१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

माओवादीमा 'कोर्स करेक्सन' को उपाय : सामाजिकीकरण

आरसी अधिकारी

काठमाडौं — पहिलो र दोस्रो चरणको स्थानीय चुनावको नतिजापछि माओवादीभित्र चुनाव हारको 'फ्याक्टर’ खोज्न थालियो । परम्परागत सोच, संगठनका ढाँचा, कार्यकर्ता परिचालन, आर्थिक व्यवस्थापनलगायतमा देखिएका कमिकमजोरीलाई चुनाव हारको मुख्य ‘फ्याक्टर’ का रुपमा धेरै नेता र कार्यकर्ताले विश्लेषण गरे । जुन दोस्रो संविधानसभाको चुनाव पछि यही तरिकाले भनिएको थियो ।

माओवादीमा 'कोर्स करेक्सन' को उपाय : सामाजिकीकरण

राज्य पुनसर्रंचना तथा संघीयता माओवादीको मुद्दा थियो, जुन स्थानीय तहको चुनावमार्फत संस्थागत भयो । यसले नीतिगत रुपमा माओवादी विजयी देखियो । तर, मुद्दाले जित्ने र पार्टीले हार्ने भयो । कसरी यस्तो भयो भन्ने प्रश्नको उत्तर पेरिसडाँडाले खोज्न सक्नुपर्छ । यो प्रश्नको प्रारम्भिक जवाफ माओवादीका अध्यक्ष प्रचण्डले साउन २ गतेको केन्द्रीय सचिवालयको विस्तारित वैठकमा दिएका छन् । यो उत्तरलाई अव विस्तृत बनाउने र तलैसम्म त्यही अनुसार काम गर्ने विकल्प मात्र मुद्दासँगै चुनाव जित्ने माओवादीको आधार बन्न सक्छ । साउन २ गते प्रचण्डले जुन विषय चुनाव हारको ‘फ्याक्टर’ का रुपमा राखे, माओवादी आन्दोलन र संगठनमा सम्भवतः पहिलो पटक प्रवेश गरेको हो । दोस्रो संविधानसभामासम्म धाँधलीलाई चुनाव हारको मुख्य ‘फ्याक्टर’ ठान्ने माओवादी नेतृत्वले पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनाव हारमा जे कमजोरी देख्यो, यो माओवादीको 'कोर्स करेक्शन'को सही विधि हुनसक्छ । यद्यपी यो सजिलै समाधान भै हाल्ने कमजोरी चाही होइन, यो प्रक्रियामा केही कठिनाई आउन सक्छन् । तर, असम्भव भने छैन ।

पार्टी बैठकमा प्रचण्डले उठाएको मुद्दा थियो, माओवादी नेता–कार्यकर्ताको सामाजिकीकरण । मिडियामा आएको समाचार अनुसार प्रचण्डले चुनाव हारको ‘फ्याक्टर’ का रुपमा माओवादीको सामाजिकीकरणको अभावलाई देखे । माओवादी आन्दोलनमा यो विषय पहिलो पटक प्रवेश गरेपछि यो माथि बहस पनि शुरु भएको छ । तर, बहस कहिलेसम्म चल्छ त्यो चाही यकिन छैन । प्रचण्डले त्यसदिनको बैठकमा माओवादी नेतृत्वको सरकारले ‘जनतलाई विकास दिएको, लोडसेडिङ हटाएको, आर्थिक बृद्धिदर ह्वात्तै बढाएको, सुशासनतर्फ देश अगाडि बढाएको’ तर, जनताले भोट नदिएको भन्दै गम्भीर समिक्षाको खाँचो औल्याछन् । ‘हामीले जे गरेपनि भोट नआउने भएपछि केही न केही कमजोरी त रह्यो । यो पत्ता लगाउन मैले बैठक बोलाएको हुँ ’ प्रचण्डको यो भनाई थियो ।

मतलव प्रचण्ड चुनाव हारको परम्परागत बुझाई र ‘फ्याक्टर’ सँग सहमत देखिएनन् यसपाली । चुनावी राजनीतिवारेको सोचमा प्रचण्डमा आएको परिवर्तन हो यो । यस अगाडि मुद्दाकै बलमा चुनाव जितिन्छ भन्ने उनको बुझाई रहने गरेको थियो । यहाँ उनले महत्वपूर्ण प्रश्न के उठाएका छन् भने माओवादीको सामाजिकीकरण कसरी गर्ने ? ‘हामी माओवादीले काँग्रेस र एमाले जति पनि सामाजिक भएर जनता कहाँ जाने प्रयत्न गरेनौँ । हामी व्यक्तिवादी भयौं। धेरै पदवादी भयौं । कुरा मात्र गर्यौं । तर, काममा ध्यान दिएनौं । गुटवादी भएर बस्यौं । पार्टीका मान्छे भएनौं । बढी नै पदलोलुप भयौं । जनयुद्धमा जसरी जनतासँग हामी नङ र मासुजस्तै जोडिएका थियौं । यो कुरा अहिले काँग्रेस–एमालेले सिके । बाटोघाटो, पुलपुलेसामा निर्माणमा हामीले पहल लिन सकेनौं । केन्द्रबाट हामीले बजेट पठाउने कांग्रेस–एमालेका नेताले तल–तल हामीले ल्यायौं भनेर प्रचार गरे । हामी सामाजिकीकरण नभएपछि चुनाव हार्यौं ’ प्रचण्डको यो भनाई निकै अर्थपूर्ण छ ।

माओवादीको समस्या यहीं छ । र, यही कोर्स करेक्शन अवको माओवादीको नयाँ बाटो हुनसक्छ, भावी चुनावी राजनीतिका लागि । ज्वरोले थला परेको व्यक्तिलाई सिटामोल दिने ठाँउमा पर्खनुस्, जनवादी सत्ता आएपछि सवै ठीक हुन्छ भन्ने माओवादी स्कुलिङले सामाजिकीकरणको बाटोमा ‘ब्रेकर’ को काम गर्यो । सामाजिकीकरण यस्तो प्रक्रिया हो जसको माध्यमबाट मानिसले समाजका बिभिन्न व्यवहार, रीति–रिजाव, गतिविधिलगायतका कुरा सिक्छ । जैविक अस्तित्वबाट सामाजिक अस्तित्वमा मानिसको रुपान्तरण पनि सामाजिकीकरणको माध्यमबाट हुन्छ । मानिसले सामाजिकीकरणको माध्यमबाट नै संस्कृतिको आत्मसाथ गर्छ । सामाजिकीकरणको प्रक्रियाबाट नै मानिसको संस्कृतिको भौतिक वा अभौतिक रुपमा परिचय गराउँछ । सिक्नेको यो प्रक्रिया समाजको नियमभित्र पर्छ । समाजशास्त्रको भाषामा भन्ने हो भने समाजमा आफ्नो परिस्थित बनाई राख्ने बोध तथा उसै अनुसारको भूमिका निभाउने बिधि हामीले सामाजिकीकरणको माध्यमबाट नै सिक्छौं । यो कुरामा माओवादी नेता–कार्यकर्ताको केही न केही कमजोरी देखेको ठाने पछि यसलाई प्रचण्डले बहसमा ल्याएका हुन सक्छन् ।

यहाँ अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिकीकरण व्यक्तिलाई सामाजिक रुपमा क्रियाशील बनाउँछ भन्ने बुझाईमा माओवादीभित्र देखिएको समस्या हो । यही माध्यमबाट संस्कृतिको अनुरुप आचरण गर्ने विवेक विकसित हुन्छ भन्ने कुरामा ध्यान दिइएन । व्यक्तिद्वारा साँस्कृतिक मूल्यवारे जुन अभ्यास गरिन्छ, त्यही हो सामाजिकीकरणको रूप हो । माओवादीले शान्ति प्रक्रियामा आउँदा आउदै आफ्ना नेता–कार्यकर्तालाई सिकाउनु पर्ने विषय थियो यो । तर, ११ बर्षपछि बल्ल बहसमा ल्याएको छ । सामाजिकीकरणको विश्लेषण र अध्ययनमा यो कुराको ध्यान दिन आबश्यक हुन्छ कि सिक्ने प्रक्रियामा सामाजिक मापदण्ड र संस्कृतिको सवैभन्दा महत्वपूर्ण भूमिका हुन्छ ।

यसलाई अस्वीकार गर्नेहरुबाट असामाजीक काम हुने खतरा हुन्छ । मुल्य मान्यताबाट बाहिर जाने खतरा हुन्छ । प्रचण्डले काँग्रेस–एमालेमा प्रर्याप्त सामाजिकीकरण छ भन्ने सन्देश दिएका त पक्कै होइनन् किनभने ती पार्टीभित्र नेता–कार्यकर्तामा जुन संस्कृति हुर्केको छ, त्यसले सामाजिकीकरणका मुल्य मान्यता आत्मसाथ गरेको देखिंदैन । यद्यपी जनतासँग दैनिक जीवनमा जोडिन मामलामा उनीहरु माओवादी भन्दा अगाडि देखिए । जसलाई भोटमा बदले र चुनाव जिते । सामाजिकीकरणको महत्वपूर्ण विशेषता यो मानिन्छ कि, उ जीवन–प्रयन्त चलने प्रक्रिया हो । व्यक्तिको परिस्थिति वा सामाजिक भूमिका बदलिरहन्छ । उसको अनुरूप व्यवहारका लागि आचरण तथा व्यवहारमा नयाँ कुरा सिक्नुपर्छ । उदाहरणका लागि केटाकेटीमा जहाँ बच्चाले सामाजिकीकरणका माध्यमबाट आमा–बुवा र अन्य बुढापाकाबाट व्यवहार सिक्छ । त्यही युवावस्थामा उसलाई नयाँ तरिकाबाट नयाँ कुरा सिक्नुपर्छ ।

वृद्धावस्थामा पनि व्यक्तिबाट नयँ भूमिकाको अपेक्षा राख्छ । यसकारण सामाजिकीकरण यस्तो प्रक्रिया हो, जुन जन्मदेखि मृत्युतक लगातार चल्छ । युद्धको विशिष्ठ भूमिकाबाट आएको माओवादी नेता–कार्यकर्ताले सामाजिकीकरणको यो पाटोमा ध्यान दिन सकेनन् । यही कमजोरीका कारण मुद्दाले जित्दापनि चुनावमा हार खाने ठाउँमा पुग्यो । अझ पहिला त बहसमा पनि थिएन यो पाटो । प्रचण्डले हालै यो विषय प्रवेश गराएर माओवादी नेता–कार्यकर्तालाई समाजसँग जोड्ने सुत्रको खोजी गर्न खोजेको जस्तो देखिन्छ । सामाजिकरणलाई परम्परा मात्र होइन । सामाजिकीकरणबाट सिकेका सामाजिक तथा साँस्कृतिक मूल्य देश–काल सापेक्ष हुन्छन् । यसकारण सामाजिकीकरणको प्रक्रिया पनि देश–काल सापेक्ष हुन्छ । जस्तो कि राउटेको बच्चाले सिक्ने कुरा र शहरीय ठूला–वढाको छोराछोरीले सिक्ने कुरामा धेरै फरक हुन्छ ।

समाजमा जातिगत पेश तथा कर्ममाण्डी स्थितिका अनुसार सामाजिकीकरण हुन्छ । विश्वभर आ–आफ्ना तरिकाले सामाजिकीकरणको अभ्यास हुन्छ । हाम्रो जस्तो एक अर्को समाज र परिवाससँग जोडिएको ठाउँमा सामाजिकीकरण असाध्यै महतवपूर्ण पाटो हुन्छ । यो कुरामा माओवादी नेतृत्वले ध्यान दिएको थिएन । अव सोच्न थालेको छ । मुल्य–मान्यता र विकासले सामाजिकीकरणको विधिमा पनि फरक ल्याएको छ । समाजशास्त्रीले सामाजिकीकरणको पुरा प्रक्रियालाई दुई तरिकाले लिने गरेका छन्, प्राथामिक सामाजिकीकरण र द्वितीय सामाजिकीकरण । यो विभाजन समाजको प्राथमिक र द्वितीय संस्थाका आधारमा विभाजन छ । जस्तो कि, प्राथमिक सामाजिकीकरण परिवार, छिमेकी, एवं नातेदार, मित्र–समूह वा पारम्भिक स्कूली शिक्षाको माध्यमबाट हुन्छ । यहीबाट बच्चाले समाजमा सहभागी सदस्य बन्नेवारेमा धेरै कुरा जान्छ । द्वितीय सामाजिकीकरण किशोरावस्थाबाट शुरु हुन्छ । यसमा व्यक्ति अधिक औपचारिक वातावरणको आवश्यकता अनुसार आचरण गर्न सिक्छ । यो अवस्थामा कलेज–विश्वविद्यालय, राजनीतिक संस्थान, बजारजस्ता आर्थिक संस्था, साँस्कृतिक संस्था, कार्यलय वा फ्याक्ट्रीबाट मानिसले धेरै कुरा सिक्छ ।

व्यक्ति जस्तै सिंगो पार्टीको पनि जीवन हुन्छ । समाज रुपान्तरणका लागि बनाइएका राजनीतिक पार्टीहरुमा समाजको नेतृत्व गर्ने खालको सामाजिकीकरणको आवश्यकता हुन्छ । त्यही मुल्य–मान्यताबाट प्रशिक्षत नेता–कार्यकर्ताको खाँचो पर्छ । सिंगो देशको नेतृत्व लिन तयार राजनीति पार्टी र तीनका नेताले हाम्रो मुल्य–मान्यता र विकासले सामाजिकीकरणमा ल्याएको परिवर्तनलाई आत्मसाथ गर्न ढिलाई गरिनुहुन्न । हिजो देशमा राजनीतिक आन्दोलन हुँदा जे जस्ता सामाजिकीकरणका मुल्य–मान्यता थिए, आज ति प्रयाप्त रहेनन् भन्ने कुरा माओवादीले ढिला बुझिरहेको छ ।

यही बुझाईमा आएको ढिलाइका कारण मुद्दाले जित्दा पनि चुनाव हार्ने परिस्थिति सिर्जना भएको छ । भोटको राजनीति गरेपछि जनताका दैनिक जीवनबाट कोही पनि भाग्न सक्दैनन् । तर, माओवादीभित्र जनतासँग जोडिने विषय सैद्धान्तिक रुपमा निकै सुन्दर ब्याख्या हुन्छ, व्यवहारमा चाही निकै समस्या । सामाजिकीकरणको प्रक्रिया पनि देश–काल सापेक्ष हुन्छ भन्ने बुझाईले यस्तो समस्या निम्ताएको जस्तो देखिन्छ । अहिले सोसल इन्जिनियरिङको जमना हो । जहाँ पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, कला, साहित्य, नाटक आदिमार्फत विचारहरूको सम्प्रेषण हुन्छ ।

निरन्तरको प्रचारका माध्यमबाट जनताको मनोविज्ञान आफु अनुकल बनाउने कोशिष हुन्छ । उनीहरूको मत परिवर्तन गराइन्छ । यस्तो जमानामा सामाजिकीकरणमार्फत नै आफ्ना मुद्दा र एजेन्डा ठीक तरिकाले राख्ने र जनमत बनाउने सम्भावना रहन्छ । सामाजिकीकरण र सोसल इन्जिनियरिङमा ध्यान नपुगे भएको पनि गुमाउनु पर्ने अबस्था हुन्छ । सामाजिकीकरणले अनुशासनको पाठ सिकाउँछ । सामाजिकीकरण प्रेरणाको स्रोत हुन्छ । सामाजिकीकरणले सामाजिक भूमिकाको पाठ पढाउँछ । सामाजिकीकरणले कुशलता प्रदान गर्छ । सामाजिकीकरण सिक्ने प्रक्रिया हो र आजीवन प्रक्रिया हो । सिक्ने कुरा मात्र सामाजिकीकरण होइन, बरु समाजमा भागिदारीको कुरा मुख्य हो । यो विषयमा माओवादी नेता–कार्यकर्तामा केही न केही कमी देखियो । त्यसैले त अहिले प्रचण्डले सामाजिकीकरणको विषय बहसमा ल्याएका होलान् । देशलाई नेतृत्व दिन सक्ने सक्षम नेतृत्व, नीति र कार्यक्रम हुँदाहुँदै पनि सिंगो पार्टी संगठनमा देखा परेको सामाजिकीकरणको अभाव माओवादी भविष्यका लागि चिन्ताको विषय हो । माओवादी नेता–कार्यकर्ताले आफुलाई जतिसक्दो चाडो सामाजिकीकरण प्रक्रियामा लैजान सके माओवादीको मुद्दासँग भोटमा पनि जित हुन सक्छ । सामाजिकीकरणले समाजको मूख्यधाराको कुरा गर्छ । यसकारण माओवादीका लागि यो अनिवार्य छ ।

(लेखक माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन् ।)

प्रकाशित : श्रावण १५, २०७४ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?