्वालामुखी भर्खर निभेको भल्ग्यानोजस्तो ‘क्लान्त’ पो छ कि । मन न हो अनेकौं चित्र बने र मेटिए । अन्तत: सेप्टेम्बर ९ तारिख पनि आइपुग्यो । जुन दिन राति हामी पाँच जना नेपाली काठमाडौंबाट किर्गिस्थानका लागि उड्यौं । 

म पूर्व सोभियत भूमि जाँदै थिए । जहाँ शताब्दीअगाडि लेनिनको आह्वानमा डेढ दर्जन देश सोभियत संघमा आबद्ध भए । लाग्छ, त्यो कुनै उपन्यासको रोचक घटना हो । जसलाई स्कुलमा हाम्रा गुरुहरूले बान्की मिलाएर सुनाएका हुन् । सोभियत संघका अनेकौं कथा, कविता र गीत सुनेर हामी हुर्कियौं । सम्झिल्याउँदा मनको क्यानभासमा सोभियत क्रान्तिको मेरो आदर्श पावेल कर्चागिन आयो । मलाई लाग्यो वर्षौंअगाडि ऊ रूसका चिसा पहाडहरू छिचोल्दै किर्गिस्थान आयो होला । मस्कोमा सुक्खा दाउरा पुर्‍याउन उसले लामा–लामा रेलका पटरीहरू बिछ्यायो होला । उटपट्याङ मनोकामना जागृत भयो कि किर्गिस्थानको कुनै भट्टीमा भोड्का पिउँदै गरेको पावेललाई भेट्न पाए कस्तो हुन्थ्यो ? यस्तै कल्पनाहरूसँग रमाउँदै काठमाडौं छोडेको झन्डै ३० घण्टापछि हामी ‘मानस’ विमानस्थल आइपुग्यौं । त्यो ११ सेप्टेम्बरको दिन थियो र समय बिहान ४:३० बजे । 

विमानस्थलमा रिमरिम उज्यालो झर्दै थियो । मान्छेहरू निद्राबाट ब्युँझिएर आङ तन्काउँदै थिए । यात्रु आगमन कक्षमा भकुन्डोजस्तो टोपी लगाएका प्रहरीहरूको ओहोरदोहोर देखिन्थ्यो । हामीसँग त्यहाँको विदेश मन्त्रालयले लेखिदिएको ‘भिसा लेटर’ थियो । यद्यपि भिसा लिनुपर्ने औपचारिकता बाँकी थियो । त्यसैले हामी भिसा कक्षबाहिर लाइन लाग्यौं । झ्यालको अर्कोपट्टि थिई एक्ली युवती । काम धेरै थियो । डकुमेन्टहरू ध्यानपूर्वक हेर्नु, फोटोकपी गर्नु, फोटो र मान्छेको अनुहार भिडाउनु र पासपोर्टमा भिसा टाँस्नु । सबै काम पूरा गर्न कम्तीमा १० मिनेट लाग्थ्यो । ऊ ध्यानपूर्वक सबै काम गर्थी । कविता लेखेजस्तो । बिहान ७ बजेतिर हाम्रो काम सकियो । हामी राजधानी बिस्केकतिर लाग्यौं । 

राजधानी बिस्केकको ‘दमास’ इन्टरनेसनल होटल छरितो, सफा र सुन्दर थियो । यस्तो कि सहरको बीचमा उभिएको ११ तले होटल नै त्यहाँको सबैभन्दा अग्लो भवन हो । मध्यदिनमा पनि सहर शान्त थियो । फराकिला सडक, प्रशस्त खुला ठाउँ, पातला गाडी र सरल जीवनशैली । सहरको ‘ढप’ पत्याउनै नसकिने साधारण थियो । अचम्म के भने अधिकतम आवासीय घरहरू साना–साना । साना भनेको अचम्मै साना । जस्तापाताले छाएका एक वा दुईतले । मानौं कि हामी मिलाएर बनाइएको कुनै सुकुम्बासी बस्तीमा छौं । तर आँगन र झ्यालढोका भने सफा र उज्याला । यस्तो कि किर्गिस कथाकारले आफ्नो कथाका लागि रचना गरेको गाउँ हो त्यो । कस्तो उदेकलाग्दो कुरा, घर बनाउन पटक्कै सोख नभएका मान्छेहरू । 

बिस्केकको पहिलो दिन । घुम्नुबाहेक अरू काम थिएन । त्यसैले हामी पाँचै जना होटलबाट निस्कियौं । होटलको दाहिने मोहोडाबाट केही अगाडि मात्र बढेका थियौं ‘भिक्टोरी मोनुमेन्ट’ आइपुग्यो । नाजी जर्मनविरुद्ध युद्ध लड्न गएका आफ्ना पति र छोराहरूलाई पर्खिबसेकी आमामा समर्पित त्यो स्मारक किर्गिस स्वतन्त्रताको प्रतीक मानिन्छ । कलेजी रंगको सिंगमरमरको भुइँ, कलेजी रंगकै सिँढी र फलैंचा । फराकिलो पटांगिनी । मध्यभागमा निरन्तर बलिरहेको विशाल दीप । ठूला–ठूला स्तम्भहरू अर्धचन्द्राकारमा उठेर दुई बाँस उचाइमा मिलेका । यस्तो कि चारवटा हात मिलाएर कसैले छानो बनाएको होस् । ठीक आमाले आशीर्वाद दिएजस्तो । स्मारकवरिपरि भीडभाड पटक्कै थिएन । जो सबै शान्त थिए । मानौं कि उनीहरू हराएका आफ्ना प्रियजनको स्वर सुन्न उत्सुक छन् । अथवा कुनै देवदूतको आकाशवाणी हुँदै छ । 

स्मारकबाट केही अगाडि गहना, लत्ताकपडा र खाद्यान्नका पसलहरू भेटिए । एक दुई जनासँग कुरा गर्न खोज्यौं तर भाषाको समस्या । यस्तो कि मनमा अनगिन्ती प्रश्नहरू छन् तर बोल्न शब्दहरू छैनन् । उनीहरू अंग्रेजी नबोल्ने, हामी रसियन वा किर्गिस नबुझ्ने । खुला ठाउँमा बसेर कफीको मजा लिने सल्लाह गर्‍यौं । त्यही बेला तीरजस्ता आँखाले हामीलाई हेर्दै एउटी चञ्चले मैया आइपुगी । उसको अनुहार हाम्री लोकगायिका कोमल वलीको जस्तो । नाक अलिक थेप्चो, आँखा अलिक गोला तर ओठ र हँसाइ उस्तै । ऊ हाम्रो नयाँ चालढाल देखेर कुरा गर्न उत्सुक थिई । तर नेपालको नामै नसुनेकी । हैट कस्तो अचम्म । सुरुमा ऊ कुरा गर्न निकै जोस देखाउँदै थिई तर पाँच मिनेट नहँुदै गलिहाली । उसलाई कनीकुथी अंग्रेजी बोल्न अल्छी लाग्यो कि ? झ्याउ मान्दै ऊ बाटो लागि । 

***

बिस्केकमा एक दिनको कार्यक्रम सकेर हामी इसाकुलतिर लाग्यौं । बिस्केकबाट २५० किमि टाढा, तीन घण्टाको सडकयात्रामा पुगिन्छ इसाकुल । इसाकुल ट्रपिकल ल्यान्डमा बनेको संसारकै दोस्रो ठूलो प्राकृतिक ‘लेक’ । समुद्रजस्तो । लेकसँग जोडिएर बसेको छ सानो पर्यटकीय सहर । होटलको म्यानेजर भन्दै थियो ‘यो लेक चन्द्रमाबाट पनि देखिन्छ ।’ आकाशजस्तो कञ्चन, पवित्र र विशाल । जसको चौडाइ ६० किलोमिटर र लम्बाइ १८२ किलोमिटर छ । हामी राति १० बजे मात्र पुग्यौं त्यसैले बत्तीको चमकबाहेक केही देखिएन । तर बिहान जब झ्यालको पर्दा हट्यो तब पो देखियो शान्त लेक, पानीमा टल्किएको ताजा सूर्यको किरण र पानीहाँसको मेला । कस्तो भब्य रंग । नीरमा अबिर घोलेजस्तो । 

नजिकबाट हेर्दा लेकको सुन्दरता अझ विश्मयकारी देखिन्थ्यो । पश्चिम दक्षिणमा आकाश छुन उठेका खैरा र मुडुला पहाड । मंसिरमा खमारमा धान थुपारेजस्ता । हिउँबिनाका शिखर । बेला–बेला मोटरबोटले शान्ति बिथोल्छ । अन्यथा चकमन्न सबै कुरा । मनमोहक सबै कुरा । तालको छेउमा उभिएर छालहरू गनिरहँदा लाग्छ हामी प्रशान्त महासागरको कुनै कुनामा छौं । यसरी म लेकको सम्मोहनमा फसें । पानीमा खुट्टा चोपलेर घण्टांै बसिरहन मन लाग्ने । छालहरूसँगै बग्न, नाच्न र गाउन मन लाग्ने । मन्त्रमुग्ध सबै कुरा । मान्छेको कमलो मनलाई हल्लाउन अरू के चाहियो र ? त्यहाँ सबै शान्त । सबै प्रेमील । मन त्यसै त्यसै बहकिने । इसाकुलको अन्तिम साँझ मलाई लाग्यो जलपरि बनौं र अमर प्रेमका लागि कसैलाई त्यहीँ किनारमा जन्मजन्म पर्खिरहूँ । 

तेस्रो दिन डिनरपछि व्यवस्थापकले सुस्तरी सुनायो, ‘भोलि तिम्रा लागि सप्र्राइज ट्रिप हुन्छ ,’ नभन्दै हाम्रो ‘ट्रिप’ रहेछ माथि–माथि सैलुंगेतिर । मन चञ्चल भयो । कस्तो होला त्यो पहाड ? कस्तो होला त्यो माटो ? चौथो दिन बिहानै बस गुड्यो । इसाकुलबाट डेढ घण्टा हिँडेपछि गन्तव्य आइपुग्यो । वरिपरि अर्कै संसार थियो । जहाँ रूखहरू थिएनन् । जहाँ फूलहरू थिएनन् । जहाँ हिउँ थिएन । जहाँ डाँफे, मुनाल र लालीगुराँस थिएन । जहाँ हामीले सुन्दर भनेका विम्बहरू थिएनन् । त्यहाँ सयौं घोडाका लस्करहरू थिए । त्यहाँ पठारमा रमाइरहेका साना–साना बछेटाहरू थिए । फुप्प पुच्छर भएका गाईहरू थिए । त्यहाँ बथानका बथान भेडाहरू चरिरहेका थिए । यस्तो कि त्यो भेडाहरूको देश हो र हामीलाई भेडाको राजाले निमन्त्रणा दिएको होस् । 

गाडीबाट उत्रिनासाथ एक जनाले चर्को स्वरमा भन्यो, ‘तपाईंहरूलाई पास्चरल्यान्डमा स्वागत छ । मनलाग्दो घोडा चढ । अघाउँजी भेडाको मासु खाऊ । घोडीको पातलो दूध पिऊ । लेकाली पानीमा नुहाऊ । यो सब तिम्रै लागि हो । तर विशेषत: आज रेन्जर डे हो । रेन्जरहरू भोड्काका सोखिन हुन्छन् । त्यसैले आज तिमीले पनि सबैभन्दा धेरै भोड्का पिएर हामीलाई खुसी पार्नुपर्छ । चेयर्स ।’ कसैले भोड्काको बोतल खोलि पो हाल्यो । यसरी सुरु भयो रसरंग । पाँच जना सानासाना फुच्चे केटाहरूले एक हूल घोडाहरू ल्याए । मैले एउटा बलियो, अग्लो र चिल्लो घोडा छानें र लागे उकालोतिर । 
मेरो घोडा चाल मिलाएर हिँड्थ्यो । लमकलमक । ऊ मेरो ख्याल राखेर हिँड्दै थियो । जस्तो कि म उसको पुरानो मालिक हुँ । माथि डिलमा पुगेर चारैतिर आँखा डुलाउँदा मलाई आफैंमाथि गर्वबोध भयो । लाग्यो, ‘म यो खर्कको राजा हुँ । मसँग सबैथोक छ । मसँग यो सुन्दर संसार छ जहाँ म मनखुसी आफ्ना सपनाहरूको गीत गाउन सक्छु ।’ कस्तो घमण्डको अनुभूति । केही तल हाम्रो टोली हल्ला गर्दै थियो । सबैका हातहातमा भोड्का थियो । सानो थुम्को, थोरै गल्छी र दम्स्याइलो पाखो छिचोलेर उनीहरू नजिक पुग्दा एक युगल जोडी गाउँदै थियो । साथीहरू नाच्दै थिए । भोड्काले आफ्नो पाइन देखाउन थालेको थियो । हामीले ‘रेसम फिरिरि’ गीत गायौं । एउटी मैयाले हाम्रो लयमा लय मिलाई । एकै छिनमा रेसम फिरिरि त समूहगान पो बन्यो । मसँग थिए डा. भरत क्षेष्ठ । उनी भन्दै थिए, ‘यो पो हो त रमाइलो ।’
***

खर्कबाट होटल आइपुग्दा साँझ पर्दै थियो । एउटी मैया मलाई नै पर्खी बसेकी । उसको नाम थियो इवेला । खासमा म केही मान्छेहरू भेट्न चाहन्थे । म चाहन्थें कुनै प्रौढलाई भेट्न जसले हिजो लेनिनका सपनाहरूसँग आफूलाई एकाकार गरेको होस् । म केही युवाहरू भेट्न चाहन्थें जोसँग भन्नलाई आजका सपनाहरू हुन् । म यस्ता मान्छेहरूसँग आँखामा आँखा जुधाउन चाहन्थें जसले सोभियत मृगतृष्णाको कुरा गरोस् । जसले आजको उदार समाज व्यवस्था र किर्गिस लोकतन्त्रबारे बताओस् । तर त्यो सबैको बदलामा आइपुगी इवेला । ऊ स्थानीय केटी । मसँग कुरा गर्न होटलको म्यानेजरले बोलाइदिएको । परिचयपछि मैले भनें, ‘म किर्गिस्थानको विगत र वर्तमानलाई सुन्न चाहन्छु । म यस्तो सत्यको अनुभव गर्न चाहन्छु जसले संसारका सुख र दु:खका दिनहरूको हिसाबकिताब गर्न सिकाओस् ।’ उसले भनी, ‘मसँग साधारण कुरा गर । धेरै गम्भीर कुरा गर्न मलाई आउँदैन ।’ 

इवेला अंग्रेजी सिक्नकै लागि केही समय जर्मनी बसेर फर्किएकी । बिस्केकको टर्किस युनिभर्सिटीमा टुरिजममाथि मास्टर्स गर्दै गरेकी । ऊ आकर्षक थिई । मेरा व्यक्तिगत जिज्ञासाहरू सुनेर लजाउँदै उसले भनी, ‘तिमी मसँग राजनीतिको कुरा गर्न चाहन्थ्यौ ।’ तर ऊ पनि व्यक्तिगत कुरा गर्न सिपालु । ऊ मेरा जिज्ञासाहरूको शान्त स्वरमा जवाफ दिन्थी । आधा घण्टा गफिएपछि मैले भनें, ‘हिँड कफी खान ,’ कफी पिउँदै उसले आफ्ना बाजेले सुनाएका क्रान्तिका कथाहरू भनी । उसले भनी, ‘बाजेहरू हिजो खुसी थिए, हामीलाई आज मजा छ । हिजो सबै कुरा सामूहिक थियो । त्यसैले कसैलाई हतार थिएन । तर आज समय यति तीव्र छ कि आरामले भोड्का पिउन पनि पाइँदैन ।’ इवेलाको एउटा दाँतमा सुनको जलप थियो । ऊ हाँस्दा सूर्य झुल्किएजस्तो लाग्थ्यो । म मन्त्रमुग्ध बनें ।

उसले सुनाई अक्टोबर १५ मा त्यहाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ । उम्मेदवार छन् ४५ जना । तर उसले भोट हाल्ने छनोटमा थिए दुई जना । किन दुई जना ? उसले भनी, ‘उनीहरू युवा छन् । सुन्दर छन् । सम्पन्न छन् । त्यसैले ।’ मैले सोधें, ‘राजनीतिक विचार नि ।’ विचार ? अचम्म मान्दै उसले भनी, ‘उनीहरूले विकासको कुरा गरेका छन् ।’ दर्शन ? उसले भनी, ‘सायद उनीहरूका लागि विकास नै दर्शन हो ।’ त्यसो भए के किर्गिस्थानमा माक्र्सवादी, लेनिनवादीहरू छैनन् ? उसले कूटनीतिक जवाफ दिई, ‘त्यो म ठ्याक्कै भन्न सक्दिनँ । तर मैले त्यस्ता मान्छे देखेको छैन ।’ कस्तो अनौठो कुरा । लेनिनकै पूर्वसोभियत भूमिमा लेनिन कतै छैनन् । किर्गिस्थानमा मनग्गे भोड्का छ, भेडा छन् तर लेनिन छैनन् । गोठ छ तर गोठमा वर्गसंघर्ष हैन प्रेमका कथाहरू पढिन्छ । के किर्गिस्थान फेरिएकै हो त ? उसले अत्यन्तै सरल उत्तर दिई, ‘हो नि फेरिनै त पर्छ ।’ 

किर्गिस्थान फेरिँदै छ । जस्तो हाम्रो कार्यक्रम आयोजक थियो किर्गिज संस्था ‘काफ्लु’ । काफ्लुका प्रमुख थिए पूर्व वन विभागका निर्देशक र वनमन्त्री । ७३ वर्षका उनी फरासिला थिए । उनले गत वर्ष कक्षा ८ मा १ वर्ष पढेछन् । किन ? उनी भन्छन्— अंग्रेजी सिक्न । विदेशीसँग कुरा गर्न । विश्वसँग सम्बन्ध बनाउन । यस्तो बदलाव छ त्यहाँ । इवेलाले सुनाई, ‘हिजो युवाहरू असल कमरेड बन्ने सपना देख्थे । सन् १९९० पछि सपना फेरियो र युवाहरू असीमित स्वतन्त्रताको उपयोग गर्न थाले । तर आज उनीहरू व्यावहारिक बन्दै छन् । आजका युवाहरू सानो घर, सुन्दर जीवनसाथी, स्वस्थ बालबच्चा र शान्त जीवनको सपना देख्छन् । मान्छेहरू हिजो समाजको विषयमा सोच्थे । जब ९० पछि समाजको बोझ हट्यो मान्छे आकाशमा उड्न थाल्यो । आकाशमा उड्नेहरूको सपना के हुन्छ भन्नु पर्दैन ।’

अन्तिम दिन हाम्रो दोभाषे बिन्दास थिई । हामीले ‘वालनट’ र ‘आल्मोन्ड’ किन्न खोज्यौं । जिस्क्याउँदै उसले भनी, ‘ओखरजस्तै छन् किर्गिस मैयाहरू । बाहिर कठोर तर भित्र विछट्टका रसिला । तिमी लान्छौ भने भनिदिन्छु ।’ उसले थोरै भोट्का पिएकी थिई । त्यसैले अनुहारमा तीव्र मादकता थियो । त्यही मादकता भरिएका आँखा झिम्क्याउँदै उसले विमानस्थलमा हामीसँग बिदाइका हातहरू हल्लाई । 

अन्तिममा एउटा सत्य बताउँछु । त्यो के भने हाम्री दोभाषेभन्दा इवेला धेरै राम्री । ढ्याक्कै अग्निदीक्षाकी तोन्याजस्ती । मैले नेपाल फर्किएर इवेलालाई इमेल लेखें । लेखे ‘इवेला आज राति सपनामा मैले तिमीलाई देखें । तिमी परीको भेषमा आकाशतिर उड्दै थियौ र म तिमीलाई छुन शिखरतिर चढ्दै थिएँ ।’ खासमा मैले कुनै सपना देखेको होइन । यो त इवेलालाई ‘इम्प्रेस’ गर्ने मेरो तरिका मात्र हो । मलाई लाग्छ एउटी सुन्दर युवतीका लागि थोरबहुत ढाँट्नु कुनै पाप होइन । हेरौं जवाफमा इवेलाले के भन्छे ? म उसको इमेल पर्खिरहेको छु । आशा छ कि उसको इमेलले मेरो किर्गिस्थान यात्रालाई अम्मर बनाउनेछ । 
dahal.keshab@gmail.com