कोदो र मकै मात्र हुने जमिनमा तरकारी

पानी र मोटरबाटो पुगेपछि खेती प्रणाली नै फेरियो
प्रताप विष्ट

बुढीचौर (मकवानपुर) — कोदो र मकैमात्र उत्पादन हुने भिरालो बारीमा अहिले मनग्ये तरकारी उत्पादन हुने गरेको छ । विगतमा पानीको अभावले तरकारी हुँदैन्थ्यो ।

कोदो र मकैमात्र उत्पादन हुने भिरालो बारीमा अहिले मनग्ये तरकारी उत्पादन हुने गरेको छ ।  विगतमा पानीको अभावले तरकारी हुँदैन्थ्यो । तरकारी उत्पादन भए पनि मोटरबाटो नभएकाले बजारमा पुर्‍याउन सकिँदैनथ्यो ।

मकवानपुर गढी–८ बुढीचौरका सोमलाल रुम्बाको विगत दुई वर्षदेखि आम्दानीको मुख्य स्रोत तरकारी रहेको छ । मकै र कोदोमात्र लगाउने बारीमा अहिले सिमी, रायोसाग, मुला र करेलाको बोटले ढाकेको छ । वर्षायाम उनले त्यही बारीबाट एक लाखको काँक्रो बिक्री गरे । गत वर्ष सोमलालले तरकारी मात्र २ लाख रुपैयाँ भन्दा बढी बिक्री गरेर आम्दानी गरे । ‘यो वर्ष तरकारीबाटमात्र साढे २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ’ उनले भने, ‘भिरालो बारी र कान्लामा 

अम्रिसो पनि लगाइएको छ, त्यसबाट पनि राम्रै आम्दानी हुन्छ ।’ दुई वर्षअघि तत्कालीन जिविसको सहयोगमा गाउँमा पिउने पानीको व्यवस्था भएको थियो । घरमाथि नै पानी ट्यांकी भएकाले पानी पिउन मात्र होइन तरकारी खेती गर्न पनि पुग्छ । त्यसैले रुम्बाले तरकारी खेती गरेका छन् । 

रायोसाग र सिमीले अहिले उनको बारी हरियाली बनेको छ । घरको आँगनका रहेको धारामा २४ सै घण्टा पानी आउँछ । यो वर्ष रायोसाग मात्र उनले अहिलेसम्म १० हजार रुपैयाँको बिक्री गरिसकेका छन् । अझ त्यति नै बिक्री हुन्छ । सिमीका कोसा उनी बिक्री गर्दैनन् । गेडा मात्र बिक्री गर्ने गर्छन् । सिमी झपक्कै फलेका कारण सिमीको थाक्रोसमेत लच्काएको छ । हेटौंडा–सिखरकटेरी–सुकौरा हुँदै बुढीचौर मोटरबाटो पुगेकाले मेहेनती कृषक रुम्बाले उत्पादन गरेको तरकारीलगायत कृषिजन्य वस्तु बजार पुर्‍याउन समस्या छैन ।

‘पहिले–पहिले उत्पादन गरेको तरकारी मोटरबाटोको अभावले बजार पुर्‍याउन समस्या थियो’ कृषक रुम्बाले भने, ‘अहिले बजारको समस्या छैन, उत्पादन गर्न सक्नुपर्छ ।’ रुम्बाको गोठमा २ वटा लैना भैंसी र चारवटा पाडापाडी छन् । दैनिक दूध बिक्री गरेर पनि आम्दानी गर्छन् भने भैंसीको प्राङ्गारिक मल हालेर तरकारी उत्पादन गर्ने गरेका छन् । अहिलेसम्म तरकारीमा उनले रासायनिक मल हालेकै छैनन् । त्यति मात्र होइन तरकारीमा एक थोपा विषादी पनि हालेका छैनन् । ‘रासायनिक मल र विषादी हाल्ने गरेका छैनांै’ कृषक रुम्बाले भने, ‘मैले मात्र होइन यहाँका अधिकांश कृषकले रासायनिक मल र विषादी हाल्दैनन् ।’ ९ रोपनी जग्गाका धनी रुम्बाले ६ रोपनीभन्दा बढीमा तरकारी खेती गर्ने गरेका छन् । तरकारी खेतीको आम्दानीले घरको छानामा जस्तापाता लगाएका छन् भने ६ वटा छोराछोरीलाई पढाएका छन् ।

चारैतिर डाँडाले घेरेको केही भाग समथर र भिरालो जमिन भएको बुढीचौरको माथिल्लो भागको जमिन तोरीको फूलले पहेंलपुर देखिन्छ ।तल्लो भाग तरकारी खेतीले ढाकेको छ । प्लास्टिकको टनेल बनाएर पनि तरकारी उत्पादन गर्ने गरेका छन् ।

 विगतमा मोटरबाटो र पानीको अभावले अन्यत्र बसाइँ सरेकाहरू पनि अहिले मोटरबाटो र पानीको सुविधा भएपछि बुढीचौरमा नै फर्केर बस्न थालेका छन् । पानी र मोटरबाटोले यहाँको खेती प्रणाली नै फेरिएको छ । गाउँका अधिकांश कृषकले तरकारी खेती गर्ने गरेका छन् । तामाङ समुदायको बाहुल्य रहेको उक्त बस्तीको जमिनको मूल्य अहिले वृद्धि भएको छ । अधिकांशले तरकारी खेती गर्ने गरेका छन् । ‘बुढीचौरको अर्गानिक तरकारी हो, बजार पुर्‍याउने बित्तिकै बिक्री हुन्छ’ अर्का कृषक सन्तबहादुर मोक्तानले भने, ‘बुढीचौरको तरकारी विषादीरहित स्वस्थकर छ । 

बुढीचौर विगतमा सिंगो गाविस थियो । अहिले उक्त गाविस मकवानपुरगढी गाउँपालिकामा गाभिएको छ । शिवम् सिमेन्टको खानी पनि त्यसै क्षेत्रमा परेकाले बुढीचौरको मोटरबाटो शिवम्ले बनाइदिने गरेको छ । ‘गाउँनजिकै ठूलो उद्योग स्थापना भएपछि बिनाशसँगसँगै विकास पनि हुँदोरहेछ’ स्थानीय विद्यालयका शिक्षक रामकुमार केसीले भने, ‘शिवम् सिमेन्टको खानी यस क्षेत्रमा नभएको भए हेटौंडा–शिखरकटेरी–सुकौरा हुँदै बुढीचौर आउने मोटरबाटो बन्ने थिएन ।’ उक्त मोटरबाटो हुँदै बुढीचौरबाट २ घण्टामा हेटौंडा आइपुगिन्छ ।