२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सशक्त नेतृत्व आवश्यक

नैनसिंह महर

काठमाडौँ — प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अकल्पनीय हार बेहोरेको नेपाली कांग्रेसभित्र चुनावी असफलताबारे समीक्षा सुरु भएको छ । आफ्नै नेतृत्वमा भएका ऐतिहासिक परिवर्तनमार्फत स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभाबाट संविधान निर्माण र यसको कार्यान्वयनमा कांग्रेसको भूमिकाको समेत नजरअन्दाज हुनेगरी निर्वाचनको परिणाम आउनुमा के–कस्ता कमजोरी रहे ? भविष्यमा सफलता प्राप्त गर्न अपनाउनुपर्ने बाटो र पूरा गर्नुपर्ने जिम्मेवारी के हुन् ? भन्ने प्रश्न आम कांग्रेसीका अगाडि छन् ।

सशक्त नेतृत्व आवश्यक



कांग्रेसको हारको प्रमुख कारण जनतासँंगको पुरानो सम्बन्ध कायम राख्न नसक्नु नै हो । एजेन्डाभन्दा सैद्धान्तिक कुरामा बढी जोड, पार्टीको लोकप्रियतामा आएको ह्रास, फितलो व्यवस्थापन, स्रोतसाधनको उचित परिचालन नहुनु, इमानदार शुभेच्छुक र कार्यकर्ताको उपेक्षा, लगातार एउटै अनुहारले टिकट पाइराख्नु, युवाशक्तिलाई नेतृत्वमा पुर्‍याउने र युवा ऊर्जालाई पार्टीको संगठन निर्माणमा सक्रिय भूमिकामा नलगाउनु, पाकाको अनुभव र युवाको ऊर्जालाई सम्मान गर्ने परिपाटीको विकास हुन नसक्नु, युवाका नाममा पार्टीको केन्द्रीय समितिमा स्थापित नेताहरू व्यक्तिगत स्वार्थपूर्तिका लागि शीर्ष नेताहरूको टिममा विभाजन हुनु र सत्य कुरा बोल्न नसकेर टुलुटुलु हेरेर बस्नु, संस्थाभन्दा व्यक्ति बलियो हुन प्रयत्नशील हुनु, प्रतिपक्षको गलत कार्यको भण्डाफोर गर्नुभन्दा आफ्नै पार्टीभित्रका कमी–कमजोरीलाई चोक–चौतारोमा लगेर छताछुल्ल पार्ने जस्ता कारणले यो निर्वाचनमा कांग्रेसले जनताको मन जित्न सकेन । यसकारण ऐतिहासिक विरासत बोकेको पार्टी सानो आकारमा सीमित हुनुपर्‍यो । यस बाहेक एउटा महत्त्वपूर्ण बहसमा नआएको कारण कांग्रेसलाई भोट दिने प्रशिक्षित लोकतन्त्रवादी जनताको संख्यामा कमी आउनु नै हो । हामीले लामो समयसम्म भ्रातृ संस्थालाई क्रियाशील बनाउन सकेनौं ।


२०१५ सालको आमनिर्वाचनमा ३७.२२ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले २०४८ मा पनि ३७.७५ प्रतिशत मत प्राप्त गर्‍यो । ३ वर्षपछि २०५१ मा कांग्रेसको मत घटेर ३३.३८ प्रतिशतमा झर्‍यो भने घट्ने क्रम यस पटकको निर्वाचनसम्मै जारी रह्यो । तर तुलनात्मक रूपमा कम्युनिष्ट दलहरूको प्राप्त मत संख्या बढ्दै गएको छ । २०१५ सालमा १७.०३ प्रतिशत मत पाएका वामपन्थीले २०६४ सम्म पुग्दा ४८.३२ प्रतिशत मत पाएका छन् । विभिन्न वाम घटकको नाममा सडक, सदन, सरकार र जंगलबाट हिंसाका शृंखला चलिरहे । २०५२ सालदेखि सुरु भएको हिंसा त झन् राजासँग मिलेर भए पनि प्रजातन्त्र र कांग्रेस सिध्याउनकै लागि थियो । त्यो समयमा कांग्रेसमा आस्था राख्नेहरूलाई ज्यान जोगाउनै मुस्किल भयो भने गाउँ–गाउँमा, घर–घरमा वामपन्थीहरूको बर्चस्व फैलिँदै गयो । राजनीतिक गतिविधिमा वामपन्थीहरूको एकलौटी भयो ।


पछिल्लो समय नेपाली कांग्रेसले कार्यकर्तादेखि समर्थक बढाउने कुनै प्रभावकारी योजना वा एजेन्डा ल्याउन सकेन । अब नेपाली कांग्रेसले सुझबुझसाथ पुरानो पुस्ताको अनुभव र नयाँको क्षमतासहित जनताका मुद्दा जनतासमक्ष लगेर नजाने हो भने बलियो कांग्रेसको कल्पना नगरे हुन्छ । पार्टी, संगठन, नेता र हरेक कार्यकर्ताले आफ्नो जिम्मेवारी र कर्तव्यका विषयमा आत्मसमीक्षा गरेर शुद्धीकरण र सुदृढीकरण गर्ने यो अवसर पनि हो । कम्युनिष्टहरूले पार्टीमा योगदान पुर्‍याएको आधारमा जसरी नयाँ पुस्तामा नेतृत्व विकासलाई जोड दिएर हावादारी नै भए पनि एजेन्डा बोकेर जनतासमक्ष पुगेका छन्, अब कांग्रेसले अग्रजको अनुभवलाई युवाको क्षमतामा विश्वास गरेर जनतासमक्ष जान जरुरी छ ।


पुरानो मानसिकतालाई परिवर्तन गरेर समय–सन्दर्भ अनुसार चल्ने बानीको विकास हुनु आवश्यक छ । सक्रिय सदस्यता साँच्चिकै इमानदार र नैतिकवानलाई वितरण गर्ने परम्पराको थालनी आवश्यक छ । विश्व परिवेश, कांग्रेसको इतिहास, सामाजिक र भौतिक विकास, प्रजातान्त्रिक र कम्युनिष्ट व्यवस्था बीचको अन्तरसंँगै संगठन सशक्तीकरणका विषयमा प्रशिक्षण दरिलो बनाउनुपर्छ । जीवन्त पार्टीका लागि जनतासँंगको सम्बन्ध दरिलो हुनुपर्छ भने जनताको शक्तिमा बढी तागत छ भन्ने कुरामा हेक्का राख्न भुल्नु हँुदैन । नेता, कार्यकर्ताको आत्मसम्मान बचाउन सबैले ख्याल गर्नु पर्नेछ । पार्टीका पदाधिकारी बाहेक ३ पटक केन्द्रीय सदस्य भइसकेको र ३ पटक उम्मेदवार बनिसकेकाले चौथोपटक नयाँलाई मार्गप्रशस्त गर्ने पद्धतिको विकास गर्नुपर्छ । पार्टीका तर्फबाट टिकट वितरण गर्ने सबै तहका समिति, अधिवेशन, महाधिवेशनबाट चयन गर्ने प्रावधान बढी वैज्ञानिक हुन सक्छन् ।


साधारण सदस्यदेखि पार्टीका उच्च तहका नेतासम्ममा आर्थिक पारदर्शिता र जवाफदेहिता अझै कायम हुनसकेको छैन । यसर्थ सक्रिय सदस्यता लिने बेला नै व्यक्तिको आर्थिक हैसियतको रेकर्ड राख्ने र हरेक महाधिवेशनमा अद्यावधिक गरी सार्वजनिक गर्ने भरपर्दो पद्धतिको सुरुवात गर्न सक्यौं भने पार्टीमा उत्तरदायी शैलीको विकास हुनसक्छ ।


७ दशक लामो इतिहास बोकेको कांग्रेस निर्माणको जग हेर्ने हो भने युवा उमेरका बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरूको युवा जोश–जाँगर र चिन्तनमा निर्माण भएको पार्टी हो । त्यही जोश, जाँगर र सुझबुझले १०४ वर्षे निरंकुुश राणाकाल समाप्त गरेको दृष्टान्तलाई नकार्न हुन्न । २०१६ सालमा दुई तिहाइ ल्याएको पार्टीले आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न आफैले गरेको निर्वाचनमा फराकिलो हार स्वीकार्नुपरेको छ । नेपाली कांग्रेसमा जोश, जाँगर, योजना, पद्धति, मिसन र भिजन भएका तमाम युवा हुँदाहुँदै पनि पुरानै अनुहारको पुनरावृत्ति र स्पष्ट एजेन्डा नहुनु आजको अवस्थाको कारण मान्नैपर्ने हुन्छ । अझ युवा र आसलाग्दा नेताहरूले पनि व्यक्तिगत स्वार्थका लागि गलत र सहीलाई स्पष्ट शब्दमा नेतृत्वसामु व्यक्त गर्न नसक्ने प्रवृत्ति पनि हारको कारण होइन भन्ने आधार छैन । त्यसैले पार्टीलाई पाकाको अनुभव, युवाको ऊर्जा, जनताको मुद्दा बोक्न सक्नेगरी जनतासमक्ष उभ्याउन जरुरी छ ।

महर नेविसंघका अध्यक्ष हुन् ।

प्रकाशित : पुस ११, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?