कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लागूपदार्थ सेवन : युवाको दुस्मन

डा. अजय रिसाल

काठमाडौँ — लागूपदार्थ दुर्व्यसनरूपी रोगले सबैभन्दा बढी प्रभाव पार्ने युवालाई नै हो । नेपालमै एक दशक अगाडि गरिएको एउटा सर्भेक्षणले लागूपदार्थको सेवनको सुरुवात गर्ने औसत उमेर २३.८ वर्ष भनी देखाइएको छ ।

लागूपदार्थ सेवन : युवाको दुस्मन

युवा नै यसको पहिलो निसाना बन्ने अन्य मुलुकमा गरिएका अध्ययनहरूले पनि देखाएका छन् । मुख्यतया माध्यमिक तहमा पढ्ने विद्यार्थी, निजी कलेजमा पढ्ने धनी परिवारका छोराछोरी अनि होस्टल, अनाथालय आदिमा अभिभावकको प्रत्यक्ष नियन्त्रणबाट बर्जित, धेरै टाढा रहेका किशोर यसबाट बढी प्रभावित रहेको भेटिएका छन् । ‘लागूपदार्थ दुर्व्यसन’लाई हेर्ने दृष्टिकोण हाम्रो चिकित्सा विज्ञान र समाजको भिन्नाभिन्नै पाइन्छ । समाजले यसलाई नैतिकता वा धार्मिक आँखाले मात्र हेर्छ । अनि दुर्व्यसनीलाई नैतिक रूपमै पतित, अधार्मिक, विद्रोही, व्यावहारिक रूपले कमजोर भनी व्याख्या गर्छ । तिनलाई समाज/परिवारबाटै बहिष्कृत/तिरष्कृत गरेर अझ लागूपदार्थकै अन्धकारमा धकेलिदिन्छन् । जहाँबाट ती माथि उठ्न सक्दैनन्, बरु ‘डिप्रेसन’ वा ‘साइकोसिस’ जस्ता मानसिक रोगको सिकार बन्न पुग्छन् ।

मनोचिकित्सा विज्ञानमा यो लागूपदार्थ दुव्र्यसन (सब्स्ट्यान्स युज डिस्अर्डर) लाई एउटा रोगको रूपमै परिभाषित गरिन्छ । लागूपदार्थको निरन्तर प्रयोग, यसले गर्दा सामाजिक अनि व्यावहारिक रूपमा ल्याउने समस्या अनि यसको कुलतमै फस्नु, यसको प्रयोगलाई त्याग्नु र पुन: प्रयोग गर्न थाल्नु आदि सब अवयव यस रोगकै अनेक आयाम हुन् । यसको समाधान र उपचारका लागि पनि चिकित्साजन्य प्रविधिमा आधारित रही वैज्ञानिक प्रविधि प्रयोग गरिन्छ ।

हरेक मानसिक रोगीलाई झैं यसलाई पनि जैविक, मनोवैज्ञानिक र सामाजिक कोणबाटै व्याख्या गर्न सकिन्छ । यसका कारणमा अनुवांशिकता प्रमुख हुनसक्ने बलियो आधार छ । त्यस्तै जैविक रसायन/हर्मोनको मस्तिष्कका अवयवमा पार्ने प्रभावका कारण दुर्व्यसनीमा यसको प्रयोग कमी ल्याउन नसक्ने बरु ‘यसको परिमाण अझैं बढाउँदै लाने’ अनि ‘चाहना अझै बढ्दै जाने’ आदि गुण विकसित हुनगएको प्रमाणित भएका छन् । बाल्य अवस्थामा रहने परिवारको प्रभाव, आमाबुबाको देखासिकी, अभिभावकको उचित हेरचाह/निर्देशन आदिको अभावले गर्दा बाल मस्तिष्कमा पर्ने मनोवैज्ञानिक प्रभावले लागूपदार्थको प्रयोगको बानी बसाएको हुनसक्छ । यस्तै परिवार, स्कुलमा हुने साथीसंगी/सरसंगत, सञ्चार माध्यम आदिले पनि प्रभाव पारेको हुन्छ । किशोर अवस्थामा हुने अरूभन्दा फरक बन्ने चाहना, साथीमाझ लोकप्रिय हुने उत्कण्ठा अनि आफ्नो समूहमा देखाउनुपर्ने ऐक्यबद्धता, साथीको प्रभाव अनि आफ्नो संस्कृति वा रीतिरिवाज आदिले पनि यसमा लगाएको देखिन्छ ।

मानवीय सभ्यताको सुरुवातदेखि नै विभिन्न प्रकारका लागूजन्य पदार्थ मानवीय अनि सामाजिक/सांस्कृतिक अंगका रूपमा रहेको पाइन्छ । चुरोट, रक्सी, पान, सुपारी आदिले भोजभतेर, खुसियाली बाँड्ने विभिन्न पार्टीमा उच्च स्थान पाएको देखिन्छ । यी सब कारणले नै बढ्दो उमेरमै युवालाई यी पदार्थप्रति आकर्षण बढेको छ । त्यसमाथि यसका दीर्घकालीन हानिप्रति आँखा चिम्लिएर र यसका क्षणिक/अल्पकालीन फाइदालाई बढाइ–चढाइ गरी गरिने विज्ञापन र प्रचारले युवा मस्तिष्कलाई प्रभावित गरेको छ ।

दुर्व्यसनका स्वास्थ्यमा दीर्घकालीन असर (जस्तै– कलेजोमा असर (सिरोसिस), अल्सर/रक्त वान्ता, फोक्सोको क्यान्सर, मुटुमा असर, दिमागी असर आदि) हुन्छन् । मनोवैज्ञानिक प्रभावमा यसले मनोवैज्ञानिक ह्रास ल्याउँछ । यसकै प्रभावमा परेर उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ । अध्ययनहरूले लागूपदार्थ दुव्र्यसनमा परेका व्यक्तिहरू औसतभन्दा कम बाँच्ने, बाँचे पनि बेरोजगार/असामाजिक रूपमा रहने, तिनको परिवारमा पनि यस्ता समस्याको पुनरावृत्ति हुनसक्ने र ती सब अनुत्पादक, देश अनि समाजका लागि अनुपयोगी जत्थाका रूपमा रहने देखाएका छन् ।

जैविक रसायन, औषधीहरू दुर्व्यसनलाई पूर्णरूपमा त्याग गर्ने चाहना लिएका व्यक्तिमा प्रयोग गर्न सकिन्छ । पहिले त्यसलाई छोड्दा हुनगएको व्यावहारिक र मानसिक कठिनाइलाई निस्तेज गर्ने औषधी प्रयोग गरिन्छ र पछिबाट लागूपदार्थविहीन राखिराख्न अन्य उपचार गरिन्छ । अवस्था हेरी भर्ना गर्नुपर्ने, नपर्ने विचार गरिन्छ । उसमा रहेका असर, शारीरिक/मानसिक रोगहरूको पनि उपचारको आवश्यकता पर्न सक्छ । त्यस्तै थुप्रै मनोवैज्ञानिक उपचारविधि छन्, जुन औषधी सँगसँगै गर्नुपर्छ । ती मध्ये लागूपदार्थ त्याग गरिसकेका व्यक्तिमाझ हालका दुव्र्यसनीलाई ल्याएर गरिने समूहगत उपचार (जस्तै– एल्कोजल एनोनिमस) बढी नै प्रभावकारी रहेको अध्ययनहरूले देखाएका छन् । यस उपचारमा रोगीहरूमा लुप्त अवस्थामा रहेको आध्यात्मिक चेतनालाई उजागर गरिन्छ । दुर्व्यसनीहरूलाई सामाजिक बहिष्कार गरी तिनको मनोबल गिराउनुभन्दा तिनलाई समाजमा नै स्थान दिई तिनको पुनर्जागरणमा सहायक हुनसके समाज र राष्ट्रले आफ्नो कर्तव्य पालन गरेको ठहर्छ ।

रिसाल धुलिखेल अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : पुस १३, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?