१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मानिसको नजिकको नातेदार

मानिससँग बाँदरको भन्दा चिम्पाञ्जीको आनुवंशिक संरचना बढी मिल्छ । मानिस र चिम्पाञ्जीको करिब ९८ प्रतिशत डीएनए उस्ता–उस्तै छन् ।
कमल मादेन

काठमाडौँ — पहिले मानिस बाँदरबाट क्रमविकास भएको हो भन्ने गरिन्थ्यो । हिजोआज कुनै प्राणी अरु प्राणीसँग कति मिल्दोजुल्दो छ भन्ने कुरा आनुवंशिक संरचनाका आधारमा गरिन्छ । मानिससँग बाँदरको भन्दा चिम्पाञ्जीको आनुवंशिक संरचना अर्थात डीएनए बढी मिल्छ ।

मानिसको नजिकको नातेदार

मानिस र चिम्पाञ्जीको करिब ९८ प्रतिशत डीएनए उस्ता–उस्तै छन् । यसैले मानिसको सबैभन्दा नजिकको नातेदार चिम्पाञ्जी मानिन्छ । तर आनुवंशिक संरचना विश्लेषणकै आधारमा ती दुई करिब ५० लाख वर्ष पहिले छुट्टिएको बताइन्छ । चिम्पाञ्जी हिजोआज क्यामरुन, कंगो, नाइजेरिया, तान्जानिया लगायत २२ अफ्रिकी देशका जंगलमा पाइन्छन् । पहिले चिम्पाञ्जीलाई एकै प्रजाति ‘पान ट्रोग्लोडाइट्स’ मानिएको थियो । तर सन् १९२८ यता यसैको एक छुट्टै प्रजाति ‘पान पेनिस्कस’ पनि पत्ता लागेको छ । त्यसलाई बोनोबो वा सानो चिम्पाञ्जी भन्ने गरिन्छ । उक्त प्रजाति हिजोआज मध्यअफ्रिकी देश कंगोमा मात्र बँचेका छन् । प्राप्त तथ्यांकहरू अनुसार पूर्व मानवबाट चिम्पाञ्जी छुट्टिएयता पनि अन्य थुप्रै पूर्वमानव प्रजाति क्रम विकास भई लोप भए । यस लेखमा तिनै पूर्वमानव प्रजातिका शृङखला तथा मानव उत्पत्ति सम्बन्धी नयाँ तथ्यांक प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

ओष्ट्रलोपिथेकस समूह

जापानी मानवशास्त्री युटाका कुनिमट्सु र अरुहरूको लेख ‘प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्स अफ द युनाइटेड स्टेट अफ अमेरिका’ जर्नलको नोभेम्बर २००७ संस्करणमा छापियो । उक्त लेख केन्यास्थित नाकालीमा भेटिएको १ करोड वर्ष पुरानो पूर्वमानव अवशेषमा केन्द्रित छ । त्यो अवशेषलाई पूर्व मानवको एक प्रजाति ठहर गरिएको छ । त्यो प्रजातिलाई ‘नाक्लिपिथेकस नाकायामै’ नामकरण गरिएको छ । उनीहरूका लेखमा उल्लेख भएअनुसार गोरिल्ला, चिम्पाञ्जी र मानवका पूर्वज त्यही अवशेष समूहबाट विकास भएको हुनुपर्छ । आनुवंशिक अध्ययन अनुसार गोरिल्ला पूर्व मानवबाट करिब ७० लाख वर्ष पहिले छुट्टिएको हो । आर्केलोजिकल मानवशास्त्रीहरूका अनुसार ‘नाक्लिपिथेकस नाकायामै’बाटै चिम्पाञ्जी छुट्टिएपछि विकास क्रममा एक अर्को पूर्वमानव ‘ओष्ट्रलोपिथेकस’ समूह उत्पत्ति भएको थियो । हार्वर्ड विश्वविद्यालयका ब्राइन प्याटर्सन नेतृत्वको एक अनुसन्धान टोलीले ओष्ट्रलोपिथेकस’ समूह अन्तर्गत एक प्रजातिको अवशेष सन् १९६५ मा केन्यामा फेला पारे । उक्त पूर्वमानव प्रजातिलाई प्याटर्सन र अरुहरूले ‘ओष्ट्रलोपिथेकस अनामिसेस’ भनेका छन् । अहिलेसम्म पाइएका अन्य अवशेषमध्ये त्यो नै दुई खुट्टाले कुप्रो परेर हिँड्ने पहिलो प्राणी मानिएको छ । खुट्टाले हिँड्ने भए पनि हात लामो भएकाले चिम्पाञ्जीजस्तै सजिलै रुख चढ्न सक्थ्यो भन्ने अनुमान गरिएको छ । हालसम्म त्यसका करिब ९ सयजति अवशेष भेटिएको छ । अवशेष विश्लेषण अनुसार उक्त प्राणी ४२ देखि ३९ लाख वर्ष पहिलेसम्म अस्तित्वमा थिए ।


सन् १९७३ र १९७४ मा मेरी लिक्की र डोनाल्ड जोहन्सन टोलीको छुट्टाछुट्टै अनुसन्धानले इथियोपिया र तान्जानियाबाट त्यसबेला सम्मको नयाँ पूर्वमानव अवशेषहरू फेला पारेका थिए । फेला परेका स्थान करिब १५ सय किलोमिटर फरक थियो । तर ती अवशेष उस्तै र कार्बन डेटिङले करिब एकै समयमा अस्तित्वमा थिए भन्ने पुष्टि गरेको थियो । अनुसन्धानकर्ता टोलीले ती दुवै ठाउँका अवशेषहरूलाई एकै प्रजाति ‘ओष्ट्रलोपिथेकस अफरेन्सिस’ नाम जुराए । हिजोआज उक्त प्रजातिका सयौं अवशेष फेला परिसकेको छ । उक्त पूर्व मानवलाई ‘ओष्ट्रलोपिथेकस अनामिसेस’बाट विकास भएको बताइन्छ । तिनको पुरुष र महिलाको उचाइ तथा तौल क्रमश: ४ फिट ११ इन्च, ४२ केजी र ३ फिट ५ इन्च र २९ केजीसम्म हुने अनुमान गरिएको छ । पूर्व मानवमध्ये अहिलेसम्म त्यही प्रजाति सबैभन्दा बढी समय अस्तित्वमा रहेको मानिन्छ । तिनीहरू ३८ लाख ८५ हजार वर्षदेखि २९ लाख ५० हजार वर्ष अघिसम्म अर्थात् करिब ९ लाख वर्षसम्म अस्तित्वमा रहेका थिए ।


‘अष्टलोपिथेकस अफरेन्सिस’ अस्तित्वमा रहेकै बेला एक अर्को प्राणी ‘ओष्ट्रलोपिथेकस डेयिरेमेडा’ पनि अस्तित्वमा थियो । उक्त प्राणीको अवशेष पहिलोपटक मार्च ४, २०११ मा फेला परेको हो । त्यसको अवशेष अहिलेसम्म इथियोपियामा मात्रै पाइएको छ । अवशेष अनुसार उक्त प्रजाति ३५ देखि ३३ लाख वर्ष अघिसम्म अस्तित्वमा थिए । यसैगरी प्रा. रेमन्ड डार्टले सन् १९२५ मा फेला पारेको एक अर्को पूर्वमानव प्रजाति ‘ओष्ट्रलोपिथेकस अफ्रिकानस’ हो । उक्त प्रजाति दक्षिण अफ्रिकामा ३३ देखि २१ लाख वर्षसम्म अस्तित्वमा थिए । त्यो प्रजातिको सुरुमा ३ वर्ष उमेरको अवशेष फेला परेको थियो । त्यो अवशेषलाई ट्वाङ चाइल्डको नामले चिनिन्छ ।


दक्षिण अफ्रिकाको जोहन्सवर्गस्थित मालापा ओढारभित्र सन २००८ मा थुप्रै अवशेषहरू पाइयो । ती १९ लाख ८० हजार वर्षदेखि १९ लाख ७७ हजार वर्ष अघिका अवशेष हुन् । ती अवशेषका आधारमा त्यहाँ पाइएको पूर्व मानवलाई ‘ओष्ट्रलोपिथेकस सेडिबा’ नामकरण गरिएको छ । यसैगरी १९९६ मा भेटिएको र नोभेम्बर १९९७ मा नामकरण गरिएको अर्को पूर्वमावन प्रजाति ‘ओष्ट्रलोपिथेकस गर्ही’ हो । यो प्रजाति २५ लाख वर्ष पहिलेसम्म अस्तित्वमा थियो । यो प्राणीलाई दाँतको संरचना आधारमा २० देखि १५ लाख वर्ष पहिले पाइने एक पूर्वमानव ‘होमो ह्याबिली’को पूर्वज मानिएको छ ।

होमो समूह

‘ओष्ट्रलोपिथेकस’पछि अहिलेको मानवसँग बढी मिल्दोजुल्दो अर्को एक जाति करिब २५ लाख वर्ष पहिले उत्पत्ति भयो । त्यो समूहलाई ‘होमो’ जाति/समूह अर्थात जिनस ‘होमो’ नामकरण गरिएको छ । यो जातिबाट क्रमविकास भएका अहिलेको मानव अर्थात ‘होमो सेपियन्स’ बाहेक अन्य सबै प्रजाति लाखौं–लाख वर्षअघि नै लोप भए । प्राप्त अवशेषका आधारमा यो समूहको सबैभन्दा पहिले क्रमविकास भएको प्राणी ‘होमो ह्याबलस’ हो ।

तान्जानियामा सर्वप्रथम १९६० मा ‘होमो ह्याबलस’को अवशेष फेला परेको थियो । ती अवशेषका आधारमा ‘होमो ह्याबलस’ २० देखि १५ लाख वर्ष पहिले अस्तित्वमा थिए । यद्यपि उक्त अवशेषीय प्राणी अहिलेको मानवसँग थोरैमात्र मिल्छ । यसैले त्यसलाई जिनस ‘होमो’मा समूहकृत गर्न मिल्छ कि मिल्दैन भन्ने सन्दर्भ अझै विवादमै छ । यसको उचाइ कम तर हातखुट्टा लामा थिए ।


‘होमो ह्याबलस’ अस्तित्वमा रहेकै बेला पूर्वी तथा दक्षिण अफ्रिकामा एक अर्को पूर्व मानव ‘होमो अर्गास्टर’ अस्तित्वमा थियो । ‘होमो अर्गास्टर’ १९ देखि १४ लाख वर्ष अघिसम्म अस्तित्वमा थिए । त्यो प्राणी ‘होमो इरेक्टस’जस्तो ठाडो भएर हिँडडुल गर्थे । त्यो प्रजातिलाई ‘होमो इरेक्टस’भन्दा थोरैमात्र भिन्न प्रजाति हो भन्ने बुझाइ वैज्ञानिकमाझ छ । त्यसैले त्यसलाई ‘होमो इरेक्टस’कै एक भेराइटी भनिन्छ । केही वैज्ञानिकको बुझाइमा ‘होमो अर्गास्टर’बाट ‘होमो इरेक्टस’ उत्पत्ति भएका हो । तर ‘होमो इरेक्टस’ मात्रै अफ्रिकाबाट पुरै युरोप र एसियामा पुग्न सफल भए । तिनीहरू एसियामा भारत, श्रीलंका, चीन तथा इन्डोनेसियासम्म आइपुगे । यो प्राणी १९ देखि १ लाख ४३ हजार वर्ष अघिसम्म अस्तित्वमा थिए ।


‘होमो इरेक्टस’सँग मिल्दोजुल्दो एक अर्को पूर्वमानव ‘होमो हाइडल्बर्गेन्सिस’ हो । यो प्रजाति अफ्रिका, युरोप र पश्चिम एसियामा ६ देखि २ लाख वर्ष अघिसम्म थिए । यो प्रजातिको दिमागी खोपडीको साइज अहिलेको मानव ‘होमो सेपियन्स’जत्रै थियो । युरोप र एसियामा सबभन्दा पछिल्लो कालखण्डमा पाइने मानवको अर्को प्रजाति ‘होमो नियन्डर्थल’ हो । यो प्रजाति डेढ लाखदेखि करिब ३५–४० हजार वर्ष पहिलेसम्म अस्तित्वमा थिए भन्ने अवशेषबाट पुष्टि भएको छ । एक दशकयता ‘होमो सेपियन्स’ करिब १ लाख ९५ हजार वर्षअघि उत्पत्ति भएको मान्यता थियो । तर विश्व प्रसिद्ध जर्नल ‘नेचर’ ८ जून, २०१७ संस्करणमा छापिएको एक समाचारले उक्त प्रजाति १ लाख ९५ हजार वर्षअघि उत्पत्ति भएको थियो भन्ने तथ्य खण्डन गरेको छ । ‘ओल्डेस्ट होमो सेपियन्स फोसिल क्लाइम रि–राइट आवर स्पेसिस हिस्टोरी’ शीर्षक समाचार अनुसार मानवको उत्पत्ति ३ लाख वर्ष पहिले नै भएको बताइएको छ । लेख अनुसार मोरक्कोमा ‘होमो सेपिन्यस’को एक अवशेष ३ लाख १५ हजार अघिको फेला परेको छ । पछिल्लो अवशेष अध्येयता जिन–ज्याकिज हब्लिन र अरुहरूका अनुसार करिब ४ लाख वर्ष पहिले नै अहिलेको मानव उत्पत्ति भएको हुनुपर्छ ।

प्रकाशित : पुस १५, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?