१२ वर्षपछि प्रचण्ड चुनवाङ फर्कंदा...

गंगा बीसी

काठमाडौं — कस्तो लाग्यो १२ वर्षपछि चुनवाङ आउँदा ? प्रचण्डले प्याट्टै भने, ‘भावुक बनायो ।’ राजनीतिलाई नयाँ दिशा दिने केही विचार आयो ? उनले थपे, ‘केही न केही उर्जा त अवश्य पैदा भएको छ ।’ जुन जगले प्रचण्डलाई शक्ति र सत्तामा पुर्‍यायो, त्यही जग भुल्न गाह्रो पनि हुन्छ । चुनवाङ एउटा त्यस्तै जग हो  । हेलिकप्टरले चुनवाङका आकाश छोड्दासम्म प्रचण्डले स्थानीयलाई हात हल्लाएर अभिवादन गरिरहे ।

१२ वर्षपछि प्रचण्ड चुनवाङ फर्कंदा...

चुनबाङ जाने रहर धेरै पहिलेदेखि नै हो । मौका मिलेको थिएन । चार साताअघि जाने मौका मिल्यो । आफैमा चुनबाङ केही थिएन, त्यो रुकुमको एउटा दूर्गम गाउँ बाहेक केही होइन । कुनै ठाउँ एकाएक चर्चामा आउछन् र पछि पछिसम्म पनि सम्झनामा आइरहन्छन् । चुनबाङ पनि त्यस्तै एउटा गाउँ हो, जसलाई माओवादीले एकाएक चर्चामा ल्याइदियो । यति मात्र होइन, माओवादीले चुनवाङमा बैठक गर्नु संयोग थियो र त्यो संयोगले माओवादीको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा डोर्‍यायो । नेपालीका लागि त्यो सुखद संयोग हुन गयो । युद्धको सुरक्षित अवतरण नभएको भए हालसम्म लाख मान्छे मारिसक्थे सायद । त्यसैले मान्छेले चुनवाङलाई सम्झन्छन् । जहा युद्ध समाप्त गर्ने रेखा कोरिएको थियो ।

कुनैबेला चुनवाङ चर्चित भए पनि विस्तारै ओझेल पर्दै गएको थियो । किनकी माओवादी ऐतिहासक केन्द्रीय समिति बैठक भए पनि यो स्थानलाई खासै वास्ता गरिएन भन्ने गुनासो थियो । युद्धको अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि चुनवाङ सुरक्षित स्थान थियो । त्यसकारण पनि भूमिगत कालमा प्रचण्ड लुकिछिपी एक साता हिडेर त्यहा पुगेकमा थिए । प्रचण्डलाई माया त लागेको होला बिगतमा सुरक्षित रुपमा बसेको स्थानको । शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डलाई सायद भूमिगतकालमा बसेकमा सबै स्थान सम्झने फुर्सद छैन । मनमा भए पनि जान सक्ने समय र अवस्था कमै हुन्छ । १२ बर्षपछि बगेको खोला फर्कन्छ भन्ने पुरानो भनाइ छ । समय र कालले मान्छे बाँचिरहे भने नफर्कने कुरै हुँदैन । त्यस्तै भयो प्रचण्डका लागि पनि चुनवाङ । प्रचण्ड राजधानी पसेपछि चुनावाङ पुग्न १२ बर्ष कुर्नु पर्‍यो । तल चुनवाङ खोला उस्तै गरी निरन्तर बगिरहेको छ । यो रोकिने छैन । उसले कसैलाई पर्खदैन ।

त्यस दिन माहौल तातेको थियो । चुनवाङको भेडीगोठ सानो गाउ झिलिमिली सिंगारिएको थियो । वरिपरिका गाउबाछ मान्छे ओइरिएका थिए । पानी नपरेकाले बारीमा गहुँ राम्ररी हुर्कन पाएको थिएन । चिसो मौसमले चुनवाङ डाँडालाई चिस्याएको थियो । माथिको वन झोक्रिएको देखिन्थ्यो । रुखका पात झर्न सुरु भइसकेका थिए । आकाश भने अचाक्ली खुलेको, सुन्दर युवतीको मुहारजस्तो । सूर्यले चुनवाङलाई छरेको उज्यालो रहर लाग्दो । त्यसदिन चुनवाङ भेडीगोठले काँचुली फेरेको थियो । ध्वजापताका, सरसफाइ छदै थियो, त्यहा आएका युवायुवती र अरुको जिउमा पनि पनि सुकिला लुगा थिए । किनकी त्यसदिन मुलुकको कार्यकारी अर्थात् प्रधानमन्त्री प्रचण्ड ओर्लनेवाला थिए । सबैको आँखा आकाशतिरै थिए । रुकुमे भाषामा भटभटे अर्थात् हेलिकप्टर आउनेवाला थियो । कहिलै हेलिकप्टर नजिकबाट नदेखेकाहरुका लागि त्यो गजबको मौका पनि थियो हेलिकप्टर हेर्ने ।

काठमाडौं सेनाको हवाइ अड्डाबाट एमआइ १७ हेलिकप्टर उडेपछि माओवादी नेताले स्मार्ट फोनबाट निरन्तर तस्विर लिइरहेका थिए । माओवादी वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु बर्षमान पुन, गणेशमान पुनले रमाइलो दृश्य देखिनेबित्तिकै हेलिकप्टरको झ्यालबाट तस्बीर लिन व्यस्त देखिन्थे । माओवादी नेता पूर्ण घर्तीको हातमा ठूलो क्यामेरा थियो । तस्बीर लिन सबभन्दा व्यस्त पनि उनीनै देखिन्थे । उनी माओवादी आन्दोलनमा संगीतका साधनसंग रमाएका एक शौखिन नेता पनि हुन् । उनी खासमा चुनवाङका बासिन्दा पनि हुन् । उनी त्यसदिन बढी उत्साही पनि देखिन्थे । प्रचण्ड पुत्र प्रकाश प्रविधिमा सिपालु छन् । उनी गुगुलम्यापबाट हेलिकप्टर कुन ठाउको आकाशमा छ भनेर देखाउदै थिए । बेलाबेला बुवा प्रचण्डलाई ठाउको ब्याख्या गर्थे । थवाङको आकाशमाथि हेलिकप्टर पुगेपछि भने प्रधानमन्त्री प्रचण्डलगायत सबै नेता हेलिकप्टरको दाया झ्यालतिर झुम्मिए । तस्बीर लिने प्रतिस्पर्धा जस्तै चल्यो केहीबेर ।

मधुरो हेलिकप्टरको आवाज सुनियो आकाशमा । सबैका कान ठाडा भए । अब पक्का भो, प्रचण्ड आउने । पंचायतकालदेखिनै चर्चामा रहेको रोल्पाको थवाङको आकाश चुमेर हेलिकप्टर रुकुमको महत हुदै चुनवाङतिर लाग्यो । आकाशबाट देखियो माओवादी शान्ति प्रक्रियामा जाने निर्णय भएको चुनवाङको भेडीगोठ भन्ने स्थान । रंगीबिरंगी फूलफुलेजस्तो मान्छे बिभिन्न पहिरनमा झुमि्मएका थिए । हेलिकप्टरले चुनवाङको आकाशमा एक फन्को लगाएर बारीको पाटामा बस्दाको माहौल रमाइलो थियो । त्यहा भेला भएका अधिकांश युवायुवतीको हातमा स्मार्ट फोन थिए । उनीहरुले स्मार्ट फोनले स्मार्ट ढंगले भिडियो र तस्बीर लिइरहको दृश्य गजब थियो । नेपालको भौतिक पूर्वाधारको विकास धिमा गतिले चलिरहे पनि प्रविधिमा भने छलाङ मारेको दृश्य चुनवाङमा पनि देखियो । मुलुकको कुनै पनि कुनामा जसको हातमा पनि यतिबेला स्मार्ट फोन छ र त्यसले विविध काम गरिरहेको छ ।

......
प्रचण्ड चुनवाङमा ओर्लिएपछि सबभन्दा बढी युवायुवतीहरु जोशिएका थिए । आफू फुच्चे हुदा सुनेका प्रचण्डलाई देख्ने गजबको मौका त्यही थियो । हेलिकप्टर ओर्लिएको बारीको पाटाबाट कार्यक्रम स्थलसम्म आउने दुई मिनेटको बाटोमा ती युवायुवतीले मोबाइलबाट प्रशस्त तस्बीर लिइसकेका थिए । धेरैले सेल्फी लिइसकेका थिए । केहीको हातमा सेल्फी स्टिक थियो । अरु दिनमा हातमा हँसिया, डोको नाम्लो लिने युवायुवतीहरु त्यसदिन भने सेल्फी स्टीक लिएका थिए । तस्बीर धमाधम सेल्फी, वफी लिइरहेको दृश्य साच्चिकै रोचक थियो । माओवादीको राजनीतिक क्रान्तिभन्दा प्रविधिको क्रान्तिले धेरै छलाङ मारिसकेको छ । कुनै बेला माओवादी नेता तथा कार्यकर्ताको हातमा भरुवा बन्दुकदेखि एके ४७ सम्मका अत्याधुनिक हतियार थिए । ती हतियार थन्किसकेका छन् । हाल माओवादी युवायुवतीको हातमा प्रविधिका हतियार छन्, मोबाइल, क्यामेर आदि आदि । ्

युवाको भिडमा मिसिएर गफ गर्ने मनसायले म त्यता लागे । फरासिला युवायुवती खुलेका थिए । उनीहरुले अरु जेजस्तो भए पनि विकास गाउ पुग्नु पर्ने चाह पोखे । अरु राजनीतिबारे खासै मतलब थिएन । विकास, शिक्षा, रोजगार बढी चासो त्यही थियो । युवाको समूह त्यसदिन प्रधानमन्त्री प्रचण्डलगायत नेताहरुलाई स्थानीय सांस्कृतिक झाँकी देखाउन आएको थियो । भाषणको कार्यक्रम चल्दै थियो । युवायुवती भाषणमा त्यति रमेका थिएनन् । छोटो गफ सकिएपछि उनीहरुले भने, ‘दाइ एउटा सेल्फी लिऔ न ।’ उनीहरु मेरो मोबाइल अगाडि भुम्मिए । दुई तीन सेल्फी चल्यो । ती युवायुवती लालीगुरासजस्ता भरिला थिए । चुनवाङमा माघ फागुनमा जसरी फुल्छ लालीगुरास, त्यसरीनै उनीहरु झुम्मिएका थिए । अब उनीहरुका हातमा स्मार्ट फोन छुट्ने छैन किनकी उनीहरुले जीवनका धेरै तस्बीर कैद गर्नुछ । फेसबुकमा जीवनका तस्बीर अपलोड गर्नुछ । जीवनलाई एउटा बिशाल दुनियामा प्रवेश गराउन चुनवाङी युवायुवतीले सिकिसकेका छन् । पछाडि फर्कने फुर्सद उनीहरुलाई छैन । गीतको लयमा भन्दै थिए, .... चुनवाङको मायाले ल्यायो डोऱ्याउदै । नेताहरुलाई पनि १२ बर्षपछि चुनवाङको मायाले डोर्‍याएर त्यहा पुर्‍याएको थियो ।

.............
माओवादी युद्धमा सहभागी नभएका नेता नारायणकाजी श्रेष्ठ पहिलोपटक चुनवाङ ओर्लिएका थिए । माओवादी शान्ति प्रक्रियामा आउन सहजकता बनेका उनी हाल माओवादी केन्द्रका वरिष्ठ नेता हुन् । केही दर्जन तस्बीर उनले पनि लिए । सायदउनलाई पनि रमाइलै लाग्यो उनलाई । माओवादीका प्रभावशाली नेता वर्षमान पुन चुनवाङ बैठक भएको गोठमा जुन स्थानमा बसेका थिए, त्यही थचक्क बसेर केही बेर के के सोचे । अरुलाई भनेनन् । १२ बर्ष अघि उनी ३५ वर्षका थिए, लडाकू कमान्ड । केही बेर नेताहरुले सामूहिक तस्बीर लिए । वाचा गरे, ‘फेरि फर्के आउनेछौ ।’

..........
नेपाली सेनाको हेलिकप्टरले चुनवाङको जमिन छोड्दा प्रधानमन्त्री प्रचण्ड भावुक देखिन्थे । त्यसको केहीबेर अघि भाषण गर्ने क्रममा उनको बोली अवरुद्ध भएको थियो । साथ दिंदै स्थानीय पनि सुक्कसुक्क गरेको देखिन्थ्यो । मान्छे किन रुन्छ ? हृदयमा कुनै तरंग आएपछि । सायद प्रचण्डलाई चुनवाङको मायाले त्यसदिन तरंग पैदा गरेको थियो । त्यसदिन प्रचण्ड पत्नी सीता दाहाललाई पनि चुनवाङको मायाले त्यहा पुर्‍याएको थियो । कस्तो लाग्यो १२ बर्षपछि चुनवाङ आउदा ? प्रचण्डले प्याट्टै भने, ‘भावुक बनायो ।’ राजनीतिलाई नयाँ दिशा दिने केही विचार आयो ? उनले थपे, ‘केही न केही उर्जा त अवश्य पैदा भएको छ ।’ जुन जगले प्रचण्डलाई शक्ति र सत्तामा पुर्‍यायो, त्यही जग भुल्न गाह्रो पनि हुन्छ । चुनवाङ एउटा त्यस्तै जग हो । हेलिकप्टरले चुनवाङका आकाश छोड्दासम्म प्रचण्डले स्थानीयलाई हात हल्लाएर अभिवादन गरिरहे । उनको बडिल्याङ्गेजले भन्दै थियो, ‘चुनवाङको मायाले ल्यायो डोर्‍याउदै ।’

प्रकाशित : माघ २, २०७३ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?