कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हामीलाई चाहिने एउटै ‘वाद’

देश विकासका लागि अगाडि बढ्ने र बढाउने मूलमन्त्र नै बलियो राष्ट्रियता हो ।
टीका धमला

काठमाडौँ — हालै सम्पन्न चुनावी मेलामा एकापसमा निकै आरोप–प्रत्यारोप लगाएको सुनियो । कसैले कसैलाई सर्वसत्तावादी, अधिनायकवादी भनेका छन् भने कसैले लम्पसारवादी, दक्षिणवादी, उत्तरवादी, पश्चिमवादी, एनजीओवादी ! यस बाहेक कैयौं नयाँ शब्दहरू पनि नेपाली शब्दकोशमा जन्मिएका छन् ।

हामीलाई चाहिने एउटै ‘वाद’

चुनावी भाषणमा एकार्काप्रति लगाएका वादको आरोप सिर्फ जनतालाई उत्तेजित र आकर्षित गरेर भोट बटुल्ने, अल्छी र स्वार्थी नाराबाहेक अरू केही हुन सक्दैन । वास्तवमा भन्ने हो भने कुनै पनि देश विकासका लागि अरू वाद आवश्यक पर्दैन, सिर्फ एउटा वाद भए पुग्छ, त्यो हो– बलियो राष्ट्रवाद ।

संसारको इतिहासको लेखाजोखा गर्ने हो भने मलेसियाको समग्र विकासका लागि महाथिर मोहम्मदको नेतृत्वमा त्यहाँ कुन वाद थियो ? ली क्वान युले सिंगापुरको विकासका लागि कुन वादको अनुशरण गरे ? उनीहरूले समग्र रूपमा आ–आफ्नै राष्ट्रवादलाई शिरोपर गरेर सबैलाई समेटेरै त देश विकास गरे । उनीहरू कहिलेकाहीं बाह्य दृष्टिकोणमा क्रूर पनि देखिए । तर राष्ट्र र राष्ट्रियताको सवालमा कसैसँग सौदाबाजी गरेनन् । आफ्ना जनतालाई धोका दिएनन् र विचलित पनि भएनन् ।

वास्तवमा देशको समग्र विकास गर्न कस्सिने नेतृत्वले राष्ट्र र राष्ट्रियताको सवालमा कसैको मुलाहिजामा लागेर कुनै प्रकारको सौदाबाजी गर्न हुन्न । राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर अगाडि बढ्ने नेतृत्वमा कहिलेकाहीं उतार–चढाव त होला, तर विचलित हुनुपर्दैन । त्यस्ता नेतृत्वलाई सम्पूर्ण जनताले साथ दिनेछन् । उदाहरणका लागि नेल्सन मण्डेलालाई लिन सकिन्छ । नेपाल राष्ट्र र राष्ट्रियताको संरक्षण र सम्बद्र्धनका लागि त्यसबेलाको समय र परिस्थिति अनुरूप बडामहाराजा पृथ्वीनारायण शाह र राजा महेन्द्रले खेलेका भूमिका, प्रजातान्त्रिक अभ्याससहित समसामयिक भूराजनीतिलाई मनन गर्दै राजा वीरेन्द्र, बीपी कोइराला, मनमोहन अधिकारी र मदन भण्डारीले खेलेको भूमिकामा नेपाली जनताले साथ दिएकै हुन् । आज नेपाली जनमानसमा ती घटनाहरू झलझली सम्झनामा आइरहेको छ । हालैका चुनावी भाषणमा वाम गठबन्धनका शीर्ष नेतृत्वबाट ‘नेपाली कांग्रेसले देश निर्माणमा बीपीको धार छाडिसक्यो, अब हामी त्यो धार पनि लिएर अगाडि बढ्छौं’ भनेको सुन्दा जनमानसमा अर्को एउटा नयाँ राजनीतिक तरंग आएको छ । चुनावको नतिजाले पनि केही संकेत गरेको छ । यसको लेखाजोखा भविष्यमा हुने नै छ ।

एउटा देशभित्र रहेका विभिन्न समुदायलाई एउटै सूत्रमा बाँधेर समग्र देश विकासका लागि अगाडि बढ्ने र बढाउने मूलमन्त्र नै बलियो राष्ट्रियता हो । नेपालको इतिहासमा हालको दिनमा जस्तो कमजोर राष्ट्रियता कहिल्यै नभएको हामी सबैमा महसुस भइसकेको छ । यसै अवसरमा बाह्य शक्तिहरू आ–आफ्ना स्वार्थपूर्ति गर्न, नेपालको राष्ट्रियता बलियो पार्ने खम्बाहरू ढाल्न र हल्लाउन सफल भएको हामी सबैले मनन गरिसकेका छौं । हालै सम्पन्न निर्वाचनमा विगतका सबै कुराहरू बिर्सिएर राष्ट्रियता बलियो पार्नुपर्छ भन्नेतर्फ जनलहर आकर्षित भएको झिनो संकेत देखिएको छ । यसमा विजयी नेतृत्वहरूले पनि महसुस गरेकै होलान् ।

२०६२–६३ को परिवर्तनपछि हाम्रा धेरै संरचना, जिम्मेवार निकायहरू खल्बलिएका र गुजुल्टिएका छन् । अब बन्ने नयाँ सरकारले ती संरचना र निकायहरूलाई कसैको मुलाहिजामा नफँसी एक–एक गरेर केलाउन र दरिलो पार्न गहकिलो कदम चाल्नैपर्छ । ताकि अखण्ड नेपालभित्र तिम्रो र मेरो भन्ने वातावरण नबनी हाम्रो र राम्रो नेपाल भन्ने लहर आओस् । अन्यथा नयाँ सरकार बनेसँगै नयाँ द्वन्द्वको सुरुवात भई फेरि जनता निराश हुनेछन् ।

विगतका दृष्टान्तलाई नियाल्दा हरेक चुनावमा जनतालाई आकर्षित पार्ने, नयाँ–नयाँ आश्वासनहरू बाँडी जनताको मत लिई व्यक्ति वा दल विजयी हुने र त्यसपछि दलहरूले कुनै पनि वाचालाई वास्तै नगरी देश र जनतालाई निराश पार्ने काम भएको छ । फेरि पनि त्यही प्रवृत्ति भएमा नेपाल झनै कमजोर हुनेछ र बाह्य हस्तक्षेप झनै बढ्नेछ । यसलाई अब बन्ने नयाँ सरकारले समयमै मनन गर्नैपर्ने देखिन्छ ।

धमला नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुन् ।

[email protected]

प्रकाशित : पुस ७, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?