कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँहरूको चाहना– पुनर्जागरण

गाउँको पुनर्जागरण चाहनुहुन्छ भने एउटा विचार, एउटा योजना, एउटा सहयोगी भावना लिएर गाउँ–गाउँ पस्नुस्

काठमाडौँ — नेपाललाई गाउँ नै गाउँले बनेको देश भनिन्छ । तर अहिले गाउँहरू उजाड भएका देखिन्छन् । लगातार भएको निर्वाचनमा नेताहरू गाउँ–गाउँ पुगेर गाउँलेहरूलाई ठूलठूला आश्वासन बाँडेर आएका छन् । त्यसले गाउँलेहरूमा फेरि एकपटक आशा पलाएको छ । तर के गाउँको विकास होला ?

गाउँहरूको चाहना– पुनर्जागरण

के गाउँको हराएको रौनकता फर्किएला ? सहरमा आश्रित भइसकेका गाउँहरू आफ्नो खुट्टामा उभिन सक्लान् ? के गाउँको पुनर्जागरण सम्भव छ ? नयाँ संरचनामा प्रवेश गरेको नेपालका गाउँहरूको पुनर्जागरण कसरी हुनसक्छ ?

गाउँका मानिस राजनीतिका लागि ‘चौतारे गफ’ गरेर बसेका पाइन्छन् । कि त सञ्चार माध्यमले दिएका राजनीतिक खबरको विश्लेषण गर्दै बसेका भेटिन्छन् । धानको रोपाइँमा लागेका हुन् कि आँपको बगैंचामा रहेका– धेरैजसो देशको राजनीतिक अवस्थाकै बारेमा सोचिरहेका हुन्छन् । गाउँका बौद्धिक वर्ग सहर पसेका छन् । मजदुरी गर्नेहरू विदेशिएका छन् । धेरै राजनीतिक पार्टी र एनजीओहरू गाउँमा भएकाले बाँकी मानिस कि त राजनीतिक पार्टीको कुनै न कुनै पदमा छन् कि एनजीओले बनाएका समितिहरूमा । सिजनमा फालाफाल हुने सामग्रीजस्तै राजनीतिक पद र एनजीओका पदहरू गाउँ–गाउँमा फालाफालको स्थितिमा छ । तर गाउँको शैक्षिक, आर्थिक, सांस्कृतिक अवस्था ‘गोलमाल’ भएको छ । गाउँलाई पुरानो रौनकतामा ल्याउन पुनर्जागरण नै गर्नुपर्ने देखिन्छ ।

समाज बन्नका लागि त्यहाँका वासिन्दा, उनीहरूको बसाइ, भाषा, भेषभूषा, सद्भाव, स्थानीय सामाजिक न्यायप्रणाली, रहनसहन, आर्थिक अवसर, मनोरञ्जन र धार्मिक क्रियाकलाप, शैक्षिक गतिविधि, राजनीतिक चलखेल लगायतका तत्त्वहरू आवश्यक पर्छ । समाजमा ती कुराहरू कुन रूपमा छन् ? त्यसको समग्रमा विश्लेषण गर्ने प्रचलन छैन । समाज पुरानो मूल्य–मान्यताहरूबाटै सञ्चालित छ । देशमा राजनीतिक शून्यता आए पनि पुरानो परम्पराको आधारमा शताव्दीऔंसम्म समाज गतिशील रहन सक्छ । तर त्यसको संरक्षण गर्न समयमै ध्यान पुर्‍याउनुपर्छ ।

स्थानीय इतिहास गाउँको गौरव हो । सम्पत्ति हो । तर राजनीतिको कारणले गाउँको पुरानो रामराज्यको सोचमा खोट लाग्दै गएको छ । गाउँलेहरू स्वयंसेवा गरेर स्थानीय लोकतन्त्रको आफ्नै व्यवहारबाट संरक्षण गरिरहेका थिए । स्थानीय लोकतन्त्र गाउँको व्यवहारमा देखिन्थ्यो । मिलेर काम गर्ने । सामाजिक काममा एकजुट हुने पुरानो परम्परा साँच्चिकै लोकतन्त्रको आधार थियो । तर पछिल्लो समयमा गाउँमा वैमनस्य राख्ने परम्पराको सुरुवात भएको छ ।

समाज उन्नत भएपछि राजनीति आफैं घुँडा टेकेर तपाईको दैलोमा आइपुग्छ भन्ने बुझाउन सकिएको छैन । सबै ‘हाय रे राजनीति’ भनेर राजनीतिका लागि घरपरिवारको भाइचारा, ममत्व, छरछिमेक र टोलको इष्टमित्र, मितेरी सम्बन्धहरूलाई चटक्कै बिर्सिएर गाउँलाई राजनीतिक चस्माले मात्र हेर्ने नयाँ रणनीतिमा होमिइसकेका छन् । यस पटकको चुनावमा गाउँ पस्दा घर–घर, टोल–टोल राजनीतिक आग्रह–पूर्वाग्रहबाट ग्रसित थियो । यसले गाउँका मानिसहरूमा सुरक्षाको अभाव देखिएको छ । राजनीतिक आस्थाका आधारमा समाज पक्ष–विपक्षमा बाँडिएको छ । सबैमा भय छ ।

आफूसँग भएको आर्थिक शक्तिलाई गाउँमा आय आर्जनको लागि लगाउनुको सट्टा गोप्य ढंगले बस्न बाध्य छन् । यसले गाउँको आयस्रोतबाट भएका आम्दानीहरू चलायमान हुनपाएका छैनन् । गाउँ झन्–झन् आर्थिक संकटमा छ । विदेश गएका युवा पिढीले पठाएको ‘रेमिटेन्स’बाट गाउँको श्वास–प्रश्वास जेनतेन चलिरहेको छ । गाउँलाई मृत्युवरणको अवस्थामा पुग्नबाट बचाउन पुरानो परम्पराको संरक्षण वा पुनर्जागरण गर्नुपर्नेमा युवाहरूमा ‘ग्लोबलाइजेसन’को प्रभाव बढेको छ । उनीहरूले गाउँको पौराणिकताको संरक्षणमा खासै चासो देखाएको पाइँदैन ।

यस्ता धेरै गाउँ मध्येको एउटा गाउँ सिरहाको बस्तीपुर हो, जुन अहिले पुनर्जागरणको पर्खाइमा छ । त्यही गाउँको बस्तीपुर माध्यमिक विद्यालयमा पढेकाहरू बराल, गिरी, झा, यादव, पौडेल, दाहाल, आचार्य, अधिकारीहरू सीमित परिवारबाट एक दर्जन इन्जिनियर र एक दर्जन डाक्टर भएका छन् । सरकारी जागिरे र बैंकका कर्मचारीका रूपमा त कति छन् कति । कक्षा १० को पहिलो ब्याचको विद्यार्थीहरूले देशभरिको २०१४ सालको बोर्डमा नै तेस्रो र चौथो स्थान ल्याउन सफल भएको बस्तीपुर माविको पढाइको पुरानो गाथा अहिले हराएको छ । साहित्यकार ईश्वररञ्जन बरालदेखि प्रधानमन्त्री भइसकेका डा. तुलसी गिरी जन्मिएको स्थल बस्तीपुर हिजोआज उजाड भएको छ । त्यहाँ झुलन मेला लाग्न छोडेको धेरै वर्ष भइसक्यो । प्रदीप गिरीले खोलेको समता पुस्तकालयको चिहान खोज्दा पनि भेटिँदैन । अहिले प्रदीप गिरी भने आफ्नै जन्मथलोबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ, जसले चाहेमा आफ्नो जन्मथलोबाट गाउँको पुनर्जागरण अभियान देशभरि फैलाउन सक्नुहुन्छ । उहाँमा त्यो शक्ति छ भन्ने कुरा रामायणमा हनुमानलाई उनको शक्ति भएको अनुभूति गराइदिने जाम्बन्ध जस्तै कुनै कलियुगको जाम्बन्धको आवश्यकता छ । यो किन आवश्यक छ भने गाउँका परम्परागत सीपहरू विस्थापित भइसकेका छन् । गाउँमा हुने सांस्कृतिक र साहित्यिक कार्यक्रमहरू सहर केन्द्रित भएका छन् । सहरको सुखसुविधा र अवसरहरूले गाउँका मानिसलाई आकर्षित गरेकोले गाउँ शून्य हँुदैछ । खाद्य सुरक्षादेखि सामाजिक सुरक्षासम्म गाउँ अब परनिर्भर हुनुपरेको छ । खानेपानीको सतह धेरै तल गएकोले केही महिना गाउँघरमा खानेपानीको अभाव हुन्छ ।

यस्तो गाउँ जहाँका बौद्धिक वर्गहरू सहरतर्फ पलायन भइरहेका छन् । हाम्रा मिडियाले पनि गाउँको महत्त्व बुझाउन सकिरहेको छैन । आफ्नो जन्मस्थल, हुर्किएको ठाउँलाई वर्षमा केही दिन सम्झन लगाउने सामाजिक नियम बनाएर भए पनि अब गाउँको पुनर्जागरणमा सबै लाग्नुपर्छ । गाउँको विकास हुनसक्यो भने मात्र नेपालको विकास भएको हुनेछ । नेपालकै विकासको लागि पनि गाउँमा पुनर्जागरण आवश्यक छ ।

दसवर्षे माओवादी ‘जनयुद्ध’ र तराईको सशस्त्र गतिविधिले गाउँ उजाड भएको थियो । अब सशस्त्र आन्दोलन गर्नेहरू नै गाउँको विकास, सौहार्द आवश्यक रहेछ भन्ने महसुस गर्दैछन् । गाउँपालिका र नगरपालिकाहरूलाई अधिकार सम्पन्न बनाइएको छ । बजेट ह्वात्तै बढाइएको छ । सशस्त्र संघर्ष गर्नेहरू, गाउँको विकास गर्छु भनेर राजनीति गर्नेहरू अहिले स्थानीय सरकारमा निर्वाचित भएका छन् । यो मौकालाई गाउँबाट बाहिरिएका बौद्धिक वर्गले ‘क्यास’ गर्न सक्नुपर्छ । जसरी एनजीओहरू संविधान निर्माणको नाममा गाउँ–गाउँ पसेका थिए, त्यसैगरी अब राजनीतिक दल, नागरिक समाज गाउँको पुनर्जागरणको लागि गाउँ पस्नुपर्ने बेला आएको छ ।

जुन गाउँले बौद्धिक वर्गलाई हुर्कायो, तिनै गाउँ अहिले उनीहरूको लागि विरानो भएको छ । एक–दुई जनाको सामान्य गल्तीले उब्जिएको जातीय विवादले सिंगो जातिका मानिसहरूलाई प्रभावित पारेकोले अहिले विराटनगर, काठमाडौं, हेटौंडाका पार्कहरूमा, बजारका गल्लीहरूमा गाउँघरबाट विस्थापित भएर आएका मानिस भेटिन्छन् । उनीहरू अहिले पनि त्रसित छन् । जीवन जिउने शैलीमा परिवर्तन गर्न बाध्य छन् । सबैलाई आफ्नो बौद्धिक क्षमताको केही अंश गाउँको विकासमा लगाउने चाहना छ । कोही चाहन्छन्– पुन: गाउँमा फर्किएर शिक्षाको विकासमा योगदान दिऊँ, कोही चाहन्छन्– गाउँमा आएर कृषि, फलफूल, पशुको व्यवसाय गरेर स्वतन्त्र जीवन जिऊँ ।

राज्यले बौद्धिक वर्गको लागि गाउँमा अवसर सिर्जना गर्नसकेको छैन । गाउँका मानिस सहर नपसी पेट पाल्न नसक्ने भएका छन् । सबै सहरको फेसन, सुखसयल र मोजमस्तीमा मग्न छन् । राज्यको उपस्थिति पनि सहर केन्द्रित छ । राज्य सहर केन्द्रित हुनुभन्दा सबै गाउँलाई सहर बनाउने अभियानमा अग्रसर हुनुपर्छ । सहर हुनका लागि चाहिने गुणहरूमा यातायात, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गाउँमा नै भए कोही सहर जाँदैनन् । अमेरिका, बेलायतका गाउँहरूमा यस्ता सुविधाहरू छन्, जसले गर्दा गाउँ पनि सहरको दाँजोमा रमणीय छ । गाउँ अहिले उसको स्वच्छ वातावरण, हावापानी, ममत्व र मेलमिलापमा चुर्लुम्म डुब्न चाहनेहरूको खोजीमा छ । कोही हुनुहुन्छ, त्यस्तो चाहने ? हुनुहुन्छ भने गाउँको पुनर्जागरणको लागि गाउँ–गाउँ पस्नुहोस् । एउटा विचार, एउटा योजना, एउटा सहयोगी भावना लिएर गाउँ पस्नुस् । सबै गाउँ मेरो पुरानो मानिस आयो भनी खुसी हुनेछ ।

[email protected]

प्रकाशित : पुस ११, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?