३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एनआरएनभित्रको राजनीति : नाकको राजनीति सुरु भएकै हो त?

मेघराज सापकोटा

काठमाडौं — ‘अबको केही बर्ष गैरआबासीय नेपाली संघको राजनीति नाकको वरीपरी घुम्ने सम्भावना छ’, दुवईमा भेट भएका एक एनआरएनकर्मीले पाक्तिकारसँग भनेका थिए । हाँसेर हल्का ढंगले आफ्नो चोर औंला नाक निर लगेर भनेको उनको यो भनाइले पक्कै केही अर्थ राख्दछ । उनले नाक भनेर अक्टोबर १४ देखि १६ तारिक सम्म काठमााडौमा हुन गईरहेको एनआरएनको सम्मेलनमा अबको नेतृत्व छनौटमा जातीय नाराले प्रभाब पार्ने साकेत गरेका थिए ।

एनआरएनभित्रको राजनीति : नाकको राजनीति सुरु भएकै हो त?

त्यस बेलासम्म २०१५–२०१७ को कार्यकालमा मनोनित सदस्य बनाईएकी बर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना घलेले अध्यक्ष पदमा उम्मेद्वारी दिने हल्ला चल्न थालिसकेको थियो । जमुना घले आाफैमा सक्षम उमेद्वार होलिन् या नहोलिन् बहसको बिषय बन्न सक्ला तर एनआरएनका जानकारहरु अबको नेतृत्व नाकले पनि छान्ने भन्न थालिसकेका छन् । बिभिन्न देशहरुमा एनआरएन एनसीसीको अधिबेशनमा हुने नाकको प्रतिस्पर्धा हेर्दा यस्तै नहोला भनिहाल्न सक्ने स्थिति छैन । बर्तमान अध्यक्ष शेष घले जनजाति मात्र नभएर उनी आफैमा सक्षम हुनाले २ कार्यकालसम्म सबैको साझा अध्यक्ष बन्न सफल भएका हुन् । र, यस् अघिका सबै अध्यक्षहरु पनि नाक नभई क्षमताकै आधारमा चुनिएका थिए । तथापी जमुना घलेको उम्मेद्वारीको हल्ला उपाध्यक्षको लागि बार्गेर्निङको पत्ता भएको बताईन्छ । उनलाई अहिले उपाध्यक्ष पदमा जिताउने र अर्को कार्यकालको लागि अध्यक्ष बनाउने रणनीति अनुरुप अध्यक्षको उम्मेद्वारको रुपमा अघि बढाईएको एनआरएनकर्मीहरु बताउँछन् ।

एनआरएनको सम्मेलन नजिकिंदै गर्दा अबको अध्यक्ष को होला भन्ने चासो सर्बत्र छ । अक्टोबर १४ तारिख देखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले गैरआबासीय नेपालीको नेता चुन्ने छ । हालसम्म चुनाबी मैदानमा हालका बरिष्ठ उपाध्यक्ष भवन भट्ट र अर्का उपाध्यक्ष कुमार पन्त देखिएका छन् । पन्तले सहमतिको लागि आफुले उपाध्यक्षमा दोहोर्याउने बताईसकेका छन् । अघिल्लो अधिबेशनमा अध्यक्ष पदमा प्रत्यासी भई चुनाबी प्रतिस्पर्धामा हारेका पूर्व उपाध्यक्ष कतारका टिबी कार्कीले पनि अध्यक्ष पदको दाबेदारी गरेका छन् । तथापी कार्कीको उम्मेद्वारी पनि कुनै रणनीति र योजनामा आएको हुनसक्ने बताईन्छ । कतिपयले टिबी कार्कीलाई भवन भट्टको भोट काट्न उठाईएको ’डमी’ उम्मेद्वार समेत भन्ने गरेका छन्, जसको फाईदा जमुना घलेलाई हुनसक्ने छ ।

त्यसो भए अबको एनआरएनको बागडोर कसले हाँक्ला त ? यो प्रश्नको जवाफ खोज्नु भन्दा अघि एनआरएनको भित्री पाटाका अन्तर्यमा पुग्न जरुरी छ ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो अहिले पनि एनआरएनको नीतिगत कुराहरुमा निर्णायक मानिन्छन् । एनआरएन ज्ञाताहरुका अनुसार बर्तमान अध्यक्ष घले अघिल्लो कार्यकालमा महतोको मन्जुरी बिना नै अध्यक्ष बनेका थिए । त्यो बेलामा घलेलाई जीबा लामिछनेको साथ थियो । दोश्रो कार्यकालसम्म आईपुग्दा घलेसँग जिबा पनि रुस्ट बनिसकेका थिए ।

एनआरएन सम्मेलनमा राजनीतिक पार्टीहरुको आशिर्बाद र भूमिका पनि उत्तिकै हुने गरेको छ । अघिल्लो सम्मेलनमा समिकरण निर्माणमा एमाले निकट मानिएका पूर्व उपाध्यक्ष टिबी कार्कीलाई एमालेले साथ दिन सकेन । त्यस्तै अघिल्लो सम्मेलनमा उम्मेदवारको दौडमा रहेका अमेरिकाका रतन झा र उपेन्द्रले अघि सारेका रामेश्वर शाहको बल पनि तराई आन्दोलन, नाकाबन्दीसहित अन्य आन्तरिक र बाह्य यावत कारणले कमजोर बन्न पुग्यो । अध्यक्ष घले र महतो बीच यस अघि आपसी सल्लाह र सुझाबमा संस्थालाई चलाउने, चुनावमा हारेका केही ब्यक्तिहरुलाई सदस्य, सल्लाहाकारमा मनोनित गर्ने र प्रबक्ता छान्ने सहमति पनि भएको थियो तर सहमति कार्यन्वयन हुन सकेन ।

संस्थामा बर्तमान महासचिव बद्री केसी र अध्यक्ष घलेबीच लामो समय सम्म सम्बन्ध राम्रो हुन सकेन । उनीहरुबीच मनमुटाब र आपसी द्वन्द्व हुनुले यो कार्यकालमा घलेलाई काम गर्न निकै नै कठिनाई भएको थियो । सोही बेला जिबा लामिछानेलाई प्रमुख संरक्षक दिने सहमति र बाँकी अन्य सहमति पनि कार्यन्वयन नभएको बाहिरी हल्ला चलेको थियो । बेलाबेला अन्तर्वार्ताहरुमा घलेले आफ्नो कार्यकालमा आफुले निकै ठक्कर र हण्डर खाएको कुरा भन्ने गरेका छन् । मुलभुत रुपमा उनका ठक्कर यस्तै हुन् ।

कार्यकालको सुरुवातमै घले बहुमत र अल्पमतको खेलमा परे । केही जनजाति र अति नजिकका घनिस्टहरुले घलेलाई र घलेदेखि रुस्ट भएकाहरुले बद्री केसीलाई समर्थन गरे । संस्थाका हरेक ठाउँमा बिबादकाबीच घलेले भिजन २०२० अघि सारे । भिजन २०२० को आवगमन पश्चात जिबा लामिछाने र उपेन्द्र महतोहरु अरु तर्सिए । घलेले ल्याएको भिजन २०२० ले अध्यक्षलाई अझ निरंकुश बनाउने र यो कुनै स्वार्थले प्रेरित छ भन्ने बुझाई उनीहरुको रह्यो । घलेलाई भिजन २०२० कुनै पूर्व तयारी र छलफल बिना ल्याइएको आरोप लाग्ने गरेको छ । यही बीचमा उपेन्द्र महतो, जिबा लामिछाने भर्सेस शेष घले र समर्थकहरुको बीचमा अन्धाले पनि देख्ने र बहिराले पनि सुन्ने गरिको जुहारी पनि चलेको थियो । यही खेलले जिबा लामिछाने र उपेन्द्र महतोलाई साझा उम्मेदवार बनाउने रणनीतिका लागि एक ठाउँमा उभ्यायो । यस्तै यस्तै कुराहरुले एनआरएनका दुई प्रतिस्पर्धी कुमार पन्त र भबन भट्ट जो डेढ बर्षसम्म अध्यक्षको लागि दौडधुप गरेका थिए, उनीहरुलाई र उपेन्द्र अनि जिबालाई जर्मनीमा भएको क्षेत्रीय सम्मेलनले नजिक ल्याईदियो । सोही सम्मेलनमा भबन भट्टलाई निर्बिरोध अध्यक्ष बनाउने र कुमार पन्तलाई उपाध्यक्ष दोहोर्याउने सहमति भएको हो । यसरी कुमार पन्तले भवन भट्टलाई छोड्ने बित्तिकै बलिया देखिएका भट्टलाई साइजमा ल्याउन वा अप्रत्यासित नतिजा निकालेर जमुना घलेलाई जिताउन कतै घलेले नै टिबी कार्कीलाई अघि सारेका त हैनन भन्ने शंका पनि गरिन थालिएको छ ।

जमुना घलेलाई मनोनित सदस्य हुँदै २०१७–२०१९ कार्यकालमा उपाध्यक्ष बनाउने र २०१९–२०२१ कार्यकालमा अध्यक्ष बनाउने खेल चलिरहेको थियो । उस्तै परे यसैपालि पनि जनजाति र केहि भित्रिया किचेन क्याबिनेटको सहयोगमा जमुना घलेलाई अध्यक्ष पदमा लैजाने भन्ने रसियन अलायन्सको शंका जमुना घलेको अध्यक्ष पदमा उम्मेद्बारी घोषणाले सही साबित भयो । किनकी जब भबन भट्ट र कुमार पन्तले सहमति गरे, उपेन्द्र र जिबा लामिछने यो खेलमा ब्याक भए र सहमति गरे, सोही बेला अर्को तिर घले प्यानलले जमुना घलेलाई अघि सार्यो ।

तसर्थ एनआरएन भित्रको अबको खेल रसियन अलायन्स भर्सेस अस्ट्रेलियन हुने पक्का छ । सोही बमोजिम दुबै पक्षले आफ्नो आफ्नो रणनीति बनाउने छन् । उपेन्द्र महतोले खेल जिते अबका तीन कार्यकालमा क्रमश: भवन भट्ट, कुमार पन्त र बद्री केसीले नेतृत्वको बागडोर संचालन गर्ने छन् । अस्ट्रेलियन घले अलायन्सले जिते पनि हारे पनि अबको नेतृत्वमा जमुना घले अघि बढ्ने निश्चित छ र सोही बमोजिम अन्य उत्तराधिकारीहरुको निर्माण गरिनेछ । आफुलाई काम गर्न असहज बनाउने काम बद्री केसीले गरेको भन्ने बुझाई शेष घलेको र केही सानो गुटमा रमाएर आफ्नो जिम्मेवारीमा सधैं लगाम लगाउन खोजेको केसीको बुझाई रहेको छ । तसर्थ अहिले बऽी केसी जसरी पनि एनआरएनमा घलेको दबदबा कम गर्न चाहन्छन । एनआरएन भित्रको अन्तर्यका कथाहरु यिनै हुन् ।

अब के हुन्छ त ? भवन भट्ट अध्यक्ष र जमुना घले उपाध्यक्ष वा भवन भट्ट अध्यक्ष र कुमार पन्त उपाध्यक्ष ? सम्भावना दुइटै छ । भवन भट्टलाई कुनै पनि हालतमा जित्नु पर्ने छ । घलेलाई लाप्राक बस्ती निर्माण र एनआरएनए भवन निर्माण अनि भिजन २०२० अघि बढाउनु छ । र, भिजन २०२० को कार्यन्वयनमा श्रीमती जमुना घलेलाई स्थापित गर्नु पनि छ । सरसर्ती हेर्दा जमुना घलेको तयारी कम र कमजोर उम्मेद्वारको रुपमा भएपनि अहिले आफ्नो हातमा बागडोरसहित भवन अध्यक्ष बनाएर आगामी नेतृत्वमा जमुनालाई लैजाने सहमति पनि नहोला भन्न सकिन्न । यिनै खेलहरुको बीचमा एनआरएन अलमलिदै यो सम्मेलनसम्म आईपुगेको छ ।

भवन भट्टले जित्ने निस्चित जस्तै भएपनि अहिलेसम्म दुबै पक्ष आश्वस्त हुन सकेका छैनन् । यस्तै खेलहरुले गर्दा संस्था भित्रका केही ईमान्दार ब्यक्तिहरुलाई एनआरएनए संस्था वास्तवमै निल्नु न ओकल्नु भएको छ । यही तरिकाले अघी बढे आगामी दिनहरुमा संस्था सिस्टम र भिजन भन्दा पनि गुटबन्दी तिर जानेछ । गुटबन्दीले प्रस्रय पाए हरेक सम्मेलनमा पैसाले नेतृत्व चुन्नेछ । संस्थाले सुरुवात गरेको नयाँ योजनाहरुको भविश्यमा प्रश्न चिन्ह खडा हुनेछ । पैसा, अतिबाद, जातीयता र संस्थापकहरुको लडाईंले तल्लोस्तरका एनआरएनकर्मीहरुलाई निरास तुल्याउने छ र घृणा पैदा गर्नेछ ।

तसर्थ यी यावत घटना परिघटनाहरुलाई केलाउँदा आगामी सम्मेलनमा भवन भट्टलाई सर्बसम्मतले अध्यक्ष बनाउँदै कुमार पन्त र जमुना घलेलाई उपाध्यक्ष बनाउने बिन्दुमा सहमती हुनसक्ने देखिन्छ । सम्मेलनले नेतृत्वको छनौटसँगै लाप्राक बस्ती र एनआरएन भवन निर्माण प्रोजेक्ट समय सीमा भित्र सम्पन्न गर्ने संकल्प गर्दै सिन्डिकेट सकिएको घोषणा गर्न सकिन्छ । यो भएको खण्डमा नाकको राजनीति सँगसँगै पैसाले भोट किनबेचको खेलमा पनि बिश्राम लाग्नेछ । यसले आगामी २ बर्ष एनआरएनलाई एक ढिक्का बनाउने छ भने अर्को कार्यकालमा काम र क्षमताको आधारमा नयाँ नेतृत्व चुन्न सकिने आधार तयार गर्नेछ ।

प्रकाशित : आश्विन २४, २०७४ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?