१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जूनको कठघरा

सिउँडी
ठानाको इन्सपेक्टर कविको अर्काे महिनामा प्रकाशित हुने फुटकर कविताका संकलन ‘जूनको कठघरा’को विमोचन समारोहमा गएर हामीले राम्रो बोल्नु पर्नेछ ।
विमल निभा

काठमाडौँ — एक समालोचक मित्रलाई पुलिसले पक्रेको थियो । उनी ठानामा बन्द थिए । कुन्नि, यसको 
कारण के थियो, साहित्यिक अथवा असाहित्यिक † अब जेसुकै भए पनि एकै गुटको भएकाले उनलाई छुटाउन हामी केही कवि, कथाकार, निबन्धकार र उपन्यासकार ठानामा पुगेका थियौं । 

जूनको कठघरा

‘के काम छ ?’ हामीलाई गेटमै रोकियो ।

‘इन्सपेक्टर साबलाई भेट्नुछ ।’ मैले (अर्थात् कवि) भनेँ।

‘त्यही त, के काम छ ?’ हामीलाई रोक्ने पालेले दोहोर्‍यायो ।

‘हाम्रो समालोचक साथीलाई छुटाउनु छ ।’

‘के समालोचक ?’

‘साहित्यकारलाई छुटाउनु छ ।’ उपन्यासकारले स्पष्ट पार्न खोज्यो ।

‘ए साहित्यकार... ।’ उसले मुस्कुराएर भन्यो, ‘उसो भए भित्र जानोस् ।’

हामी भित्र पुगेर झन् अलमलियौं । केही बेरपछि एक जुंगे पुलिसले आएर उही प्रश्न गर्‍यो, ‘के काम छ ?’

‘इन्सपेक्टर साबलाई भेट्नु छ ।’ हामीसँग रेडिमेड जवाफ थियो ।

‘इन्सपेक्टर साब बिजी हुनुहुन्छ ।’

‘उहाँलाई भेट्नु थियो ।’ मैले फेरि उसरी नै भनेँ।

‘तर के काम छ ?’ उसको स्वर चर्काे भयो ।

‘हाम्रो समालोचक साथीलाई छुटाउनु थियो ।’ कथाकारले विस्तारै भन्यो, ‘इन्सपेक्टर साबलाई भेट्न पाए हुन्थ्यो ।’

‘के समालोचक ?’ फेरि उस्तै पाराको प्रश्न आएकोले मैले झट्ट भनँें, ‘साहित्यिक समालोचक ।’

‘तपाईहरू साहित्यकार ।’ जुंगे पुलिस जुंगामा मुस्कुरायो, ‘त्यो दाहिनेतिरको कोठामा जानोस् ।’

हामी कोठामा पस्यौं । त्यहाँ घुम्ने मेचमा एक खल्वाट व्यक्ति बसेको थियो ।

(इन्सपेक्टर नै हुनुपर्छ) । उतातिर अनुहार भएकोले केही पनि ठम्याउनु गाह्रो थियो । यसै बखत निबन्धकारले बुद्धि पुर्‍याएर भन्यो, ‘जय नेपाल इन्सपेक्टर साब ।’

‘जय नेपाल ।’ घुम्ने मेच यतातिर फर्कियो, ‘के काम छ ?’

‘हाम्रो साथीलाई छुटाउनु छ, इन्सपेक्टर साब ।’

‘को साथी ?’ टेबुलमाथिको टोपी टिपेर हामीलाई आँखा तरेर हेरे उनले । (र टोपी लगाए) ।

‘समालोचकज्यूलाई छाडिदिनुपर्‍यो, इन्सपेक्टर साब ।’ यस पटक हामीले एक भएर भन्यौं ।

‘को समालोचक ?’

‘वरिष्ठ समालोचक इन्सपेक्टर साब ।’ उपन्यासकारले भन्यो ।

‘त्यही त, को वरिष्ठ समालोचक ?’ उनी झडङ्गिए ।

हामीले ‘नेपाली साहित्यका एक सुप्रसिद्ध समालोचक’ भनी पुरै खुलाएर समालोचक मित्रको विस्तृत परिचय दिइसकेपछि इन्सपेक्टरले केही भन्न खोजे, तर तुरुन्तै चुप लागे । ‘के गरे उनले इन्सपेक्टर साब ?’ मैले विस्तारै सोधेंँ । ‘यो तपाई आफ्नै साथीसँग सोध्नोस् ।’ इन्सपेक्टरले चर्काे आवाजमा कसैलाई बोलाए । र सँगैको उपकोठाबाट निस्केको पुलिसलाई अर्‍हाए, ‘हिजोको कैदीलाई लिएर आऊ ।’

‘तपाईहरू सबै साहित्यकार ।’ एकछिनपछि उनले हामीतिर मुस्कुराएर हेरे ।

हामी पनि स्वीकृतिमा मौन रहेर (मेरो टाउको भने थोरै ध्वनिसहित हल्लेको थियो क्यारे) ठानाको इन्सपेक्टरलाई हेर्न थाल्यौं ।

‘म पनि कविता लेख्छु ।’ इन्सपेक्टरको मुस्कान बाक्लो ओँठमा फैलियो ।

यो अप्रत्यासित खुलासाले हामीमा खुसीको लहर उठ्यो । र हामीलाई यहाँ यति सजिलोसित किन आउन दिइएको हो भन्ने पनि थाहा भयो । अब भने हाम्रो समालोचक मित्र कैदबाट छुट्नेछ भन्ने आशा पलाएको थियो । र हामी खुसीको आँखाले कवि इन्सपेक्टरलाई हेरिरहेका थियौं ।

‘म कविता मात्रै लेख्ने भए पनि हिजो राति तपाईहरूका समालोचक साथीको राम्रो समालोचना गरिदिए ।’ इन्सपेक्टरको मुस्कान हलुका हाँसोमा बदलियो, ‘हें, हें, हें....।’

‘के भन्नुभएको इन्सपेक्टर साब ?’ हामी एकमुष्ट रूपमा झस्किएका थियौं ।

‘समालोचककै बेसरी समालोचना गरिदिएँ ।’ उनी हाँस्दा–हाँस्दै रोकिए, ‘समालोचक भएर यस्तो काम

गर्नुहुन्छ त ?’

‘के गरे उनले इन्सपेक्टर साब ?’ कथाकारले केही डराएर प्रश्न गर्‍यो ।

हाम्रो समालोचक मित्र कोठामा आइपुगेका थिए । (अघिको अर्दली टाइप पुलिसद्वारा डोर्‍याएर) । उनीतिर तिखो आँखाले हेरेर इन्सपेक्टरले फेरि हाँसोको आवाजमा भने, ‘भन्नोस् समालोचकज्यू, तपाईले के गर्नुभयो ?’

यसको जवाफमा हाम्रो समालोचक मित्र टाउको निहुराएर उभिइरहे ।

पोहोर शृंगारिक कविहरूलाई पठाउने सिलसिलामा वरिष्ठ प्राध्यापक भइसकेका समालोचक मित्रले अलि खुलेरै (खासगरी तरुणी छात्राहरूलाई) पढाएकाले झन्डै क्याम्पसबाट निकालिएका थिए । आखिरीमा एउटा तगडा चेतावनी पाएर जागिरको थमौती भएको थियो । कतै यसपटक पनि यस्तै कुनै फ्रायडवादी (हुन् तर एक पक्का माक्र्सवादी हुन्) आचरण त गरेनन् समालोचक मित्रले ? म पुरानो कुरा सम्झेर चुप थिएँ ।

‘भन्नोस्, भन्नोस् समालोचकज्यू ।’ इन्सपेक्टरले चर्काे बोलीमा भने, ‘आफ्नो साथीहरूसँग केको लाज मान्नुहुन्छ ?’

‘के गर्नुभयो तपाईले समालोचकज्यू ?’ उपन्यासकारले टाउको घुमाएर समालोचकलाई हेर्‍यो ।

‘तपाई किन केही बोल्नुहुन्न समालोचकज्यू ?’ इन्सपेक्टरको हाँसो कोठाभरि फैलियो, ‘हो, हो, हो...।’

(यसपछिको कुरो के हो भने हामीले ससर्त समालोचक मित्रलाई ठानाबाट छुटाउनमा सफलता पायौं । पहिलो सर्त के भने ठानाको इन्सपेक्टर कविको अर्काे महिनामा प्रकाशित हुने फुटकर कविताका संकलन ‘जूनको कठघरा’को विमोचन समारोहमा गएर हामीले राम्रो बोल्नु पर्नेछ । र त्यसपछि समालोचक मित्रले त्यो कविता–संग्रहको विभिन्न पत्रपत्रिकामा व्यापक समालोचना गरिदिनु पर्नेछ । यसरी हामीले दुवै सर्तलाई सहर्ष मानेर हाम्रो साहित्यिक गुटका नेता अर्थात् नेपाली साहित्यका वरिष्ठ समालोचकज्यूलाई ठानाबाट छुटायौं ।

प्रकाशित : पुस १५, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?