३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

छोरालाई स्थापित गर्न मुलायमसिंहले नाटक त गरेको होइन ?

समाजवादी पार्टीको राजनीतिमा परिवारवाद हावी, छोरा अखिलेशले गरे पितालाई ‘कू’
उत्तर प्रदेशको राजनीति

काठमाडौं — अखिलेश समुहले आइतबार ‘आकस्मिक’ बैठक डाकेर राष्ट्रिय अध्यक्ष बनाएको घोषणा गरे तर केही घन्टापछि नै मुलायमले उक्त घोषणालाई कानुन संवत छैन भन्दै आगामी विहीबार पार्टीको राष्ट्रिय महाधिवेशन बोलाए । छोरा अखिलेशलाई उचालेर केही राजनीतिक स्वार्थीहरुले दाउपेच गरिरहेको आरोप समेत उनको छ । त्यसपछि छोरालाई साथ दिएका राष्ट्रिय महासचिव रामगोपाललाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेका छन् ।

छोरालाई स्थापित गर्न मुलायमसिंहले नाटक त गरेको होइन ?

भारतीय विश्लेषकहरुले मुलायमसिंह यादवले छोरा अखिलेशको नेतृत्वमा नै पार्टीलाई अघि बढाउन कुटिल राजनीतिक चाल रचेको बताइरहेका छन् । भारतीय संचार माध्यममा देखिने बहस पनि त्यही छ, पार्टीको सम्पूर्ण नियन्त्रण सुम्पन मुलायमले यस्तो राजनीतिक चालबाजी गरेको झट्ट पत्यार नलागे पनि गहिरो अध्ययन गर्ने हो भने यो स्पष्ट हुने उनीहरुको दावी छ । राजनीतिक दाउपेचको रुपमा देखा परेको भएपनि यो पूर्णत पारिवारिक द्धन्द्धको चरम रुपमा पछिल्लो घटनालाई विश्लेषण गर्न सकिन्छ । पछिल्लो राजनीतिक घटना क्रम, यस दलमा रहेर कैयन पटक नेपाल भ्रमणमा आएकाहरुसँगको सम्पर्कबाट पनि यो निश्कर्षमा पुग्न सकिन्छ कियो पूर्णत राजनीतिमा परिवारवाद हावी हुँदाको उदाहरण हो । दक्षिण एसियाको राजनीति नै यस्तै पारिवारिक हावीमा रुमलिएको छ । परिवार भित्रको अवस्थालाई अध्ययन गर्ने हो भने पनि यसलाई चालबाजीको रुपमा नै लिन सकिन्छ । अखिलेसलाई मुलायमसिंह यादबले मुख्यमन्त्री बनाएदेखि नै त्यो संकेत मिल्न जान्छ । पारिवारिक बेमेल र सौताने मामिलाले दलको समाजबादी धार संकटमा परेको अड्कल धेरै अघि देखि गरिएको थियो । लामो समय देखि पार्टीमा विवाद चुलिएको थियो ।

अखिलेशका अर्की आमा पट्टिका धारले उनलाई खासै नरुचाएको कारण पनि परिवारमा संकट आइपरेको थियो । यसो हुँदा उनलाई बाबुको साथ थियो र मुख्य मन्त्री बने । त्यसपछि उनी दलभित्र  लोकप्रिय रहे । उनले समाजवादी धारसँगै विकास र सुशासनलाई जोड दिंदै अघि बढे । उनी अघि बढेकोमा उनका अर्की आमाका परिवारमा छटपटी थियो । हुनत मुलायमले जव पार्टीमा आफ्ना भाइलाई अघि नबढाई छोरालाई ल्याए त्यही समयदेखि संकट आएको थियो । भाई शिवपालले आफूलाई मुलायम पछिको उत्तराधिकारी ठान्थे । संगठनमा उनी मुलायमका छोरा अखिलेशभन्दा बढि भिझेको र संगठन गरेको सम्झन्थे । आफ्नो योगदानका कारण उनले पार्टी नेतृत्व र मुख्यमन्त्रीको हकदार दाजुपछि आफू भएको दावी गरिरहँदा भतिज अखिलेस मुख्यमन्त्री बन्दा उनी स्तब्ध बनेका थिए । त्यसपछि नै दलमा धमिरा लाग्न थालेको थियो । मुलायमले छोरालाई अघि बढाएपछि टाढिएर अखिलेशलाई असहयोग गर्दै आएका शिवपाल अहिले दाजूसंग आइपुगेका त छन् तर दाजुसँग रहेर दलको ‘चाणक्य’ को रुपमा देखिएका रामगोपाल यादव भने अखिलेशसँग छन् ।
 
शिवपाल मात्र नभएर मुलायमका दोस्रो पत्नीका सन्तान पनि अखिलेश राजनीतिमा अघि बढेको हेर्न चाहदैनन् भन्ने विषय अहिले झनै स्पष्ट हुँदै आएको छ । शिवपालले त्यो अस्त्र पनि भरपुर प्रयोग गरेको विश्लेषकहरु बताउँछन् । मुलायमको दोस्रो श्रीमती हुन साधना गुप्ता यादव । साधनातर्फको सन्तानले अखिलेशलाई खासै रुचाउदैनन् । सन १९८८ मा नै मुलायम र साधानाको छोराको रुपमा प्रतिक यादव जन्मेका भए पनि सम्वन्ध रहेको पछिमात्र बाहिर आएको हो । अखिलेशकी आमा मालतीदेवीको सन २००३ मा निधन भएको हो । साधनाको आगमन सहज भने थिएन । त्यही सौतेले मामिलाले अहिले पनि अखिलेश सकसमा परेको अड्कल धेरैको छ । मुलायमका डिजाइनर वा मुख्य सल्लाहकार मानिने निकट मित्र नेता अमर सिंह पनि अखिलेशको शैलीप्रति रुष्ट नै देखिएका छन् । अखिलेशले अमरलाई मित्रको आडमा बाबु मुलायमसँगै रहेर बाबुलाई फसाएर आफूले भ्रष्टाचार गरेको आरोप लगाएका कारण अमरले यस्तो गरेको बुझाई युवाहरुको छ । यसलाई उनले छानविनमा ल्याउने तयारी पनि गरे । कतिपय केश बाहिर ल्याईसकेका छन ।
 
पढेलेखेका युवालाई राजनीतिमा तानेर ल्याउनेदेखि राजनीतिमा देखिएका फिगर भन्दा भित्र बसेर काम गर्न रुचाएकालाई अखिलेशले बढि महत्व दिए । जसको कारण मुलायमका पुराना मित्रहरु चिढिए । यद्यपी अखिलेश दलको सर्जकलाई नै पछि पार्दै अघि बढ्न सकेका छन् । अमेरिकी प्रख्यात विश्व विद्यालय हवर्डका पब्लिक पोलिसिका प्राध्यापक स्टिफ जार्डिगलाई ल्याएर एक टिम नै खडा गर्दै अखिलेशले आफ्नो चुनावी रणनीति तय गरिरहेका छन् । उनले आफ्ना युवा दस्तालाई पनि संगै अघि बढाएका मात्र छैनन् आफू अघि बढ्दा ओझेलमा परेकालाई समेत सम्मान गर्दै राजनीतिलाई अघि बढाएका छन् ।
 
अखिलेससँग अहिले युवा र पाकाको संयोजन सहितको निकै बलियो टिम छ । जुन टिममा प्राध्यापक रामगोपाल यादव मुख्य भुमिकामा छन् । फुलनदेवीका पति रामगोपाल निकै कडा स्वभावका प्राध्यापक हुन् । पहिले रामगोपाल मुलायमसिंहका मुख्य योजनाकार थिए । उनलाई मुलायमका चाडक्य नै भनिन्थ्यो । तर पछिल्लो समय पटक पटक पार्टीबाट निस्कासित बनेका रामगोपालले आफूलाई मुलायमले फुटवल बनाएको बताउन थालेका छन् । उनकै नेतृत्वमा पार्टीको बागि धार अघि बढ्दै  छ । अखिलेश त्यसको नेता भइसकेका छन । अखिलेशसंग टुंडालमा बाल सहपाठी उदयबीर सिंह, युवा विग्रेटका मुख्य हस्ति सुनिय यादव, आनन्द भदौरिया, हरियाणाका संजय लाठर, एसआरएस यादव (बाबु र छोराको निकटस्थ), लखनउका अभिसेक मिश्र र गांजियाबादका राजेन्द्र चौधरी खास सात दस्ताको रुपमा छन । यही दस्ताको मुख्य सल्लाहमा अखिलेश अघि बढेका हुन् । सबै यो पछिल्लो समयमा हस्तीका रुपमा उदायका युवा हुन । यही युवाको कारण अहिले सांसदमा रहेका २ सय २९ मा अखिलेसको पक्षमा नै २ सय बढि आएका छन् ।
 
राममनोहर लोहिया र जयप्रकाश नारायण जस्ता ब्यक्तिको समाजवादी चिन्तनबाट प्रभावित मुलायमले समाजवादको ओकालत गर्दै अघि बढाएको दल यतिबेला पारिवारिक द्धन्द्वको चापमा परेको हो । समाजवादी दलको यादव र पिछडीएका वर्गको साथ थियो । तर त्यस्ता समर्थकबाट नभै परिवार भित्र नै द्वन्द्वको जरो गडेको धेरै भएको थियो । यही विषयमा बाबु र छोरा बीच मत भिन्नता आएको थियो । निकै लामो समयदेखि परिवारभित्र चर्किएको द्धन्द्व अखिलेश र मुलायममा मात्र सीमित नभई समस्त यादव परिवार, आफन्तजन र मित्रको परिधिभरी फैलिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । यादव परिवार हावी हुँदा नै समाजवादी दल त्यही परिवार भित्र समस्या आएको हो ।
 
बाबरी मस्जिद कट्टरपन्थि हिन्दुले भत्काएपछि मुस्लिम समुदायको आड र भरोसाका साथ दलितको संयोजनमा मुलायमको समाजवादी पार्टी अघि बढेको हो । मस्जित भत्किने गरि भएको उक्त आक्रमण पनि उत्तर प्रदेशमा रहेका मुस्लिमको भरोसा कांग्रेसबाट टुटेको थियो । जुन अझै कंग्रेसले जोड्न सकेको छैन । सोही काण्डपछि मुलायम उत्तर प्रदेशको राजनीतिमा निकै शक्तिशाली र हावी भए । राम्रैसंग अघि बढेको उक्त पार्टीमा परिवार भित्रको किचलोले घटनाक्रम विकसित हुने र साम्य हुने गरेको भए पनि अहिले पार्टी विभाजनको तहमा पुगेको हो । यो घटनाक्रमलाई सुक्ष्म विश्लेषण गर्ने हो भने कार्यकर्ताको समेत मन जितेका छोरालाई केही आलोचकलाई नग्याउँदै र गु्म्राहमा राखेर दलको सबै बागडोर अखिलेशलाई दिने तयारी मुलायमको नहोला भन्न सकिंदैन । निर्वाचनको लागि समेत यो प्रयास भएको हुनसक्छ । यसमा खलनायकको भूमिकामा छन परिवारभित्रकै अर्का आमा पट्टिका सन्तान र उनका नातेदारहरु । त्यसमा साथ दिएका छन काका शिवपालले ।
 
केही दिनयता घटनाक्रम यसरी बढेको छ कि मुख्यमन्त्री अखिलेशलाई बागी शैलीमा विशेष अधिवेसन बोलाएर पार्टीको अध्यक्ष समेत बनाइएको छ । बाबु मुलायमलाई हटाएर उनी अध्यक्ष बनेका हुन् । यसरी महासचिवसहितको टोलीले अध्यक्ष घोषणा गर्दा समेत पार्टीका निर्वतमान बनाइएका अध्यक्षले छोरालाई कारबाही गर्न सकेका छैनन् । यसलाई दलभित्र गरिएको एक प्रकारको ‘कू’ भन्दा पनि फरक पर्दैन । यसरी भएको आन्तरिक राजनीतिक कूले पार्टी फुट्न सक्ने समेत बताइएको भएपनि यसमा मिलाउने विन्दु मुलायमले राखेका छन् । यसमा मुलायम माहिर पनि छन् । उनले छोरालाई जुन शैलीमा मुख्य मन्त्री बनाए र छोराको विरोधीलाई आफ्नो पक्षमा ल्याए त्यही शैलीमा उनले छोरालाई सबै पार्टी जिम्मा लगाउँदै कतिपयलाई पाखा लगाइदिन सक्नेछन् । बहावलाई ध्यान दिन जानेका नेताको रुपमा चिनिएका मुलायमले यसलाई पनि सम्हाल्न सक्नेछन् ।
 
रामगोपाल मुलायमका भाई (काकाका छोरा) हुन् । मुलायमलाई साथ दिने भाई अखिलेश तिर छन् भने अखिलेशको निकट बन्न पुगेका शिवपाल यतिबेला मुलुयमसंग छन् । मुलायमले मुख्यमन्त्री नबनाएपछि अखिलेशसंग नजिक रहेर आन्तरिक राजनीतिको गोडी चलाइरहेका शिवपालको भन्दा युवाको कुरा अखिलेशले सुन्न थालेपछि अहिले मुलायको विश्वास पात्र बनेर अखिलेश विरुद्ध गोटी चालिरहेका छन् शिवपाल । यसरी पारिवारिक मारमा ठूलो दल कसरी पर्छ भन्ने उदारहण बनेको छ समाजवादी पार्टी । समाजवादी दल पहिले देखि नै जातीय तथा पारिवारिक राजनीतिको प्रभावमा थियो । अहिले यो पारिवारिक कारण विष्फोट भएको छ ।
 
उत्तर प्रदेशमा हुन गइरहेको आगामी चुनाव र पार्टी संगठनलाई कसले नियन्त्रणमा लिने भनेर नै समाजवादी पाटीभित्र विवाद भइरहेको हो । मुलायम पछि यादव परिवारमा दल कसको नियन्त्रणमा जाने भन्ने नै सबैभन्दा ठुलो मुद्दा हो । उक्त पार्टीका तर्फबाट दुई दर्जन बढी यादव दाजूभाई हावी रहेका कारण नै आपसी संघर्ष चर्किएको हो । रामगोपालले अखिलेशलाई फसाएर पार्टी कब्जामा लिन खोजेको मुलायमको बुझाइ छभने अखिलेशको बुझाई शिवपालले बुवा मुलायमलाई फसाएर पार्टी नेतृत्व लिन खोजेको बुझाई छ । मुलायमलाई भ्रष्टाचारमा लिप्त भएको, राज्य व्यवस्थामा आफन्तजनको सञ्जाल निर्माण गरेको र अवैध धन्दा गर्नेलाई संरक्षण गरेको आरोप लागेपछि उनले छोरा अखिलेशलाई राजनीतिमा अघि सारेको र यो संघर्षको बीचमा पनि उनैलाई शक्तिशाली बनाउन पार्टीका बाघ मानिएका मुलायमले नै उनैलाई स्थापित गर्न यो चरम गोटी चालेर रिक्स लिएको नहोला भन्न सकिन्न । तर यसको लागि आगामी विहीबार हुने अधिबेसन कुर्नै पर्ने भएको छ । किनकी अखिलेश कि पत्नि डिम्पल यादवले फिरोजाबादमा निर्वाचन हार्दा मुलायम सिंह निकै क्रुद्ध बनेका थिए । त्यहाँ रामगोपाल यादवका पुत्र अक्षय आदव अहिले सांसद छन् । समाजवादी पार्टीका मुख्य ब्यक्ति भनेकै रामगोपाल हुन् । उनै रामगोपाललाई साइजमा ल्याउदै सधै भित्री भूमिकामा राखेर छोरालाई आफ्नो पुरानो भूमिका दिइराख्न यस्तो निर्णय मुलायसिंहले नलिएको भन्न सकिंदैन । किनकी दक्षिण एसियाको राजनीति यसैगरि अघि बढेको छ ।

प्रकाशित : पुस १८, २०७३ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?