निर्वाचनका दिन आन्तरिक उडानमा ७५ प्रतिशत कटौती

-सुरज कुँवर

काठमाडौं — दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावका दिन बिहीबार काठमाडौंबाट बाहिर जाने र फर्किने गरी ७५ हाराहारीसम्म उडान हुने हवाई सेवा सञ्चालकले जानकारी दिएका छन् ।

दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावका दिन बिहीबार काठमाडौंबाट बाहिर जाने र फर्किने गरी ७५ हाराहारीसम्म उडान हुने हवाई सेवा सञ्चालकले जानकारी दिएका छन् । 

निजी वायुसेवा प्रदायकहरूको संगठन (आयोन) का अनुसार चुनाव हुने क्षेत्रमा अत्यावश्यक सवारी साधानबाहेक अरू सवारी नचल्नेलगायतका कारण आन्तरिक रुटमा झन्डै ७५ प्रतिशत उडान हुने छैनन् । आयोनमा हाल ८ वटा हेलिकप्टरसहित १५ वटा जहाज कम्पनी सदस्य छन् । ‘मुख्य कारण त चुनाव नै भयो, त्यसबाहेक पास नभएका निजी र सार्वजनिक सवारी साधन नगुड्ने भएकाले बिहीबार यात्रुको टिकट माग नै कम भएको हो,’ आयोनका प्रवक्ता घनश्याम आचार्यले भने । उनका अनुसार चुनावका दिन उडान बन्द नै गर्नुपर्ने बाध्यकारी सरकारी नियम छैन । उद्धार तथा चुनावी मामलामा हेलिकप्टर उडान भइरहन्छन् ।

सर्वाधिक आन्तरिक उडान भर्ने बुद्ध एयरले चुनावका दिन पोखरा र चितवनमा मात्रै उडान राखेको छ । ‘सामान्य दिनमा ४५ सम्म उडान गथ्र्यौ तर बिहीबार पोखरा र चितवनमा गरी ६ वटा हाराहारी उडान तालिका छ । पर्वतीय उडानको अझै टुंगो लागिसकेको छैन,’ बुद्धका बजार निर्देशक रूपेश जोशीले भने । 

६ वटा जेटस्ट्रिमसहित सुगम रुटमा ८ वटा विमान उडाउँदै आएको यती एयरलाइन्सले पनि करिब ९० प्रतिशत उडान कटौती गरेको छ । यतीका डेपुटी मार्केटिङ म्यानेजर राजेन्द्र शर्माका अनुसार चुनावका दिन पर्यटक लक्षित उडान मात्रै तालिकामा राखिएका छन् । यस कम्पनीका जहाजले दैनिक औसत ३० वटा उडान गर्छन । ‘काठमाडौंबाट पोखराका लागि तीनवटा र दुइटा माउन्टेन फलाइट मात्रै हुने छन्,’ शर्माले भने । 

त्यसैगरी टुइनअटर र डोर्नियर गरी ५ वटा विमान रहेको ताराले पोखराबाट जोमसोमका लागि एउटा र काठमाडौंबाट लुक्लाका लागि दुइटा मात्रै उडान राखेको छ । 

ताराका विमानले सामान्य दिनमा २० हाराहारी उडान गर्थे । त्यसैगरी तीनवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा रुटमा उडान भर्दै आएको श्री एयरलाइन्सले चुनावका दिन सबै उडान कटौती गरेको प्रबन्धक अनिल मानन्धरले बताए । 

दुईवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा रुटमै दैनिक १६ वटा उडान भर्दै आएको सौर्य एयरलाइन्सले पनि पूरै उडान कटौती गरेको बजार प्रमुख मुकेश खनालले बताए । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले पनि आन्तरिक उडान नगर्ने निर्णय गरेको छ । कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीका अनुसार, निगमले सुरक्षा र कर्मचारी परिचालन व्यवस्थापनका कारण आन्तरिक उडान बन्द गरेको छ तर अन्तर्राष्ट्रिय उडानलाई भने यथावत् नै राखेको छ । निगमका ६ वटा विमानले आन्तरिक रुटमा दैनिक १० हाराहारी उडान भर्दै आएका छन् । 

 त्यसैगरी डोर्नियर विमानमार्फत सेवा गर्दै आएको सीताले लुक्ला मात्रै उडान गर्ने भएको छ । योरुटमा विदेशी पर्यटकहरूको पहिल्यैदेखिको टिकट बुकिङ भएकाले सीतालगायत समिट एयरलाइन्सले पनि उडान राखेको छ । ‘नेपालगन्जदेखि मध्यपश्चिमका पहाडी रुटका सबै उडान बन्द गरेका छौं, लुक्लामा चारवटा उडान हुनेछन्,’ समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले भने । 

आन्तरिक रुटमा ७५ प्रतिशत हाराहारी उडान कटौती हुने भएपनि अन्तर्राष्ट्रिय रुटका उडानमा भने सामान्य दिनसरह उडान हुने भएका छन् । विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अनुसार, चुनावका कारण कुनै पनि विदेशी एयरलाइन्सलले उडान कटौती गरेका छैनन् । नेपाललाई बाँकी विश्वसँग जोड्ने २६ हाराहारी विदेशी एयरलाइन्सले दैनिक ३० देखि ४५ सम्म उडान गर्छन् । 

त्यस दिन पर्यटन बोर्डको संयोजनमा विमानस्थलसम्मका लागि तीनवटा सट्टल बस चलाउने भएको छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने बसहरूको रुटका लागि पर्यटन प्रहरीको टोल फ्री नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ । यी बसले प्रतियात्रु ३ सय रुपैयाँ टिकट शुल्क तोकेको छ । यी बसको रुटमा काठमाडौंभित्रका सबै तारेहोटल र ठमेललाई जोडिएका छन् ।