कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बच्न सकिन्छ अमेरिकामा हुने ठगीबाट

नवीन रायमाझी

अमेरिका — बिभिन्न किसिमको लोभलाग्दो बिज्ञापन दिएर ठग्ने गिरोह अमेरिकामा पनि सक्रिय छन् । धेरै मान्छेहरु (त्यसमा नेपालीहरु पनि पर्छन्) ठगीमा परेका उदाहरणहरु छन् । त्यसैले यस्ता ठगीको प्रकृति र बच्ने उपायका बारेमा यहाँ छलफल गर्न खोजिएको छ ।

यसरी बच्न सकिन्छ अमेरिकामा हुने ठगीबाट



अङ्ग्रेजी भाषामा एउटा उखान छ, 'जबसम्म यो संसारमा लोभी मान्छेहरु रहन्छन त्यती बेलासम्म ठगले बेरोजगार बस्नु पर्दैन ।' सूचनाको अभाव, सित्तैमा सामान पाइने र छिटो र कम मेहनत गरेर धेरै पैसा कमाउने लोभ आदिका कारण धेरै मान्छेहरु ठगिएका छन् । लोकलाज, आवश्यक जानकारी र पर्याप्त प्रमाणको अभावका कारण कानुनी उपचारको बाटोमा जान नसक्नु यसको अर्को पाटो हो । मैले पाएको जानकारी अनुसार मान्छेहरु निम्नलिखित कारणहरुले ठगिन सक्छन्:


पहिलो, कुनै बस्तु वा सेवा खरिद गर्दा उक्त बस्तु वा सेवाको "टर्म्स एण्ड कन्डिसन्स" राम्रोसँग पढ्ने, जतिसुकै लोभलाग्दो सहुलियत भए पनि ब्यापारी जहिले पनि आफु ग्राहक भन्दा माथि नै बसेको हुन्छ भनेर हेक्का राख्नु पर्छ । तल सानो अक्षरमा "कन्डिसन्स् एप्लाई" अर्थात् 'सर्तहरु लागु हुनेछन्' भनेर लेखेको हुन्छ । यदि तपाईंले एकपटक हस्ताक्षर गर्नु भयो भने पछि तपाईंले कुनै उजुरी गर्दा तपाईंको हैसियत स्वत तल पर्न जान्छ । मलाई त्यो समयमा जानकारी भएन भनेर तपाईं पन्छिन सक्नु हुन्न ।


दोश्रो, कुनै अपरिचित नम्बरबाट तपाईंलाई फोन आउँछ र उताबाट तपाईं कानुनी झन्झटमा फस्दै हुनुहुन्छ वा तपाईंले कर तिर्नु भएको छैन आदि जस्ता कुरा गर्छ । कुनै व्यक्ति कानुनी हैसियतमा बसेको छैन वा आफुले गरेको ब्यापारमा कर छलेको छ भने उसलाई डर लाग्नु स्वाभाविकै हो । यदि तपाईंले त्यसलाई गाली गरेर फोन काटिदिनु भयो भने कुरा सकियो । तर, के कसो भनेर सोध्न थाल्यो भने कुनै अमुक नामको फोन कार्ड किनेर निश्चित नम्बरमा फोन गर्न लगाउँछ, त्यसरी फोन कार्ड बेच्न ठगी हुने गरेको छ र यस्ता ठगीमा मेरा परिचितहरुपनि परेका छन् । भाषाको समस्या, कानुनी जानकारी नहुनु, एकै पटक नसोचेको कुरा सुन्दा दिमागले काम नगर्नु आदि कारणले मान्छे ठगिन सक्छन् । अमेरिकी कानुनमा कुनै जघन्य अपराध गरेको छ भने पानी मुनी गए पनि छोड्दैनन् र कुनै सरकारी रकम तिर्न बाँकी छ भने पत्र नै आउँछ, त्यसरी कुनै कार्यालयबाट पनि फोन गर्दैन र गरेपनि सामान्य जानकारीको लागि मात्र गर्छ । त्यसैले त्यस्तो फोन आयो भने संयमता पुर्वक सोच्दा ठगीबाट बच्न सकिन्छ ।


तेश्रो, सजिलै पैसा कमाउने उपाय चाहनु हुन्छ भने यो फारममा आफ्नो सबै व्यक्तिगत बिबरण भरेर पठाउनुस् फारम प्राप्त हुने बितिकै एक सय डलर प्राप्त गर्नु हुनेछ भनेर इमेल वा पत्र आउन सक्छ । फारम भरेर पठायो भने तपाईंले एक सय डलरको चेक पनि प्राप्त गर्नु हुनेछ, तर केहि समय पछि तपाईंको बैङ्क खातामा रहेको पैसा कुन बेला सकिएको हुन्छ तपाईंलाई नै थाहा हुँदैन र यस्तो गतिबिधिलाई प्रहरीले पनि नियन्त्रण गर्न सकेको छैन, यसैले यस्तो प्रलोभनमा फस्नु उचित हुँदैन ।


चौथो, विभिन्न प्रकारका आकर्षक घडीहरु सित्तैमा तर हुलाक खर्च मात्र प्राप्तकर्ताले ब्यहोर्नुपर्ने जस्ता बिज्ञापनबाट पनि बच्नु राम्रो हुन्छ । न्युनतम् हुलाक खर्च लिएर तपाईंलाई हेर्दा लोभलाग्दो घडि पठाईदिन्छ । तर डेबिट वा क्रेडिट कार्डबाट हुलाक खर्च तिर्दा उसले प्राप्त गरेको तपाईंको कार्ड नम्बरबाट सबै पैसा तानिदिन्छ । तर, कसले यो काम गर्यो भनेर तपाईंले सुइँकोसम्म पाउन सक्नु हुन्न ।


पाँचौं, तपाईंको इमेलमा विभिन्न प्रकारको लिंक आउछ र उक्त लिंकमा थिचेर आफ्नो व्यक्तिगत विवरण हालेर पठायो भने आकर्षक पुरस्कार पाइन्छ भनेर लेखेको हुन्छ । यदी तपाईंले त्यस्तो लिंक खोलेर आफ्नो व्यक्तिगत बिबरण हाल्नु भयो भने तपाईंको व्यक्तिगत बिबरणको दुरुपयोग पनि हुन् सक्छ र तपाईं कानुनी झन्झटमा पनि फस्न सक्नु हुन्छ । त्यसैले यस्ता "जंक" इमेललाई खोल्दै नखोली डिलिट गर्नु उत्तम हुन्छ ।


मेरो जानकारीमा नभएको यि भन्दा बाहेकका अरु उपायबाट पनि मान्छेहरु ठगिएका होलान् । यो आलेख मैले कुनै ज्ञाता भएको कारणले लेखेको नभई लोभमा परेर अनावश्यक झन्झटमा कोहि पनि नपरुन भनेर लेखेको हुँ, यसलाई यस्तै किसिमले बुझिदिन सम्बन्धित सबैमा अनुरोध छ । सबैभन्दा प्रमुख कुरा सजिलै र बिना मेहनत पैसा कमाउन सकिने भए यो संसारमा सबै मान्छे एक से एक बिल गेट्स हुन्थे । सफल हुन र सम्पति आर्जन गर्न उचित काममा कडा मेहनत र परिश्रम नै गर्नु पर्छ, सफल बन्ने कुनै "सर्ट कट" उपाय छैन ।


@twitter#naviinr

प्रकाशित : पुस १७, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?