संस्मरण : बाकस लुटिएको त्यो रात

नरेन्द्रराज पौडेल

काठमाडौं — सिलसिला ०४७ सालको दोस्रो संसदीय निर्वाचनको थियो । जिल्ला न्यायाधीश नारायण कुमार श्रेष्ठ प्रमुख निर्वाचन अधिकारी तोकिए । म भने शान्ति सुरक्षा कायम राख्ने, साधन स्रोत जुटाउने, कर्मचारी र परिआउने काम कुराको व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी थिएँ ।

संस्मरण : बाकस लुटिएको त्यो रात

हामी दुबै लमजुङ जिल्लामा भर्खरै खटिएर आमनिर्वाचनको पहिलो प्रसवकालीन अनुभव गर्दै थियौं । डीएसपी राजकुमार राना मात्रै पञ्चकालदेखि नै सरुवा नभै बसेका ।

बहुदलको पुनर्वाहालीले देशभरी नै चौतर्फी परिदृश्य फेरिएथ्यो । जनजनमा उदाएको चेतनाको सञ्चारले डाँडाकाँडा ढापक्कै ढाक्यो । आन्दोलनका सहयात्री नेताहरु त्याग, तपस्या र वलिदानले खारिएको सुनजस्तै चम्किएझैं लाग्दथे । तर, धेरैजसो ठिनामिना कार्यकर्ता भने भुइमा न भाँडाका थिए । सरकारी कर्मचारीलाई पञ्च सम्झिने, टेवल ठटाएर समस्यामात्र तेर्स्याउन खोज्ने र हेप्ने गर्दथे । खोक्रो आडम्बर, क्षुद्र आत्मतुष्टिको लागि सरकारी साधन स्रोतमा लामो हात गर्ने, अड्डाअदालतमा जालझेल धुर्त्याइ फट्याइ जे पनि गर्न गराउन तत्पर रहने खालका मानसिकतामा थिए । उता पञ्चायतको अवसान भएपनि पञ्चहरु जताततै मौका पर्खेर दुम्किएका थिए । यस अवस्थामा तिनै राजनीतिका नेता कार्यकर्तालाई साथ लिएर सम्पन्न गराउनु पर्ने आमनिर्वाचन फलामको चिउरा सावित हुन्छ भन्नेमा म सजग थिएँ ।

 

उता ठुल्ठूला अपराधीहरुलाईसमेत राजनीतिक मुद्दा भनेर सरकारले माफी मिनाहामा जेलमुक्त गरेपछि समाजमा त्रास बढ्यो । चुनावअघि नै संगीन फौजदारी वारदात भएर कतै कुनै विघ्नबाधा आइलाग्छ कि भन्ने धुकचुक भयो । शान्ति सुरक्षामा कतै कुनै कमजोरी ग्याप वा शिथिलता रहने हो कि भन्ने आश‌ंका थपियो । त्यसैले ठूला विषयदेखि झिनामसिना गाउँ तहका झगडासम्म बारम्बार मिटिङ भेटघाट संवादका साथै सर्बदलीय बैठक राखेर सहमति कायम गर्न सक्रिय थिएँ ।

 

हुनपनि सिडिओ भएर त्यस जिल्लामा जाँदा अचम्मकै अनुभव चाख्नु पर्‍यो । बहुदल आउने बित्तिकै त शान्ति अमन चैनको वैरोपैरो लाग्ला भनेको त उल्टो परिदृश्य पो खडा भएछ । परापूर्व कालदेखि शान्त जस्तो लाग्दैआएको गाउँ इलाका एकाएक भाँडिएछ । कुलो पानीमा झगडा । रोपार वाउसे र हली दयाारेबीच झगडा । अर्घौ, जन्ती मलामी र चिहानमा झगडा । खेताला, गोठाला र मलामी जानेबीचमासमेत झगडा । लुगा धुने, घाँस काट्ने, पतकर सोहोर्ने, सोतरको स्याउला काट्ने ठाउँमासमेत दलीय झगडा । नन्द–भाउजु, देउरानी–जेठानीवीच तातो झगडा । झगडाको केन्द्रविन्दु भने एमाले र कांग्रेस । तल्लो ग्रासरुटदेखि माथिल्लो तहसम्मै अस्वस्थ प्रतिस्पर्धामा बहुदलले बाजी मारेछ । सबै पञ्च नेपाली सबै नेपाली पञ्च भन्ने एकताको पञ्चायती सन्देश कति नराम्ररी तात्तातो पिंडालु बनेर खुइलिएछ । कति चाँडै भाईबहिनी फुटाएर आफू चैं घुँडा टेकेर आत्मसमर्पण गरिसकेछ । शहर बजार र गाउँघरदेखि कुनाकन्दरामा बस्ने नरनारीसम्म कति चाँडै जादुको शैलीमा दलीय हावा फैलिसकेछ । ठूलो ताल फूटेर कुनै हिमनदीमा बाढीको भेल उर्लिएझैं के सारो राजनीतिको तुफान उर्लिएको ? जिल्ला प्रशासनमा आउने केश झगडा र मान्छेको व्यवहार देख्तै तीन छक परेको थिएँ । चुनावको महिना दिनअघि नै मेजरको नेतृत्वमा शाही नेपाली सेनाको सानोतिनो गुल्म नै पोखराबाट आएपछि सुरक्षाको अनुभूति पनि सघन भयो ।

गर्दाभन्दा निर्वाचन आयो र नीति नियम, निर्देशनअनुसार तयारी पनि पूरा भयो । पूर्व धमिलि कुवा, उत्तर बाहुन डाँडा र पश्चिम दुराडाँडा इलाकामा मुकाम राख्नेगरी १५ जनाको दरले सैनिक टुकडी  खटियो । आवश्यक पर्ने म्यादी र स्थायी प्रहरीकासाथै कर्मचारी खटनपटन गर्ने र खर्च पेस्की, तालिम दिने काम पनि यथासमयमै सम्पन्न भयो । ठाउँको दुरीअनुसारको बाटो मियाद लिएर ढ्वाङ बोकेका बमपुलिस र मतदान अधिकृतसहितको प्रहरी, निजामतिको टोली निर्वाचन क्षेत्रमा रवाना गरायौं । खटनपटन सकिंदा पनि निकै मज्जा आयो । अव त चुनाव भयो भयो भनेर मक्खै परेका थियौं ।

 

चुनावको दिन पनि आइपुग्यो । दिनभरी न्यायाधीश, मेजर, डिएसपी संगै बसेर चुनावकै चर्चा गर्दैरह्यौं । मेवाइल, इन्टरनेट जस्ता सञ्चारसाधनको त्यतिबेर कल्पना सुद्द थिएन । प्रहरी सञ्चार सेटकै भर थियो । कतै केही गडवडीको खवर आउँछ कि भन्ने चुकचुक लागिरह्यो । खासगरी धमिली कुवा, साइलीटारमा संयुक्त जनमोर्चाले आफु नजित्ने भएपछि चुनाव भाँड्ने डर थियो । तर, कतै केहि भएन । सबैतिर निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको खबर मतदान केन्द्रहरुबाट आइरहेको थियो । हुँदाहुँदै दिन ओरालो लाग्यो । तोकिएको समय पाँच बजेभित्रै मतदान समाप्त गरेर बाकस बन्दीको मुचुल्कासहित मतदान अधिकृतको टोली फिर्ता भएका खवर आउनथाले । हलुकैसंग निर्वाचन सकिएकोमा खुशीले भुइमा खुट्ट थिएन हाम्रो । 

 

निर्वाचन कार्यालयले लिएको जिल्ला विकास हलमा मतपेटिका भित्रिन थाले । बन्सार, बेंसीसहर, गाउँशहर, चण्डीस्थान, कालिका आदि गाउँका मतपेटिकाहरु साँझ नपर्दै आए । बुझाउने बुझाउदै गए, बुझ्ने बुझ्दै रहे । हामी सुरक्षा प्रमुख पनि हलकैअगडि चउरमा जम्मा भयौं ।

 

“सर खाना खाएपछि एकछिन सुत्नु भए हुन्छ । म बसिहाल्छु यहाँ” डीएसपीले भनेथे । घडी हेर्दा नौ मात्र बज्दैरहेछ । यत्रो विधि बाकस आउँदैछन् । एक रात नसुतेर के फरक पर्छ र? कतै केही भैहाले तुरुन्त कुनै निर्णय लिनु पर्ने, थप टोली खटाउनु पर्ने हुन सक्छ ” मैले भनें । उनी केही बोलेनन् । “बरु तपाई जानोस्, खाना खाएर आउनुस् । अनि म जाउँला” अलिवेरमा मैले भनेपछि उनी हिंडे । बीस बाइस मिनेटपछि उनी फर्किए र अघिकै कुरो दोहोर्याए, “सर खाना खाना जानुस् । म बस्छु यहाँ । अव कुनै गडबडी नहोला ।”

 

म पनि पत्याएर निवासतिर लागें । खाना खाएर यसो समाचर सुनिहेरेको । दिनभरी नै कतैबाट अप्रिय खवर नआएकोमा मन प्रफुल्ल थियो । तन हल्का महसूस भैरहेथ्यो ।  निद्रा लाग्ने त सुरसार थिएन । त्यसै पल्टिएँ ।

टिरिङ टिरिङ फोनको घण्टी बज्यो । उठाइ हेरें । हडवडाएको तिखो स्वरमा निर्वाचन अधिकृत श्रीमान भन्दै थिए, ''दुरा डाँडा दुई नम्वरको बुथ लुटियो रे । के भो यस्तो ।''

“कहाँ कुन ठाउँमा कतिवेर लुटियो ?” मैले पनि हडबडीमै चर्को आवाजले सोधें । “यही निर्वाचन मतपेटिका राख्ने जिल्ला विकसको हलमा पस्न लाग्दा गेटमै लुटिये रे” उनी भन्दैथिए । सञ्चार सेट बोकेका सुरक्षाकर्मी केही भन्दैनन् । निर्वाचन अधिकृत त्यसो भन्छन् । म पनि छक्कै परें ।  

 

हत्तपत्त उठेर डीएसपीलाई फोन गरें । लगातार पाँच मिनेटसम्म उठेन । आजित भएर उनको निवासमा गएँ । ढोका ढामढुम बन्द थियो । दश मिनेट जति लगातार ढक्ढक्याएपछि बल्लतल्ल आँखा मिच्दै उनी बाहिर निस्किए । बाकस लुटिएको कुरा गर्दा थाहा छैन भने । अफिस बजार जताततै खैरो ड्रेसका पुलिस नै पुलिस भरिभराउ देखिन्थे । त्यत्रो नेटवर्किङ् भएको प्रहरी प्रमुखले त्यति ठूलो घटना कसरी चाल पाएनन् ? अघि मात्र आफू रातभरी बस्ने भएकाले मलाई सुत्न जानु भनेका थिए । अहिले आधा घण्टा वित्न नपाउँदै निवासभित्र कतै केही आवाज सुद्ध नसुनि कसरी मस्त निदाए ? उता शाही सेनाले अघिपछि लागेर सुरक्षा दिएको मतपेटिका निर्वाचन कार्यालयमा नबुझाई बीच बजारमा किन छाड्यो ? कुनै अपराधी जमात आएर लुट्दा साथमा रहेका पुलिस के गरिरहे ? यस्तै के के सोच्दै हतार  हतार निर्वाचन कार्यालय पुगें ।

डिएसपीले तत्काल खोजतलास गर्न पुलिस खटाए । सैनिकहरु पनि हर्कतमा आएर सराकसुरुक गर्दै मकैबारीभित्र पसे । धानजमारा झपक्कै फक्रिएको असारे मकैको बाक्लो झाडीतर्फ भाँचो कसेको मतपेटिका फेरि फर्केर आउने र लुट्ने जमात फेला पर्ने कुरामा पत्यार थिएन । किन त भन्दा मकैबारीको लगत्तैमुनि मर्स्याङ्दीको दरो प्रबाह अनि पइलैपिच्छे नीला दह, कुर र अनकण्टार खोंचहरु थिए । यता शाही सेना र प्रहरीको हतियारवन्द अगुवा पछुवा मजबूत संरक्षणमा निर्वाचन कार्यालयको गेटसम्म आएर मतपेटिकाले मकैबारीतर्फ लागे । ९० प्रतिशत भोट कांग्रेसको थियो भन्ने हल्ला थियो । निर्वाचन अफिसमा केरकार गर्दा त्यहाँका मतदान अधिकृत भन्दै थिए– “सदरमुकाम बेसीशहर आइपुग्ने वित्तिकै शाही सेना व्यारेकतिर लाग्यो । प्रहरी पनि कतकता तितरबितर भए । मतपेटिका राख्ने सभागृहको गेटमा आइपुगेका मात्र थियौं, जिउडाल देख्तै खइलाग्दा, अनुहारमा कालोपट्टी बाँधेका चार जना लुटेराहरु जवर्जस्ती मतपेटिका खोसेर मकैबारीभित्र पसे । मार्ने हुन् किभन्ने डरले पिछा गर्न सकेनौं, खाली गुहारमात्र लगायौं । मद्दत, सहयोग गर्न कोही आएनन् ।” 

 

बाकस बोकेर ल्याउने बमपुलिस र मतदान अधिकृत रुञ्चे स्वरमा एकैमुखले भन्दै थिए । हामी अलमल्ल परेर एक छिन झोक्रायौं । अनि अर्को चुनाव गरउने तयारीतर्फ लाग्यौं । ९८४१६४७१८९

प्रकाशित : असार २१, २०७४ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?