कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सावधान रहनुस्, कोरियामा तीन वर्ष जेल र बीस लाख रुपैयाँ जरिवाना होला

काठमाडौं — दक्षिण कोरियामा नेपाली प्रवेश गरेको तीन दशक हुनै लाग्यो । यो अवधिमा सयौं कार्यक्रमहरु आयोजना गरिए । सहयोगी र परोपकारी भावनाले प्रेरित भएका त्यस्ता कार्यक्रमहरु कोरियाली कानुनको हिसाबले अवैधानिक रहेछन् भन्ने कुरा कुराको जानकारी हालै मात्र थाहा भएको छ ।

सावधान रहनुस्, कोरियामा तीन वर्ष जेल र बीस लाख रुपैयाँ जरिवाना होला

हालै मात्र सोल सदेमुनस्थित प्रहरी कार्यालयले प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई बोलाएर कोरिया सरकारको सम्बन्धित निकायसंग स्वीकृति नलिई नेपाली समुदायले साँस्कृतिक कार्यक्रम, चिठ्ठा कार्यक्रम, चन्दा संकलन र राजनीतिक तथा धार्मिक गतिबिधि गरे अन्तरार्ष्ट्रिय ऐनका आधारमा कडा कार्वाही गरिने अवगत गराएका छन् ।

गैरकानुनी रुपमा बिभिन्न गतिविधि गरेको उजुर पर्योभने आयोजकलाई कम्तिमा ३ बर्ष जेल सजाय र कम्तिमा २ करोड वन (करिब २० लाख रुपैयाँ) जरिवाना हुने कोरियाको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ऐनमा रहेको छ ।
स्वीकृति नलिई कार्यक्रम गर्ने, स्थान उपलब्ध गराउने, टिकट बिक्रि बितरण गर्ने, पोस्टर सौजन्य गर्नेलाई समेत कडा कार्वाही हुने कोरियन प्रहरीको भनाई रहेको अध्यक्ष राईले जानकारी गराएका छन् । उनका अनुसार आर्थिक करोबार गरिएको रकम जफत गर्ने र स्पोन्सर दिने कोरियन नागरिकलाई समेत कार्वाही गरिनेछ ।

कोरियामा ४० हजार नेपाली रहेको अनुमान गरिएको छ । यी मध्ये ईपिएसबाट रोजगारी गर्न गएका कामदार धेरै छन् । उनीहरु मध्ये अधिकांश जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक दलसंग आबद्ध रहेका छन् । कोरियामा बिभिन्न उदेश्य लिएर खोलिएका १ सय ५० जति संघसंस्था क्रियाशील छन् । राष्ट्रियस्तरका हरेका राजनीतिक दलले मुख्य शहरहरुलाई आधार मानेर संगठन बिस्तार गरेका छन् ।

नेपाली कामदारहरुको गतिविधि सरकारले सुक्ष्म रुपमा अध्ययन गरिरहेको कोरियाली अध्यागमन बिभागमा कार्यरत एक नेपाली कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार केरियामा नेपाली समुदायले धेरै गतिविधि अनुमति नलिई गर्ने गरेका छन् । उनीहरुको सबै गतिविधि कोरियन कानुनका हिसाबले अवैधानिक छन् । सोलको एक राजनीतिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्ने नेपालीहरु प्रहरीको निगरानीमा रहेको बताइएको छ । राजनीतिक गतिविधिमा संलग्न भएकै आधारमा केहि महिना अघि एक जना बिद्यार्थीका आफन्तलाई प्रहरीले पक्राउ गरि नेपाल पठाएको थियो ।

प्रहरीले राईलाई किन बोलायो ?
उदय राई प्रवासी मजदूर युनियनका अध्यक्ष हुन् । यूनियनमा १५ देशका मजदूर सदस्य छन् । संस्थाको कोष बढाउन मे १ मा खोल्ने गरि चिठ्ठा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको थियो । चिठ्ठा बिक्रिका लागि सोलमा रहेका नेपाली रेस्टुरेन्टमा पुर्याइएको थियो । यसको प्रचारप्रसार पनि ब्यापक भयो । यो बिषयलाई लिएर एक जना नेपालीले प्रहरीमा उजुरी गर्यो । प्रहरीले पक्राउ पुर्जी लिएर राईको घरमा खानतलासी गर्न आयो । प्रहरीले तुङदेमुनमा रहेको पशुपति मार्टमा पनि खानतलासी गर्यो र उप्रान्त यस्तो चिठ्ठा टिकट नलिन चेतवनी दियो । राईलाई दोहोर्याएर गैरकानुनी काम नगर्न र आवश्यता परेका बेला फेरि उपस्थित हुने गरि छोडिएको छ । प्रहरीको चेतावनी पश्चात चिठ्ठाको रकम सबैलाई फिर्ता दिइएको युनियनका मधुसुदन ओझाले बताए ।

प्रभाव
कोरियन प्रहरीको यो कदमले बिभिन्न अवसरमा जातीय, क्षेत्रीय, राजनीतिक र साँस्कृतिक संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरु प्रभावित हुने देखिएको छ । कार्यक्रमका लागि स्वीकृति लिएपछि प्रहरीले सुरक्षा जिम्मा समेत लिनुपर्ने भएकाले पनि सम्बन्धित निकायबाट स्वीकृति पाउन गाह्रो हुने एक मजदूर नेता बताउँछन् ।

नेपालीले हरेक बर्ष बिभिन्न कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग पुर्याउदै आएका छन् । उनीहरुले अभियान संचालन गरेरै भूकम्प, आगलागी, बाढि, पहिरोपीडित, उपचारमा आर्थिक अभाव भएकालाई सहयोग गर्दै आएका छन् । यो कदमले नेपाली कलाकारलाई पनि प्रभाव पार्ने देखिएको छ । कोरियन पर्व सलनाल, छुसक जस्ता कोरियन र दशैं, तिहार जस्ता नेपाली पर्वहरुमा सयौं नेपाली कलाकार आकर्षक पाारिश्रमिक लिएर कोरिया जाने गरेका छन् ।

प्रकाशित : चैत्र २२, २०७३ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?