१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समानुपातिक प्रणालीको पाठ

संगीता खड्का

काठमाडौँ — निर्वाचनमा थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरूले निर्वाचन आयोगले बाँडफाँड गरिदिएको सिटअनुसार प्रदेशसभा सदस्यमा समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको सूची बुझाइसकेका छन् ।

समानुपातिक प्रणालीको पाठ

उनीहरूले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ विजयी उम्मेदवारको नामावली केही सातामा बुझाउनेछन् । यसपालि संसदमा सहभागी हुनपाउने सीमित दलमध्ये प्राय: सबै १/२ जना पुरुष प्रतिनिधिलाई राखेर अरू सिटमा महिला छान्नुपर्ने बाध्यतामा छन् । यस्तो बाध्यता राजनीतिक दलहरू महिलाप्रति सम्मान, दयामाया गर्नुपरेकाले नभई संविधानले नै संसदमा ३३ प्रतिशत महिला सुनिश्चित गरिदिएकाले भएको हो ।


सदमा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी दलहरूले पाउने कुल सांसदमध्ये ३३ प्रतिशत महिला पुर्‍याउनैपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार बनाउँदा पनि निश्चित संख्या अनिवार्य गरिदिएको भए वा प्रतिस्पर्धा गर्नसक्ने महिला नेतृहरूलाई उम्मेदवार बन्ने अवसर दिएको भए निर्वाचनमार्फत सांसद बन्ने महिलाको संख्या बढी हुन्थ्यो । जसका कारण केही समेट्नैपर्ने पुरुष नेता समानुपातिक प्रणालीबाट सांसद बन्न सक्थे । तर पुरुषवादी मानसिकता बोकेका पार्टीका नेताहरूले प्रत्यक्षतर्फ थोरै स्थानमात्रै महिलालाई उम्मेदवार बनाए । यस अघि पटक–पटक प्रत्यक्षतर्फ जितेका महिलाले समेत समानुपातिकको उम्मेदवार बन्नुपर्‍यो । प्रत्यक्षमा लड्नका लागि महिला नेतृहरूले आवाज उठाए पनि सुनवाइ भएन ।


समानुपातिक प्रणालीको प्रावधान राखिनुको औचित्य नै पिछडिएका र प्रत्यक्ष निर्वाचनमार्फत प्रतिस्पर्धाबाट तत्काल आउन नसक्ने वर्ग र समुदायलाई सहभागी गराउनु हो । महिलाहरूलाई समानुपातिक सिटबाट मात्रै ल्याउनुपर्छ भन्ने पनि होइन । जसको राजनीतिक पार्टीमा लामो र महत्त्वपूर्ण लगानी छ, जसले प्रतिस्पर्धा गर्न सक्छन्, त्यस्ता महिलालाई त झन् पार्टीले प्रत्यक्षतर्फ लड्न उत्प्रेरित गर्नुपर्ने हो । त्यसो गर्नसके हिजो समानुपातिकबाट ल्याइनुपर्ने समुदाय विस्तारै प्रतिस्पर्धाबाट आउन सक्छ । तर राजनीतिक दलहरूले प्रत्यक्षतर्फ कम महिलालाई उम्मेदवार बनाउँदा समानुपातिकमा पिछडिएको समुदायका पुरुष अटाउन नसक्ने भए । त्यसैले केहीले विस्मात मान्नुपर्ने अवस्था बनेको छ । राजनीतिक दलहरूले यसको समीक्षा गर्नु जरुरी छ । समानुपातिक प्रणाली महिला वा अन्य पिछडिएका वर्गका समुदायलाई समेट्नका लागि अंगिकार गरिएको प्रणाली अवश्य हो । तर त्यस समुदायबाट अरू सबैसंँग प्रतिस्पर्धा गर्न सक्नेका लागि होइन ।


संघीय संसदमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थितिको प्रावधान राख्नका लागि महिलामात्रै होइन, पुरुष नेताहरूको पनि महत्त्वपूर्ण योगदान छ । तर राजनीतिक दलहरूको पुरुष बाहुल्य शीर्ष तह महिला नेतृलाई टिकट दिन हिचकिचायो । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा ५ जना महिला प्रत्यक्षबाट सांसद भएका थिए भने २०६४ सालको संविधानसभा निर्वाचनमा ३२ तथा २०७० दोस्रो संविधानसभा निर्वाचनमा १० महिला प्रत्यक्षबाट चुनिएका थिए । भर्खरै भएको प्रतिनिधिसभा निर्वाचनमा भने ६ जना महिलामात्र प्रत्यक्ष प्रणालीबाट सांसद बनेका छन् । २०५६ देखि ०७४ सालसम्ममा नेपाली राजनीतिमा धेरै महत्त्वपूर्ण परिवर्तन भएका छन् । महिलाका सन्दर्भमा उल्लेख्य उपलब्धि पनि हासिल भएका छन् । तर प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्ने र जित्ने महिलाको संख्या भने अहिले पनि २०५६ सालकै हाराहारी देखिन्छ । यसको कारण के हो ? महिला नेतृहरूमा प्रत्यक्षमा लड्ने हिम्मतको कमीले हो वा टिकट वितरणमा पुरुषवादी मानसिकता प्रतिविम्बित भएर हो ? वा महिला नेतृहरूको आवाज बुलन्द हुन नसकेर ? यी प्रश्न अनुत्तरित छन् ।


नेपाली समाज पितृसत्तावादी मानसिकताबाट ग्रसित छ । तर हाम्रो मुलुकमा केही महिना अघिमात्रै न्यायपालिका र व्यवस्थापिकाको नेतृत्व महिलाले सम्हाल्नुभएको थियो भने अहिले पनि राष्ट्रप्रमुख (राष्ट्रपति) महिला हुनुहुन्छ । राज्यको महत्त्वपूर्ण अंगको नेतृत्व कुशलतापूर्वक गरेको पृष्ठभूमि एवं स्थानीय तहको नेतृत्वमा देखिएको महिलाको राम्रो उपस्थितिले महिलाले प्रतिस्पर्धाबाटै पनि आफ्नो स्थान सुनिश्चित गर्दै लगेको संकेत गर्छ । तर विभिन्न आन्दोलनको राप र तापबाट बढ्दै गएको महिला पहुँचलाई संस्थागत गर्नेतर्फ राजनीतिक दलहरू विशेषत: महिला नेतृहरूले ध्यान दिन सकेनन् भने प्राप्त उपलब्धि गुम्न बेर लाग्दैन । यसप्रति सबै सचेत रहनैपर्छ ।


समानुपातिक कोटाबाट सांसद हुनु र प्रत्यक्षबाट सांसद हुनुले खासै फरक नपार्ला, तर आफ्नो शक्तिलाई विश्वसामु गुञ्जाइरहन र आफ्नो श्रेष्ठता देखाइरहन पनि महिलाले प्रत्यक्षबाटै प्रतिस्पर्धा गर्न जरुरी हुन्छ । राजनीतिक दलहरूले प्रत्यक्षमा भिड्न महिलालाई प्रेरित गर्नुको साटो समानुपातिकमा धकेल्ने गल्ती आगामी दिनमा नदोहोर्‍याउन् ।

प्रकाशित : पुस १७, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?