राष्ट्रिय एकता र मेलमिलाप

कतिपयलाई बीपीको राष्ट्रिय मेलमिलापको नीति ४० वर्ष पुरानो भइसक्यो भन्ने लाग्ला, यसको सान्दर्भिकता अझै पनि छ ।
रामचन्द्र पोखरेल

काठमाडौँ — भारत निर्वासन अन्त्य गरी शाही नेपाल वायु सेवा निगमको ७३७ जेटद्वारा पटनाबाट स्वदेश प्रवेश गर्दा बीपी कोइरालालाई काठमाडौं विमानस्थलमै गिरफ्तार गरियो । २०३३ पौष १६ गते दक्षिण एसियाको राजनीतिमा गम्भीर चासो र चिन्ताको दिन बनेको थियो ।

राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश प्रवेश गरे पनि उहाँविरुद्ध फाँसीसम्म हुन सक्ने सात–सात वटा मुद्दा थिए । जब उहाँलाई पुन: सुन्दरीजल सैनिक जेल लगियो, उहाँप्रतिको चिन्ता अझ बढेर गयो । आखिर बीपीले त्यस्तो आत्मघाती निर्णय एवं जोखिमपूर्ण कदम उठाउनुका पछाडि के कारण थियो ? तत्कालीन राजनीतिको यो पक्षले मुलुकको राष्ट्रियताको सन्दर्भमा ठूलो महत्त्व राख्छ ।

Yamaha

२०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी गिरफतार गरेपछि आठ वर्षसम्म सुन्दरीजल सैनिक जेलमै बन्द गरिएको थियो । विश्वव्यापी दबाब र १५ मे १९६८ मा सुवर्णशमशेर राणाको वक्तव्यपश्चात् उहाँ रिहा हुनुभएको थियो । तर राजा महेन्द्र प्रजातान्त्रिक अधिकार दिने पक्षमा नभएको स्पष्ट हुन थालेपछि बीपी बाहिर बसेरै राजनीतिक दबाब सिर्जना गर्ने निष्कर्षमा पुग्नुभएको थियो । यसरी उहाँको आठ वर्ष लामो भारत निर्वासन पुन: प्रारम्भ भएको थियो । प्रारम्भमा उहाँ सशस्त्र संघर्षको बाटो लिनुभन्दा शान्तिपूर्ण उपायको खोजीमा भरमग्दुर लाग्नुभयो । अन्त्यमा सशस्त्र क्रान्तिका पक्षमा आवाज उठाउन थाल्नुभयो । त्यसपटक बीपीले आफ्नो गतिविधिको सम्पर्क केन्द्र भारतको वाराणसीलाई बनाउनुभएको थियो ।

त्यसैबीच बीपीको स्वास्थ्य बिग्रन थाल्यो । उहाँलाई क्यान्सर भएकाले चिकित्सकहरूले युरोप वा अमेरिकाजस्तो साधनसम्पन्न मुलुकतिर गई उपचार गराउन सल्लाह दिए । उहाँले राजासँग पासपोर्टका लागि अनुरोध गर्दा नपाएपछि भारत सरकारले दिएको परिचयपत्र (ट्राभल डकुमेन्ट) का आधारमा लन्डन पुग्नुभयो । त्यतिखेर उहाँको स्वास्थ्योपचारका लागि सोसलिस्ट इन्टरनेसनलले व्यवस्था मिलाइदिएको थियो । १९७० सेप्टेम्बर १८ मा पत्रकारसँग कुरा गर्दै ‘..नेपालमा प्रजातन्त्र पुन:स्थापना गर्नका लागि हतियार उठाउनुपर्छ’ भनी प्रस्टसँग आफ्नो धारणा राख्नुभयो । उहाँले त्यसको ठीक एक वर्षपछि नेपालका तत्कालीन सैनिक अधिनायकवादी शासन व्यवस्थाविरुद्ध ‘सशस्त्र आन्दोलन’ गर्नुपर्ने आवश्यकताबारे जोड दिँदै क्रान्तिपछि आफ्नो पार्टीले सत्ता चलाउने अवसर पाएमा ‘संविधानसभा’ बोलाउने र प्रजातान्त्रिक आधारमा संविधान बनाउने आफ्नो संकल्प रहेको पनि प्रस्ट पार्नुभएको कुरा अत्यन्त महत्त्वपूर्ण छ ।

भारत निर्वासनमा रहँदा उहाँले भावी नेपाली राजनीतिका लागि सबभन्दा महत्त्वपूर्ण पक्ष प्रजातान्त्रिक आन्दोलनमा नयाँ तरुण पुस्ताको सहभागिता बढाउनु रहेको थियो । त्यतिखेर तरुण पत्रिकाको प्रकाशनले नवीन विचार प्रवाहसँगै युवा, विद्यार्थीहरूको एउटा ठूलो समूहलाई आकर्षित गर्न सफल भएको थियो । देशका कुनाकुनासम्म बीपीका विचारोत्तेजक लेख, अन्तर्वार्ता र अपिलहरूले वैचारिक दृष्टिले झन्डै राजनीतिशून्य अवस्थाबाट गुज्रन लागेको एउटा सशक्त एवं नवीन पुस्तालाई प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शको प्रभाव दिन सफल भएको कुरा नेपाली राजनीतिको एक महत्त्वपूर्ण उपलब्धि थियो । सयौं तरुणहरू स्व:स्फूर्त ढंगले रगतको सहीछाप गर्दै बीपीको आह्वानमा प्रजातान्त्रिक अधिकारका लागि लड्न तयार भएका प्रतिज्ञापत्रहरू तराई–मधेस मात्र नभई विकट पहाडी र हिमाली जिल्लासमेतबाट बनारस पुग्न थाले र सशस्त्र संघर्षका लागि तयारीहरू भए । ओखलढुंगा विद्रोह, हरिपुर काण्ड र विराटनगर विमान अपहरणजस्ता चर्चित घटना र देशभरि सशस्त्र आन्दोलनको भूमिगत तयारीले निर्दलीय अधिनायकवादी शासनलाई गम्भीर चुनौती खडा गर्‍यो । क्रान्तिकारीहरूले गरेको भूमिगत तयारीले देशका भित्री भागसम्म जनमानसमा क्रान्तिको बीजारोपण गर्‍यो । नवीन शक्ति र उत्साहका साथ भएका परीक्षणहरूले निर्णायक विद्रोहका लागि मार्गप्रशस्त गरेको अनुभव बीपीले गर्नुभयो । यहाँ एक महत्त्वपूर्ण कुरा के छ भने उहाँले सशस्त्र क्रान्ति र गृहयुद्धबारे ‘क्रान्ति एक अनिवार्यता’ लेखमा भन्नुभएको छ, ‘प्रजातन्त्रको संघर्ष सशस्त्र भए पनि गृहयुद्ध होइन, गृहयुद्ध वर्गसंघर्षमा हुन्छ ।’

समाजमा जब एक आर्थिक वर्गको विरुद्ध अर्काे आर्थिक वर्गले शस्त्र उठाउँछ, अनि त्यो संघर्षले गृहयुद्धको रूप लिन्छ भनी प्रस्ट पार्दै उहाँले अहिले हाम्रो प्रजातान्त्रिक संघर्ष केवल एउटा व्यक्ति राजा महेन्द्रको ...अप्रजातान्त्रिक नीति र आचरणविरुद्ध तमाम जनताको सम्मिलित संघर्ष हो भन्नुभएको कुरा अत्यन्तै मननीय छ ।

त्यतिखेरको दुई ध्रुवीय विश्व राजनीति शीतयुद्धको चपेटामा परेको थियो । बीपीको उक्त मेलमिलापको कदमप्रति सबभन्दा गम्भीर टिप्पणी उग्र कम्युनिस्टहरूले गरेका थिए । तिनीहरूले स्वदेश प्रवेशको यस कदमलाई कम्युनिस्टविरुद्धको गठबन्धनको एक ‘डिजाइन’का रूपमा चित्रण गर्दै विरोध गरेका थिए साथै निर्दलीय व्यवस्थाका कट्टर हिमायती भन्ने उग्र पञ्चहरू पनि बीपीलाई फाँसी दिनुपर्छ सम्म भनेर विरोधमा उत्रेका थिए । प्रारम्भमा त बीपीआफ्नो राजनीतिक उद्देश्यमा असफल भएर लाज जोगाउन देशभित्र पसेकाजस्ता निम्नस्तरका टिप्पणी गरे । उनीहरू भन्थे– विभिन्न काण्ड गरी सफल नभएपछि स्वदेश फर्कने चिन्ता लागेको भनी व्यंग्यात्मक टिप्पणी गर्ने गिरोह पछिसम्म सक्रिय थियो । जतिजति समय बित्दै गयो, धेरैले उहाँका चिन्तनले मुलुकको समस्याको जरो छुन पुगेको अनुभव गर्न थाले । आफ्नै पार्टी नेपाली कांग्रेसभित्र पनि उहाँले उठाएको यो जोखिमपूर्ण कदम आत्मघाती हुने हो कि भनी आशंका गरी विरोध गर्नेहरू थिए । कतिसम्म भने गणेशमानजीले पनि भारतमै बसी मृत्यु पर्खने वा नेपाल आई नाटकीय आत्महत्या स्विकार्ने– यी दुई विकल्पमध्ये हामीले दोस्रो बाटो लियौं भन्ने गर्नुहुन्थ्यो भनी बीपीले भोला चटर्जीसँगको अन्तरवार्तामा उल्लेख गर्नुभएको थियो । जे होस्, राष्ट्रिय मेलमिलाप सर्वप्रथम तिनै उग्र पञ्चहरू र उग्र कम्युनिस्टहरूका लागि जबरजस्त धक्का बनेको यथार्थ हो । उक्त नीतिले त्यतिखेरको सत्तापक्षको छोटो सोच र यसबाट मुलुकमा पर्न गइरहेको दूरगामी प्रभावबारे पनि जनमानसलाई सहज र सचेत गराउन थालेको कुरा राजा र पञ्चहरूको प्रतिक्रियाबाट स्पष्ट हुन्थ्यो ।

तिनताका हिमाली राष्ट्र नेपालउपर सोभियत संघको गहिरो रुचिलाई खासगरी नेपालको सामरिक अवस्थिति, कम्पुचिया (कम्बोडिया) र अफगानिस्तानसम्बन्धी उसका नीति र अझ महत्त्वपूर्ण कुरा मस्को र बेइजिङबीचको चर्को मतभेदका सन्दर्भमा हेर्दा सहजै बुझ्न सकिन्छ भन्ने बीपीको निष्कर्ष थियो । एकपटक राजासँगको कुराकानीमा उहाँले तीनवटा कुरामा जोड दिएको उल्लेख गर्दै भन्नुभएको थियो, ‘पहिलो कुरा, हामीले यहाँ सिक्किमको जस्तो स्थिति आउन दिनु हुन्न, दोस्रो जोड इरानजस्तो अवस्था आउन दिन हुन्न र तेस्रो अफगानिस्तानजस्तो हालत पनि आउन दिनु हुन्न ।’ तिनताका सत्ताको दृष्टिमा जनता पञ्च–अपञ्चमा विभक्त थिए भने कम्युनिस्टहरू केवल कम्युनिस्ट र गैरकम्युनिस्ट (अर्थात कांग्रेससमर्थक) को विभाजन रेखालाई राजनीतिक पहिचानको मापदण्ड सम्झन्थे । त्यस्ता सीमित, संकीर्ण सोच र एकोहोरो चिन्तनबाट बीपीको मेलमिलापले नेपाली राजनीतिलाई राष्ट्रियताको धरातलमा ल्याएर राख्ने दिशातिर अग्रसर गराएको थियो ।

त्यति मात्र नभई उहाँले तत्कालीन शीतयुद्धको गम्भीर अध्ययन गरिरहनुभएको थियो । उहाँको चिन्ता अन्तर्राष्ट्रिय शक्ति होडको राजनीतिक चक्र सर्दै यता दक्षिण एसियातिर आउँदै छ भन्नेमा थियो । छरछिमेकमा दृष्टिगोचर भइरहेका (सिक्किम, बंगलादेश र अफगानिस्तान) जस्ता घटनाबाट गम्भीर भएर त्यस्तो स्थिति हाम्रो मुलुकमा आउनुअगावै त्यसलाई रोक्ने र प्रतिरोध गर्न सक्ने राष्ट्रिय एकता र मेलमिलापको अपरिहार्यतातर्फ उहाँले जोड दिनुभएको थियो । सोभियत संघको पतन र प्रजातान्त्रिक परिवर्तनको विश्वव्यापी लहरले नेपाली राजनीतिमा जनमत संग्रह हुँदै सन् १९९० को दशकमा नेपालले हासिल गरेको बहुदलीय प्रजातन्त्रले नेपाली राष्ट्रियतालाई ठूलो भुमरीबाट एकपटक जोगायो भन्दा अत्युक्ति हुनेछैन तर यस भेकमा शक्तिशाली मानिएको नेपालको तानाशाही राजतन्त्र आफ्नै दरबारको चार दिवारभित्रै सखाप हुँदै गइरहेको हेक्का भने उनीहरूलाई नै हुन नसक्नुले नाजुक राजनीतिक अवस्थितिको नेपालजस्तो मुलुक आज पनि सजग र सतर्क बन्न जरुरी छ भन्ने आशयको सजगता बीपीले समयमै गराउनुभएको थियो ।

२०३३ पौष १६ गते आठ वर्ष लामो निर्वासन त्यागेर मेलमिलापको नीतिसहित स्वदेश प्रवेश गर्दा बीपीलेदेशवासीका नाममा एक ऐतिहासिक अपिल जारी गर्दै भन्नुभएको थियो, ‘प्रजातन्त्र (डेमोक्रेसी) प्रति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ ।’

कतिपयलाई बीपीको राष्ट्रिय मेलमिलापको नीति ४० वर्ष पुरानो भइसक्यो भन्ने लाग्ला, तापनि यसको सान्दर्भिकता आज पनि उत्तिकै ताजा रहेको छ । राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम नैतिक राजनीतिको नयाँ आयाम बीपीको जीवनपर्यन्तको यात्रा बन्न गयो । त्यही नैतिक राजनीतिको जगमा आजको नेपाली राजनीतिको लोकतन्त्र उभिएको छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । उहाँ अब यस लोकमा शरीर भौतिक उपस्थितिमा हुनु हुन्न तर उहाँका चिन्तनले अझै नेपाली राजनीतिको एक कालखण्डसम्म मार्गदर्शन गरिरहनेछ ।

प्रकाशित : पुस १६, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इतिहास : जनक्रान्तिका नौ दिन

रामचन्द्र पोखरेल

काठमाडौं — मुक्तिसेनाको सफल ‘एक्सन’ पश्चात् वीरगन्ज कब्जा हुनासाथ नेपाली कांग्रेसको क्रान्तिकारी ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) स्थापनाको खबर देशभित्र मात्र नभई शेष विश्वमा समेत पुग्यो ।

२००७ सालमा भएको उक्त क्रान्तिको सम्झना :
सन् १९५० नोभेम्बर १० र ११ को मध्यरात ‘शून्य समय’ मा मुक्तिसेनाले वीरगन्जमा आक्रमण गर्‍यो । थिरबम मल्लको कमान्डमा परिचालन भएको मुक्तिसेनाको प्रमुख दलले राति चार बजेसम्म बडाहाकिमलाई कैद गरी गारत र गोश्वारामा कब्जामा लियो । बिहान उज्यालो हुँदा सूर्योदयसम्म वीरगन्जका नागरिकहरूमा देखिएको उत्साह र उत्तेजनाले अराजकता नआओस् भनेर क्रान्तिकारी र आम नागरिकलाई आश्वस्त पार्न सम्बोधन गरिरहेका बखत राणा फौजको एक अधिकृतले थिरबम मल्ललाई रिभल्बरले गोली हानी भाग्यो । पेट र कञ्चटमा गोली लागी उनी ढले । उपचारका लागि तत्कालै रक्सौलस्थित डंकन हस्पिटलमा लैजाँदा त्यहीं उनको मृत्यु भयो । जनक्रान्तिको श्रीगणेश भएको दिन उनी नै त्यस क्रान्तिका प्रथम सहिद भए । यहीं दिन कात्तिक २६ गते ‘क्रान्ति दिवस’ भनेर स्मरण गरिन्छ । 

त्यो मध्यरात मल्लको कमान्डमा अगाडि बढेको मुक्तिसेना दुई दलमा विभक्त थियो । पहिलो दल थिरबम मल्लकै नेतृत्वमा बडाहाकिम निवास र गारतलाई निसाना बनाएर अगाडि बढ्यो । दोस्रो दलले मेजर पूर्ण सिंहको नेतृत्वमा ब्यारेकउपर आक्रमण गर्‍यो । तर दिनभरि घमासान युद्ध चलिरह्यो र त्यसै दिन बेलुका सात बजे मात्र ब्यारेक र जेलले आत्मसमर्पण गरे । त्यस घमासान दोहोरो गोली हानाहानमा मुक्तिसेना तेजबहादुर क्षेत्री पनि गोली लागी सदाका लागि ढले । कोही जवान घाइते भए । तर यही युद्धपछि वीरगन्ज पूर्ण नियन्त्रणमा आयो । त्यो दिन तिहार भाइटीका थियो । 
पूर्वतयारीबमोजिम तेजबहादुर अमात्यको निर्देशनमा नोभेम्बर १ मै मुक्तिसेनाका १ सय जवान रक्सौलमा निश्चित ठाउँहरूमा जम्मा हुन थालेका थिए । विभिन्न समूह बनाई रेलमार्गद्वारा आउँदा उनीहरू भारत सरकारको नजरबाट बच्न स्टेसन आउनुपूर्व जन्जिर खिचेर रेल रोकी बीचमै ओर्लेर आउँथे । ती समूहमा मेघराज उपाध्याय, माधवलाल श्रेष्ठ, भुपेन्द्र नेपाली, बद्री भण्डारीसमेतका जोसिला युवा थिए । तीमध्ये टीकादत्त पोखरेल (गोरखा) गोली लागी ढलेका थिरबम मल्ललाई तत्कालै रक्सौल डंकन अस्पतालमा लैजाने स्वयंसेवकमध्येका थिए । वीरगन्ज कब्जा भई पूर्ण नियन्त्रणमा आएपछि ‘जनसरकार’ स्थापना गरियो जसमा तेजबहादुर अमात्य ‘मिलिटरी गभर्नर’ र गोपालप्रसाद भट्टराईलाई ‘पोलिटिकल कमिसार’ को जिम्मेवारी दिइयो र दैनिक प्रशासन चलाइयो । 

वीरगन्जउपर मुक्तिसेनाको हमलाको तयारीका लागि खटिएका अन्य कुशल एवं साहसिक कमान्डरहरूमा जीबी याकथुम्बा, श्यामकुमार तामाङ, दिलबहादुर लामा, मानबहादुर राई, बुद्धसिंह गुरुङ, दिलमान थापामगर, डीबी राई आदि थिए । स्वयं थिरबम मल्ल भारतको दार्जिलिङ र देहरादूनमा सैन्य अधिकृत (आईएमएस) तालिम प्राप्त कुशल कमान्डर थिए । मेजर पूर्णसिंह खवास, नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजमा काम गरिसकेका अफिसर कमान्डर थिए । वीरगन्जपछि यिनीहरू देशका विभिन्न मोर्चामा कमान्ड सम्हालेर जिम्मेवारी पूरा गरे । तीमध्ये जीबी याकथुम्बा त्यसपछि विराटनगर मोर्चाको कमान्ड सम्हाल्न पुगेका थिए । विराटनगरमा ‘पोलिटिकल कमिसार’ गिरिजाप्रसाद कोइराला र ‘मिलिटरी कमिसार’ केशव कोइराला थिए । कृष्णप्रसाद भट्टराई (किसुनजी) उदयपुर फ्रन्टमा थिए । यसैगरी पश्चिम कमान्डमा गोपालशमशेर र भैरहवा मोर्चामा डा. केआई सिंह थिए । 
वीरगन्ज मोर्चाका लागि तैनाथ मुक्तिसेनाले थिरबम मल्लको नेतृत्वमा आक्रमणका लागि त्यस मध्यरातमा प्रवेश गर्दा सर्वप्रथम एउटा चौकी कब्जा गरी अगाडि बढेको थियो । चौकीमा कार्यरत एक सुब्बा, एक कप्तान र एक सन्तरीलाई बन्दी बनाएर मुक्तिसेना अगाडि बढेको थियो । यो काम १५ मिनेटमा पूरा गरेको थियो । वीरगन्जको मध्यरातमा गल्लीहरू सुनसान थिए । केबल घरहरू मित्रबाट आएका तिहारको जुवाको मार्रा... मार्रा... का स्वरहरू सुनिनेबाहेक कोही कतै देखिन्थेन । गारतमा निदाइरहेका १७ सैनिकको हतियार खोस्दै निद्राले उँगेर पहरा दिइरहेको बडाहाकिम बंगलाको ढोके सन्तरीसमेतलाई नियन्त्रणमा लिई बडाहाकिम सोमशमशेरलाई कैद गर्नसमेत सफल भएका थिए, थिरबम ।

थिरबमको हत्यापछि स्थिति नरमाइलो बने पनि पूर्ण सिंहको नेतृत्वको दलले भीषण युद्ध लडेर साँझ सात बजे पूरै ब्यारेक कब्जा गर्न सफल भयो जहाँ आठ जना घाइते भएका थिए । त्यस दिन दिउँसो दोहोरो गोली हानाहान चलिरहेकै बखत नेपाली कांग्रेसको झन्डा फहराएको हजाइजाहज वीरगन्जको आकाशमा मडराएको थियो । यसले मुक्तिसेनाको मनोबल धेरै बढ्यो । त्यो जहाज कार्यक्रमअनुसार सिमरामा ल्यान्ड गर्ने थियो तर उत्रन चाहिने संकेतको कुनै प्रबन्ध नदेखी वीरगन्ज बजार नजिकको ब्यारेक टुँडिखेलमाथि उड्न थाल्यो । पटक–पटक धेरै होचो गरी घरहरूमाथि उडान गर्दा ब्यारेकमाथि जहाजले बम खसाल्ने भयो भन्ने हल्लाले राणा फौज आत्तिएर साँझ आत्मसमर्पण गर्ने मनस्थितिमा पुगेको कुरा मातृकाप्रसाद कोइरालाले आफ्नो अनुभवमा लेखेका छन् । उहाँ त्यसै प्लेनमा थिए । वीरगन्ज पूर्णतया मुक्तिसेनाको नियन्त्रणमा आएपछि मल्ललाई हेर्न डंकन अस्पतालमा पुगेका बीपी र जनरल सुवर्णशमशेर निरीक्षणका लागि साँझ वीरगन्ज मोर्चामा पुगेको खबरले मुक्तिसेनाहरू अत्यन्त उत्साही भएका थिए । 

नेपाली कांग्रेसका सबै प्रमुख नेताहरूलाई देशका विभिन्न मोर्चामा जिम्मेवारी दिई खटाइएको थियो । पूर्वतयारीअनुसार वीरगन्जमा ‘एक्सन’ गर्ने समय अलि–पछिलाई राखिएको थियो । तर त्यसैबीच राजा त्रिभुवनले नारायणहिटी दरबार सपरिवार छोडी लैनचौरस्थित भारतीय दूतावासमा शरण लिएपछि स्थिति धेरै फरक भयो । नोभेम्बर ८ मा मोहनशमशेरले तीन वर्षका ज्ञानेन्द्रलाई राजा घोषित गरे । त्यसपछि क्रान्तिकारी हेडक्वार्टरको ‘सुप्रिम कमान्ड काउन्सिल’ लाई नोभेम्बर ११ मा राजा त्रिभुवन विमानद्वारा भारततर्फ जाने गोप्य सूचना प्राप्त भयो । जसअनुसार राजा दिल्लीतर्फ उड्नुपूर्व नै अपर्झट वीरगन्ज आक्रमण गर्ने योजना बन्यो । नोभेम्बर १० तारिख (कात्तिक २५ गते) दिउँसो राजधानीमा र बेलुकी वीरगन्जमा राणा शाहीको अन्त्य नजिक आइसकेको र नेपाली कांग्रेसको नेतृत्वमा देशव्यापी क्रान्ति प्रारम्भ भएको घोषणा गरिएका पर्चाहरू हवाइजहाजद्वारा व्यापक रूपमा छरिए । यसले देशव्यापी सनसनी पैदा गर्‍यो । कात्तिकको न्यानो घाममा तिहारको जुवा खेलिरहेका राणाहरू एकाएक अचम्मित भए । तर आमजनता अत्यन्त उत्साहित भएका थिए । 

मुक्तिसेनाको सफल ‘एक्सन’पश्चात् वीरगन्ज कब्जा हुनासाथ भारत र चीनबीच राजनीतिक अवस्थितिमा रहेको नेपालमा नेपाली कांग्रेसको क्रान्तिकारी ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) स्थापनासमेतको खबर देशभित्र मात्र नभई शेष विश्वमा समेत पुग्यो । भारतका सबैजसो सञ्चार माध्यम एवं पत्रपत्रिकामा छापियो । भारतस्थित अमेरिका, बेलायत एवं युरोपियन सञ्चार माध्यमहरूले समेत यसलाई महत्त्वका साथ स्थान दिए, र विदेशी पत्रकारहरू पारि रक्सौल र वीरगन्जमा ओइरिन थाले जुन क्रान्तिकारीहरूका लागि यो महान् उपलब्धि थियो । 

राणा सरकारका निजामती, जंगी, माल–अमिनीलगायत सबै अड्डाहरू क्रान्तिकारीहरूको नियन्त्रणमा आएपछि राणाहरूले विदेशी बैंकमा लैजान देशका विभिन्न जिल्लाहरूबाट संकलन गरिएको ठूलो धनराशिको ढुकुटीसमेत हात पर्‍यो । जसमा ३५ लाख भारतीय नोट र केही हजार नेपाली रुपैयाँ थियो । नोभेम्बर ११ कै साँझसम्म थिरबम मल्लको शव राखिएको डंकन हस्पिटल पसे, वीरगन्ज मोर्चाको निरीक्षणमा आएका ‘सुप्रिम कमान्ड काउन्सिल’ का तीनै जना बीपी, मातृका र सुवर्ण । त्यत्रो ठूलो धनराशि रकम क्रान्तिको सञ्चालनमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने छलफल चल्यो । तर अन्त्यमा अन्तर्राष्ट्रिय जगत्को दृष्टिमा समेत जनक्रान्तिको निष्कलंक छवि बनाउन सो धनराशि यताउता नगरी राजा त्रिभुवनको जिम्मा राख्नु उपयुक्त हुने ठहर गरी सोहीअनुसार काउन्सिलले निर्णय लियो । यसैअनुसार सो धनराशि रकमसहित तीनै जना पटना पुगे । र त्यस रात जनरल सुवर्णको निवासमा सो रकम सुरक्षित राखियो । अन्त्यमा, तेस्रो दिन नोभेम्बर १३, १९५० मा डिसी–३ डकोटा विमानद्वारा तीनै जना नेता अपराह्न ४:३० बजे पटनाबाट दिल्लीतर्फ उडे । साथमा महावीरशमशेर र बीपीकी बहिनी विजया कोइरालासमेत गएकी थिइन् । महावीरशमशेरकै ‘हिमालयन एभिएसन’ कम्पनीका जहाजहरूले क्रान्तिका लागि बर्माबाट हतियार ल्याउन र काठमाडौं–वीरगन्जमा हवाइजहाजद्वारा क्रान्ति घोषणाका पर्चाहरू छर्न सहयोग गरेका थिए । 

दिल्ली सफदरगन्ज एयरपोर्टमा त्यो हवाइजहाज उत्रँदा राति आठ बजेको थियो । विमानभित्रबाट रातिको झिलिमिलीमा सशस्त्र सैनिक उपस्थिति देख्दा उनीहरूले वीरगन्ज जनसरकार प्रमुखलाई गार्ड अफ अनर दिन र सुरक्षाका लागि तैनाथ गरिएको जस्तो ठानेका रहेछन् । तर हवाइजहाज रोकिएपछि जब गेट खोलियो भारतीय गुप्तचरका डीआईजी भित्र पसे र अत्यन्त मर्यादाहीन शैलीमा ‘यस विमानमा चोरिएको धनराशि लुकाएर ल्याइएको सूचना हामीलाई प्राप्त भएकाले विमानको खानतलासी हुँदै छ’ कोही पनि यताउता नगर्नू भनी आदेश गरेपछि सबै छक्क परे । ‘कस्तो चोरीको सम्पत्ति भन्नुभएको तपाईंले’ भनी गरिएको प्रतिप्रश्नमा उसले भन्यो, ‘वीरगन्जमा रहेको नेपाल सरकारको ढुकुटी ।’ तपाईंलाई कति रुपियाँ चोरिएको सूचना भयो भनी पुन: प्रश्न गर्दा ‘थ्री मिलियन (तीस लाख)’ उसले भनेछ । 

त्यो चोरीको सूचना गलत हो ‘हामीसँग भएको पैंतीस लाख तेत्तीस हजार भारतीय रुपैयाँ (नोट) र तेह्र हजार नेपाली रुपैयाँ हो । चोरहरूले मात्र ठीकसँग हिसाब राख्न सक्दैनन् । त्यसो हुनाले राणाहरूले गलत सूचना दिएका हुन् । हामीले त्यो रकमको वास्तविक हकदार राजा त्रिभुवन (जो अहिले दिल्लीमा छन्) लाई जिम्मा दिन ल्याएका हौं भनेपछि अन्त्यमा मातृका बाबुले भनेछन्, ‘जनक्रान्तिको सभापतिको हैसियतले (ट्रक) को साँचो मसँग छ ।’ 

नेपाली नेताहरूको तर्क र उत्तर सुनेपछि डीआईजीले अब एक–एक गरी तल झर्न सक्छौ भन्यो । नोभेम्बर महिनाको अलिक चिसो, थकाइ, भोक, तिर्खा लागेकाले होटलमा आराम गर्ने आशामा उनीहरू विमानबाट तल झरे । तर उनीहरू सबैलाई कस्टम काउन्टरमा रोकेर राखियो । एउटा बेन्चीमा लामो समय त्यस हालतमा कुरेर बसिरहनुपर्दा मिनेट–मिनेट घण्टामा परिणत हुन थाल्यो । स्वागतार्थ आएका सूर्यप्रसाद उपाध्यायसमेतका साथीहरूलाई उनीहरूसँग भेट्न दिइएन । त्यस लामो पर्खाइमा मातृका र सुवर्णले चुरोट तान्न थाले । चुरोट तान्दै गर्दा मातृका बाबुलाई एउटा कुर्सीमा बसेको मान्छे कहाँ लगियो जसले भन्यो, ‘तिमीले मेरो अपमान गर्‍यौ (मेरो अगाडि चुरोट खाएर) ।’ त्यसो भन्ने मान्छे त मेजिस्ट्ेरट पो रहेछ । उसैको त्यो इजलासमा राति नै बैंकका कर्मचारीहरू बोलाई दुवै पक्षको हस्ताक्षरसहित सिलबन्दी गरी उनीहरूलाई जिम्मा लगाएपछि मात्र राति तीन बजे नेताहरू सबैलाई छोडिएछ । पछि पो थाहा भएछ त्यतिन्जेलसम्म उनीहरू हिरासतमा पो रहेछन् !

क्रान्तिका नायकहरू होटल पुग्दा जब घाम झुल्क्यो त्यहाँ विभिन्न मुलुकका विभिन्न रंगका विदेशी सञ्चार माध्यमसमेतका संवाददाताहरू उनीहरू बसेको ठाउँमा घेरिए । तीमध्ये केही क्यामेरासहित आएका थिए । उनीहरूलाई दिल्ली सफदरगन्ज एयरपोर्टको रातिको घटनाबारे सूचना भैसकेको थियो । त्यसै विषयमा अत्यन्त अप्ठेरो पार्दै दिल्ली आउनुको उद्देश्यबारे सोध्न थाले । रातिको घटनालाई पन्छाउँदै तीन जनाले शालीतानपूर्वक भने— दिल्ली आउनुका प्रमुख दुई उद्देश्यमध्ये पहिलो उद्देश्य, राजा त्रिभुवनसँग भेट गरी क्रान्तिको स्थिति अवगत गराउनु र शुभकामना लिनुका साथै सम्भव भए खुला प्रेस वक्तव्यद्वारा जनक्रान्तिका लागि शुभकामनासहित समर्थन माग्ने । दोस्रो, भारतीय नेताहरू भेटी जनक्रान्तिलाई समर्थन र सहयोग माग्ने । मातृकाप्रसाद कोइराला आफ्नो पुस्तक ‘ए रोल इन रेभोल्युसन’ मा भन्दछन्— तर क्रान्तिका लागि गरिएको दुवै आशा निराशामा पुग्यो जब त्रिभुवनलाई भेट्ने अनुमतिसम्म पनि भारत सरकारले दिएन । त्यति मात्र नभई नेहरूजीले समेत नेताहरूसँग भेट गर्न अस्वीकार गरे । त्यस निराशाका बीच केही दिन दिल्लीमा रहेर धेरै प्रयत्नपश्चात् पनि मातृकालाई मात्र एक्लै भेट दिने भन्ने कुरा आयो । अनि सूर्यप्रसाद उपाध्यायका साथ लागेर प्रधानमन्त्री निवास त्रिमूर्ति भवन पुग्दा सूर्यप्रसादलाई मात्र भित्रबाट बोलावट भएको दूतको खबर सुनेपछि त्यहाँ अर्को आश्चर्य भयो । धेरैबेर वेटिङ रुममा एक्लै बिताएपछि बल्ल भित्रबाट बोलावट भयो । तर मातृका बाबुलाई देख्नेबित्तिकै आक्रोश भरिएको शब्दमा नेहरूजीले प्रश्न गरे, ‘के चाला हो यो ? वीरगन्जलाई कब्जा गरें भन्दैमा भारतलाई पनि नियन्त्रणमा लियौं भन्ने ठान्यौ ! ’’

मातृका बाबुलाई पहिला त त्यो आक्रोशको अर्थ लागेन । तर वास्तविकता के रहेछ भने क्रान्तिकारीहरूले बन्दी बनाइएका राणाका बडाहाकिम सोमशमशेरलाई वीरगंज पारि भारतको सरकारी डाँक बंगलामा केही समय लगेर बन्द गरिएको घटनालाई लिएर रहेछ । अन्तर्राष्ट्रिय मर्यादाबाहिर परेको त्यो गम्भीर विषय रहेछ । दोस्रो, वीरगन्ज ढुकुटीको त्यो रकम भारतभित्र ल्याएकोमा भारत सरकारको टाउको दुखाइ रहेछ । किनभने तत्कालीन भारतले अन्तर्राष्ट्रिय क्षेत्रमा ‘सक्रिय तटस्थताको नीति’ अख्तियार गरेको थियो । किन्तु भारत सरकारले दण्ड विधानको आँखा बचाई क्रान्तिकारीहरूबाट भए र गरिएका काम कारबाही भने भारत सरकारबाट नदेखेजस्तै गरेको थियो । यस्तो सुविधा प्राप्त हुनमा सीमा क्षेत्रका मित्रहरू भारतीय नेताहरूको नेपालको जनक्रान्तिप्रति नैतिक समर्थन नै थियो । 

क्रान्तिकारीहरूले कुल ‘नौ दिन’ सम्म वीरगन्ज नियन्त्रण लिई ‘जनसरकार’ गठनसमेत गरी त्यहाँको नाजुक परिस्थितिलाई साम्य पार्दै सफलतापूर्वक शान्ति सुव्यवस्था कायम गरे । त्यसबीच केही सामाजिक सुधारका कार्यहरूसमेत गरेर ‘प्रजातन्त्र’ (डेमोक्रेसी) को उज्यालो र नेपाली जनक्रान्तिको सफल सन्देशको प्रभावी लहर पैदा गर्न र जनक्रान्तिको पहिचान दिन सफल भएको कुरा स्वर्णाक्षरले लेखिनेछ । यसका साथै वीरगन्ज कब्जा भएको नोभेम्बर ११ (कात्तिक २६ गते) को त्यो दिन आज पनि ‘क्रान्ति दिवस’ का रूपमा स्मरणीय छ ।

प्रकाशित : कार्तिक २५, २०७४ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT