कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

संस्मरणः राज्यशक्ति निकम्मा भएको त्यो क्षण

नरेन्द्रराज पौडेल

काठमाडौं — महोत्तरीको सिडिओ छँदाको कुरा हो । जिल्ला प्रशासन कार्यालय बसेको घर झण्डै सय बर्ष पुरानो रहेछ । प्रमुख जिल्ला अधिकारीको निबास रहेको जलेश्वर दरबार पनि संगसंगै जस्तो बनेको थियो भन्थे बुढापाका । त्यही दरबारबाट सिमापारि शुरशण्डका राजाकी छोरीसंग रामशम्शेर जबराको बिहा भएको थियो रे । पछि तिनै रामशम्शेर महोत्तरीको बडाहाकिम भएछन् ।

संस्मरणः राज्यशक्ति निकम्मा भएको त्यो क्षण

उनकै बिबाहपूर्व बनेको रहेछ त्यो अफिस घर पनि । अरु भाग कामचलाउ भएपनि शौचालय ज्यादै जीर्ण भइसकेकोले पुरानो संरचना भत्काएर नयाँ निर्माण गर्नै पर्ने थियो । त्यसैको लागि जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको रहेछ ।

 

अक्सर आमनिर्वाचन सम्पन्न भएपछि सीडीओहरुको पनि आमसरुवा हुने चलन थियो । छपन्न सालको संसदीय अनिर्वाचन गराएपछि म पनि सरुवाको प्रतीक्षामा दिन गन्दै थिएँ । पूर्जी हात परेको थिएन ।

 

सदाझैं त्यस दिन पनि दशै बजे कार्यालय उपस्थित भएर कामकाज गर्दै थिएँ । उता पल्लो कवलमा स्थानीय प्राविधिक कार्यालयका इञ्जिनीयर, ठेकदार र मिस्त्रीहरुले शौचालय पुनर्निर्माणको काम शुरु गर्दै रहेछन् ।  इञ्जिनीयरकै निर्देशन मुताबिक पहिलो चरणमा दश आठ फिट क्षेत्रफलको पुरानो कोठा खण्डखण्ड गरेर भत्काउन लागेका थिए मिस्त्रीहरु । त्यता यसो एक दृष्टि दिएर आप्mनै कोठातिर फर्किदै मात्र थिएँ, एकाएक डरलाग्दोसंग गड्याम् ड्याम्म आबाज गर्दै पूरै घर लगलग कामेर थर्कियो । हत्तपत्त निर्माण कार्य भएतिर गएको त भयाबह दृश्य पो देख्नुपर्यो के डोठ्याङ् पर्न गएछ कुन्नि ! बाथरुम शौचालय दुबै जोडिएको सिङ्गै कोठाको पुरै ढलान एकसाथ आफ्नो ठाउँ छोडेर गर्लम्मै तल झरेछ । अनि दुई तर्फी गाराको बीचमा होडे परेर अड्किएछ । खस्दै गरेको स्ल्याबले कोल्टे परेर भित्तोमा अड्किँदा काम गर्न लागेका तीन जना मिस्त्रीलाई तीन छेउतिर हुत्याएर सबैका आधा हर च्यापिदिएछ । कम्मरसम्मको शरीर विशाल स्ल्याबले थिचिएका बबुरा मिस्त्रीहरु मरेँमरेँ, बचाऊ बचाऊ भनेर रुँदै चिच्याउँदै आर्तनाद गर्न थाले ।

 

घटनाको खबर पाउने बत्तिकै गुल्मपति मेजर र एसपी दलबलसहित तुरुन्तै आए । उद्धारका अनेक उपायहरु सोचियो । धराप अवस्थामा अडिएको स्ल्याव अरु चलाउँदा बाङबुङ तल झर्न बेर थिएन । त्यसो भएको खण्डमा च्यापिनेहरु पूरै किचिएर छियाछिया बन्दै स्ल्याबमुनि दबिने थिए । स्ल्याब नचलाई उनीहरुलाई सरक्क  निकाल्नेबारे चाहिँदो माथा पच्चीसी गर्यौं । फलामका पोल या बाँसका घनामा स्ल्याव अड्याएर निकाल्न सकिन्छ कि भन्ने दोस्रो उपाय पनि सोचियो । तर, स्ल्याबमुनि उद्धारक केटाहरु पठाउँने ठाउँ नै भएन । आर्मी पुलिस पर्याप्त तैनाथ थिए । तर, सोझो बल प्रयोगले केही गर्न सकिने छाँट देखिएन ।

 

सिडिओ अफिसमा मान्छे मारिए रे भनेर बेपत्तै हल्ला भएछ । कार्यालय आएका सेवाग्राही, वरपरका गाउँलेहरु छिनभरमै कम्पाउण्डभरी एकत्रित भए । जिल्लाका नेता कार्यकर्ता विद्यार्थी माष्टर अनि हाटबजार गर्न देहातबाट आउने नरनारीहरु अगाडि सडक र चोकभरी जम्मा भए । उत्ताउला नेता कार्यकर्ता जति निहुँ झिकेर हल्ला मच्चाउन थाले । धमिलो पानीमा माछा मार्ने असामाजिक तत्वले अफिसमा तोडफोड आगजनी गर्ने अशंका थपियो । आर्मी प्रहरी केटाहरु लगाएर उत्ताउला नारा लगााउने जमातलाई बल्लबल्ल कम्पाउण्डबाहिर पठायौं । तर, बहिर निकालेपछि तिनीहरु झनै उत्तेजित हुन थाले । प्रशासनविरुद्धका नारा जुलुशले उतिबेरै बजार घन्की पो हाल्यो ।

 

जनकपुरबाट दूरसञ्चारको क्रेन झिकाएर स्ल्याव तान्ने सोचाइ पनि आएको थियो । तर, ज्यादै पुरानो अनि मकाएको स्ल्याव सरक्क उठाएर अन्त पञ्छाउने हालतमा थिएन । उल्टै कडा बस्तुले छोयो कि बाङबुङ भत्किने र चताचुण्ड खलबलिने डर थियो । यसो हुँदा च्यापिएका मिस्त्रीहरुलाई स्ल्यावले पूरै दबाइदिन बेर थिएन । यो झन डरलाग्दो परिणाम हुन सक्ने दुष्प्रयास मात्र ठहर भयो । किचिनेहरु ऐयाऐया गर्दै आर्तनाद गरिरहेका थिए । विवश, थकित र गलित त्यो आवाज झनझन हृदयविदारक बन्दै गयो । हामी त्यो आर्तनाद केवल सुन्नमात्र समर्थ थियौं र विवश पनि ।  सेना, प्रहरी, हातहतियार केहीले पनि किचिनेहरुको तत्काल उद्धार गर्न न सकेर पूरै राज्यशक्ति निकम्मा सावित भइरहेको थियो ।

“सत्ता शक्ति भन्ने चीज पनि बेलाबखत कति चुत्थो र बेकम्मा साबित हुँदोरहेछ ! अस्तिमात्रै त्यत्रो आमनिर्वाचन दर्बिलो र सशक्त सुरक्षा शक्तिकै कारण शान्तिपूर्ण रुपमा सम्पन्न गरेर मख्ख परेका थियौं । आजै फेरि यत्रो दुर्घटना आफ्नै अफिस घरभित्र हुन गयो । देख्तादेख्तै आफ्नै कार्यालयभित्र ति तीन जनाको एकैसाथ लाश पर्ने डरको कालो छायाँ आँखा अगाडि तेर्सिन आइपुग्यो ।” यस्तै प्रसङ्ग निकालेर के के सोच्तै गन्थन गर्दै थियौं हामी सुरक्षा प्रमुख जति ।  

       

थिचिएका घाइतेहरु भरपूर जिजीविषा र इच्छा शक्ति लिएर बाँच्ने आशामा थिए । घाउ लागेका अङ्गहरु निदाएपछि अलि बौरिएछन् । अरु उपाय नदेखेपछि आआफ्नो छेउछाउको स्ल्याव गैंती छिनाले विस्तारै टुक्राटुक्रामा काटेर धुलो पार्दै उद्धार गर्न कामदाहरुलाई सिकाउँदै गए । डोरीमा झुण्डिएका कामदारहरु होसियारीपूर्वक त्यसै गर्न खटिए ।  स्ल्याव चलाउँदा अडिएको स्थानबट घर्किएर सबैलाई दबाउन बेर थिएन । विचराहरुको जीवनका प्रत्येक क्षण असाध्य कष्टकर बनिरहेका थिए । आफ्नै आँखा अगाडि कार्यालय भत्किदा र मान्छे किचिएर मर्न लागेको दृष्य हाम्रा लागि पनि असह्य पीडादायी र अत्यन्त त्रासद बनिरहेको थियो । वरपर जम्मा भएका जनसमुदायको आक्रोश पनि बेलाबेला बढ्दै गर्न थाल्यो । फेरि पनि अलि पर बजारतिर प्रशासनका विरुद्ध मूर्दावादका नारा घन्किएको सुनियो । पीडितहरुको सकुशल उद्धार गरिछाड्ने आश्वासन सबैलाई दिंदै हामी–सेना प्रहरी र प्रशासनकाहरु एकै मुख भएर संझाइबुझाइ अभियानमा लागिपरेका थियौं । 

 

जनकपुरबाट दूरसञ्चारको क्रेन मगाउने काम पनि चल्दै थियो । केहीगरी स्ल्याव तल झरेको खण्डमा किनारमा फसेका ती मान्छेहरुलाई उखेल्नु पर्ने पनि हुनसक्छ भन्नेमा थियौं । त्यसो गर्नु परे अत्यन्त कष्टकर र घातक परिणाम आउने सम्भावना प्रवल थियो । अफिसबाहिर जम्मा भएका तमासेहरुको भीड बेलाबेला उत्तेजनापूर्ण नारा लगाउँदै पनि थियो । साधारण मजदूरलाई ज्यानै जाने खतरानाक काम लगाएर प्रशासनले नकाम गरेको भन्ने उनीहरुको आक्रोश थियो । समयमै होस पुर्याएर उद्धार नगरेको आरोप लगाउँदै थिए कोहि ।

 

वास्तवमा कामको इस्टमेट, टेण्डर गर्ने, ठेक्का लगाउने, ठेक्का दिनेलिने यावत कामहरु जिल्ला प्राविधिक कार्यालयबाट भएको थियो । भवन जीर्णोद्धारको लागि मिस्त्री कामदारको खोजी, खटनपटन गर्ने र कार्यादेश दिनेमा पनि जिल्ला प्रशासनको कतै कुनै हात थिएन । इञ्जिनीयर, ठेकदार जलेश्वरकै पुराना रैथाने वासिन्दा थिए । उनीहरु सबै परिवार कुटुम्बभित्रैका पनि रहेछन् । स्ल्यावले किचिनेहरु पनि ठेकदारकै भाइभरियाद र पूर्णकालिन मिस्त्री– कामदार रहेछन् । देखावटी र क्षणिक आवेशको रुपमा बाहिर उत्तेजना फैलिए पनि त्यहाँका बासिन्दालाई यथार्थ कुरा थाहा रहेछ । यसले गर्दा केही भैहाले पनि हामीलाई न चाहिँदो अवगालबाट बच्नमा अलि सजिलो पर्ने अनुभव भैरहेको थियो ।  

 

अखिर च्यापिने मिस्त्रीहरुकै निर्देशन मुताबिक माथिपट्टि डोरीमा दुई जना झुण्डिएर टुक्राटुक्रा पार्दै विस्तारै स्ल्याव काट्ने काम चल्दै गयो । रौं मात्र यताउति भएमा पूरै स्ल्याव गल्र्यामगुर्लुम झर्ने खतरा थियो । च्यापिनेहरुले नै स्ल्याव काट्नेहरुलाई यसो गर, उसो गर भनेर सिकाउँदै र निर्देशन दिँदै थिए । कामदारहरु सतर्कतापूर्वक त्यसै गर्दै गए ।

 

करिव घण्टाभर लगाएर ससाना टुक्रामा त्यो विशाल स्ल्याव तीन छेउमा टुक्र्याएपछि घाइतेहरु भग्नावशेषबाट बल्लतल्ल उत्रिए । पहिले त उनीहरु बाँचेको खुशीमा हाँसे जस्तो गर्दै थिए । तर, पानी पिउने बित्तिकै खुट्टा नचलेको दर्दमा व्यथित बन्दै गए । सबैका कम्मर, तिघ्रा र नली खुट्टाहरु क्षतविक्षत भएछन । जख्मी तिघ्रा, घुँडाहरुबाट भलभल्ती बगेको रगत भर्खरमात्र थामिएको रहेछ । काला फाल्सा टाँसिएका देखिन्थे कम्मरमुनि जताततै । नसा नाडी थिलथिलो भएर संवेदना हराउँदा आफ्ना अरुका अङ्ग नचिनिने भएछन् । रक्ताल्पताले नाजूक बनेका उनीहरुको हालत देखेर हामी कसैले पनि आँशु थाम्न सकेनौं । वरिपरि जम्मा हुने पीडितका आफन्त र परिवारजनमा झनै रुवाबासी चल्यो । त्यति लामो समयसम्म स्ल्यावले च्यापिएर थिचिँदा कसो प्राण पखेरु उडेन ! तै भगवानले जीवितै राखेथे । हामीले यत्तिमै चित्त बुझाएका थियौं ।

 

एम्बुलेन्स झिकाउने काम भैसकेको थियो । रगत दिने मान्छे पनि पहिल्यै तयार भैसकेछन् । स्ल्यावबाट मुक्त हुने बित्तिकै घाइतेहरुलई तुरुन्तै अस्पताल पुर्याएर राखियो । केही बेर अस्पतालको शैय्यामा सलाइन, रगत दिने र घाउ ब्याण्डेज गर्ने काम भयो । विशेष जाँचबुझ र सघन उपचारको व्यवस्था त्यहाँ न बराबर थियो । प्लेनको समय पनि मिलेन । त्यसैले एम्बुलेन्समै राखेर सलाइन दिंदै बेलुकी नै काठमाण्डु पठाएका थियौं ।

 

फोनबाटै गृह मन्त्रालय गुहारेर महाराजजगञ्जको शिक्षण अस्पतालमा सघन उपचारको व्यवस्था मिलाइएको थियो । उनीहरुलाई काठमाण्डु पठाएपछि हामीले पनि बल्ल शान्तिको लामो सास फेरेका थियौं । दिनभरको दुश्चिन्ताले होला – मलाई भने रातमा राम्ररी निद्रा पनि लागेन । सपनामा पनि श्रीमद्भागवत पुराणमा वर्णन गरिएको प्रह्लाद–कशिपुको कथाले झझल्को दिइरह्यो । काल नआई यो संसारमा कुनै मनुष्य पनि मर्दैन भन्ने उक्तिले संझाइरह्यो ।

 

दुई महिनापछि विभिन्न ठाउँमा स्टीलका रड राखेर स्वास्थ्यलाभसहित सबै मिस्त्रीहरु जलेश्वर फर्किदा भने देउतै आए जस्तो लाग्यो । तै कोहि ज्यान गुमाउनेमा परेन भन्दापनि खुशी नै लाग्दो रहेछ । तर, काम गरेर पेट पाल्ने लक्का जवान मान्छे एकाएक त्यत्रो भयाबह दुर्घटनामा पररे जीवनभरको लागि अपाङ्ग बनेको देख्ता बेपत्तै नरमाइलो पनि लागेको थियो । तर, गर्ने उनै भगवान थिए !

प्रकाशित : श्रावण १०, २०७४ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?