हरेक सहर बेइमान हुन्छन् । दुई–चार साल बसेर मात्रै हेर्नुहोस् । किरायाकै घरमा रहँदा पनि लागिरहन्छ, ‘यो ठाउँ मेरो पनि हो ।’ अचेल सिलिगुडी मलाई त्यही बेइमान सहर लाग्न थालेको छ । सात सालअघि मात्रैको कुरा हो, जतिबेला म पहिलोचोटि लामो समयको निम्ति यो सहर छिर्दै थिएँ । यो व्यस्त सहरमा मलाई स्थायी डेरा जमाउनु थियो । तर, मेरो मन स्थायी थिएन, यो सहरझैं अस्थिर थियो । घरी यो गल्ली हिँड्न चाहन्थ्यो, घरी त्यो गल्ली दगुर्न चाहन्थ्यो । म आभारा थिएँ, एक्लै भौंतारिइरहन्थेँ ।
५ सालअघिको कुरा हो । मौसम वर्षात्को थियो । तैपनि आकाश खुल्दै थियो । त्यही नीलो आकाशमाथि उड्दै गर्दा मैले पहिलोचोटि देखेको हुँ, त्यो इम्फाल सहर, जसको चारतिर थालजस्ता खेतहरू थिए । त्यही खेतमा जमिरहेको पानीमा जब घामको किरण पर्थ्यो, हिऊँझैं टलक्क टल्किन्थे । त्यही टल्किरहेका खेतभन्दा माथि उभिएका थिए, हरिया पहाडहरू, जहाँ बादलका सेता टुक्रा परेवाका जोडीझैं लुकामारी खेलिरहन्थे । त्यही पहाडका चुचुरामाथि उडिरहेको हवाईजहाजले जब समतलका भुइँ चुमे, मैले पहिलोचोटि मणिपुरको धरती टेकेँ ।
दार्जिलिङमा अलग राज्यका निम्ति कुनै दिन सशस्त्र आन्दोलन होला ? ८० को दशकअघि यो प्रश्नबारे धेरैले सोच्न पनि सक्दैनथे । किनकि त्यो बेला दार्जिलिङका आम मान्छेले सरकारविरुद्ध बोल्ने कुरा त छाडिदऊँ, बोल्नेहरूको कुरा सुन्ने आँटसम्म गर्दैनथे ।
त्यो अर्कै जमाना थियो ।अहिलेजस्तो सबैका हात–हातमा मोबाइल फोन थिएन । घर–घरमा टेलिभिजन थिएन । मान्छेसँग मनोरञ्जनको अर्को कुनै साधन छँदै थिएन । त्यसोभए त्यो पुस्तासँग छुटाउनै नहुने थोकचैं के थियो नि ? त्यो केवल प्रकाश ‘कोविद’ कै उपन्यास थियो, जसलाई मान्छे छातीमै टाँसेर राख्न चाहन्थे । खोजी–खोजी पढ्न चाहन्थे । दार्जिलिङका मान्छे त्यही उपन्यासका पात्रहरूसँग घुम्दै–घुम्दै नेपाल पुग्थे । नेपालका मान्छे त्यही उपन्यासका पात्रहरूलाई पछ्याउँदै–पछ्याउँदै कालेबुङ आइपुग्थे ।
त्यो कालेबुङ अर्कै थियो ।यति खचाखच घरहरू थिएनन् । बाटा–घाटा फराकिला थिए । मान्छेको भीड छँदै थिएन । कागज छरिएजस्ता छरपस्ट देखिने भवनहरू ठडिएकै थिएनन् । कालेबुङको मेनरोडमा अग्लो बिल्डिङ बन्दा त कलकत्तामा खबर नै छापिन्थ्यो । सडकमा गाडीभन्दा धेर गोरु–गाडी हिँडरिहेका देखिन्थे । बन्दै गरेको सहर गाउँजतिकै शान्त थियो । तर, जब तिब्बतबाट खच्चडहरूको भीड सामान लिएर यहाँ आइपुग्थ्यो, कालेबुङको रौनक नै बदलिदिन्थ्यो । किनकि त्योबेला त कालेबुङ अन्तर्राष्ट्रिय व्यापारको केन्द्र नै थियो, जसले तिब्बतलाई भारत, नेपाल, बर्मालगायतका देशहरूसँग जोड्थ्यो । इङ्ल्यान्डदेखि अमेरिकासम्म पुग्ने सामानहरू यही बाटो भएर लगिन्थ्यो । ऊनदेखि सुनसम्मको व्यापार कालेबुङबाटै हुन्थ्यो । देशमा चाँदीको भाउ त कालेबुङले तोकिदिन्थ्यो ।
अचानक कोरोनाको कहर यसरी छादियो, जसले सबथोक ठप्प पारिदियो । घुम्नलाई पूरै बन्देज लगाइदियो । मान्छे घरभित्र थुनिँदै गए । हठात किताब किनेर पढ्नधरि नपाइने स्थिति बनिदियो । साहित्यिक उत्सवहरू अनलाइनतिर सीमित हुँदै गए । लगभग तनावमै दुई साल बिते ।अनि त बल्ल माहोल अलि ठीक हुँदै गयो । त्यही बनिएको माहोलबीच फातसुङ–को अंग्रेजी संस्करण आइदियो । त्यही अंग्रेजी अनुवादले मेरा निम्ति नयाँ बाटो खोलिदियो । र, नै म जयपुर लिटरेचर फेस्टिवल पुगेँ ।